Friday, June 19, 2009

नेत्रबिक्रम चन्द ‘बिप्लव’

भूल गर्दै गए संसदीय पार्टीको अन्त्य हुन्छ

netra-bikram-chandaनेत्रबिक्रम चन्द बिप्लव

सचिवालय सदस्य, एकीकृत नेकपा (माओवादी)

. सरकारबाट बाहिरिदा बित्तिकै तपाइहरु अहिले संघर्षमा उत्रिनु भएको छ, संघर्षका कार्यक्रम के मा केन्द्रीत छ ?

यसको मुख्य दुई/तीन वटा कुराहरु छन् । पहिलो त नेपालमा राष्ट्रपतिको असंबैधानिक कदम चालेर जननिर्बाचित सरकारलाई ध्वस्त पारेका छन्, एक प्रकारले कुगरेका छन् । त्यसको बिरुद्ध हाम्रो आन्दोलन केन्द्रीत छ । दोस्रो,नेपालमा भर्खरै स्थापित गणतन्त्र र जनताले सुनिश्चित गर्नथालेको संबैधानिक अधिकारलाई हत्या गर्ने तानाशाही कदमको सुरुवातको बिरुद्ध जनतालाई जागरुक बनाउन र तेस्रो, अन्तराष्ट्रिय समुदाय र सम्पूर्ण विश्वजगतले नेपालमा लोकतान्त्रिक अनुहारको मुकुण्डोमा जनअधिकार छिन्ने गरी अगाडी बढेको तानाशाही कदमबारे जानकारी र सूचना दिन आन्दोलन केन्द्रीत छ ।

.कहिलेसम्म चल्छ त संघर्षका कार्यक्रम ?

राष्ट्रपतिले आफ्नो कदम खारेज नगरेसम्म र एकीकृत माओवादीको नेतृत्वमा राज्य सञ्चालन हुनुपर्छ भनेर दिएको जनादेश सुनिश्चित नभएसम्म संघर्ष जारी रहन्छ ।

.उसो भए फेरि सत्तामा जाने रहर जाग्यो ?

सत्ता होइन, जनाताले दिएको जनादेश हो । जनादेश बमोजिम राज्यको नेतृत्व गर्ने अधिकार सुनिश्चित नभएसम्म संघर्ष गरिरहन्छौं ।

.एकातिर संसदीय फोहरी खेलमा लाग्दैनौं भन्नुहुन्छ, अर्कोतिर सत्तामा जान संघर्ष पनि गरिरहन्छौं भन्नुहुन्छ, यो त बिरोधाभास कुरा भएन र ?

ठीक भन्नुभो । यहाँ दुईवटा कुरा छ । तपाइँले भनेजस्तै संसदीय फोहरी खेलमा लाग्दैनौं भनेको के हो भने, कानुनको अपव्याख्या गरेर,प्राबिधिक ढङ्गले संख्या धेरै देखाएर जनादेशलाई कुल्चने, अपहरण गर्ने, विदेशीको इसारामा, लोभ प्रलोभन र बिभिन्नखाले दवावमा परेर जनादेशलाई कुल्चिने र जालसाजी गर्ने जुन खालको खेल हुन्छ, त्यसलाई हामीले संसदीय फोहरी खेल भनेका हौं । त्यसमा हामी कदापी लाग्दैनौं । तर कुरा के हो त भन्दा लगातार त्याग, तपस्या र बलिदानबाट प्राप्त नेपाली जनताको अधिकारको संरक्षण गर्ने कुरा संसदीय खेल होइन । जनताको अधिकारको रक्षा गर्नु सबै लोकतान्त्रिक गणतन्त्रवादी शक्ति, सच्चा राष्ट्रवादी र वामपन्थी शक्तिहरुको दायित्व हो । जनअधिकारको रक्षा गर्छु भन्नु संसदीय खेल भन्दा माथिको कुरा हो । अहिले हामी त्यसैको लागि संघर्ष गरिरहेका छौं ।

.संसदीय व्यवस्थालाई स्वीकार गर्दै दलीय प्रतिस्पर्धामा आएको पार्टीले त संसदमै बहुमत जुटाउनुपथ्र्यो नि त । संसदमा असफल भएर अब सडकबाटै जनताको अधिकार सुरक्षित गर्न सकिन्छ भन्नु भएको हो ?

