Friday, June 26, 2009

कोइराला यति टिपटप देखिन्छन् कसरी ?

कोइराला यति टिपटप देखिन्छन् कसरी ?
अन्य समाचार
पुरानो अंक

बालकृष्ण अधिकारी /नयाँ पत्रिका
काठमाडौं, ११ असार
2009-06-26,Friday


८७ वर्षको उमेरमा पनि कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको 'गेटअप' लोभलाग्दो छ । कोइराला आफ्नो निवासमा अक्सिजन लिएर सुतेका छन् भनेर बारम्बार खबर आउँछ, तर जब उनी बाहिर निस्कन्छन्, मुहारमा चमक हुन्छ, खुट्टामा तीव्र चाल ।

कोइरालाका सहयोगी उनको फुर्तीको मुख्य कारण अनुशासित दैनिकी हो भन्छन् । उनीहरूका अनुसार कोइराला बिहान उठेर नियमित आयुर्वेदिक साबुनले नुहाउँछन्, आराम गर्छन्, सन्तुलित खाना खान्छन् । उनी आफ्नो स्वास्थ्यको ख्याल आफैं गर्छन्, थोरै तलमाथि परे सचेत गराउन डाक्टरको समूह छँदै छ ।

निकटवर्तीहरूका अनुसार २०६३ सालसम्म कोइराला नियमित रूपमा बियर सेवन गर्थे । तर, 'ब्रोङकाइटिस'ले च्यापेपछि उनले बियर खान छाडेका हुन् । अहिले सबैखाले मदिरा र चुरोट पनि त्यागेका छन् ।
विशेष काम नपरेसम्म उनी बाहिर निस्कँदैनन्, कतिसम्म भने विशेष नठाने पार्टी केन्द्रीय समितिको बैठकमा पनि जाँदैनन् । संविधानसभा चुनावपछि संसद्मा पनि उनी तीनपटक मात्र गएका छन् ।

'सभापतिज्यूको अनुशासित टाइमिङ छ, त्यसैले उहाँलाई स्वस्थ राखेको हो,' कोइरालाका निजी सचिव शेखर थापा भन्छन्, 'त्यसले नै उहाँलाई तन्दुरुस्त र आकर्षक बनाएको छ ।' थापाका अनुसार मीठो-नमिठो जे पाए पनि कोइरालाको खाना तलमाथि हुँदैन । खाना खाने समयमा त उनी कहिल्यै सम्झौता गर्दैनन् ।

कोइरालाको उचाइको अनुपातमा तौल भने कम छ । तर, दुब्लोपनलाई छोपेको छ उनको 'टिपटप' पोसाकले । पहिले पहिले उनी पाइन्ट लगाउँथे । तर, पहिलोपटक प्रधानमन्त्री भएदेखि नै उनी बाहिर हिँड्दा दौरासुरुवाल, कोट, कालो जुत्ता र कालो टोपी लगाउँछन् ।
कांग्रेस सभापति कोइरालाको दौरासुरुवाल डिल्लीबजारमा रहेको रामकृष्णको नेपाली पोसाक टेलर्समा सिलाउने गरिएको छ । नापो लिन रामकृष्ण कोइरालानिवासमै जान्छन् । 'दौरासुरुवाल त अरूको पनि सिउँछु, तर गिरिजाबाबुको चाहिँ म घरमै गएर नापो लिन्छु,' रामकृष्णले नयाँ पत्रिकासित भने । कोइरालाका सहयोगीले ठमेलस्थित क्याप हाउसबाट कालो टोपी किन्ने गरेका छन् ।

नेपाली पोसाक टेलर्सका प्रमुख रामकृष्ण कोइरालाको गोरो र अग्लो अनुहारले पनि उनलाई आकर्षक देखाएको बताउँछन् । उनी भन्छन्, 'अग्लो शरीर र गोरो अनुहारले गर्दा उहाँलाई जे लगाए पनि सुहाउँछ, त्यसमा पनि उहाँ हक्की हुनुहुन्छ । हक्की मान्छेको कुरै बेग्लै ।'
कोइरालासँग अहिले २० जोरभन्दा बढी दौरासुरुवाल छन् । नयाँ-नयाँ जुत्ताको निकै सौखिन कोइरालाका लागि घडीको भने खासै महत्त्व छैन । उनी साधारण घडी लगाउँछन् । तर, जुत्ता भने भारतको प्रख्यात कम्पनी लिबर्टीकै चाहिन्छ ।
बिरामी भएकै वेला पनि उनी बिहान ३ बजे उठ्छन् । उनका सेवकहरू भन्छन्, 'उहाँ ३ बज्न पाँच मिनेट बाँकीदेखि तीन बजेर पाँच मिनेट जाँदासम्ममा ब्युँझनुहुन्छ ।'

