Wednesday, June 3, 2009

भारतीय हस्तक्षेपको स्थलगत अबलोकन हुने

भारतीय हस्तक्षेपको स्थलगत अबलोकन हुने


काठमाडौं, जेठ २१ (नागरिक)- भारतले नेपाली भूभाग मिचेर गरेको अन्यायबारे स्थलगत अवलोकन गर्न सभासद्‍हरुको एक टोली त्यसतर्फ जाने भएको छ। टोलीको नेतृ्व सभासद् अमिक शेरचनले गर्ने भएका छन्। बिहीबार बिहान भएको सर्वदलीय बैठकले समस्या समाधानको कुटनीतिक पहल गर्न सरकारसँग आग्रह पनि गरेको छ।

दाङ र वाराका सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसवीको ज्यादती र अतिक्रमणका विरुद्ध साझा धारणा बनाउन भारतीय हस्तक्षेप विरुद्ध एकिकृत नेकपा माओवादीको संयोजकत्वमा बिहीबार बिहान भएको १८ दलको बैठकले उक्त निर्णय गरेको हो।

बैठकले सीमा अतिक्रमणका कारण नेपाली जनता पीडित भएको घटनालाई लिएर संयुक्त विज्ञप्ति पनि जारी गरेको छ।

माओवादीले संविधानसभामा प्रतिनिधित्व गर्ने २४ वटै दललाई बैठकमा बोलाए पनि नेपाली कांग्रेस, मधेशी जनअधिकार फोरम, तराई मधेश लोकतान्त्रिक पार्टी, सद्‍भावना पार्टीको भने उपस्थिति थिएनन्।

माओवादी नेता शेरचनको संयोजकत्वमा बन्ने टोलीलाई सबै दलका प्रतिनिधि समेटेर छिट्टै पूर्णता दिइने बैठकपछि सहभागी नेताहरुले बताए। नेताहरुले सीमा अतिक्रमणको बारे संसदमा पनि छलफल हुनुपर्ने बताएका थिए।

बैठकमा माओवादी नेता बाबुराम भट्टराईले राष्ट्रियता स्वाधीनता र सार्वभौमिकताका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए। वाह्य हस्तक्षेप नेपाली दलहरुलाई मान्य नहुने बताउँदै उहाँले उनीहरुसँग कूटनीतिक तवरले समस्या समाधानका लागि पहल गर्नुपर्नेमा उनले जोड दिए।

विभिन्न दलका प्रतिनिधिले अवरुद्ध व्यवस्थापिका संसद तुरुन्त सुचारु गरी राष्ट्रियता माथिको छलफलमा प्रवेश गर्नका लागि माओवादीसँग आग्रह गरेका थिए।

दाङका सीमा क्षेत्रमा विभिन्न गाविसका स्थानीय बासिन्दाहरु भारतीय सुरक्षाकर्मीको ज्यादति सहन नसकेर कर्री सामुदायिक वन क्षेत्रमा आन्तरिक शरणार्थीको जिवन विताउन बाध्य भएका छन्। उता बारामा पनि सीमा क्षेत्रको नेपाली भुभागमा भारतीय पक्षले अतिक्रमण गरी खेतिपाती शुरु गरेका समाचार प्रकाशमा आएका छन्।

माओवादी सम्वद्ध विभिन्न भातृ संगठन र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले नेपाली भुमि अतिक्रमण भएको विरोधमा बिहीबार लैनचौरस्थित भारतीय दुतावास बाहिर धर्ना दिदैंछन् भने दुताबासमा विरोध पत्र बुझाउने छन्।

नेकपा मार्क्सवादी, जनमोर्चा नेपाल, रिभोलसनरी लेफ्ट विङसहितका पाँच कम्युनिस्ट घकले घटनाको विरोधमा बुधबार दुतावास अगाडि धर्ना दिएका थिए। स्थानीय प्रशासनले सुरक्षाको प्रत्याभुति दिने भनेपछि विस्थापित मध्ये केही परिवार घर फर्कन तयार भएको दाङ प्रशासन कार्यालयले जनाएको छ।
source:
http://www.nagariknews.com/politics/party-politics/1592-2009-06-04-07-40-52.html

No comments:

Search and Buy from amazon.com