Wednesday, June 17, 2009

दिल्लीमा ओलीको भेटघाट तीव्र

दिल्लीमा ओलीको भेटघाट तीव्र

नेपाल समाचारपत्र, (काठमाडौं) नेकपा (एमाले) का प्रभावशाली नेता केपी शर्मा ओलीले मंगलबार भारतीय विदेशमन्त्री एसएम सिन्हा, अर्थमन्त्री प्रणव मुखर्जी र भारतीय जनता पार्टी वरिष्ठ नेता एवम् पूर्वअध्यक्ष लालकृष्ण आडवाणीसँग अलग-अलग भेटवार्ता गर्नुभएको छ।

नयाँ दिल्लीस्थित विदेश मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री सिन्हाले एमाले नेतृत्वमा रहेको नेपालको गठबन्धन सरकारको सफलताको कामना गर्नुभएको थियो। ओलीनिकट स्रोतका अनुसार सिन्हाले भारतले शान्तिप्रक्रिया चाँडै निष्कर्षा पुगेको हेर्न चाहेको बताउनुभएको थियो।

उता ओलीले हिजै भाजपाका वरिष्ठ नेता एवम् पूर्वअध्यक्ष आडवाणीसँग समेत भेटवार्ता गर्नुभयो। आडवाणीले नेपालको जारी शान्ति प्रक्रिया, नयाँ संविधान निर्माण र वर्तमान राजनीतिक स्थितिबारे ओलीसँग जिज्ञासा राख्नुभएको ओलीनिकट एक नेताले नेपाल समाचारपत्रलाई जानकारी दिए। भेटवार्तामा भारतीय अर्थमन्त्री मुखर्जीले माओवादी आन्दोलन निस्तेज गर्न के उपाय छ त भनी ओलीसँग जिज्ञासा राख्नुभएको बताइएको छ।

स्वास्थ्य उपचारका क्रममा आइतबार दिल्ली पुग्नुभएका नेता ओलीले त्यहाँका नेता र सरकारी अधिकारीसँगको भेटलाई तीव्रता दिइरहनुभएको छ। ओलीले सोमबार मात्रै भारतीय विदेशसचिव शिवशंकर मेननसँग भेटवार्ता गर्नुभएको थियो। मेनन आगामी शनिबार नेपाल भ्रमणमा आउने कार्यक्रम छ।

source:

http://www.newsofnepal.com/new/detailnews.php?type=mahanagar&id=3568



No comments:

Search and Buy from amazon.com