Sunday, June 21, 2009

सल्लाहकार पदबाट निस्कासन

सल्लाहकार पदबाट निस्कासन
हाम्रो सङ्गठन राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालका सल्लाहकार रहनुभएका श्री जेबी टुहुरे अचानक एकीकृत नेकपा (माओवादी) मा प्रवेश गरेको कुराले हाम्रो सङ्गठनको ध्यानाकर्षण भएको छ र यस घटनामा आश्चर्य व्यक्त गर्दछ। हाम्रो सङ्गठनमा रहँदासम्म कुनै पनि किसिमको वैचारिक, राजनीतिक र सांस्कृतिक विमति भएको कुरा जनकारीमा छैन। महासङ्घमा कार्यरत हुँदा उहाँको कतिपय व्यक्तिगत समस्याहरुका बारेमा सामूहिक रुपमा पर्याप्त छलफल र समाधान गर्ने प्रयत्न गरिएको हो। विभिन्न समस्याहरु विभिन्न समयमा सम्पूर्ण जनसांस्कृतिककर्मीहरुको सहयोग र सद्भावका आधारमा समाधान गरिँदै आएको पनि हो। यद्यपि, उहाँको सबल तथा दुर्बल पक्षसँग हामी पर्याप्त रुपमा परिचित छौँ। तर, अचानक व्यक्तिगत समस्या देखाई सो समस्या एकीकृत नेकपा (माओवादी)ले पूरा गर्ने कारण र तर्क दिँदै एकीकृत नेकपा (माओवादी)मा प्रवेश गरेको जानकारी पाइएको छ। उहाँजस्तो अग्रज व्यक्तिले गरेको यस प्रकारको कमजोर निर्णयले अन्ततः उहाँकै इतिहास समाप्त गर्ने काम भएको यस सङ्घको ठहर रहेको छ। उहाँप्रति सम्मान गर्ने र उहाँलाई यस स्थानसम्म स्थापित गराउन नेकपा (एमाले)सँग सम्बन्धित सदस्य समर्थक र शुभेच्छुकहरुप्रति उहाँको यस विश्वासघातलाई सहजरुपमा लिन सकिन्न।
साँढे तीन दशकसम्मको साङ्गीतिक यात्रामा पार्टी र सहकर्मीहरुबाट उहाँको सम्मान, उन्नयन र विकासका लागि यथासम्भव प्रयत्न गरेकै थियो। सांस्कृतिक फाँटका तर्फबाट उहाँलाई अगुवाका रुपमा प्राथमिकताका साथ उहाँलाई विभिन्न राजनीतिक नियुक्तिहरुमा पार्टीले पठाउने काम गरिआएकै थियो। त्यसैगरी, पार्टीले आफ्ना महत्वपूर्ण निकायहरुमा निर्वाचित गर्दै राजनीतिक रुपमा अघि बढाउँदै आएको पनि थियो। पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनले उहाँलाई केन्द्रीय अनुशासन आयोगको सदस्यमा निर्वाचित गरेको थियो। अब गठन हुने नाट्यसङ्गीत प्रतिष्ठानको उपकुलपति पदमा उहाँलाई पठाउने निर्णय पार्टीले गरिसकेको थियो। यस प्रकारका अवसरहरु निश्चित रुपमा जेबी टुहुरेका समकालीनहरु सबैले पाएका छैनन्। पार्टीको सैद्धान्तिक–वैचारिक पक्षमा विमति नहुँदानहुँदै मात्र व्यक्तिगत कारण देखाई एकीकृत नेकपा (माओवादी) जस्तो अराजक, तानाशाही, फासीवादी र सैद्धान्तिक र राजनीतिक रुपमा उग्रवामपन्थी पार्टीमा उहाँको प्रवेशलाई स्वाभाविक र औचित्यपूर्ण होइन भन्ने हाम्रो सङ्गठनको ठहर रहेको छ। आफ्नो विचारसँग फरक मत राख्ने व्यक्ति वा पार्टीमाथि हत्या, डर, धम्की, अपहरण, ल्ब्याकमेलिङ, लोभलालच, चन्दा आतङ्क आदिको घनिभूत प्रयोग गर्दै आएको सन्दर्भमा यो घटना त्यही प्रवृत्तिबाट पे्ररित देखिएको देखिन्छ। कथित स्वतन्त्र वाम बुद्धिजीवी, कलाकार र लेखकहरुको प्रभावमा परी एक्काइसौँ शताब्दीको नयाँ जनवादको नाममा व्यावहारिक रुपमा नेकपा (एमाले)को राजनीतिक लाइनमा प्रवेश गरिसकेको कथित क्रान्तिकारी पार्टीमा जेबी टुहुरे प्रवेश गर्नुलाई यस सङ्घका स्रष्टाहरुले नकारात्मक रुपमा लिएका छन्। अतः सही सिद्धान्त र लोकतान्त्रिक छवि रहेको नेकपा (एमाले)लाई परित्याग गरी अलोकतान्त्रिक, असहिष्णु, अराजक र अमानवीय चरित्रयुक्त पार्टीमा प्रवेश गर्नुभएकाले जेबी टुहुरेलाई आजकै मितिदेखि लागू हुने गरी यस गौरवमयी सङ्गठनको सल्लाहकारको पदबाट निस्कासन गरिएको छ। अन्तमा, यस्ता अवसरवादी र व्यक्तिवादी आत्मकेन्द्रित सोचबाट मुक्त र सतर्क हुन आफ्ना सबै सदस्य, समर्थक र शुभेच्छुकहरुलाई यस सङ्घ आह्वान गर्दछ।

असार ५, ०६६
– विजय सुब्बा, अध्यक्ष
राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपाल

source:

No comments:

Search and Buy from amazon.com