Tuesday, June 16, 2009

इन्टरनेट प्रयोगकर्ता एक लाख ७० हजार

इन्टरनेट प्रयोगकर्ता एक लाख ७० हजार


रामचन्द्र भट्ट, काठमाडौं असार २-
सूचना प्रविधिको अभिन्न अंग मानिएको इन्टरनेटका प्रयोगकर्ता नेपालमा १ लाख ७० हजार पुगेका छन्।
नेपाल दूरसचार प्राधिकरण र सबैभन्दा ठूलो इन्टरनेटसेवा प्रदायक नेपाल टेलिकमको प्रतिवेदनको आधारमा इन्टरनेटका प्रयोगकर्ताको यो तथ्यांक बाहिर आएको हो। वैशाखसम्ममा नेपाल टेलिकमको मात्र इन्टरनेट ग्राहक ९८ हजार ९ सय ८१ पुगेको छ।
नेपाल टेलिकमको इन्टरनेट ग्राहक मासिक औसत ६ हजारको दरले बढेका छन्। गत असारमा टेलिकमको इन्टरनेट ग्राहक ४० हजार मात्र थिए।
इन्टरनेट प्रयोगकर्तालाई पनि आर्थिक विकासको एक महत्वपुर्ण सूचकांकको रुपमा लिइन्छ। नेपाल टेलिकमपछि इन्टरनेटका ग्राहक निजी इन्टरनेट सेवा प्रदायकहरुको ग्राहक धेरै छन्। निजी क्षेत्रका आइएसपीहरुसँग ६१ हजार इन्टरनेट सेवा लिने ग्राहक छन्।
आइएसपीहरु मध्य पनि सबैभन्दा धेरै ग्राहक वर्डलिंक र मर्कन्टाइल कम्युनिकेसनका छन् । दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा निजी आइएसपीको संख्या ३९ छ।
इन्टरनेट मोबाइल टेलिफोनमा समेत चल्ने भएपछि यसका ग्राहक ह्वात्तै बढेका हुन्। वैशाखमा मात्रै मोबाइल टेलिफोनमा चल्ने इन्टरनेट जिपिआरएसका ग्राहक १६ हजार ६ सय थपिएका छन्। जिपिआरएसका ग्राहक ३१ हजार ५ सय छन्। पोष्टपेडमा मात्र जिपिआरएस रहेकोमा फागुनदेखि प्रिपेड मोबाइलका ग्राहकलाई पनि दिन टेलिकमले सुरु गरेको छ।
नेपाल टेलिकमलेनै चार किसिमको प्रविधिबाट इन्टरनेट सेवा वितरण गर्छ। टेलिकमले सिडिएमए फोन जिएसएम मोबाइलबाट जिपिआरएस तारवाला फोनबाट डायलअप र एडिएसएल प्रविधिबाट इन्टरनेट वितरण गरिरहेको छ।
टेलिकमले सिडिएमए फोनबाट ४१ हजार ५ सय जिपिआरएसबाट ३१ हजार ५ सय डायलअपबाट १० हजार ३ सय र एडिएसएलबाट १५ हजार ५ सय ग्राहकलाई इन्टरनेट वितरण गरेको छ । सिडिएमए फोन जिपिआरएस प्रविधिबाट एउटै मात्र कम्प्युटर वा मोबाइलफोनमा इन्टरनेट चलाउन मिल्छ । एडिएसएलबाट पनि एकै स्थानमा मात्र इन्टरनेट चलाउन मिल्ने भएपनि नेटवर्किङ गरेर थुप्रै कम्प्युटरमा चलाउन सकिन्छ।
नेपाल टेलिकमले जस्तै सिडिएमए प्रविधिबाट युटिएलले पनि इन्टरनेट सेवा दिइरहेको छ । यसले 'युसिम'को नाममा छुट्टै डाटा कार्ड समेत ल्याएको छ। जसबाट युटिएलको नेटवर्क भएको जुनसुकै स्थानमा पनि इन्टरनेट चलाउन सकिन्छ। युटिएलको इन्टरनेट उपभोक्ता १० हजार छन् ।
