Tuesday, June 16, 2009

मोदनाथ प्रश्रति: दलहरुलाई दर्जन सल्लाह

दलहरुलाई दर्जन सल्लाह


2009-06-16,Tuesday


०२४ सालदेखि राजनीतिमा लागेका मोदनाथ प्रश्रति पार्टीको केन्द्रीय समितिमै निरन्तर ३८ वर्षसम्म सदस्य रहे । एमालेको बुटवल महाधिवेशनपछि स्वेच्छाले पार्टी नेतृत्वको जिम्मेवारीबाट अलग भएका उनलाई नयाँ पत्रिकाले सोध्यो- ४२ वर्षको पार्टी राजनीतिको अनुभवपछि तपाईं यो देशका पार्टीहरूलाई के सल्लाह दिनुहुन्छ ? दुईपटकसम्मको कुराकानीपछि उनले दिएका दर्जन सुझाव उनकै शब्दमा पढौँ :

मैले मेरो पार्टी नेकपा (एमाले) मा यी कुरा पटकपटक उठाएँ, तर हाम्रो नेतृत्वका अधिकांश साथी मध्यमवर्गबाट आएका हुनाले होला, सानो मसिनो कुरो ठानेर मेरा प्रस्तावलाई गम्भीरतापूर्वक लिएनन् ।

१.राजनीति मात्रै सबै
थोक होइन

मेरा तीन आदर्श व्यक्ति छन्- लु सुन, मेक्सिम गोर्की र राहुल सांकृत्यायन । लु सुन कहिल्यै पार्टी सदस्य भएनन्, तर उनलाई माओले सांस्कृतिक क्षेत्रका कमान्डर भने । गोर्कीलाई कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरूले 'समुद्री छेउमा टोलाउने आवारा' सम्म भने, तर लेनिनले उनलाई पार्टी काममा सक्रिय बनाउने कुराको विरोध गरे । 'उनलाई लेख्न देऊ' लेनिनले भने, 'त्यसरी उनले झन् धेरै क्रान्तिको सेवा गर्नेछन् ।' राहुल सांकृत्यायन भारतको किसान संघको अध्यक्ष भए, पार्टीमा पनि लागे, तर पछि लेखनमै फर्के । उनका अनुसन्धानले पनि क्रान्तिकै सेवा गरे ।

हामीकहाँ भने पार्टी नेतृत्वमा रहेर मात्र आन्दोलनलाई अघि लैजान सकिन्छ भन्ने सोच छ । तर, आन्दोलन र समाजका बहुआयाम छन् । कलाबाट, पत्रकारिताबाट, नाटकबाट र अरू अभियानबाट पनि धेरै गर्न सकिन्छ । सुनील पोखरेलले नाटकबाट जे गरेका छन्, त्यो एउटा राजनीतिक कार्यकर्ताबाट भइरहेको कामभन्दा कम छैन । लक्ष्मीप्रसाद देवकोटा ठूलो कि उनी शिक्षामन्त्री हुँदाका प्रधानमन्त्री केआई सिंह ठूलो ? पार्टीहरूले प्रतिभा चिन्नुपर्छ, सबैलाई सक्रिय राजनीतिमै मात्र ल्याउन खोज्नुहुँदैन ।

२ . सिर्जनात्मक बन
र श्रम गर
नेपालमा पार्टीहरू प्राविधिक रूपले संगठित त होलान्, तर सिर्जनात्मक छैनन्, न रचनात्मक दृष्टिले परिपक्व छन् । पुष्पलालको 'तीन स' को नारा थियो- सिद्धान्त, संगठन र संघर्ष । म त्यसमा अर्को एउटा 'स' थप्न चाहन्छु- सिर्जनात्मकता । पार्टीले गाउँका जनतालाई हरेक किसिमबाट शिक्षित गर्न प्रयास गर्नुपर्छ । किसानलाई उत्पादनको काममा सघाउनुपर्छ । श्रम गर्नुपर्छ । अक्टोबर क्रान्तिपछि रुसमा अरूले ६ दिने काम गर्थे, तर कम्युनिस्टले सात दिन नै काम गर्थे । त्यो सातौं दिनका लागि 'कम्युनिस्ट सुब्बोतनिक' भन्ने नयाँ शब्द नै बनेको थियो । तर, नेपाली राजनीतिमा श्रम र सिर्जनात्मकताको खडेरी छ ।

