शैलजा दिदीका नाममा दुई शब्द
सास हुन्जेलसम्म योगदानको कदर हुनेआस नभए, मृत्युपछिको लासमा ओढाउने झण्डाको कस्तो मूल्य र अर्थ रहन्छ ? यो शैलजा दिदीको आत्मामा रूमल्लिएको प्रश्न हुनसक्छ ।
धेरै दिनदेखि टिचिङ्ग हस्पिटल जाने जमर्को गर्दा गर्दै महिला नेता दिदी शैलजा आचार्य फेरि अस्पताल भर्ना भएको खबरले अस्पताल जानै पर्ने थियो । शैलजालाई देखेपछिका दृश्यले म इतिहास सोच्न बाध्य भए । दिदीको छेवैमा बसेर हात सुम्सुम्याउने हिम्मत आएन । डाँको छोडेर रून मन लाग्यो, तर सम्हालिएँ । शैलजा जस्तो छवि बनाउन सफल व्यक्तित्वको यस्तो हालतमा त कसैको ध्यान पुगेको छैन भने मेरो आँसुको के मूल्य होला ? मनमनै कुरा खेलाएँ मलाई लाग्यो बरू त्यो आँसुलाई शक्तिमा बदल्न उपयुक्त हुन्छ भन्ने लाग्यो ।
विगतको राजनीतिक परिदृश्यको याद आयो । पञ्चायती राजनीतिको विरोधसँगै राजनीतिमा महिलाको सक्रियता बढेको हो । त्यस क्रममा बी. पि. कोइराला र सुवर्ण शमशेरसँगको सहकार्यका कारण मङ्गलादेवी सिंह, शैलजा आचार्य र नोना कोइरालाले राजनीतिमा महìवपूर्ण भूमिका निर्वाह गरेका थिए । २०१७ फागुन ७ गते शाही कदमको विरोधको प्रदर्शनमा सहभागी अगुवामध्येको नाम हो शैलजा आचार्य । उत्साह र बहादुरीका साथ विरोध प्रदर्शनमा उत्रेका बेलामा सेनाद्वारा गिरफ्तार भई शैलजा आचार्य ३ वर्ष ६ महिना जेल परिन् । २०१८ सालमा नेपाली काङ्ग्रेसले राजा महेन्द्रको राष्ट्रघाती कदमको विरोधमा सञ्चालन गरेको सशस्त्र सङघर्षको शुरूवातमा शैलजा आचार्य, नोना कोइरालाले हातहतियार खरिद गरेर सम्बन्धित ठाउँमा पुर्याउने कार्य गरेका थिए । महँगी विरोधी आन्दोलन, सामन्तीहरूको ढुकुटी, फोरेर वितरण गर्ने कार्यक्रम होस् अथवा सुकुम्बासी आन्दोलन नै किन नहोस् सबै खाले आन्दोलनमा शैलजा आचार्य खरो रूपमा उत्रिन् । २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति प्रतिपादन गरी बी. पी., गणेशमान, शैलजा आचार्यलगायत अन्य व्यक्तिहरू नौ वर्षको प्रवासी जीवन व्यतित गरी नेपाल प्रवेश गर्ने क्रममा शैलजा आचार्यलाई एयरपोर्टमा नै गिरफ्तार गरी एक वर्ष फेरि जेलमा राखियो ।
सरकारलाई दबाब दिन २०४२ साल जेठमा नेपाली काङ्ग्रेसले सत्याग्रह आन्दोलनलाई सफल पार्न गरेको जनमत सङ्ग्रहमा गठित ''नेपाल महिला बहुदल समिति'' को सक्रियतामा आन्दोलन गर्दा शैलजा आचार्य, नोना कोइराला, मङ्गलादेवी सिंह, दुर्गा दाहाल, साहना प्रधान जस्ता महिला नेताहरू गिरफ्तारीमा परेका थिए । त्यसमा शैलजा आचार्यको भूमिका उल्लेखनीय थियो । पटक-पटक गोलीको घाइते, गिरफ्तार, निर्मम यातना, जेलनेल सहँदै जनआन्दोलनलाई सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने महिला नेता शैलजा आचार्य कर्मठ योद्धा हुन् । उत्पीडन, असमानता, उपेक्षा, शोषण दासता, दरिद्रता, अशिक्षा, रोग, भेदभाव आदिबाट महिलालाई मुक्त गरी उत्थान, व्यक्तित्व विकास र महिला मुक्तिका मार्गमा अघि बढ्ने शैलजाका पाउहरू अव हामीमाझ छैनन ।
कालो शासनको विरोधमा प्रकाश छर्न तम्सिने उनका तेजिला र जोशिला आँखाहरूबाट वेदनाका आँसुहरू टल्पल-टल्पल टल्पलाइरहे । प्रजातन्त्र र स्वतन्त्रता बचाउनका लागि आफ्नो उमेरको सम्पूर्ण समय अर्पिएकी शैलजा अब हाम्रो स्मृतिमा मात्र जीवित छिन । अब साहसी, आँटिली, जुझारू, विराङ्गना शैलजाका रूपमा फर्केलान् भन्ने आशा गर्नु भनेको हामी अवचेतन तिर र्फकनु हो । आफ्ना पारिवारिक खुशी र समानतालाई समेत तिलाञ्जली दिएर राजनीतिमा जीवन अर्पेकी आचार्यको निधनमा उनीप्रति सम्मान गर्दै आज आँसु नझर्ने र सास नरोकिने मान्छे सायदै कोही होला ।
वर्गीय लडाइँ मात्रै नभएर युग परिवर्तन कै लडाइँमा होमिएकी प्रखर नेताको अन्तिम अवस्थामा जिम्मेवार निकायहरू मौन बसे । राज्यले आचार्यको योगदानलाई कदर नगरेको देख्दा महिला परिचयमा बाँचिरहेकाहरूले फेरि अर्को कालो झण्डा, पर्चा र पम्पलेट लिएर उत्रनु पर्ने हो कि जस्तो लाग्न थालेको छ । जब-जब राज्यमा परिवर्तनको खाँचो पर्छ तब-तब महिलालाई उकासेर आन्दोलनमा होम्याइन्छ अनि सत्ता प्राप्तिपछि नारा बनाएर जनमानसको मन जीति यही वर्गलाई भर्याङ्ग बनाएर पार्टीहरू सत्तामा पुग्ने गर्छन् तर सत्ताको स्वादमा रमाउन थालेपछि आफू चढ्दाको भर्याङ्गतिर फर्किएर हेर्ने चेष्टा कसैले गर्देनन् । त्यही फल भोगिन शैलजा आचार्यले पनि । सास हुन्जेलसम्म योगदानको कदर हुनेआस नभए, मृत्युपछिको लासमा ओढाउने झण्डाको कस्तो मूल्य र अर्थ रहन्छ ? यो शैलजा दिदीको आत्मामा रूमल्लिएको प्रश्न हुनसक्छ ।
जाँदाजाँदै शैलजा आचार्यका नाममा दुई शब्द
यहाँ चलन यस्तै छ दिदी
बाँचुन्जेल मान गर्न जान्दैन
मरेपछि दान गर्ने मान्छेको जातले
खाँचो टार्न प्रयोग गर्छ
स्वार्थ पूरा गर्न
उक्साउँछ, हौस्याउँछ, उफार्छ, बजाउँछ
लुट्छ, निचोर्छ, चुस्छ, खोस्टो पारेपछि
घुयेँत्रो हान्छ अनि फर्केर हेर्दैन मान्छेको जातले
यहाँ चलन.....
साभारः गोरखापत्र
No comments:
Post a Comment