Tuesday, June 23, 2009

मूर्ति-भञ्जक रूपचन्द्रको मूर्ति

मूर्ति-भञ्जक रूपचन्द्रको मूर्ति
अन्य समाचार
पुरानो अंक

खगेन्द्र संग्रौला
2009-06-23,Tuesday


अजंगको कदका रूपचन्द्र विष्ट एक जटिल ग्रन्थी, एक रोमाञ्चक रहस्य, एक विचित्र मानवजस्ता लाग्थे । पहिलोपटक भेटेर तिनका विचित्रका कुरा सुन्ने जोसुकैलाई पनि लाग्दो हो- यो मानिस तामसी हो, सन्काहा हो अथवा यो 'ठिस्' हो । यसको दिमागका एक-दुईवटा तार त पक्का पनि खुकुलिएकै होलान् ! तर, त्यही क्षणमा तिनको असामान्य व्यक्तित्वको सतहमुनि लुकेको कुनै चुम्बकीय तत्त्वले उसलाई नजानिँदोगरी आफूतिर खिच्दो पनि हो । रूपचन्द्र विष्ट आफ्नो लवाइ र खवाइमा, चिन्तन र वचनमा, आदर्श र आचरणमा लुखुर-लुखुर सनातनी गोरेटोमा हिँड्ने सरदर मानिसभन्दा बिछट्ट बेग्लै थिए । उनको विचारको मौलिकता, उनको आदर्शको आकर्षण र उनको आचरणको शक्ति त्यही उनको बेग्लोपनबाट पैदा भएको थियो । उनको त्यो बेग्ल्याइँ दुई जिब्रे कुरा, पाखण्डी अभिनय वा छलकारी आश्वासनमा होइन, कथनी र करनीको मितेरी साइनोमा थियो, आदर्श र आचरणको संगममा थियो । उनी जे भन्थे, त्यो गर्थे । उनी जे गर्थे, चुसिएका र हेपिएका, दबिएका र बक् हरिएका जनहरूका लागि गर्थे । अनि उनी जे गर्थे, त्यसबाट आफू कुनै फल पाउने आशा कहिल्यै गर्दैनथे । उनको सेवाको दाउ पछि मेवा खानु थिएन । उनी जे गर्थे, केवल जनजागृतिका लागि गर्थे, केवल न्यायका लागि गर्थे, केवल सत्य, शिव र सुन्दरका लागि गर्थे ।

'थाहा'पथको राम्ररी भेउ नै नपाएका अल्पज्ञानी बटुवाहरूको जस्तो अभिनय गरे
रूपचन्द्र विष्ट साँचो अर्थमा मूर्ति-भञ्जक थिए । जहाँजहाँ पाइला टेक्थे, त्यहाँ उनी मूर्ति-भञ्जन गर्न अर्थात् मूर्ति तोड्न बेतोडले आफ्ना विचारको घन उठाइहाल्थे । त्यो सत्यको मखमली खोल हालिएको झूठको मूर्ति हुनसक्थ्यो । त्यो न्यायको चहकदार जलप लगाइएको अन्यायको मूर्ति हुनसक्थ्यो । त्यो सत्यको भ्रान्तिकारी आवरणमुनि छोपिएको असत्यको मूर्ति हुनसक्थ्यो । र, त्यो सदाचारको सुन्दर खोलभित्र लुकाइएको दुराचारको कुरूप मूर्ति हुनसक्थ्यो । रूपचन्द्र विष्ट आफ्नो मूर्ति-भञ्जन अभियानमा एक आँधी थिए, एक आतंक थिए । रूपचन्द्र एकमा अनेक थिए । चिन्तक पनि आफैं, आफ्नो चिन्तनलाई मूर्तरूप दिने व्यूहरचनाकार पनि आफैं, त्यो व्यूहरचनालाई व्यवहारमा साकार रूप दिन अभियानमा निस्कने जोदाहा पनि आफैं । एक छाँटका एकल अभियन्ता ! जोजो उनको अभियानको पछि लागे, ती उनले 'आऊ' भनेर आएका थिएनन् । ती उनको आकर्षणबाट डोरिएर यस्सै आएका थिए । ती उनको चिन्तन, कर्म र आचरणको सुवासबाट मोहित भएर आएका थिए ।

लाजमर्नु कुरो, अहिले उनै साहसिक मूर्ति-भञ्जक रूपचन्द्र विष्टको मूर्ति खडा गरिएको छ । सुन्छु, मूर्ति खडा गर्नेहरू उनकै अभियानका सहयात्रीहरू हुन् । सके यी मूर्तिपूजकहरू रूपचन्द्रपथका ज्ञाता र प्रवक्ता, अनुयायी र साधक भनी आफूलाई चिनाउनमा खुबै गर्व गर्दा हुन् । तर, मूर्ति-भञ्जक रूपचन्द्रकै मूर्ति खडा गरेर तिनले तिनका आदर्शको विम्बमा ध्वाँसो त दलिदिएका छन् नै, यिनले आफ्नै हातले ध्वाँसो दलेर आफ्ना अनुहार पनि हेरिनसक्नु बनाएका छन् ।

