Monday, June 22, 2009

सीमास्तम्भ र दसँगजा भन्ने शब्दसमेत नजानेकी सुजातालाई किन परराष्ट्रमन्त्री बनाइयो ?

सीमास्तम्भ र दसँगजा भन्ने शब्दसमेत नजानेकी सुजातालाई किन परराष्ट्रमन्त्री बनाइयो ?Print
Written by इनेपाल न्युज डट कम सम्वाददाता
Monday, 22 June 2009 07:01

काठमाडौं। नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाद्वारा आफ्नो विरासतका रूपमा अघि बढाइएकी सुजाता कोइराला परराष्ट्रमन्त्री भएको घोषणापछि सचिव ज्ञानचन्द्र आचार्यमात्र होइन, उनी मातहतका कर्मचारीहरू पनि खुसी भएका थिए। एक हिसाबले पूरा नारायणहिटी परिसर नै उत्साहमा रमेको थियो। तर यो खुसी र उत्साह २४ घन्टासम्म पनि कायम रहन पाएन।
शपथग्रहणपछि पदबहालीको औपचारिक प्रक्रिया पूरा हुन पाउँदा नपाउँदै परराष्ट्र मन्त्रालयका कर्मचारीहरूको उत्साह तातेको फलाममा पानी खन्याएजस्तै भयो। नेपाली कांग्रेसजस्तो अन्तर्राष्ट्रिय विश्वास जितेको पार्टीको परराष्ट्र विभाग प्रमुखसमेत रहेकी सुजाताले पहिलो ब्रिफिङमा के के निर्देशन दिन्छिन् भन्दै वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिप्रति उनको विश्लेषण सुन्न सम्पूर्ण कर्मचारी उत्साहका साथ जम्मा भएका थिए। नवनियुक्त परराष्ट्रमन्त्री सुजाताले जब बोल्दै गइन्, तब कर्मचारीहरू क्रमशः घोसेमुन्टो लगाउँदै गए। सुजाताले करिब पाँच मिनेटको ब्रिफिङमा आफ्ना पिता गिरिजाप्रसाद कोइरालाले आरम्भ गरेको शान्ति प्रक्रियालाई टुंगोमा पुर्या उन आफू मन्त्री बनेको बताउँदै भनिन्– हेर्नोस्, तपाईंहरूले यो बुझ्नु जरुरी छ कि गिरिजाबाबु क्रान्ति नायक हो, उहाँको सहयोगबिना शान्ति प्रक्रिया बहाली हुन सक्दैन। नेपाली कांग्रेसबाहेक मुलुकमा स्थायित्व दिनसक्ने पार्टी अर्को नभएको दाबी गर्दै उनले भनिन्– 'कांग्रेसलाई बाइपास गर्न खोज्दा माओवादीको के हविगत भयो? यो पनि तपाईंहरूले बुझ्नोस्।' मन्त्री सुजाताले परराष्ट्रको 'प' र कूटनीतिको 'क' समेत उच्चारण नगरी आफ्नो बिफ्रिङ निर्देशन टुंग्याएपछि कर्मचारीले आपसमा टिप्पणी गर्दै भने– होइन यो परराष्ट्रमन्त्रीको निर्देशन हो कि कुनै पार्टीको भेलाको तमासा?
ब्रिफिङपछि चिया खाने क्रममा एक सहसचिवले भने– यो स्तरको मान्छेलाई परराष्ट्रमन्त्रीका रूपमा देख्नुपर्ला भन्ने कुरा सपनामा पनि सोचेको
