Sunday, June 21, 2009

प्रचण्ड खनिए


प्रचण्ड खनिए


पर्शुराम काफ्ले/नयाँ पत्रिका
मकवानपुर (शिखरकोट), ७ असार
2009-06-22,Monday


पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डले आफ्नो सरकार ढाल्ने खेल चीन भ्रमणदेखि सुरु भएको खुलासा गरेका छन् । राष्ट्रपति डा. रामवरण यादव विदेशी दबाबका कारण चीन भ्रमणमा नगएको उनको दाबी छ ।

'उनले (राष्ट्रपति) विदेशीको दबाब मानेकै हुन्,' प्रचण्डले भने, 'राष्ट्रपति चीन गइदिनुपथ्र्यो । जर्ज बुस, सोनिया गान्धी जाने ठाउँमा छिमेकीको नाताले हाम्रो राष्ट्रपति जाँदा के बिगि्रन्थ्यो ?'

अध्यक्ष प्रचण्डले राष्ट्रपति डा. रामवरण यादवलाई 'भैंसी चराउने' संज्ञा दिए । राजनीतिज्ञ रूपचन्द्र विष्टको सालिक अनावरण गर्न आइतबार शिखरकोट पालुङ पुगेका प्रचण्डले यतिसम्म भने, 'बडो सोझो देखिन्छन्, भैंसी चराउने !'

विदेशी दबाबका कारण राष्ट्रपति चीन नगएका हुन्

माधवजी बोलेको त छेउटुप्पै मिल्दैन, बुख्याचाहरु बोल्न थालेपछि, कठपुतलीहरु बोल्न थालेपछि देशको भाग्य भविष्य के हुने हो ?

एमाले कम्युनिस्ट आन्दोलनको कलंक बन्ने दिशातिर अघि बढ्यो
भारतीय सचिव मेननको नाम नलिइकन उनलाई भनेको कुरा प्रचण्डले सार्वजनिक गरे, 'माओवादीलाई जसरी पनि ढाल्ने खेल मंसिरबाट सुरु भएको थियो । त्यसमाथि पनि प्रचण्डलाई शिक्षा दिने रे । घमण्ड तोडिदिने रे । देखाइदिने रे । मैले हिजो यही कुरा राखेँ ।'

देशभित्रका 'दलाल'हरूले आफूलाई पनि चीन नजान दबाब दिएको उल्लेख गरेका प्रचण्डले भने, 'मैले मानिनँ, राष्ट्रपतिले मानिदिए ।' चीनबाट फर्केपछि उनी स्वयंले त्रिभुवन विमानस्थलमा संवाददाताहरूसँग कुरा गर्दै आफ्नो पहिलो राजनीतिक भ्रमण भारतमै गर्ने बताएर चीनको भ्रमणलाई पहिलो अनौपचारिक भ्रमणका रूपमा व्याख्या गरेका थिए । प्रचण्डले आइतबार भने, 'चीनमा मलाई नजान भन्नका निम्ति देशभित्रका दलालहरूले निकै बल गर्‍या थिए, अहिले म नाम लिन्नँ, चाहियो भने म नाम पनि लिन्छु ।'

सरकार ढलेपछि दोस्रोपटक जनसभामा बोल्दै गरेका प्रचण्डले आफैंलाई व्यक्तिका रूपमा होइन, आन्दोलनको संज्ञा दिए । 'प्रचण्ड व्यक्ति होइन, उत्पीडित नेपाली जनता, क्षेत्र, लिंग, जाति समेटेको एकीकृत नेकपा माआवादीको अध्यक्ष हो । यो आन्दोलन हो, त्यसकारण कसैले शिक्षा सिकाउँदैमा विदेशी प्रभुहरूको अगाडि आउनेवाला छैन,' प्रचण्डले भने ।

राष्ट्रपतिले आफ्नै बुद्धिले सेनापति थमौति नगरेको उल्लेख गर्दै प्रचण्डले भने, 'त्यो आकाशवाणीबाट गरिएको हो, यो कुरा बच्चा-बच्चालाई थाहा छ, हाम्रा नेताहरूलाई पटक्कै थाहा छैन ।'

प्रचण्डले अगाडि भने, 'मैले अलिकति भाषा मिलाएको भए कुर्सी बच्ने थियो । तर, जाली-फटाहा, शोषकहरूको प्रधानमन्त्री हुनुभन्दा तपाईंहरूको हृदयको प्रधानमन्त्री बन्ने कुरा धेरै ठूलो छ, लोकतन्त्र र राष्ट्रका लागि । म तपाईंहरूको प्रधानमन्त्री बन्न यहाँ आएको हुँ ।'

प्रधानमन्त्री माधव नेपालको कार्यशैली र बोलीप्रति पनि प्रचण्डले टिप्पणी गरे । 'माधवजी बोलेको त छेउटुप्पै मिल्दैन,' उनले भने, 'बुख्याचाहरू बोल्न थालेपछि, कठपुतलीहरू बोल्न थालेपछि देशको भाग्य भविष्य के हुने हो ?'