०३६ सालको जनमत संग्रहको चेतन-प्रवाहको धक्काले जब शाही पञ्चायतको धनु हल्लाइदियो, रूपचन्द्र विष्ट पञ्चायती राजनीतिको मैदानमा हाम्फाले । उनले आफ्नो राजनीतिको नाउँ 'जनमुखी' राखे । उनले चलनचल्तीको कुनै दर्शन वा राजनीतिक आदर्शको म अनुयायी हुँ भनेनन् । बरु शाही पञ्चायतका आँखा छल्न उनले 'थाहा' शब्द रोजे । त्यो 'थाहा' उनको दर्शन, सिद्धान्त, आदर्श सबैथोकको प्रतीक थियो । उनले 'थाहा'का अनेक आकारका रबरछाप बनाए र जहाँ गयो त्यहाँ उनी भकाभक 'थाहा' छाप ठोक्दै हिँडे । सडकका भित्तामा 'थाहा' छाप, घरका भित्तामा 'थाहा' छाप, चौतरी-देउरालीमा 'थाहा' छाप, युवाहरूका छाती-छातीमा 'थाहा' छाप । नागबेली परेको जीवन-यात्रामा वाहन चालक र प्रधानाध्यापकबाट प्रधानपञ्च हुँदै उनी 'जनमुखी' शैलीमा राष्ट्रिय पञ्चायतको चुनाव लड्न पुगे । त्यो पनि उही 'जनमुखी' शैलीमा । हातमा एक अम्मलको पर्चा छ, मुखमा छ 'ए भाते, कुकुरहरू' हो ! कुमबाट हाते माइक झुन्डिएको छ, उनी कबाडीखानाबाट झिकिएजस्तो पत्रु स्कुटरमा चढेका छन् । सित्तीमा कसैको केही नलिने उनको कठोर नीति छ । उसो त विचार र आदर्शबाहेक उनी कुनै पनि भौतिक वस्तु सित्तीमा कसैलाई नदिन पनि प्रतिबद्ध छन् । चुनावी खर्च जोड्न उनी सुका-मोहोरमा 'भाते, कुकुरहरू'लाई पर्चा हातहातै बेच्छन् । वचन त्यस्तो क्षुद्र छ, तैपनि मानिसहरू हाँसी-हाँसी उनका पर्चा किनेर बडो खुल्दुलीसाथ पढ्छन् । रूपचन्द्रको मनोरचना र अभिव्यक्ति शैली तिनले बुझेका छन् । र, नै तिनका नजरमा रूपचन्द्रको 'भाते, कुकुरहरू' क्षम्य छ ।

राष्ट्रिय पञ्चायतको चुनावी सरगर्मी जारी छ । जताततै भित्ताभरि अरू उम्मेवादरहरूका एकदमै भड्किला चुनावी फोटा टाँसिएका छन् । रूपचन्द्रको त्यस्तो केही छैन । ती भन्छन्- 'चुनाव लड्ने फोटाले होइन, विचारले हो । राजनीति गर्ने अनुहारले होइन, भावनाले हो ।' उनको त्यो भनाइमा मूर्ति-भञ्जनको हुंकार बोल्छ । तर, उनै रूपचन्द्रलाई श्रद्धा टक्रयाउन भनी उनैले भन्ने गरेका 'भाते, कुकुरहरू'ले अहिले तिनको कर्मथलो पालुङमा तिनको आदर्शलाई क्रूरतासाथ कुल्चिँदै तिनको निष्प्राण र भावशून्य मूर्ति ठड्याएका छन् । त्यो मूर्तिमा रूपचन्द्रको पि्रय आदर्शलाई गिज्याइएको त छ नै, त्यसमा कर्मकाण्डीय मूर्तिपूजाप्रतिको भयानक आशक्ति पनि प्रकट भएको छ ।

