Sunday, July 31, 2011

आखिर प्रचण्डकै जित !

आखिर प्रचण्डकै जित !


एकीकृत नेकपा माओवादीभित्र दुई महिनाभन्दा लामो समयसम्म चर्केको अन्तरकलहको पटाक्षेप यसरी होला भन्ने कसैले कल्पना पनि गरेको थिएन। पार्टीसत्ता अँठ्याएर बसेका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को अधिनायकत्वलाई धुजाधुजा पार्न अन्तत: उपाध्यक्षत्रय मोहन वैद्य 'किरण', बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र महासचिव रामबहादुर थापा 'बादल' तमाम विमतिहरूलाई बिसाएर एक ठाउँमा उभिएका अनुमान गरिएको थियो। एकीकृत माओवादीका धेरै कार्यकर्ताले उत्कर्षमा पुगेको ध्रुवीकरणलाई पार्टीभित्र सामूहिक नेतृत्व प्रणाली स्थापित गर्ने अनिवार्य प्रक्रियाका रूपमा बुझिरहेका थिए भने माओवादीइतरका पक्षहरूले यसलाई युद्धको धङधङीमा रुमल्लिरहेको त्यस पार्टीको प्रजातान्त्रीकरणको निर्णायक घटनाक्रम भनिरहेका थिए।

तर, उत्कर्षले माओवादीपंक्ति र इतरपक्षका ती आशा र अपेक्षाहरू गलत थिए भन्ने प्रमाणित गरििदयो। नयाँ संविधान लेख्न र शान्ति प्रक्रिया टुंग्याउन ढिलो भइरहेका बेला चर्केको कलहलाई 'विकासक्रम'का रूपमा हेररिहेकाहरू पनि जिल्लिएका छन्। वैद्य र भट्टराईको अस्वाभाविक र लगभग अप्राकृतिक गठजोड, श्रेष्ठको रहस्यमयी क्याम्प परविर्तन र थापाको साहसिक पक्षधरता वस्तुस्थितिको स्वाभाविक उपज भएका ठानी ध्रुवीकरणले माओवादीलाई मात्रै नभई मुलुकलाई नै फाइदा पुर्‍याउने भनी गरिएका अड्कलबाजीहरू पनि हावादारी सावित भएका छन्।

अन्तत: ८ साउनमा अध्यक्ष प्रचण्डले जिते र वैद्य-भट्टराई-श्रेष्ठ-थापाको मोर्चाबन्दी ध्वस्त भयो। प्रचण्डले देखाएको 'लचकता'ले उनलाई राजनीतिका कुशल खेलाडीका रूपमा झन् स्थापित गरििदएको छ। हप्तौँको घम्साघम्सीबाट उनले केही गुमाएनन्, बरु धेरै कुरा आर्जन गरे। तीनै जना उपाध्यक्ष र महासचिवजस्ता हस्तीहरूको मोर्चाबन्दीलाई एक्लै भत्काउन सफल मात्रै भएनन् उनी, त्यो मोर्चाबन्दी स्वार्थहरूको कालोकाँचो किल्ला भएको प्रमाणित पनि गरििदए प्रचण्डले। अचम्म त के भने अन्तरकलहले अस्थायी विराम पाउने बेलासम्म प्रचण्डको लडाइँ सिद्धान्तरक्षाका लागि र वैद्य-भट्टराईको संघर्ष व्यक्तिगत र गुटगत स्वार्थका लागि रहेछ भन्ने देखियो। प्रचण्ड शान्ति र संविधानको आफ्नो कार्यसूचीमा टसमस भएनन् तर आफ्ना 'एजेन्डा' कुनामा थन्क्याएर वैद्यले पहिलेदेखि नै आफू प्रमुख रहेको संगठन विभागमा थप अधिकार पाउने र भट्टराईले भावी प्रधानमन्त्रीको पद सुरक्षित पार्ने प्रयास गरे।

एकीकृत माओवादीभित्र शान्ति र संविधानको मार्गचित्र कोर्ने व्यक्तिका रूपमा भट्टराईको छवि पनि धुमलिएको छ। यही अन्तरकलहका क्रममा प्रचण्डले भट्टराईको त्यो एजेन्डा खोसेर आफ्नो बनाएका छन्। १४ भदौ नजिकिँदै गर्दा जसरी भट्टराईलाई भावी प्रधानमन्त्रीको पदले लोभ्याएको देखियो, त्यसले आममानसमा उनी शान्ति र संविधानको आप्mनो मार्गचित्रप्रति त्यति गम्भीर छैनन् भन्ने अनुभूति गरायो। हिजोसम्म ढुलमुले अवस्थामा रहेका अध्यक्ष आफ्नो बाटोमा आउँदा भट्टराईले दह्रो गरी उनलाई साथ दिनुपथ्र्यो। तर, भट्टराई कुम जोड्न पुगे वैद्यसँग। यसलाई सुरुमा प्रचण्डलाई गलाउने जुक्तिका रूपमा बुझिए पनि परिणामले भने माओवादीको लोकतान्त्रिक रूपान्तरणमा भट्टराईको अडान कतै फोस्रो त होइन भन्ने प्रश्न जन्मायो। अर्थात्, अब उनी हिजोजस्तो पार्टीको लोकतान्त्रीकरणमा प्रतिबद्ध नेता नमानिन सक्छन्।

