विश्वप्रकाश शर्मा
2009-06-18,Thursday
निष्ठाको एउटा यात्रा टुंगिनुसँगै एउटा नैतिक आवाज 'अफ' भएको छ । साँचो श्रद्धाञ्जली हुनेछ- निष्ठा र नैतिकताको 'जीर्णोद्धार' प्रयास अनि त्यो यात्रामा निरन्तर इमानदारीको संकल्प । मान्छे मरिसकेपछि उर्लिने भावनाको आवेगकै घडी कोलाहल सहरमा रहेर पनि शान्तसँग जरुरी छ समीक्षा-नैतिक सौन्दर्य नरहेको 'जुलुस' बलियो कि एक्लो नैतिक वृहस्पति शक्तिशाली ?
शैलजा आचार्य गइरहँदा मानिसहरू झुम्म छन् बलेको आगोवरिपरि । तर पनि शैलजा श्रद्धाको यो क्षणमा तिनलाई माफ गरिदिउ“m । ती जान्दछन् 'वक्त-वक्त की बात है' भनिन्छ हिन्दीमा । नैतिक बलको समय पुनः आउनेछ नै तब फरक आगोमा दृश्यहरू बदलिनेछन् तीव्र रपmतारमा । परिश्रमबेगरको धन र आदर्शबेगरको राजनीतिलाई सात पापमा गान्धीले राखेका छन् । नवीन नेपालको सपना साँचो हो भने ती गुण सौन्दर्य हामीले बुझ्न सक्नैपर्छ । त्यसका लागि शैलजा आचार्यको बिदा भइसकेको जीवनभित्र 'जीवन' खोज्न सक्छौँ हामी । आर्यघाटको पारि डाँडामा बसेर दाहसंस्कार हेरिरहँदा मस्तिष्कभित्र इतिहास र वर्तमान जोख्दैरहेँ म । पुगेँ तीन मोडमा, जो उल्लेख नगरी शैलजा आचार्यको अधुरो जीवनवृत्त झन् अधुरो रहन्छ । जुन घुम्तीहरूमा आदर्श अंश छाडिएको छ, हाम्रा लागि पनि ।
०१७ पुस १ गते । बिपी र महेन्द्रको कथासँगै जोडिएर शैलजाको नाउँ उल्लेख नगरी इतिहास पूरा हुन्न । महेन्द्रले बन्दुक उज्याए, शैलजाले जम्माजम्मी कालोझन्डा । तर, त्यो थियो संघर्षका लागि साहसको प्रतीक । संघर्षका पुस्तकहरू पढ्नु र लड्नुका बीचको भेद अनुमान मात्रै गर्न सकिन्छ । काठमाडौंको तातो गर्मीमा आजको मितिमा कालो ग्लास लगाएर सडकमा हिँड्नु र सत्रसालको त्यो दिन कालोझन्डा प्रस्तुत गर्नु एउटै कुरा होइन । आजको पुस्ताले माग १९ को सन्त्रास सडक देख्यो । त्यसको तुलनामा महेन्द्रको कदमलगत्तैको सडक पक्कै सुगम थिएन । त्यो साहसको आयतन कल्पना मात्र, तर हरेकथरी योद्धा सबैका लागि प्रेरक ।
'मुनामदनबाहेक मेरा सबै कृति जलाइदिए हुन्छ', महाकविले यसो भनेझैँ ०१७ को साहस शैलजाको उच्चतम् 'कृति' हो, उहाँको बाँकी जीवन संघर्षका तुलनामा । निर्दयी बनेर उहाँको सम्पूर्ण संघर्ष बिर्सिने चाहना हामी कसैले कथं राख्ने हो भने पनि सत्रसाल सम्झँदा झलझली ..... शैलजा । अझ कांग्रेसको इतिहासकै सन्दर्भमा त साक्षी उभिनुभयो बिपी- 'शैलजाले पूरा गर्नेछिन् अधुरा बयान ।' थाहा छैन कसको कलमले त्यो अब पूर्ण गर्छ ।