बिरामी भएकै वेला पनि बिहान ३ बजे उठेर नियमित आयुर्वेदिक साबुनले नुहाउँछन् ।

०६३ सालसम्म नियमित बियर सेवन गर्थे । तर, 'ब्रोङकाइटिस'ले च्यापेपछि मदिरा र चुरोट पनि त्यागेका छन् ।

बिहान चिया खान उनलाई ४५ मिनेट लाग्छ, शौचालयमा एक घन्टा बिताउँछन् ।

बिहान अलिकति भात र बेलुका पातलो एउटा रोटी, एउटा मिठाई, एक टुक्रा कुखुराको मासु र सुप खान्छन् ।

भोजभतेरमा कहिल्यै खाँदैनन् । ८:४५ मा सुतिसक्छन् ।
उनको दैनिकी चियाबाट सुरु हुन्छ । ओछ्यान छाडेपछि रात्रिपोसाक परिवर्तन गर्छन् । रात्रिपोसाकमा कमिज र सुरुवाल हुन्छ ।
उनी ओछ्यानमै चिया पिउन रुचाउँछन् । चिया खान उनलाई ४५ मिनेट लाग्छ । यो समयमा उनी कालो दुई र दूध हालेको पाँच कप चिया खान भ्याउँछन् । सिसाको लामो गिलासभरि चिया खाने उनको युवाकालदेखिकै सोख हो जो अहिले पनि कायम छ । चियापत्ति उनी इलामको र रसियन प्रयोग गर्छन् ।

बिहान ३:४५ बजे ओछ्यान छोडेर उनी लाग्छन् शौचालयतिर जहाँ उनी एक घन्टा बिताउँछन् । शौचालयमा लामो समय बिताउने उनको पुरानो बानी हो ।
रोचक पक्ष के भने उनी यो उमेरमा पनि आफैं दाह्री काट्छन् । उनका एक सहयोगीले भने, 'प्रधानमन्त्री रहेकै वेला बिरामी भएर गंगालालमा भर्ना हुँदा दुई दिन दाह्री काट्न सक्नुभएन । नत्र उहाँ सधैं आफैं दाह्री काट्नुहुन्छ ।' कोइराला जिलेट टर्बो रेजर प्रयोग गर्दछन् ।

सभापति कोइरालाको कपाल काट्ने पुरानै हजाम छन् विराटगरमा । उनी गृहनगर विराटनगर पुगेको वेला मात्र कपाल काट्छन् । निजी सचिव थापाले भने, 'सभापतिज्यूको कपाल काट्ने विराटनगरमा एकजना पुरानो ठाकुरदाइ हुनुहुन्छ, उहाँसँग मात्र कपाल काट्ने गर्नुभएको छ ।'
उनलाई दैनिक नुहाउनैपर्छ । त्यो पनि सावरमा होइन, बाल्टीमा पानी थापेर जगले हाल्दै । उनका सहयोगीका अनुसार उनी विदेश गएको वेलासमेत नुहाउन बाल्टी र जग नै खोज्छन् ।

अस्पतालको बेडमा रहेको वेलामा समेत उनलाई नुहाउनैपर्छ । नुहाउन नमिल्ने अवस्थामा उनका सहयोगीले तौलिया भिजाएर जीउ पुछिदिन्छन् । उनी नेपालमा नै बनेको आयुर्वेदिक साबुन प्रयोग गर्दछन् ।
नुहाएपछि ४:४५ बजे दौरासुरुवाल, कोट, टोपीका साथ चिटिक्क परेर उनी आफ्नो कोठाबाट बाहिरिन्छन् । कुनै भेटघाट नभए उनी कुर्थापाइजामा लगाएर बस्छन् । साढे पाँच बजेको समय हो, बिहानी खाजाको । उनको बिहानीको खाजामा दुई पिस पाउरोटीको साथमा एक कोसा केरा, स्याउका केही टुक्रा, एउटा अन्डा, च्यबनप्रास र एक गिलास मत्था खाएपछि उनी अघाउँछन् । अनि लाग्छन् शयनकक्षतिर आराम गर्न ।

