Friday, June 19, 2009

नेपाली सेनाबाट खड्काले अवकास पाए

नेपाली सेनाबाट खड्काले अवकास पाए


दीपक भट्टराई, काठमाडौं असार ५-
एकिकृत माओवादी नेतृत्वको सरकारले नेपाली सेनाको कायम मुकायम प्रधान सेनापति बनाएपछि विवादमा फसेका बलाध्यक्ष रथी कुलबहादुर खड्काले शुक्रबार सेनाबाट औपचारिकरुपमा बिदा लिएका छन्। ३९ वर्षसम्म नेपाली सेनामा सेवा गरेका रथी खड्काले बलाधिकृत रथी छत्रमान गुरुङलाई बरबुझारथ गरी सेनाबाट बिदा लिए।
गत वैशाख २० गते पुष्पकमल दाहाल नेतृत्वको सरकारले सत्ता साझेदार सबै दलको असहमतिबीच प्रधान सेनापति रुक्मांगत कटवाललाई अवकास दिई खड्कालाई कायममुकायम प्रधान सेनापतिमा मुकरर गरेको थियो।

"आज बिहान कार्यालय जानासाथ सैनिक सचिव विभागबाट मेरो म्याद सकिएको पत्र आयो", खड्काले नागरिकसँग भने- "सबै बरबुझारथ गुरुङ जर्साबलाई गरें, औपचारिक बिदाईको कार्यक्रम थिएन।" खड्काले तत्काल आफू तीर्थाटनमा जान इच्छुक रहेको बताए। उमेरको हद र नेपाली सेनामा रथीको रुपमा सेवा गर्ने समय उनको शनिबार देखि संकिदै थियो।

खड्‍काको अवकास सँगै उनीमाथि कारबाही गर्ने भन्ने सेनाका उच्च अधिकारीहरुको तयारी पनि टुंगिएको छ। खड्कालाई आफूभन्दा माथिका अधिकृतलाई जानकारी नदिई प्रधानमन्त्रीलाई भेटेको र कायममुकायम सेनापतिको पत्र बुझेको भन्दै सेनाको कानुन विभागले कारबाही गर्ने प्रक्रिया सुरु गरेको थियो। तर, प्रधानमन्त्री माधव नेपालको राजनीतिक हस्तक्षेपपछि उनीमाथिको कारबाही प्रक्रिया सेनाले अगाडि बढाउनबाट रोकेको सैनिक उच्च स्रोतले जानकारी दियो।

खड्का बिदाईका लागि प्रधान सेनापति रुक्मांगत कटवालसमक्ष भने गएनन्। हरेक शुक्रबार बस्ने सेनाका उच्च अधिकारीहरुको पिएस‌ओ बैठक आज पनि थियो। कायममुकायम प्रधान सेनापतिको पद दिएपछि एउटा मात्र पिएसओ बैठकमा सहभागी भएर अन्य सबै साप्ताहिक बैठकमा सहभागी हुन छाडेकाले शुक्रबारको बैठकमा पनि उनी गएनन्।

सेनाका उच्च अधिकारीको बिदाइमा सैनिक मुख्यालयभित्र हुने कार्यक्रम पनि यसपटक भएन। "सेनाका यति ठूला अधिकारीकोले अहिलेसम्म नै यति नराम्रोसँग बिदाइ लिनुपरेको थिएन होला," मुख्यालयका एक अधिकृतले भने।

बलाध्यक्ष रथी खड्काले शनिबारदेखि अनिवार्य अवकास पाउँदै थिए। तर शनिबार बिदा भएकाले शुक्रबार नै उनले बरबुझारथ गरेका हुन्। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले खड्कालाई दिएको कायममुकायम प्रधान सेनापति पदको निर्णय खारेज गरेको थियो।
अवकाश प्राप्त जीवनमा राजनीति गर्ने कुनै सोच नभएको खड्काले नागरिकलाई हिँजै बताएका थिए।

'कृषकको छोरा कृषिमा बढी अभिरुचि छ, कृषिको लाइफ-सर्कल हेर्छु होला। म सिपाही हुँ, त्योभन्दा बढी के गर्न सक्छु र। त्यस बेलामा विगतका तीतामीठा अनुभवचाहिँ सम्झनेछु'- उनले भनेका थिए।

२०२८ सालमा सैनिक सेवा प्रवेश गरी बेलायतको स्यान्डहष्टबाट अधिकृत आधार तालिम लिएका खड्का सेनामा सहायक सेनानी पदमा प्रवेश गरेका हुन्। उनले बेलायतबाट नै स्टाफ कलेज गरी पाकिस्तानबाट सेनाको सर्वोच्च कोर्स नेशनल डिफेन्स कोर्स गरेका हुन्।

सेनाको अधिकृत क्याडेट साथै कम्ब्याट इन्जिनियरसम्बन्धी शिक्षण कार्यसाथै लामो समयसम्म उनी गणपति तालिमको प्रमुख शिक्षक थिए। सेनाका कमाण्ड तथा स्टाफ कलेजका संस्थापक मुख्य शिक्षक भई पछि सोही कलेजमा उनी लामो समयसम्म शिक्षा प्रमुख रहे।

२०४५ सालमा सुनकोशीमा आएको बाढीले अरनिको राजमार्गको लामो साँघु-बाह्रबीसे खण्ड भत्किएपछि उनंको नेतृत्वमा छोटो समयमै उक्त बाटोको पुनर्निर्माण सम्पन्न भएको थियो।

खड्काले संयुक्त राष्ट्र संघको आह्वानमा सेनाको प्रतिनिधित्व गर्दै शान्ति स्थापना कार्यमा दुई पटक भाग लिएका छन्। जंगी अड्डामा युद्धकार्य महानिर्देशक र राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा सहसंयोजक कार्यभार पनि उनले सैनिक जीवनमा सम्हाले। २०६४ असार ७ गते खड्का रथीमा पदोन्नति भएका हुन्।

लमजुङको भलायखर्क गाविस-४ मा भसुकबहादुर तथा भक्तिकुमारीको कोखबाट ५७ वर्षपहिले जन्मिएका खड्काका एक छोरा र एक छोरी छन्। उनका छोरा अहिले सेनाको सेनानी पदमा कार्यरत छन्। गाउँकै ज्ञानोदय प्राथमिक विद्यालयबाट प्रारम्भिक र मिसन स्कुल आँपपीपल गोर्खाबाट माध्यमिक शिक्षा लिएका उनले एसएलसी भने काठमाडौंको जुद्धोदय पब्लिक हाइस्कुलबाट गरेका हुन्। अस्कलबाट आइएससी गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट एमए र काइदे आजम विश्वविद्यालय इस्लामावादबाट एमएससी गरेका छन्।
source:
http://www.nagariknews.com/politics/defence/2113-2009-06-19-12-33-10.html

No comments:

Search and Buy from amazon.com