Thursday, June 11, 2009

बेरोजगार मन्त्रीहरु दिक्क

काम नभएर मन्त्रीहरु दिक्क



मन्त्री भएको एक साता बितिसक्दा पनि जिम्मेवारी नतोकिएका कारण बिना विभागीय मन्त्रीहरु दिक्क हुन थालेका छन्। सत्तारुढ दलहरुबीच अझै कुरा नमिलिसकेकोले उनीहरु अझै केही दिन 'बेरोजगार' नै हुनेछन्।


विद्या चापागाई, काठमाडौं, जेठ २८-
पहिलोपटक मन्त्री भए पनि कांग्रेस नेता मिनेन्द्र रिजाल खुसी देखिँदैनन्। मन्त्रीको सपथ खाएको ७ दिन बितिसक्दा समेत जिम्मेवारी पाएका छैनन् उनले। उनले फूर्सदको क्षण आफन्त र साथीभाइसँग बिताउँदैछन्। 'सपथ खानेबाहेक मन्त्रीले गर्नुपर्ने कुनै काम भएको छैन' बिनाविभागीय मन्त्री रिजालले भने 'फुर्सद मेरा लागि आफन्त र साथीभाइ भेट्ने मौका भएको छ।'

अर्का बिना विभागीय मन्त्री प्रकाशरण महतमा पनि काम गर्ने ऊर्जा पलाएको छैन। 'यो त मन्त्री पदका लागिमात्रै मन्त्री भएजस्तो भयो' महतले भने 'खोई जनताको काम सुरु गर्न पाएको ' उनको समय पनि भेटघाट र सुझाव सरसल्लाह लिँदैमा बित्छ। लामो समयसम्म बिनाजिम्मेवारी बस्नुपरेकामा दिक्क मान्दै उनले भने 'छिट्टै टुंगो लागोस्।'

विभागीय जिम्मेवारी नपाएका अरु चार मन्त्रीको मनोदशा पनि उस्तै छ। यसअघि राज्यमन्त्री भइसकेका कांग्रेस नेता बालकृष्ण खाँड पनि महत र रिजालजस्तै कार्यकर्ता र आफन्तजनसँग भेटघाटमै समय बिताउँछन्।

विगतमा राज्यमन्त्री भएको भोलिपल्टै कार्यभार सम्हाल्न मन्त्रालय पुग्दा परेको अलमलकै कारण खाँडले यसपटक फुस्रदको समय तयारीमा बिताएका छन्। 'यो समयलाई उनले कार्यभार सम्हाल्ने तयारीको अवसरका रुपमा लिएको छु' उनले भने 'तर लामो समयसम्म यस्तै भए त दिक्कै लाग्छ।'

उनी हरेक दिन बिहानै पार्टीका वरिष्ठ नेतासँग टेलिफोन वार्ता गर्छन्। पार्टीको नीति तथा योजनाका विषयमा 'अपडेट' भइसकेपछि भनेमात्रै सुरु हुन्छ कार्यकर्ता तथा आफन्तसँगको भेटघाट। उनले बिहान ६ देखि १० बजेसम्मको समय मन्त्री क्वार्टरमा नेता-कार्यकर्ता र शुभेच्छुकलाई भेट्ने समय छुट्टयाएका छन्। त्यसपछि कहिले पार्टी कार्यालय कहिले पार्टी सभापति त कहिले पुराना तथा वरिष्ठ नेतासँग सरसल्लाह र सुझाव लिने काममा व्यस्त हुन्छन्।

पहिलोपटक मन्त्री भएका कांग्रेस नेता पूर्णकुमार शेर्माचाहिँ मन्त्रालय नपाए पनि कार्यकर्ताका समस्या समाधान गर्न व्यस्त छन्। 'तोक लगाउने र विभागअन्तर्गतका निर्णयबाहेकका अरु सबै काम त भइहाल्छ नि ! ' उनले भने 'उनीहरुका समस्या सुन्ने र अन्य मन्त्रालयमा कामका लागि भनिदिने गरिरहेको छु।'
पहिलोपटक मन्त्री भएका मालेका नेता डम्बर श्रेष्ठको दिन पनि भेटघाट र बधाई लिदैमा बित्छ। 'पहिले नै मन्त्री भइसकेकालाई जस्तो मलाई अप्ठ्यारो भएको छैनु उनले नागरिकसँग भने।

जिम्मेवारी नतोकिएकै बहानामा नेता साथीभाइ आफन्त कार्यकर्ता भेट्ने अवसर मिलेकामा श्रेष्ठ दंग छन्। उनले भने 'कहिल्यै नचिनेको आफन्त पनि शुभकामना र बधाई दिन आउँदा मलाई निकै खुसी लागेको छ।'

source:

http://www.nagariknews.com/news-highlights/139-highlights/1845-2009-06-11-04-30-29.html



No comments:

Search and Buy from amazon.com