उनी ओछ्यानमा आराम गरेरै दैनिक पत्रिकाहरू सुन्छन् । पत्रिका सुनाउने जिम्मा छ उनको स्वकीय सचिव शेखर थापाको । थापाले कोइरालालाई प्रायः सबै दैनिक पत्रिकाको हेडिङ पढेर सुनाउँछन् । कुनै समाचारमा कोइरालाले चाख देखाए भने उनी पूरै पढेर सुनाइदिन्छन् । करिब आधा घन्टा पत्रिका सुन्ने काममा खर्चिन्छन् कोइराला । त्यसअघि कोइराला ६:१५ सम्म क्यासेटबाट आफूलाई मनपर्ने विभिन्न भजन सुन्छन् ।
आँखामा समस्या नआउँदासम्म भजनका किताब र पत्रिकाहरू आफैं पढ्थे उनी । अहिले भने भजन क्यासेटबाट र पत्रिका सहयोगीबाट सुन्छन् ।

६:४५ देखि ७ बजेसम्ममा कोइरालाको राजनीतिक भेटघाट सुरु हुन्छ । यो भेटघाट बढीमा ११ बजेसम्म कायम हुन्छ ।
बिरामी भएको वेलामा समेत नियमित भेटघाट गर्न रुचाउने कोइराला आफूलाई भेट्न को आए को आएनन् भन्ने कुरामा समेत निकै चासो राख्छन् । स्वास्थ्यमा पटक-पटक समस्या देखिएपछि उनलाई डाक्टरहरूले आराम गर्न सल्लाह दिएका छन् तर पनि उनी पार्टीका पदाधिकारीहरूसँगको छलफलमा दुई घन्टा बिताउँछन् ।

साढे ११ देखि १२ बजेसम्मको उनको समय हो खाना खाने । खानामा थोरै भात हुन्छ । उनलाई खानामा रोटी, एक टुक्रा कुखुराको मासु र मिठाई अनिवार्य चाहिन्छ । त्यसमा मिसिन्छ सुप । स्वकीय सचिव थापा भन्छन्, 'प्रायः साधारण खानामै उहाँको रुचि छ ।'
बाहिर कुनै कार्यक्रम नभए कोइराला लाग्छन् पुनः ओछ्यानतिर । उनी खाना खाएपछि प्रायः डेढ घन्टा सुत्छन् ।

मध्याह्न २ बजे उनी उठ्छन् । काम भए विदेशीलाई भेट्छन्, नभए स्वदेशीलाई । ५ देखि ६ बजेसम्म पारिवारिक भेटघाटमा व्यस्त हुन्छन् उनी । पारिवारिक भेटघाटमा छोरी सुजाता नै हुन्छिन् आजभोलि । उनी कुनै कार्यक्रममा सहभागी भए पनि साढे ६ बजे आफ्नो निवासमा फर्किसक्छन् । साढे ६ बजे दिउँसोको कपडा फेर्छन् र रात्रिपोसाक लगाउँछन् । उनी कोठामा छिर्छन् र लाग्छन् टेलिभिजन हेर्न । उनी टेलिभिजनको च्यानल घुमाइघुमाई आफैं हेर्छन् ।

उनी बेलुकाको समय प्रायः एक्लै हुन्छन् । बेलुकाको खाना उनी आफ्नै कोठामा खान्छन् । खाना खाने समय हो सवा आठदेखि साढे आठ । बेलुका सानो र पातलो एउटा रोटी, एउटा गुलियो मिठाई, एक टुक्रा कुखुराको मासु र सुप खान्छन् । अत्यन्त कम खाना खाने कोइराला बढी मात्रामा सुप रुचाउँछन् । कोइराला वेलावेला परेवाको मासु खान पनि रुचि राख्छन् ।

कोइराला पारिवारिक जमघटमा त सहभागी हुन्छन् नै पार्टीका नेता तथा कार्यकर्ताको विवाह, व्रतबन्धमा समयले भ्याएसम्म पुगेकै हुन्छन् । तर, उनी सार्वजनिक समारोह र भोजभतेरमा खाना कहिल्यै पनि खाँदैनन् । ८:४५ मा कोइराला सुतिसक्छन् ।
धर्मकर्ममा विश्वास राख्दैनन् कोइराला । त्यसैले उनको दैनिकीमा कहिल्यै मन्दिर जाने समय पर्दैन । जन्मदिनसमेत मनाउँदैनन् उनी । दसैं-तिहारसमेत सामान्य रूपमा मनाउँछन् ।

No comments:

Search and Buy from amazon.com