वृद्ध पितासँग के को गनगन?
नेकपा माओवादीइतर गठबन्धनका एक मुख्य खेलाडी नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको भारत भ्रमण हाललाई रोकिएको छ। एमालेका वरिष्ठ नेता माधव नेपालको नेतृत्वमा कांग्रेससहितको नयाँ सरकार गठन भएपछि सभापति कोइराला उपचारको नाममा भारत जाने तयारीमा थिए। त्यो पनि प्रधानमन्त्री माधवकुमार नेपालको औपचारिक भ्रमणअघि नै। त्यसका लागि उनले तारतम्य मिलाउन लाग्दै थिए। तर, अचानक उनी प्रधानमन्त्री नेपालभन्दा अगाडि नजाने निधोमा पुगेका छन्। सभापति कोइरालालाई तत्काल भारत जानबाट रोक्ने काम राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले गरेका हुन्। कोइराला र थापा गम्भीर राजनीतिक मुद्दामा एक–अर्काका सहयोगी रहँदै आएका छन्। बुझिएअनुसार, थापाले नयाँ समीकरण बन्नासाथ भारत जाँदा माओवादीले लगाउँदै आएको 'विदेशी प्रभुको चलखेल' को आरोप प्रमाणित हुने कुरा कोइरालालाई सम्झाएका थिए। त्यसमाथि भारतले प्रधानमन्त्री माधव नेपाललाई भ्रमणको औपचारिक निम्तो गरिसकेको अवस्थामा नेपालभन्दा अगावै भारत जाँदा सहयात्री दल एमालेमा आशंका सिर्जना हुन सक्ने कुरा पनि थापाले कोइरालासँग गरेका थिए। यसैगरी, थापाले भारतले नबोलाई जाँदा अघिल्लो पटक भारतीय संस्थापन पक्षले 'रेस्पोन्स' नगरेको स्मरण पनि थापाले कोइरालालाई गराएको उनी निकट स्रोतले बतायो। अघिल्लो पटक कोइराला भारत भ्रमणमा रहँदा कांग्रेस आईकी नेतृ सोनिया गान्धी र प्रधानमन्त्री मनमोहन सिंहले उनलाई भेट्न चाहेका थिएनन्। भ्रमणमा जाँदा कोइरालाले 'माओवादीको अधिनायकवाद धेरै नटिक्ने' बताएका थिए तर फर्केर आउँदा एयरपोर्टमा पत्रकारहरुसँग कुरा गर्दै उनले 'हाम्रो समस्या हामी आफैंले मिलेर समाधान गर्नुपर्छ' भनी बोलेका थिए। उनले त्यसो भन्नुको पछाडि भारतीय संस्थापन पक्षले उनीप्रति नगरेको 'रेस्पोन्स' नै थियो। यसपटक भारत भ्रमणका बारेमा कोइराला र थापाबीच यस्तै समीक्षा भएपछि तत्कालका लागि कोइराला भारत जान रोकिएका हुन्। कोइरालाको भारत भ्रमणबारे कांग्रेसका एक नेताले भने– 'उहाँ उपचार गर्न भारत जाने र त्यसक्रममा भारतमा निर्वाचनबाट कांग्रेस आईको सरकार गठन भएकाले बधाई पनि दिने योजना हो। तर अहिले उहाँ जानु हुन्न।'
वृद्ध पितासँग के को गनगन? पिता गिरिजाप्रसाद कोइरालाको एक्लो कृपामा दोस्रोपल्ट मन्त्री बनेकी सुजाता कोइराला मन्त्रिपरिषद्मा आफ्नो मर्यादाक्रमलाई लिएर फेरि वृद्ध पिताकहाँ उजुर गर्न पुगेकी छन्। पार्टी सभापति कोइरालाको छोरी हुनुको एक मात्र योग्यता र राजसी ठाँटबाँठको एकमात्र परिचय रहेकी सुजाता मन्त्रिपरिषद्मा तेस्रो वरियता आफूलाई दिनुपर्ने भन्दै गिरिजासामु गनगन गर्न पुगेकी हुन्। मन्त्रिपरिषद्मा अहिले प्रधानमन्त्रीपछि उपप्रधानमन्त्रीका रुपमा फोरमका विजयकुमार गच्छदार दोस्रो वरियतामा छन्। कांग्रेसमा केन्द्रीय सदस्य मात्रै रहेकी र कुनै पदाधिकारीको हैसियत नभएकी सुजाताले विशेषगरी एमाले उपाध्यक्ष एवम् रक्षामन्त्री विद्या भण्डारीभन्दा उपल्लो मर्यादा खोजेको बुझिएको छ। विद्या ०५३ सालमा पनि मन्त्री भइसकेकी र तीन–तीनपल्ट निर्वाचन जितेर सांसद भइसकेकी एमालेकी प्रभावशाली नेतृ हुन्। विद्या मर्यादामा आफूभन्दा माथि हुने पीर सुजाताले पोख्न थालेकी हुन्। मन्त्रिमण्डलमा एमालेका अरु पनि वरिष्ठ नेता सामेल छन्। फेरि विष्णु पौडेललगायत वरिष्ठ नेता मन्त्रिमण्डलमा सहभागी हुँदा सुजाताको वरिष्ठता अझ तल पर्दै जाने देखिएको छ। कांग्रेसभित्रै चर्को विरोध खेपेकी, आफ्नै भातृ संगठन नेविसंघको कालोझण्डा व्यहोरेकी सुजाताको गनगनले बृद्ध नेता कोइरालालाई थप अप्ठ्यारोमा पारेकी छन्। यस्तो नचाहिँदो बबाल झिक्न थालेपछि सुजाता पिता कोइरालाकै लागि काउसो सावित भएको उनीनिकट नेताहरु दुःखेसो पोख्न थालेका छन्। यस कुराले प्रधानमन्त्री माधवकुमार नेपाललाई पनि अप्ठ्यारो पारेको छ। source: http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=24447
|
No comments:
Post a Comment