प्रचण्डले प्रधानसेनापति रुक्मांगद कटवाललाई व्यक्तिगत रूपमा आलोचना गरे । 'कटवाल राजावादी हो, शान्तिप्रक्रियाविरोधी पनि हो,' उनले भने, 'सेना समायोजनको ठाडै विरोधी छ । विध्वंस मच्चाउनेबाहेक उसँग अरू केही छँदै छैन ।' यही कारण संविधान र कानुनसम्मत रूपमा कटवाललाई हटाइएको, तर मध्यरातमा राष्ट्रपतिले नियुक्त गरिदिएको भन्दै राष्ट्रपतिविरुद्ध उनी फेरि खन्निए ।

मुलुक क्रान्तिकारी धु्रवीकरणतिर धकेलिएको उनको निष्कर्ष थियो । र यसले सकारात्मक नतिजा निकाल्ने उनले विश्वास व्यक्त गरे । प्रचण्डले भने, 'देशलाई माया गर्ने देशभक्तहरू एकातिर र विरोधीहरू अर्कातिर धु्रवीकृत भइराखेको छ । यसलाई मैले सकारात्मक रूपमा लिएको छु । नेपाल स्वाधीन हुने दिन यसले नजिक ल्याइदिएको छ ।'

सरकार बनाउने दलका नेताहरूको स्थिति विश्वकै लागि लाजमर्दो रहेको प्रचण्डले टिप्पणी गरे । 'लोकतन्त्रको अपहरण हुँदै छ, शान्तिप्रक्रिया भाँडिँदै छ । संविधान लेख्ने कुरा भाँडिँदै छ । देशलाई फेरि युद्धमा धकेल्ने षड्यन्त्र भएको छ,' दलहरूप्रति लक्षित गर्दै उनले भने । एमालेलाई कम्युनिस्ट आन्दोलनको कलंकको आरोप लगाउँदै उनले भने, 'एमाले कम्युनिस्ट आन्दोलनको कलंक बन्ने दिशातिर अघि बढ्यो । जनता र राष्ट्रलाई धोका दियो ।' देशभक्त र वामपन्थीहरूको मोर्चा बनाउनुपर्नेमा उनले जोड दिएका थिए ।

आवश्यक परे लोकतन्त्रका लागि तेस्रो आन्दोलनको आधिबेहेरी सृष्टि गर्ने चेतावनी दिँदै प्रचण्डले भने, 'तर, राजधानी, सदरमुकाम छाड्ने छैनौं नजितेसम्म । शान्तिप्रक्रिया छाडेर जान्नौँ ।'
जनसेनाका शिविरबाट लडाकुलाई बाहिर निकालेर लुट्न प्रेरित गर्न थालिएको आरोप लगाउँदै उनले भने, 'तर, जनमुक्ति सेना अनुशासित भएर बस्छ, छाड्दैन ।'

आफ्नो सरकारले गरेको निर्णय यो सरकारले उल्ट्याइएकोमा उनले आक्रोश पोखे । 'मेरो सरकारले संविधानविरोधी के काम गरेको थियो ? गिरिजाप्रसाद कोइरालाले बनाएको आयोगको प्रतिवेदनमा उल्लेखित अपराधीलाई कारबाही गर्‍यौँ । कानुनसम्मत रूपमा गर्‍यौँ, के गल्ती भयो ?' प्रचण्डले प्रश्न गरे ।

माओवादीले नै देशको मुक्ति आन्दोलन, संविधान लेख्ने आन्दोलन, शान्तिप्रक्रियाको आन्दोलनलाई नेतृत्व गर्न सक्ने उनको भनाइ थियो । यो सरकार र आफ्नो नेतृत्वको अघिल्लो सरकारलाई तुलना गर्दै उनले भने, 'अस्तिको सरकार र माधवको सरकार मान्छे र पशुको गोबरजत्तिकै फरक छ । '

थाहा आन्दोलनका प्रणेता विष्टको सालिक शिखरकोटस्थित विकास घरमा राखिएको छ । प्रचण्डले विष्टलाई 'राजनीतिकमा मिथ'को संज्ञा दिएका थिए । सालिक अनावरण कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता मोहन वैद्य किरण, नारायणकाजी श्रेष्ठ प्रकाशसहित एक दर्जनभन्दा बढी माओवादी नेता शिखरकोट पुगेका थिए
source:
http://www.nayapatrika.com/newsdetail.php?id=906211146124474%20&n_id=24

No comments:

Search and Buy from amazon.com