हामी के प्रष्ट हुनु जरुरी छ भने, नेपालमा संसदीय व्यवस्था हुने की, जनताको जनतन्त्र हुने भन्ने कुराको टुङ्गो लागिसकेको छैन । त्यसकालागि हामीले नयाँ संबैधानिक प्रकृयाको सुरुवात गरिसकेका छौं । संबिधानसभाको औचित्य नै के हो भने, नेपालको राजनीतिक प्रणाली, राज्यको स्वरुप कस्तो हुने भन्ने हो । त्यही कुरा टुङ्गोमा पुर्‍याउन हामी संबिधानसभामा गएका हौं । नेपालको राज्य प्रणाली पुरानै संसदीय ढाँचाको हुने या जनताले चाहेको जस्तो नयाँ हुने भन्ने बहस चलिरहेको बेला जनताको नयाँ राज्य निर्माण गर्ने आकांक्षालाई लत्याउँदै सुरु भएको फोहरी खेल मै हाम्रो असहमति हो ।

. तपाइँहरुकै नेतृत्वको सरकारको निर्णय उल्ट्याउँदै एमाले नेतृत्वको बर्तमान सरकारले नीति तथा कार्यक्रम पनि ल्याइसकेको छ, अर्कोतिर तपाइँहरु संघर्षमा हुनुहुन्छ, यसले देशको स्थिति कता जाला ?

देशको स्थिति कता जान्छ भन्ने कुराको निर्धारण संबिधानको अपव्याख्या गरेर, आफ्नो हुँदै नभएको अधिकार प्रयोग गरेर, जनताको अधिकारलाई कुण्ठित गरेर आन्दोलनको जनादेशलाई तानाशाही सर्वसत्तावादी र सैन्यवादी प्रबृत्ति अगाडि आएको छ त्यसले निर्धारण गर्ने कुरा हो । यदि यी प्रबृत्तिले जनताको जनादेशलाई बुझ्दछन् र हिँजो आफैले खडा गरेको संबैधानिक मूल्य मान्यतालाई संरक्षण गर्ने अलिकति पनि नैतिक दायित्व लिन्छ भने असंबैधानिक कदमहरु खारेज हुनुपर्छ । तर अहिले बचेखुचेको तागतको भरमा जनतालाई जेपनि गरेपनि हुन्छ भन्ने सोँचाइ राख्छन् र माओवादी बिरुद्ध जे बोलेपनि र जे सोँचेपनि हुन्छ भन्ने रबैया अपनाउँछन् भने त्यसको परिणाम हाम्रो कारणले होइन, उनीहरुकै कारणले बिरुद्धमा आउनेछ ।

नीति तथा कार्यक्रम ल्याउने अधिकार त यो सरकारलाई छँदै छैन । राष्ट्रपतिको कदम खारेज नहुँदासम्म नयाँ नीति तथा कार्यक्रममा नेतृत्व गर्ने अधिकार माओवादी कै हो । अहिलेकोबहस र मुद्दालाई बहसमा ल्याउने जनतालाई भ्रममा छर्न ल्याइएका भ्रमका खेती हुन् । त्यस्ता भ्रममा नपर्न हामी आग्रह गर्दछौं ।

जहाँ सम्म माओवादीको सडक संघर्षको कुरा छ, यो सडक संघर्ष मात्र होइन, जनताले ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त गरेको अधिकार रक्षाको लडाइँ हो । लडाइँमा जनता अगाडि बढ्नुपर्छ । षडयन्त्र बिरुद्ध मुकाबिला गर्दै आफ्नो अधिकार सुरक्षित गर्नुपर्छ ।

. तपाइँहरुले नीति तथा कार्यक्रम ल्याउने अधिकार एमाले नेतृत्वको सरकारलाई छैन भन्नुहुन्छ तर तपाइँकै पार्टीको नेतृत्वको सरकारले गरेको निर्णय बर्तमान सरकारले उल्ट्याउँदै गएको छ । तपाइँहरु बोलेको के अर्थ रह्यो र ?

बोलेको अर्थ रहने न रहने भन्दा पनि काङ्ग्रेस, एमालेलगायत दलहरुले इतिहासमा जति गल्ती गरे, त्यो गल्तीले या त काङ्ग्रेसलाई अन्त्य गर्ने अबस्था आएको छ, या त उसले ठूलठूला क्षति बेहोर्ने र प्रतिगामीहरुले फाइदा उठाउने बेला आएको छ । यो कुरा काङ्ग्रेस र एमालेले बुझ्नु पर्छ । असान्दर्भिक र बेमौसमको कुरा गरेर गुटको वा कुनै पार्टी बिशेषको स्वार्थको लागि जनघाति र राष्ट्रघाति कदमलाई स्वीकृति दिने खालका कदमले एमालेलाई पनि बिघटनको नजिक पुर्‍याएको कुरा जगजाहेर छ । अहिले पनि काङ्ग्रेस र एमालेले जनआकांक्षालाई वेवास्ता गरे भने जसरी ज्ञानेन्द्रको भूलले ज्ञानेन्द्रलाई नै सखाप पारेको थियो, ठीक त्यसरी नै संसदीय पार्टीको अन्त्य हुने छ ।

source:

http://www.onlinekhabar.com/wp/2009/06/05/5151.html


No comments:

Search and Buy from amazon.com