Friday, June 26, 2009

michael jackson jams internet

ज्याक्सनको मृत्युले इन्टरनेट जाम

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौँ, असार १२ (एजेन्सी)- प्रख्यात पप गायक माइकल ज्याक्सनको शुक्रबार बिहान मृत्यु भएको खबर फैलिए लगत्तै इन्टरनेटमा यति ट्राफिक बढ्यो कि केही चर्चित साइटहरु बन्द हुन पुगे। इन्टरनेट सर्च इन्जिन गुगलले त ह्याकरहरुबाट आक्रमण भएको होला भन्ने ठानेर आधा घण्टा सर्भरै बन्द गर्‍यो। शोक सन्देश अपडेट गर्ने फ्यानहरुको भीड थाम्न नसकेर माइक्रोब्लगिङ साइट ट्विटर पनि क्र्यास हुनपुग्यो।
ट्विटरका २२ प्रतिशतभन्दा बढी सन्देश ज्याक्सनका विषयमा थिए। अमेरिकी राष्ट्रपतिको निर्वाचनपछि ट्विटरमा चाप बढेको यो पहिलो घटना थियो।

सोसल मिडिया साइटको निगरानी गर्ने ट्रेन्डरको प्रारम्भिक तथ्याङ्क अनुसार माइकल ज्याक्सन शब्द भएका सन्देश प्रति घण्टा १ लाखको संख्यामा अपडेट भएका थिए।

बीबीसी न्युजको वेबसाइटको ट्राफिक पनि सामान्य अवस्थामा भन्दा ४८ प्रतिशतले वृद्धि भएको थियो।

अधिकांश नेपालीले पनि आफ्नो फेसबुकमा माइकल ज्याक्सनको मृत्युको विषयलाई अपडेट गरेका छन्। नागरिकन्युजको यही समाचारमा पनि सामान्य समाचारमा भन्दा निकै बढी पाठकको कमेन्ट देखिएको छ।

कीनोट सिस्टमका अनुसार विश्वका प्रख्यात वेबसाइटहरु एओएल. सीबीएस, सीएनन, एमएसएनबीसी र याहूका साइट खोल्नमा समस्या देखिएको थियो।

ज्याक्सनको मृत्युको पहिलो समाचार सेलिब्रिटी गसिपका लागि प्रख्यात साइट टीएमजेले ब्रेक गरेको थियो। यस लगत्तै इन्टरनेटका दर्शकहरु समाचारको पुष्टिका लागि अन्य साइटहरुमा जान थालेका थिए।

रहेनन् माइकल ज्याक्सन
लस एन्जलसस्थित आफ्नै निवासमा ह्रदयाघात भएका ज्याक्सनलाई अस्पतालमा लग्ने क्रममा मृत्यु भएको थियो। उनी ५० वर्षका थिए। अंग्रेजी पप गायनलाई विश्वभर लोकप्रिय बनाएका कारण उनलाई 'पप सम्राट' पनि भन्ने गरिन्थ्यो। छालाको क्यान्सरसित जुध्दै गरेका ज्याक्सनले अर्को महिना लन्डनमा कन्सर्ट गर्ने तयारी गरिरहेका थिए। कन्सर्टका लागि साढे सात लाख टिकट बिकिसकेका थिए।

ह्रदयाघात हुनुको कारण सार्वजनिक गरिएको छैन। तर लागू औषधका दुर्व्यसनी ज्याक्सनले बढी मात्रामा औषधि खाँदा ह्रदयाघात भएको हुनसक्ने पश्चिमी सञ्चार माध्यमहरुले बताएका छन्।
अहिले जस्तो स्याटेलाइट टेलिभिजनहरुको उपस्थिति बिनै पनि नेपाल जस्तो देशमा समेत असीको दशकमा माइकल ज्याक्सनको प्रभाव गहिरै थियो। नेपाल मात्र हैन, विश्वभर अ‌ग्रेजी पप गीतलाई लोकप्रिय बनाउनमा उनको ठूलो योगदान छ।
ज्याक्सन परिवारका सातौँ सन्तानका रुपमा सन् १९५८ मा जन्मिएका माइकल जोसेफ ज्याक्सनले ११ वर्षको कलिलो उमेर मै आफ्नो व्यावसायिक करिअर सुरु गरेका थिए। सुरुमा उनी ज्याक्सन फाइभ ब्यान्डका सदस्य थिए। सन् १९७१ देखि उनले एक्लो सा‌गीतिक यात्रा सुरु गरे जुन निकै सफल हुन पुग्यो। उनका एल्बमहरु विश्व कै बेस्ट सेलिङ हुन पुगे।

१३ ग्रायमी अवार्ड र १३ नम्बर वन सि‌गल्स जित्ने उनको कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेका छैनन्। चार दशकसम्म उनी विश्वभरका मिडियामा छाइरहे। पछिल्लो पटक भने विभिन्न स्क्याण्डलमा जोडिएर उनको नाम आउने गर्थे। बाल यौन दुर्व्यवहारको आरोपमा उनीमाथि छानबिन समेत भयो। तर आरोप प्रमाणित हुन सकेन।
लस एन्जलसस्थित आफ्नै निवासमा ज्याक्सनलाई ह्रदयाघात भएको थियो। आपतकालीन उपचारका लागि चिकित्सकहरु स्थानीय समय अनुसार मध्याह्न साढे १२ बजे पुग्दा ज्याक्सनको श्वास रोकिसकेको थियो। युसीएलए मेडिकल सेन्टरतर्फ उनलाई लगिएको थियो। त्यहीँ उनको मृत्यु भयो। स्थानीय समय अनुसार दिउँसो २ बजेर २६ मिनेट जाँदा उनलाई मृत घोषित गरियो।

आपराधिक घटनाको कुनै संभावना नदेखिए पनि लस एन्जलस प्रहरीले मृत्युको कारण पत्ता लगाउन अनुसन्धान गर्ने भएको छ। शुक्रबार पोस्टमार्टमपछि मात्रै उनको अन्तिम संस्कारको घोषणा गरिनेछ। विश्वभरका फ्यानहरु अहिले उनको शोक मनाइरहेका छन्।
source:
http://www.nagariknews.com/news-highlights/139-highlights/2296-2009-06-26-01-43-38.html

No comments:

Search and Buy from amazon.com