Friday, June 12, 2009

वक्तव्यबाजी नगर्न रक्षामन्त्रीको निर्देशन

वक्तव्यबाजी नगर्न रक्षामन्त्रीको निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौं, रक्षामन्त्री विद्या भण्डारीले प्रधानसेनापति रुक्मांगद कटवाललाई राजनीतिक विषयमा वक्तव्यबाजी नगर्न शुक्रबार निर्देशन दिएकी छन् । उनले दिउँसो ४ बजे सेनापतिलाई मन्त्रालयमा बोलाएर राजनीतिक वक्तव्यबाजीले राम्रो नगर्ने बताएकी हुन् ।

रथी कुलबहादुर खडकालाई अनुशासनको कारबाही गर्न जंगी अड्डाले सुरु गरेको प्रक्रियामा सरकारले हस्तक्षेप गरी राजनीति प्रवेश गराएको सेनाको कानुन विभागका प्रमुख बीएकुमार शर्माको भनाइ प्रकाशित भएपछि उनले सेनापतिलाई उक्त निर्देशन दिएकी हुन् ।

यसअघि प्रधानमन्त्री माधव नेपालले भण्डारीसँग उनको भनाइबारे चासो राखेका थिए । प्रधानमन्त्रीसँगको छलफलपछि रक्षामन्त्रीले सेनापतिलाई बोलाएर सोधपुछ गरेकी हुन् । 'सेनापतिको विषय राजनीतिक हो, यसलाई राजनीतिक तहबाट नै चाँडै टुंगो लगाइन्छ,' भण्डारीलाई उद्धृत गर्दै स्रोतले भन्यो, 'यस्तो विषयमा सेनाले राजनीतिक वक्तव्यबाजी दिनु राम्रो होइन ।'

भण्डारीले सेनापतिलाई अखबारमा आएको विषयहरूलाई लिएर उत्तेजित नहुन र सेनाको चेन अफ कमान्डमा यथावत रूपले काम गर्न पनि निर्देशन दिएकी थिइन् । 'सेनाको चेन अफ कमान्ड र सैनिक कानुन उल्लंघन हुने काम सरकारले हुन दिन्न,' उनलाई उद्धृत गर्दै स्रोतले भन्यो ।

रथी खडकालाई सरकारले स्वाभाविक अवकाशमा जान दिने र सरकारले सेनाको चेन अफ कमान्ड नचलाउने भन्दै उनले कटवाललाई आश्वस्त पारेकी थिइन् । उमेरको हदका कारण रथी खडकाले असार ५ गते अवकाश पाउँदैछन् ।

सेनाकै पि्रन्सिपल स्टाफ अफिसर्सले गत बिहीबार र कानुन विभागले आइतबार रथी खडकालाई अनुशासनको कारबाही गर्न सेनापतिलाई सुझाव दिएका थिए । त्यसका लागि कोर्ट आफ इन्क्वाइरी बोर्ड गठन गर्न सिफारिस गरिए पनि सरकारले सैद्धान्तिक सहमति नदिएपछि प्रक्रिया अघि बढ्न सकेको छैन ।

गत सोमबार सेनापति कटवालले रक्षामन्त्री भण्डारीलाई भेटी सहमति लिने प्रयास गरेका

थिए । तर उनले रथी खडकालाई पूर्ववर्ती सरकारले कामु सेनापति नियुक्त गरेकाले यो विषय राजनीतिक भएको भन्दै कोर्ट मार्सल प्रक्रिया रोक्न भनेकी थिइन् । माओवादीले सरकारलाई खडकामाथि कारबाही भए स्वीकार्य नहुने भन्दै दबाब दिँदै आएको छ ।

बिहीबार कान्तिपुरसँग सेनाको कानुन विभाग प्रमुख शर्माले रथी खडकालाई गर्न लागिएको कारबाहीको प्रक्रिया रोक्दा सैनिक कानुन, परम्परा र अनुशासन कायम गर्न नसकी अराजकताको स्थिति आउने दाबी गरेका थिए ।

Posted on: 2009-06-12 20:19:16

source:

http://www.ekantipur.com/kolnepalinews.php?&nid=198979

No comments:

Search and Buy from amazon.com