Sunday, December 1, 2013

आन्दोलनको तयारीमा एमाओवादी : छानबिन नभएसम्म समानुपातिकको नाम नबुझाउने

आन्दोलनको तयारीमा एमाओवादी : छानबिन नभएसम्म समानुपातिकको नाम नबुझाउनेपीडीएफमुद्रणइमेल
नयाँ पत्रिका
काठमाडौं, १६ मंसिर

एकीकृत माओवादी निर्वाचनमा धाँधलीको छानबिन नभएसम्म संविधानसभामा नजाने भएको छ । एमाओवादीले उच्चस्तरीय स्वतन्त्र आयोग नबनेसम्म समानुपातिकतर्फको सभासद्को नाम नबुझाएर
सडक संघर्षमा केन्द्रित हुने तयारी गरेको छ ।

‘धाँधलीको छानबिन नभएसम्म संविधानसभामा जाने कुरै आउन्न,’ एमाओवादी नेता वर्षमान पुन अनन्तले भने । ०५६ को जस्तो संसदीय समिति नभएर उच्चस्तरीय स्वतन्त्र छानबिन आयोगबाट धाँधलीको छानबिन हुनुपर्ने उनको भनाइ छ । ०५६ को आमनिर्वाचनमा धाँधली भएको भन्दै एमालेले संसद् नै अवरुद्ध गरेपछि संसदीय छानबिन समिति गठन गरिएको थियो ।

पार्टीका तर्फबाट धाँधलीको तथ्य संकलन गर्न गठित कार्यदलका संयोजकसमेत रहेका अनन्तले धाँधलीको छानबिन नभएसम्म समानुपातिकतर्फका सभासद्को नाम नबुझाउने बताए । ‘छानबिन नभएसम्म हामी समानुपातिकको सूची बुझाउँदैनौँ,’ उनले भने । निर्वाचन निर्देशिकाअनुसार निर्वाचन आयोगले समानुपातिकका लागि बन्दसूचीभित्रबाट तोकिएको संख्यामा नाम बुझाउन एक साताको समय दिनेछ । प्रत्यक्षमा २६ सिट जितेको एमाओवादीले समानुपातिकतर्फको मतपरिणामअनुसार ५४ सिट पाउनेछ ।

एमाओवादी नेतृत्वमा १३ दलले उच्चस्तरीय स्वतन्त्र छानबिन आयोग गठन गरेर धाँधलीको छानबिन गर्न माग गरिरहेका छन् । प्रत्यक्ष र समानुपातिकबाट गरी १३ मध्ये १० दलबाट संविधानसभामा एक सय १८ सभासद्को प्रतिनिधित्व हुन्छ ।

एमाओवादीले राष्ट्रिय सहमतीय प्रणालीका आधारमा संविधान संशोधन गरेर अगाडि बढ्नुपर्ने सर्त पनि अगाडि सारेको छ । निर्वाचनमा धाँधलीको छानबिन र अन्तरिम संविधान संशोधन माओवादीको माग पूरा गर्ने विषयमा अन्य दल सकारात्मक छैनन् । छानबिन आयोग बनाउन निर्वाचन आयोगले अस्वीकार गरिसकेको छ भने अन्तरिम संविधान संशोधन गरेर सहमतीय प्रणाली अपनाउनुपर्ने प्रस्ताव कांग्रेस र एमालेले अस्वीकार गरेका छन् ।

आफ्ना एजेन्डा कार्यान्वयन गराउन एमाओवादी सडक आन्दोलनको वातावरण तयार गर्नतिर लागेको छ । धाँधली भएको निष्कर्षमा पुगेका अन्य दललाई साथमा लिएर सडक संघर्षमा केन्द्रित हुने तयारी एमाओवादीको छ ।

धाँधलीबारे छानबिन आयोग गठन र सहमतीय प्रणालीको मागले आन्दोलनको वातावरण बनाउने एमाओवादीको बुझाइ छ । प्रत्येक निर्वाचन क्षेत्रमा गएर जनतालाई धाँधलीको जानकारी गराउँदा स्थानीयस्तरमा पनि आन्दोलनको वातावरण बन्ने बुझेको एमाओवादीले अहिले सबै केन्द्रीय सदस्य र उम्मेदवारलाई निर्वाचन क्षेत्रमा खटाएको छ । उनीहरूले भोट दिएकोमा मतदातालाई धन्यवाद दिँदै धाँधली भएकोबारे प्रस्ट्याइरहेका छन् ।

‘हाम्रो माग पूरा गर्न सरकार र अन्य राजनीतिक दल तयार नहुने देखिएको छ, यी मागलाई बारम्बार उठाइरहनु आन्दोलनको वातावरण बनाउनु हो,’ एमाओवादीका एक नेताले भने, ‘संविधानसभाबाट अग्रगामी संविधान बनाउन पनि सडकबाट ठूलो दबाब अनिवार्य छ ।’ उनले धाँधलीबारे सबै नागरिकलाई सचेत गराएपछि आन्दोलनका लागि थप वातावरण बन्ने बताए ।

निर्वाचनमा धाँधली भएको निर्णयमा पुगेका एमाओवादीसहितका दल आन्दोलनका लागि औपचारिक मोर्चा बनाउने तयारीमा छन् । ‘अहिलेसम्म औपचारिक मोर्चा बनिसकेको छैन । छलफल चल्दै छ । चाँडै औपचारिक मोर्चा बनाउँछौँ,’ संघीय समाजवादीका अध्यक्ष अशोक राईले भने, ‘वार्ताको टेबुलबाट माग पूरा नभए त सडकको विकल्पै छैन ।’ मधेसी दलहरूले पनि सडकबाट दबाब दिएर भए पनि आफ्ना एजेन्डा स्थापित गराउने घोषणा गरिसकेका छन् ।

निर्वाचनमा धाँधलीबारे छानबिन आयोगको माग गरिरहेका दलमध्ये एमाओवादी ८०, तमलोपा ११, फोरम नेपाल १०, सद्भावना पार्टी ६, संघीय समाजवादी पाँच, जनमुक्ति पार्टी दुई, फोरम गणतान्त्रिक, संघीय सद्भावना, नेपा: राष्ट्रिय पार्टी, नेपाली जनता दल एक–एक सिट पाउने अवस्थामा छन् । संघीय गणतान्त्रिक समाजवादी, लोक दल, खस समावेशी पार्टी भने संविधानसभामा प्रवेश गर्ने अवस्थामा छैनन् ।

source:
http://www.nayapatrika.com/index.php?option=com_content&view=article&id=13511:2013-12-02-02-11-14&catid=56:cover-story&Itemid=75

Search and Buy from amazon.com