Saturday, June 20, 2009

विद्रोहको नीति समेट्न वैद्यको दबाब

विद्रोहको नीति समेट्न वैद्यको दबाब

गंगा बीसी

काठमाडौं, माओवादी अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमा 'जनविद्रोहको नीति समेट्न' वरिष्ठ नेता मोहन वैद्यले दबाब दिएका छन् ।

पोलिटब्युरोको कोटेश्वरमा जारी बैठकमा दाहाल प्रतिवेदन 'पूर्ण नभएको' भन्दै वैद्यले त्यसमा विद्रोहको नीति नसमेटे 'नोट अफ डिसेन्ट' लेख्ने चेतावनी दिएका हुन् । दाहालको प्रतिवेदनमा माओवादी नेतृत्वमा राष्ट्रिय सरकार बनाई जनमुखी संविधान निर्माण गर्ने नीतिलाई प्राथमिकता दिइएको छ ।

'महत्त्वपूर्ण विचार समेटी प्रतिवेदन परिमार्जन नभए फरक मत आउनेछ,' वैद्यनिकट स्रोतले भन्यो, 'विचारलाई संस्थागत गर्नु आवश्यक छ ।'

करिब पौने घन्टा लामो टिप्पणीमा वैद्यले आधा घन्टा माक्र्सवादको व्याख्या गरेका थिए । उनले पार्टी प्रतिवेदन 'सामान्यतः' ठीकै भए पनि आगामी कार्यनीति स्पष्ट हुन नसकेको बताएका थिए । 'सारमा उहाँको टिप्पणी जनविद्रोहको तयारी गर्नुपर्छ भन्ने हो,' एक पोलिटब्युरो सदस्यले भने ।

दाहालको राष्ट्रिय सरकारको प्रस्तावमा वैद्य पक्षले असन्तुष्टि व्यक्त गरेको छ । वैद्यले घुमाउरो पाराले 'कांग्रेस र एमालेसहितको राष्ट्रिय सरकार' बनाउने कुरा सम्झौता मात्र हुने बताएको स्रोतको दाबी छ । 'जनविद्रोहको वातावरण पनि बन्दै गएको र त्यसका लागि पार्टीले तयारी गर्नुपर्ने सार हो,' अर्का सदस्यले कान्तिपुरसँग भने ।

वैद्यले माक्र्सवादको व्याख्या गर्दै पार्टीले 'वर्ग संघर्ष' लाई ख्याल नगर्दा वर्तमान नियति भोग्नुपरेको बताएका थिए । पार्टीमा अन्तरसंघर्ष जरुरी रहेको उल्लेख गर्दै फरक विचारलाई पनि उत्तिकै महत्त्व दिनुपर्ने धारणा राखेको स्रोतले जनाएको छ ।

भक्तपुरको खरिपाटी बैठकपछि अध्यक्ष दाहालले आफ्नो प्रतिवेदनका विषयलाई समेटेर पार्टीभित्र बलियो एकता कायम गर्न नसकेको उल्लेख गरेका थिए । 'दुई पक्षबीच जुन सहमति भएको थियो, त्यहीअनुसार पार्टीभित्र भावनात्मक कायम हुन सकेन,' वैद्य पक्षका एक नेताले भने, 'भावनात्मक एकताको कुरालाई ख्याल नगर्दा पार्टीमा द्वन्द्व बढदै गएको हो ।' मंसिरको खरिपाटी बैठकपछि मौन रहेका वरिष्ठ नेता वैद्यले पार्टीको महाधिवेशनलाई मध्यनजर गर्दै फरक मत प्रस्तुत गर्न लागेका हुन् ।

दाहाल नेतृत्वको पार्टी एमालेजस्तै 'संशोधनवादी' धारमा जाने बुझाइ नेता वैद्यको छ । उनको बुझाइलाई गलत सावित गर्न दाहालले प्रतिवेदनमा 'नागरिक सर्वोच्चताको पक्षमा सशक्त आन्दोलन गर्ने' उल्लेख गरेका छन् ।

बैठकमा वैद्यले कांग्रेस र एमाले शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियालाई सफल बनाउने पक्षमा नभएको भन्दै उनीहरूसहितको राष्ट्रिय सरकार बन्न नसक्ने धारणा राखेका

थिए । 'राष्ट्रिय सरकार कसरी बनाउने हो स्पष्ट हुन जरुरी छ,' वैद्यले बैठकमा बताए । उनले 'प्रतिक्रान्तिकारीहरू सल्बलाइरहेका बेला राष्ट्रिय सरकारको कुरा गरेर मात्र नहुने' उल्लेख गरेको स्रोतले जनाएको छ ।

वरिष्ठ नेताद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले 'सैद्धान्तिक रूपमा दाहालको प्रतिवेदन' सही भएको बताएका थिए । स्रोतका अनुसार उनीहरूले नागरिक सर्वोच्चताको पक्षमा आन्दोलनलाई सशक्त पार्नुपर्ने बताएका थिए । उनीहरूले 'राष्ट्रिय सरकार' का लागि आन्दोलन नै एकमात्र विकल्प भएको बताएको स्रोतले जनाएको छ । तर दुवै नेताले प्रतिवेदनको थप व्याख्या आवश्यक रहेको उल्लेख गरेका थिए ।

'बैठकपछि पार्टी एकता नयाँ उचाइमा हुनेछ,' नेता श्रेष्ठले कान्तिपुरसँग भने, 'पार्टी अझै क्रान्तिकारी भएर अघि बढ्ने छ ।' मंगलबार सुरु भएको बैठकमा अध्यक्ष दाहालले 'वर्तमान परिस्थिति र सर्वहारा वर्गको दायित्व' शीर्षकको १९ पेज लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । माओवादीभित्र 'जनगणतन्त्र' को बहसपछि 'जनविद्रोह' को बहस सुरु भएको थियो ।

दाहाल दामनमा

शनिबार बिहान पोलिटब्युरो बैठक र अपराह्न भारतीय विदेश सचिव शिवशंकर मेननसँग वार्तापछि अध्यक्ष दाहाल बेलुका मकवानपुरको पर्यटकीय स्थल दामन पुगेका छन् । दाहालले आइतबार पालुङमा 'थाहा' आन्दोलन संस्थापक रूपचन्द्र बिष्टको सालिक अनावरण गर्ने कार्यक्रम छ । उनी त्यता गएपछि पोलिटब्युरोको बैठक एक दिन स्थगित भएको छ ।

Posted on: 2009-06-20 19:15:12

source:

http://www.kantipuronline.com/kolnepalinews.php?&nid=200147


No comments:

Search and Buy from amazon.com