Friday, June 12, 2009

खड्काबारे माओवादीभन्दा झलनाथ चिन्तित

खड्काबारे माओवादीभन्दा झलनाथ चिन्तित
२९-जेठ-२०६६,शुक्रवार
Image
प्रधानमन्त्री नियुक्त भएको तीन साता बितिसक्दा समेत सरकारलाई पूर्णता दिन नसक्ने मात्रै होइन नियुक्त गरेका मन्त्रीहरुलाई समेत काम दिन नसक्ने माधवकुमार नेपाल अहिले कथित सहमतिका नाउँमा माओवादीसँग चोचोमोचो जोड्न हतारिएका छन्।

हतारिएका मात्रै होइन माओवादीलाई मनाउने नाममा माधव नेपालले आफू प्रधानमन्त्री बनेको धरातलसमेत बिर्सन थालेका छन्। गत मंगलबार गोदावरी रिसोर्टमा प्रधानमन्त्री नेपालसहितको एमाले जत्थाले जे प्रस्ताव माओवादी जत्था सामु राख्यो संवेदनशील मात्रै होइन आपत्तिजनक समेत छ। अरु जेसुकै भनिए पनि त्यो दिनको वार्तामा माओवादीको प्रमुख जोड नेपाली सेनाका रथी कुलबहादुर खड्कालाई बचाउनु नै थियो। र, माओवादीहरुले संवाद अवधिभर खड्काको नामसँगै कामु प्रसे भनिरहेका थिए। एमाले अध्यक्ष झलनाथ खनालले पनि माओवादीको भनाइमा स्वर मिलाएका मात्रै होइन उनले कुलबहादुरलाई कामु बनाउने माओवादी प्रस्तावलाई स्वीकृति दिएको कुरा स्वीकारेका थिए। त्यसो त कुलबहादुरलाई नेपाली सेनाले कोर्ट मार्शल गर्ने तयारी गरेको खबर बाहिर आएपछि माओवादीहरु अत्तालिएका छन्। त्यसै कारणले माओवादीहरुकै अनुरोधमा झलनाथ र ईश्वर पोखरेलले मंगलबारको वार्ता जुराएका थिए। कुलबहादुरमाथि कोर्ट मार्शल भए उनले माओवादीलाई दिएको सूचनाको फेहरिस्त मात्रै खुल्ने होइन झलनाथ, ईश्वर र वामदेवलाई बुझाएको थैलीको पोल पनि छताछुल्ल हुने डर उनीहरुलाई छ। त्यसैले झलनाथ ईश्वरहरु पनि माओवादीसँगको कथित सहमतिका नाममै कुलबहादुरलाई बचाउने मात्रै होइन कुनै न कुनै रुमपा गुन तिर्ने दाउमा लागेका छन्।
त्यसै कारणले नै नियमित हिसावमा अवकाश पाउन लागेका कुलबहादुरलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने षड्यन्त्र गरिँदैछ, त्यसो भयो भने कुलबहादुरको जागिर अर्को तीन वर्ष थपिनेछ। माओवादीले पनि खड्कालाई कुनै न कुनै रुपमा जागिरमा अड्याउन पाए अब फेरि सरकार बनाउँदा उनी मार्फत् नेपाली सेनामा फेरि खेल्ने दाउ हेरिरहेको छ।
अवकास पाउन एक हप्ता पनि बाँकी नरहेका कुलबहादुरलाई सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने र तीन महिना कार्यकाल बाँकी रहेका प्रधान सेनापतिलाई बिदामा बस्न लगाउने झलनाथ, ईश्वरको गोप्य रणनीतिले कुलबहादुरको गुन त तिर्ला अनि माओवादीको उद्देश्य पनि पूरा होला, तर प्रधानमन्त्री माधव नेपालका लागि भने यो योजना आत्मघाती हुने निश्चित छ।
अन्तर्राष्ट्रिय समुदाय, अमेरिका र भारत मंगलबारको गोदावरी बैठकमा एमालेले गरेको प्रस्तावबाट सशंकित बनेका छन्। भारतीयहरुले प्रधानमन्त्री नेपाल आफ्नै पार्टीका अध्यक्ष र महासचिव तथा माओवादीको गोप्य रणनीतिमा फस्न लागको ठहर गरेका छन्। एक प्रभावशाली कुटनीतिज्ञका अनुसार माओवादीको सरकार माधवलाई प्रधानमन्त्री बनाउन ढालिएको होइन बरु माओवादीलाई उसको गोप्य रणनीतिबाट असफल बनाउन प्रचण्डलाई गलहत्याइएको हो। माधवले त्यो मिसन पूरा गर्न नसक्ने छाँट ल्याए उनले पनि कुर्सी छोड्नुको विकल्प छैन।

-- NEPALIPATRA

source:

http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=24446


No comments:

Search and Buy from amazon.com