Friday, June 12, 2009

सरकारी सम्मानका साथ नेतृ शैलजाको अन्त्येष्टी

सरकारी सम्मानका साथ नेतृ शैलजाको अन्त्येष्टी
शैलजा आचार्यको पार्थिव शरीरमा नेपाली कांग्रेसको झण्डा बेर्दै नेताहरू
किशोरावस्थामै तत्कालीन राजालाई कालो झण्डा देखाएर आचार्य चर्चामा आएकी थिइन्
नेपाली काँग्रेसकी वरिष्ठ नेतृ शैलजा आचार्यको सरकारी सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ।

विगत एकवर्षभन्दा बढी समयदेखि विरामी पहिलो महिला उपप्रधानमन्त्री आचार्यको ६६ वर्षको उमेरमा शुक्रवार बिहान काठमाण्डूस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको थियो।

श्वासप्रश्वास लगायतका रोगबाट पीडित नेतृ आचार्यको नयाँ दिल्ली, बैंकक र काठमाण्डूका अस्पतालहरुमा वर्षदिनभन्दा लामो उपचार गरिए पनि चिकित्सकहरुले उनलाई बचाउन सकेनन्।

उनको पार्थिव शरीरमा विभिन्न पार्टीका नेताहरु, प्रधानमन्त्री, सुरक्षा अंगका प्रमुख र उच्च सरकारी अधिकृतहरु सहित हजारौंले अन्तिम श्रद्धान्जली अर्पण गरेका थिए।

पूर्वराजा ज्ञानेन्द्रले पनि उनको निधनप्रति समवेदना प्रकट गरेका छन्।

संघर्षपूर्ण जीवन

२०१७ साल पुष एक गते राजा महेन्द्रले काँग्रेसको निर्वाचित सरकारलाई बर्खास्त गरी शासन सत्ता आफ्नो हातमा लिएपछि किशोरावस्थामै तत्कालीन राजालाई कालो झण्डा देखाएर उनी चर्चामा आएकी थिइन्।

त्यसपछि जेल परेकी उनको जीवन झण्डै १५ वर्ष जेल र निर्वासनमा बितेको थियो।

२०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर कांग्रेस नेता बीपी कोइरालासंगै उनी पनि ठूलो जोखिम लिएर भारतबाट नेपाल फर्किएकी थिइन्।

२०४६ सालमा प्रजातन्त्रको पुनस्थापना भए लगत्तैको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा कृषिमन्त्री बनेकी उनले त्यसपछि उपप्रधानमन्त्री र आफ्नो पार्टीको उपसभापतिको जिम्मेवारी पनि पाएकी थिइन्।

उनी समाजशास्त्रमा स्नातकोत्तर थिइन्।

सिद्धान्तनिष्ठ नेतृ

आफ्नो समकालीन नेतृ आचार्यप्रति अन्तिम श्रद्धान्जली प्रकट गर्न आर्यघाट पुगेका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उनको मुल्याङ्कन गर्दै भने, “उहाँ महान नेता हो। लडाकू, जुझारु आफ्नो सिद्धान्तमा कसैसंग सम्झौता नगर्ने महान प्रजातन्त्रवादी नेता हो।”

नेतृ आचार्यले केही वर्षयता आफ्नो पार्टीले सैद्धान्तिक निष्ठा छोडेको भनी चर्को असन्तुष्ट प्रकट गर्ने गर्थिन।

देशको राष्ट्रियता बचाउन राजा र दलहरु मिल्नु पर्ने मान्यता बोकेकी उनी नेपाली काँग्रेसले गणतन्त्र स्वीकार गरेकोमा रुष्ट थिइन्।

source:

http://www.bbc.co.uk/nepali/news/story/2009/06/090612_sharad_shailaza.shtml


No comments:

Search and Buy from amazon.com