'थाहा' को स्मृतिमा
प्रताप विष्ट
श्रमिकको राजनीति पुँजीपतिले गरेर हुँदैन, छाप्रोको राजनीति दरबारले गरेर हुँदैन भन्दै तल्लो तहका जनतालाई जागरण गर्दै हिँड्ने विष्ट हमेसा अन्यायविरुद्ध लड्नुपर्ने धारणा राख्थे । अन्याय नगर्ने र अन्याय नसहने उनको हक्की स्वभावबाट धेरै उतिबेला कायल थिए । 'हामी कसैका होइनौँ, कोही हाम्रा होइनन्, हामी सत्य र न्यायका, सत्य र न्याय हाम्रा' उनको मुख्य धारणा यही थियो ।
उनले जात, नाताकुटुम्ब, परिवारलाई कहिल्यै मुख्य प्राथामिकतामा राखेनन् । उनी सत्यका घनघोर पक्षपाती थिए । मृत्युपर्यन्त विद्रोही उनी यथास्थितिमा रहन कदापि रुचाउँदैनथे । जुन वर्गको राजनीति रोज्यो, त्यही वर्गको जिन्दगी बाँच्न खोज्ने, धन- मान, मोजको आकर्षणमा लालची नहुने उनको चरित्र नेपाली राजनीतिकर्मीका लागि अनुकरणीय बन्नसक्छ । 'जो जति शक्तिमा छ, समाज सप्रे-बिग्रेमा, त्यो त्यति जिम्मेदार छ,' २७ वर्षअघि रूपचन्द्र विष्टले वितरण गरेको यो पर्चा अहिले पनि शास्वत छ । शक्तिमा भएकाहरू जिम्मेवार नहुने, दोषजति अरूलाई दिने, राम्रा कामको जस आफूले मात्र लिने प्रवृत्ति मौलाइरहेको अवस्थामा उनको यो भनाइ अहिले पनि सान्दर्भिक छ ।
तीसको दशकको सुरुमा उनले चलाएको 'थाहा' आन्दोलनको मुख्य सार थियो- निष्पक्ष सक्रियताको अभ्यास । निष्पक्ष भएपछि सक्रिय रहन कठिन हुने उनको तर्क थियो । पक्ष भएर काम गर्न सजिलो र सरल हुन्छ तर त्यसले विवेक गुमाउँछ भन्दै उनी 'थाहा' अभियानमा जुटे । कुनै दलसँग आबद्ध नरहेका विष्ट आग्रह र पूर्वाग्रहबाट मुक्त भएर निष्पक्ष ढङ्गले व्यवहार गर्थे । सबैसँग एकनासको व्यवहार गर्ने विष्ट राजनीतिज्ञभन्दा पनि दार्शनिक, चिन्तक र समाजसुधारक हुन् । उनले सार्वजनिक गरेका पर्चाहरू यसकै उदाहरण हुन् । २०३८ र ०४३ सालमा मकवानपुरबाट तत्कालीन राष्ट्रिय पञ्चायतमा प्रतिनिधित्व गरेका यी निर्वाचनमा पर्चा बिक्री गरेर लडेका थिए । आफ्ना प्रतिद्वन्द्वीहरू भित्ताभरि फोटो टाँसेर चुनाव लडिरहेको अवस्थामा उनी फोटो होइन, विचार राखेर निर्वाचन लड्थे । उनले तत्कालीन राष्ट्रिय पञ्चायतमा बोल्ने क्रममा संविधानसभाको निर्वाचनको माग गरेका थिए ।
मकवानपुरको माटो प्रगतिशील राजनीतिको उर्वराभूमि बनाउने र निष्ठाको राजनीति गर्ने उनीप्रति २०४६ सालको आन्दोलनकारी शक्तिले न्याय गर्न सकेनन्, जसले गर्दा उनले
छाप्रा जगाउँदै आएको अभियानमा ठेस पुग्यो ।
तत्कालीन शिखरकोट गाविसको घर्तीखोलामा १९९० साल पुस २६
गते जन्मेका विष्टले समाजसुधारको अभियान दामन-पालुङबाट प्रारम्भ गरेका हुन् । दामन-पालुङका अधिकांश बासिन्दाको बोलीचाली, हाउभाउ र अनुहारमा विष्ट झल्कने गर्छ । उनको यो कर्मथलोमा त्यसै क्षेत्रका बासिन्दाको पहलमा पूर्णकदको चलायमान सालिक निर्मार्ण गरिएको छ । स्व. रूपचन्द्र विष्टका विचार, चिन्तन र आदर्श व्यवहारहरूलाई कुनै पनि राजनीतिक दर्शनको
घेरामा कैद गर्नु हुँदैन । स्व. विष्ट चिन्तक भएकाले उनले दिएका विचारको अध्ययन, विश्लेषण गरेर व्यवहारमा
उतार्न सकेमा उनीप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ ।
Posted on: 2009-06-20 19:44:19
source:
No comments:
Post a Comment