टेलिकमले जस्तै मेरो मोबाइलले पनि जिपिआरएस प्रविधिबाट मोबाइलमा इन्टरनेट सेवा दिइरहेको छ । तरपनि जिपिआरएस प्रविधि महंगो र कम्प्युटरमा जसरी कामहरु गर्न नसकिने हुँदा नेपालमा काम विशेषले भन्दा पनि देखासिकी र रहरले मात्र ग्राहक बनेका छन्।
निजी आइएसपीहरुले भने डायलअप र केबुलबाट इन्टरनेट सेवा वितरण गरिरहेका छन्। डायलअप प्रविधिबाट भने एउटा प्रयोगकर्ताको पासवर्ड लिएर धेरै व्यक्तिले इन्टरनेट चलाउन सकिन्छ।
सिडिएमए फोनको विस्तार र शहरीकरण्णसँगै इन्टरनेटका ग्राहकहरु मासिक रुपमा व्यापक रुपमा बढीरहेका छन्।
डायलअपका ग्राहक घटेः
डायलअप प्रविधिको इन्टरनेट महंगो र ढिलो खुल्ने भएपछि यसको प्रयोगकर्ताहरु घटेका छन्।
गत असारसम्म साधारण फोनबाट डायलअप इन्टरनेट प्रयोग गर्नेहरु १० हजार ९ सय थिए। यो संख्या माघमा आइपुग्दा १० हजार ४ सयमा झरेको छ। तर वैशाख अन्तिममा यो संख्या घटेर १० हजार ३ सयमा झरेको छ।
टेलिकमले गत माघदेखि डायलअप इन्टरनेटको महसुल घटाएकोले केही ग्राहक थपिएपनि पुराना ग्राहकहरु भने यो प्रविधि छाडेर एडिएसएलतिर तानिएका छन्। साधारण फोनबाट चल्ने डायलअप इन्टरनेट महिनाभर प्रयोग गर्दा पाँचसय रुपैयाँ तिर्नुपर्छ। तर यो प्रविधिबाट इन्टरनेट चलाउँदा हरेक चार मिनेटको एककलको दरले टेलिफोनको महसुल समेत ग्राहकले तिर्नुपर्छ।
मासिक एकहजार रुपैयाँमा ग्राहकले १२८ किलोबाइट्सको एडिएसएल सेवा पाउने भएपछि डायलअप सेवा लिने ग्राहकहरु घटेका हुन्। 'डायलअपको फाइदा भनेको यो रोमिङ जस्तो तारवाला टेलिफोन भएको स्थान जहाँबाट पनि चलाउन सकिन्छ' टेलिकम प्रवक्ता सुरेन्द्र थिके भन्छन्।
महिनैपिच्छे डायलअप इन्टरनेटका ग्राहक घटेपछि टेलिकमले फागुनदेखि महसुल आधा घटाएको छ। महिनाभर जतिसुकै प्रयोग गर्दा १ हजार रुपैयाँ तिर्नुपर्ने इन्टरनेट शुल्क घटाएर ५ सय रुपैयाँमा झारेको छ। छ महिना प्रयोग गर्न ५ हजार ५ सय रुपैयाँ तिर्नुपर्नेमा त्यसलाई घटाएर २ हजार ७ सय ५० रुपैयाँमा झारिएको छ।
'हामीले शुल्क घटाए पनि ग्राहकले त्यत्ति चासो देखाएका छैनन्' टेलिकम इन्टरनेट बिभागका एक कर्मचारीले भने। काठमाडौं उपत्यकामा साधारण फोनबाट इन्टरनेट सेवा लिने ग्राहक एडिएसएलतर्फ आकर्षित भएपछि टेलिकमले डायलअप शुल्क घटाएको उनले बताए।
टेलिकमको डायलअप इन्टरनेट प्रयोकर्तामध्ये ९० प्रतिशत काठमाडौं बाहिरका हुन्। उक्त सेवा साधारण फोन भएको जहाँसुकैबाट प्रयोग गर्न सकिने सुबिधा छ। हाल अन्य प्रतिस्पर्धा सेवा प्रदायक कम्पनीले टेलिकम भन्दा निकै सस्तोमा इन्टरनेट दिन थालेकाले डायलअप ग्राहक घटिरहेका हुन्।
source:
http://www.nagariknews.com/economy/consumer/2006-2009-06-16-16-00-37.html

No comments:

Search and Buy from amazon.com