उपप्रधानमन्त्री बन्नुभयो शैलजा । यो ऐतिहासिक घुम्ती थिएन । श्रद्धा सम्झनामा 'त्यो भएको' होइन 'मन्त्रीपद परित्याग गरेको' प्रकरण बढी सबल छ । लामो संघर्ष गरेको कुनै पनि नेता ठूलो ओहदामा पुग्नु सामान्य विषय हो । उहाँ उपप्रधानमन्त्री र कांग्रेस उपसभापति पनि बन्नुभयो, तर सम्झिइरहँदा मानिस ती ठूला पदका लागि होइन उहाँलाई सम्झन्छन्- आदर्श मूल्यका लागि मन्त्रीपद त्याग गरेकी नेत्रीका रूपमा । हुनुहुन्थ्यो- कृषि मन्त्री । ठहर गर्नुभयो-भ्रष्टाचार छ मन्त्रालयमा । बोल्नुभो, पदत्याग गर्नुभो । यद्यपि, लड्नुपथ्र्यो भन्ने अपेक्षा राखियो, तर शब्द फिर्ता गरेर तेजोबध भई कालो गाडी चढिरहन नैतिक आदर्शले दिएन उहाँलाई ।
जो बोल्यो, सो बोल्यो । साता दिनमा कुरा बद्लिएर यतै पनि सत्ता उतै पनि सत्ता शैलजाको शैली रहेन । आजका नेत्री-नेताले पनि शैलजाको त्यो आदर्श पढिदिए कति जाति हुन्थ्यो । शैलजाको जीवनको तेस्रो घुम्ती पनि महत्त्वपूर्ण छ । यो मोडमा आइपुग्दा 'लोकपि्रयता' का विपक्षमा उभिनुभयो उहाँ । हामी सबैले आलोचना गर्यौँ, भन्यौँ- समयको आवाजका विरुद्ध उभिनुभयो शैलजा । हाम्रा शब्द आफैँमा गलत थिएनन् । तर, उहाँ आफ्नो विश्लेषणका लागि 'वेग' का विरुद्ध एक्लो बृहस्पति उभिनुभयो । मास के भन्छ त्यो होइन सिके प्रसाईंको पुस्तक 'मन जे मान्यो सत्य' त्यसमा उभिनुभो शैलजा । मासबाट अप्रभावित अडान राखिरहँदा हामीले अव्यावहारिक पनि भन्यौँ तर पनि अविचलित अडान उभिन सक्ने त्यो क्षमता जो उहाँले प्रस्तुत गर्नुभयो त्यो दृढताको पनि प्रशंसा गर्नैपर्छ ।
सत्रसालमा दुई/चार दौंतरीका साथ करिब एक्लै । मन्त्रीपद त्यागिरहँदा आदर्शका लागि एक्लैै । पछिल्लो कालखण्डमा अडानका साथ एक्लै, एक्लै । गान्धीले कतै भनेका छन्- एकला चलो । चल्ते रहो अकेला नही रहोगे । पचास वर्षको राजनीति, जीवनको तीन घुम्ती-साहस, नैतिकता र अडान । एक्लै-एक्लै शैलजा दिदी । गत साता उहाँको भौतिक यात्रा विसर्जित भएर पनि त्यो मूल्य भने जीवित छ ।
श्रद्धाले लाखौँ शिर नतमस्तक छन् यतिवेला । भीमबहादुर तामाङका शब्दमा- उत्खनन् बाँकी छ । बिर्सिदिऊँ कुन घटनाक्रममा शैलजा दिदीका तीन परिचय स्थापित भए । मुद्दाहरूमा पनि विमति हुन सक्छ ती पनि बिर्सिए हुन्छ । तर, साहस, नैतिकता र अडान । सम्झिदिए पुग्छ अलबिदा शैलजा भनिरहँदा । बस् पुग्छ
source:
http://www.nayapatrika.com/news_sub.php?n_id=32
No comments:
Post a Comment