Thursday, June 11, 2009

देउवा, सुजाताको दबाबमा कांग्रेसको निर्वाचन स्थगित

देउवा, सुजाताको दबाबमा कांग्रेसको निर्वाचन स्थगित

काठमाडौं,जेठ २८ (नागरिक)- नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि जेठ ३१ गते हुने भनिएको निर्वाचन शेरबहादुर देउवा र सुजाता कोइरालाको दबाबमा स्थगित भएको छ । मतदान १ हप्तापछि सारिएको बताइए पनि मतदानको नयाँ मिति सार्वजनिक गरिएको छैन ।

सभापति गिरिजाप्रसाद कोइरालाले देउवा र सुजाताको दबाबमा बिहीबार बिहान चुनाव कार्यक्रम सार्न निर्वाचन समितिका संयोजक आनन्द ढुंगानालाई निर्देशन दिएका छन् ।

सरकारमा कांग्रेसको नेतृत्वमा सुजाता कोइरालालाई समर्थन गरेको र योग्यता र वरिष्ठताको आधारमा नभई आफूनिकट व्यक्तिलाई मात्र मन्त्री बनाएको आरोपमा पछिल्ला दिनमा पार्टीपंक्ति देउवाप्रति असन्तुष्ट रहँदै आएको छ । यसैकारण आफू संसदीय दलको चुनावमा पराजित हुन सक्ने आशंकाले देउवाले सुजातालाई चुनाव स्थगित गर्न कन्भिन्स गरेको र सुजाताले सभापति कोइरालालाई दबाब दिई चुनाव सार्ने निर्णय गर्न लगाएको कांग्रेस स्रोतले जानकारी दिएको छ ।

आउँदो आइतबार हुने भनिएको संसदीय दलको नेता चयनको चुनावमा वरिष्ठ नेता देउवासँगै उपसभापति रामचन्द्र पौडेल र महामन्त्री केबी गुरुङ उम्मेदवार हुने सम्भावना थियो । सभापति गिरिजाप्रसाद कोइरालाले नै दलको नेता हुन खोजे भने देउवा पौडेल र गुरुङ तीनै जना प्रतिस्पर्धाबाट पछि हट्न सक्ने सम्भावना रहेको समेत स्रोतले उल्लेख गरेका छन्।

संविधानसभाको निर्वाचन भएको १४ महिनापछि कांग्रेसले संसदीय दलको नेता छान्न मिति तोकेको थियो । निर्वाचन समितिको बुधबार बसेको बैठकले संविधानसभा संसदीय दलको विधान २०६५ अनुसार संसदीय दलको निर्वाचन गर्ने निर्णय गरेको थियो ।

source:

http://www.nagariknews.com/politics/party-politics/1854-2009-06-11-06-58-14.html

No comments:

Search and Buy from amazon.com