थिइनँ। पहिलो ब्रिफिङकै क्रममा मन्त्रीको गुदी थाहा पाइसकेका कर्मचारीहरू अराजक बन्ने चिन्ताले सचिव ज्ञानचन्द्र आचार्यलाई सतायो। त्यतिमात्र होइन, परराष्ट्रका कर्मचारीलाई घन्टौं कुराएर जब उनले दोहोरी र डान्स रेस्टुराँका मालिकहरूको पुष्पगुच्छा लिइन्, त्यसपछि त उनीहरू निराश नै भए। यो वृत्तान्त भेटघाटका क्रममा जानकारी पाएका पिता गिरिजाप्रसाद कोइरालाले सचिव ज्ञानचन्द्रसँग कुनै विवादमा आउने काम नगरी दिन र विस्तारै काम सिकाइदिन निर्देशनसमेत दिएका थिए। आफ्नोबारे बाबुकहाँ सिकायत पुगिसकेको थाहा पाएकी सुजाता त्यसपछि मन्त्रालयका कर्मचारीसँग रिसाउने र झर्किने गर्न थालेकी छन्। पदभार ग्रहण गरेको केही दिनपछि आफ्नो कार्यकक्षको बाथरुम सफा नगरिएको र फ्लस बिग्रिएको विषयलाई लिएर मन्त्री सुजाताले पोखेको आक्रोशको घानमा सचिव तथा सहसचिवहरू पनि परेको बुझिएको छ।
मन्त्रिपरिषद्को पहिलो बैठक बीचैमा छाडेर भारतीय राजदूत राकेश सुदसँग भेट्न पुगेकी सुजाताले त्यहाँ पनि तमासा देखाइन्। मन्त्री र राजदूतको मर्यादाक्रम नबुझेकी सुजातासँगै रहेका सुदले भेटघाटपछि संवाददातासँग कुराकानीका क्रममा भारतले नेपालको कुनै सीमा नमिचेको दाबी गर्दै भने– 'बाँकी कुरा उहाँसँग (सुजाता) सोध्नोस्।' नेपालको परराष्ट्रमन्त्रीलाई आफ्नै पीएजस्तै गरी भारतीय राजदूतले गरेको व्यवहारले उपस्थित धेरैको मन कुँडियो। यस्तै दृश्यको समाचार टेलिभिजनमार्फत देशव्यापी प्रसारण पनि भयो। भारतीय राजदूतको उक्त निर्देशनपछि सुजाताले भारतद्वारा कुनै सिमाना नमिचिएको बताउँदै भनिन्, 'दुई देशको सीमाबीच गाडिने चिज हुन्छ नि? के रे! त्यो हटाएको भन्ने कुरा पनि गलत हो।' सीमास्तम्भ र दसँगजा भन्ने शब्दसमेत नजानेकी सुजातालाई किन परराष्ट्रमन्त्री बनाइयो भन्नेमा परराष्ट्र मन्त्रालयमात्र होइन, सर्वसाधारणसमेत अन्योलमा छन्।
परराष्ट्रमन्त्री बनेपछि राजधानी काठमाडौं बाहिर जानेक्रममा काभ्रे पुगेकी सुजाताले त्यहाँ पनि तमासा देखाइन्। आफ्नो मन्तव्य दिनेक्रममा उनले भनिन्– माओवादीले विभिन्न जातजातिलाई राज्य दिने भनेर मुलुक खण्ड खण्डमा खण्डित गराउन खोजेको छ, यसलाई म विखण्डित गरिदिन्छु। आफ्नो निजी कार्यकक्षमा उनले भरत सापकोटा र लक्ष्मण थपलियालाई कर्मचारीका रूपमा नियुक्त गरेकी छन्। सापकोटाले केही दिनअघि केही मुन्द्रेहरूलाई भेटघाट गराउँदै वरिष्ठ पत्रकार भनेर परिचय गराउँदा पनि उनले पत्रकार हुन् होइनन् छुट्याउन सकनिन्। आफ्नो पारिश्रमिक सुजाताका निजी भान्छेलाई प्रदान गर्ने सर्तमा नियुक्त भएका सापकोटा र थपलिया म्यानपावर व्यवसायीसमेत हुन्। उनीहरूले अब आफ्नो खर्च कमिसनबाटै पूरा गर्नुपर्ने हुन्छ।

source:http://www.chitawan.com/naya/index.php?option=com_content&view=article&id=1527:2009-06-22-07-06-09&catid=68:2009-03-18-18-34-13

No comments:

Search and Buy from amazon.com