प्रचण्डले गरेको सम्झौताले उनको उचाइ थप बढाएको छ भने वैद्यदेखि थापासम्मका सबै प्रतिद्वन्द्वीको उचाइ मात्रै होइन, तौल पनि घटाइदिएको छ। वैद्य र भट्टराईहरूले मागेका सबै कुरा दिएरै प्रचण्डले शान्ति र संविधानलाई पार्टीको आगामी कार्यसूचीका रूपमा अनुमोदन गराइछोडे। यस घटनाले प्रचण्डलाई भविष्यको नेताका रूपमा नवीकृत गरेको छ। भट्टराईले भने चुनबाङयता आफूले कमाएको सबथोक एक दाउमा हार्न सके। उनको विद्वता र वैचारकि व्यक्तित्वको छविले अचानक धूलो चाटेको छ। नेपालको इतिहासमा तत्काल प्रधानमन्त्री बन्न धेरैले धेरै तिकडम गरे तर भविष्यमा प्रधानमन्त्री हुन यस्तो गरेको दृष्टान्त नै थिएन। उनले भविष्य रजिर्व गर्नुको अर्थ रहस्यमयी छ। भट्टराई आफूप्रति नै आश्वस्त छैनन् वा उनी कुनै दीर्घकालीन योजना अन्तर्गत भावी प्रधानमन्त्रीको पद सुरक्षित गराउन चाहन्छन् भन्ने प्रश्न उठ्नु अस्वाभाविक होइन।

वैद्य-भट्टराई-श्रेष्ठ-थापाको मोर्चाबन्दी अस्थायी थियो र उप्रान्त यस्तो गठबन्धनको सम्भावना पनि देखिन्न किनभने उनीहरूको साझा स्वार्थ थिएन। शक्ति र सत्ताको बाँडफाँट मित्रताको स्थायी सूत्र हुनै सक्दैन। आफ्ना कथित विचार र अडानमा बलियो गरी उभिएर एकअर्काविरुद्ध संघर्ष गर्नुपर्ने बेलामा जसरी वैद्य र भट्टराईले आश्चर्यजनक रूपमा एकअर्कालाई अंकमाल गर्न पुगे, त्यसले संशय नै उब्जायो। उनीहरूले पार्टीलाई नयाँ दिशा दिने कुनै साझा मुद्दामा टेकेर त्यसो गर्दा हुन् त त्यस मिलनको अर्थ हुने थियो। तर, वैद्य शास्त्रीय साम्यवादको आत्मघाती बाटोमा हिँडिरहेका भन्ने कुरा भट्टराईले र भट्टराई संशोधनको गोरेटोमा सोझिएका भन्ने कुरा वैद्यले बिर्सन सके। विमतिहरूलाई थाती राखेर अस्थायी मित्रता गाँस्न पनि त धरातल चाहिन्छ।

अहिलेलाई थामथुम पारिएको अन्तरकलहको उत्कर्षमा वैद्य र भट्टराईबीचको मित्रताको कुनै तार्किक धरातल देखिएन। यसले प्रस्ट गर्न खोजेको कुरा एउटा मात्रै हो, ती दुवै नेतामा दमित जन्मजात निम्न पुँजीवादी चिन्तनको विस्फोटन थियो त्यो मिलन। प्रचण्डसँग पछिल्लो सहमति गरेर वैद्यले अबका दिनमा जनविद्रोहको कुरा गर्ने सम्पूर्ण नैतिक अधिकार गुमाइसकेका छन्। उनले संगठन विभाग प्रमुखको पद पाउन शान्ति र संविधानको प्रचण्ड कार्यसूचीमा सहमति जनाएका हुन्। उता भट्टराई र उनको क्याम्पले शान्ति र संविधानको प्रश्नमा आफ्नो 'प्याटेन्ट राइट' दाबी गर्नु पनि उत्तिकै अनैतिक हुनेछ किनभने जतिबेला शान्ति र संविधानको सवाल बहसको निर्णायक चरणमा प्रवेश गररिहेको थियो, भट्टराईले त्यसलाई मोलतोलको विषय बनाए। भावी प्रधानमन्त्रीको पद नपाएका भए भट्टराईले शान्ति र संविधानको कार्यसूचीको कुन हविगत बनाउँथे होला ? विचारणीय प्रश्न हो।

राजनीति किताबका पानामा लेखिएजस्तो हुँदैन, न त यो जडता र पाखण्डका आडमै गरनिे कुरा हो। माओवादीभित्रको पछिल्लो अन्तरकलहले पनि यस्तै संकेत गरेको छ। जति दम्भी, ढुलमुले, चालबाज र शक्तिका भोका भनिए पनि एकीकृत माओवादीभित्र अहिले पनि भिजन र वजन भएका नेता प्रचण्ड मात्रै हुन् भन्नेमा अब कुनै शंका रहेन। उनले पार्टीमा दुई दशकदेखि एकछत्र शासन त्यसै गरेका रहेनछन्। एकान्तमा बसेर किताब चाट्नेहरू, दुई सय वर्ष पहिलेका नारा फलाक्नेहरू र यता न उताको राजनीतिमा जीवन खर्चनेहरूकै भरमा माओवादी आन्दोलन यहाँसम्म आइपुगेको रहेनछ, बरु प्रचण्डजस्ता चतुर राजनीतिक रणनीतिकारकै भरमा आज माओवादीले यो उचाइ हासिल गरेको रहेछ भन्नेमा अब शंका रहेन।


source:

http://www.ekantipur.com/nepal/article/?id=2606


Search and Buy from amazon.com