कुरा फेरि उही पञ्चायती चुनावका । रूपचन्द्र सूत्रवचनहरूमा आफ्नो राजनीतिको अर्थ ट्याक्क भर्छन् । अनि, उनी आफ्नो अभियानलाई 'निष्पक्ष अभियान' भनी अथ्र्याउँछन् । तैपनि पक्षधरताको ध्वजा उचालेर उनी उद्घोष गर्छन्- 'श्रमिकको राजनीति पुँजीपतिले गरेर हुँदैन, छाप्रोको राजनीति दरबारले गरेर हुँनैन ।' उनी कुरा घुमाएर आफ्नो चिन्तनको सार प्रकट गर्छन्- 'हामी कसैका होइनौँ, कोही हाम्रा होइनन् । हामी सत्य र न्यायका, सत्य र न्याय हाम्रा ।' उनको मनको पन्तुरोभरि जनचेतना जगाउने राजनीतिका यस्ता सूत्रवचनहरू छन्, र उनको झोलामा छ पेट भर्ने रुखोसुखो रासन । उनी ज-जसका घरमा बस्छन्, आफ्नो र घरबेटीको रासन बाँडीचुँडी खान्छन् । खातिरदारी उनलाई मन पर्दैन, खुला र सादापन पाए उनी फुरुङ पर्छन् । उनी फिरन्ते भेषमा मकवानपुर जिल्लाका दुर्गम र विकट भेगका एक-एक अभावग्रस्त छाप्राहरू चहार्छन् । उनी पलेँटी कसेर गुन्द्रीमा बस्छन् र मन फुकाएर गाउँलेहरूसँग बात मार्छन् । आफू सूत्रमा छोटोमा छिटो बोल्छन् । र, अरूहरूलाई मनका बह पोख्न मनग्गे मौका दिन्छन् । यसरी माओका शब्दमा उनी गाउँलेरुसँग माछो र पानीको साइनो गाँस्छन् । यी हुन्- 'थाहा' आन्दोलनका प्रणेता 'जनमुखी' रुदाने !

जिब्रामा विचारको तेजस्वी घन छ । रूपचन्द्र मूति-भञ्जन गर्ने आफ्नो तुफानी यात्रामा गतिमान् छन् । जेजे हो र जो जस्तो हो, उनी त्यसलाई प्वाक्क त्यस्तै भन्दिन्छन् । उनलाई न केहीको डर छ, न कसैको त्रास । के प्रशासक, के शासक, के साहु, के मठाधीश सबैलाई उनी 'ए भाते, भ्रष्टाचारी, दुराचारी' भन्न बाँकी राख्दैनन् । भन्छन् र भनिनेको साँचो चिनारी उसकै आँखासामु उदांगो पारिदिन्छन् । उनलाई कसैका अगाडि निहुरिएर हात पसार्नु छैन । उनको अदम्य नैतिक शक्तिको मुहान त्यहीँ छ ।

'जनमुखी' भेषमा नवीन विचारको शक्तिले ओतप्रोत भएर जब रूपचन्द्रले राष्ट्रिय पञ्चायतमा पाइला टेके, यो कहाँको को आइलाग्यो भनेर राजाका दाससरहका पञ्चहरू तिल्मिलाए । पञ्चायतलाई 'राष्ट्रियता' र 'विकास'को मायावी झल्लरीभित्र सजाइएको थियो । उनले त्यो झल्लरी ध्वाध्र्वारी च्याते । र, भने- भाते हो ! यो महाभ्रष्टाचारी व्यवस्था हो । त्यो महाभ्रष्टाचारी व्यवस्थाका नियम र कानुन, नीति र कार्यक्रम बनाउने राष्ट्रिय पञ्चायतको अध्यक्षलाई पञ्च 'माननीय'हरूले निहुरिएर 'सम्माननीय' भन्नुपथ्र्यो । रूपचन्द्रले भन्न इन्कार गरे । अध्यक्षको नाउँको जीव उनलई 'माननीय' भनी पुकाथ्र्यो । उसलाई पनि उनले बराबरीको साइनो लगाएर 'माननीय'मात्र भने । राजाका छायारूपी पञ्चहरूको भीडमा खैलाबैला मच्चियो । र, उनलाई 'माननीय' फिर्ता लिएर 'सम्माननीय' भन्न गर्नुविधि कर्काप गरियो । तर, 'थाहा'को तत्त्वबोध भएका रुदानेले टेरपुच्छर लाएनन् । छाती फुकाएर उभिँदै बेलायती बैठकको सभाकक्ष नै थर्किनेगरी उनले भने- कोही 'सम्मानीय' हुन जनता 'जाननीय' हुनुपर्छ । त्यसै भइन्छ 'सम्माननीय' ? बस्, 'थाहा'सँग जोरी खोज्ने 'भाते' पञ्चहरू मुखामुख गर्दै तैँ चुप् मै चुप् भए ।

मूर्ति-भञ्जक रूपचन्द्रको 'थाहा' अभियान निख्ला वचनको आत्मतुष्टिकारी विलासमात्र थिएन । सिर्जना र निर्माणको चक्र पनि त्योसँग नङ-मासुझैं गाँसिएको थियो । रूपचन्द्रका सिर्जनशील हात शिक्षा र कृषि, सडक र सहकारीतिर पनि लहसिए । बाटो खन्ने अगुवा आफैं, ढुंगा बोक्ने अगुवा आआफैं, बारी खन्ने अगुवा आफैं, आफैं आफ्नो खटनकर्ता, आफैं आफ्नो कुल्ली । रूपचन्द्रका 'नारी, किसान, कलिला'हरूले उनलाई आँखाका नानीमा र हृदयको झोलीमा प्रेमले सजाएर राखेको त्यसै हो र ?

'थाहा' फगत चेतनाका 'जनमुखी' तरंगहरू उनिएर बुनिएको खुकुलो आन्दोलन थियो । रूपचन्द्रमा न संगठनको संरचना बनाउन उत्रो चिन्ता थियो, न त नेतृत्वको तहगत पंक्ति खडा गर्न चासो नै थियो । उनी चेतना र आदर्शको विशाल छाता थिए, त्यो छातामुनि ओत लाग्न मानिस यसै डोरिएर आउँथे । ०४६ सालमा जब बहुदलीय प्रजातन्त्र फक्र्यो, ठूला दलका प्रजातन्त्र र जनवादका उपासक हौँ भन्नेहरूले चुसाहा सेठहरूको मुक्त बजारमा लगेर आदर्शजति बुझाइदिए, र आफू टपरी बोकेर सत्ताको भान्सामा लुसुक्क पसे । 'जनमुखी' 'थाहा' आन्दोलन राजनीतिका अगस्ती खाओवादीहरूको घेराउमा पर्‍यो । यो मिचियो, यो किचियो, यो छिन्नभिन्न भयो र यो अलपत्र पर्‍यो । अनि रूपचन्द्रको बाँकी जीवन पराजित मुद्रा, एक्लोपन, उदासी र सुस्केरामा सकियो ।

'थाहा' चिन्तन सूत्र कविता र सूत्र गद्यमा रहस्यजस्तो भएर यत्रतत्र छरिएको थियो । न त्यसको व्यवस्थित खाका खिचियो न जनसाधारणले सहजै बुझ्ने भाषामा त्यसलाई लिपिबद्ध गरियो । आखिरमा कुनै रहस्यमय गुप्तज्ञानझैं त्यो रूपचन्द्रको एकान्तबाससँगै भूमिगत भयो । रूपचन्द्रका अनुयायीहरू जो थिए, तिनले 'जनमुखी' 'थाहा' पथको राम्ररी भेउ नै नपाएका अल्पज्ञानी बटुवाहरूको जस्तो अभिनय गरे । हुँदा-हुँदा अहिले ती मूर्ति-भञ्जक रूपचन्द्रको आदर्शलाई लतारेर निष्प्राण र रुढिमुखी मूर्तिमा पछार्न पो पुगे । लाग्छ, यो 'जनमुखी' 'थाहा' पथको कारुणिक दुर्दशा हो ।

विडम्बनावश, मूर्ति-भञ्जक रूपचन्द्रको मूर्तिको अनावरण माओवादी अध्यक्ष प्रचण्डका करकमलबाट भयो । यी विद्रोही नेतालाई 'मेरो एक्काइसौँ शताब्दीको जनवाद मूर्तिपूजासँग असमत छ' भन्ने वाक्य फुरेन । दृश्यमा देखेँ, रूपचन्द्रको मूर्ति अनावरण गरिने थलोमा 'महान् माक्र्सवादी सौन्दर्य चिन्तक' भनीकन कहलिएका मोहन वैद्य किरण पनि हाजिर थिए । ती मूर्ति-भञ्जक रूपचन्द्रको मूर्ति स्थापना गरिने थलोमा फड्के किनाराको साक्षी बसेको दृश्य मलाई बडो हास्यास्पद लाग्यो । तिनको सौन्दर्यशास्त्रमा मूर्ति-भञ्जन र मूर्तिपूजाबीच कुनै भेद नै पो नभएको हो कि ?

थाहा छ, 'जनमुखी' 'थाहा आन्दोलन'मा 'नारी, किसान, कलिला'हरूलाई खुबै सम्मानका नजरले हेरिन्थ्यो । तिनको जागरण, तिनको मुक्ति र तिनको सुख नै यो आन्दोलनको एकमात्र अभीष्ट थियो । रूपचन्द्रको मूर्तिको अनावरण कुनै बालिकाको कलिलो हातबाट भएको भए 'थाहा'कर्मीहरूले कमसेकम रूपचन्द्रको आदर्शलाई बिर्सेका रहेनछन् भनेर चित्त बुझाउने एउटा लुरे उपाय त हुन्थ्यो कि ! तर, 'नारी, किसान, कलिला'हरूलाई भुसुक्कै बिर्सेर प्रचण्डको भेषमा तिनले शक्तिको मुख ताके ।
अनर्थ गरियो ! मूर्ति-भञ्जक रूपचन्द्र विष्टको आदर्शलाई उनैको मूर्तिमा गिराएर गर्नु/नगर्नु उपहास गरियो !
source:

No comments:

Search and Buy from amazon.com