४२ वर्षको संगठित राजनीतिक जीवनपछि यतिखेर'वानप्रस्थ' मोदनाथ प्रश्रतिले नेपालकापार्टीहरूलाई दिएका बाह्र टिप्स्

३ . सरकारकै मात्र
प्रतीक्षा नगर
हामीकहाँ सरकारमा नजाँदासम्म केही गर्न सकिन्न, सरकारमा गएपछि चाहिँ सबै गर्न सकिन्छ भन्ने अत्यन्त गलत सोच छ । पार्टीहरू सधैं सरकारमा पुग्ने दिनको प्रतीक्षा गर्छन्, त्योभन्दा अगाडि जनताका पक्षमा सिन्को पनि भाँच्दैनन् । जुलुस, भेला, सैद्धान्तिक प्रशिक्षण चाहिँ जति पनि गर्ने, तर जनताका दैनिकीसँग जोडिएका कुनै पनि काममा सहभागी नहुने प्रवृत्ति छ । जनताका दैनिकीसँग जोडिएका समस्यामा पार्टीहरू पहिल्यै किन सहभागी हुन नसक्ने ? पहिल्यै गर्न सकिने ससाना कामका लागि पनि सरकारको प्रतीक्षा किन गर्ने ? औद्योगिक नेतृत्व, प्राविधिक नेतृत्व, आर्थिक नेतृत्व, वैज्ञानिक नेतृत्व, प्रशासनिक नेतृत्व तयार गर्न पार्टीहरूले सत्तामा नपुग्दै पनि गम्भीर अभियान सुरु गर्नुपर्छ ।

४.पार्टीका स्वतन्त्र आर्थिक
स्रोत तयार गर
पार्टीहरू पटकपटक आर्थिक कुरामा विवादमा आउँछन् । यसले उनीहरूको साख र प्रतिष्ठामा नकारात्मक प्रभाव पारेको छ । तैपनि नेताहरू स्वतन्त्र आर्थिक स्रोतहरूको निर्माणबारे सोच्दैनन् । मैले पार्टी (एमाले) मा पटकपटक भनेँ, हामीले पार्टीका स्वतन्त्र आर्थिक स्रोतहरू बनाउनुपर्छ । त्यसो भयो भने पुँजीपतिसँग चन्दा माग्ने काम गर्नुपर्दैन । चन्दा नमागेपछि तिनका लागि काम गर्नुपर्दैन, तिनको दबाब सहनुपर्दैन ।

मैले वर्षमा दुई दिन अनिवार्य श्रमदानको प्रस्ताव गरेको थिएँ, एक दिन निर्माणका लागि स्वयंसेवी र एक दिन ज्यालादारी श्रम । एमालेसँग ३० लाख सदस्य र शुभचिन्तक थिए । ३० लाख मान्छेले एक दिन बाटो खने भने तीन सय किलोमिटर सडक बन्छ । ३० लाख मान्छेको एक दिनको ज्यालादारी श्रमबाट सय रुपैयाँका दरले पनि ३० करोड जम्मा हुन्छ ।

विद्यार्थीहरू सम्मेलन गर्दा चन्दा माग्न हिँड्छन् । त्यसको सट्टा एउटा बृहत् पुस्तक प्रदर्शनी गरेदेखि सम्मेलनका लागि आवश्यक स्रोत सजिलै जुट्छ । कसैसँग हात फैलाउनभन्दा सम्मेलनका लागि बरु तरकारी र फलफूल बेचे कति राम्रो हुन्थ्यो ।

५.वर्षमा कम्तीमा एउटा
अभियान चलाऊ
पार्टीहरूले केवल राजनीति गरेर पुग्दैन, सामाजिक आन्दोलनमा पनि सहभागी हुनुपर्छ । र, वर्षको कम्तीमा एउटा अभियान चलाउनुपर्छ । उदाहरणका लागि एक वर्ष सरसफाइसम्बन्धी पार्टी अभियान चलाउन सकिन्छ, अर्को वर्ष खेती र तरकारीसम्बन्धी, त्यसपछिको वर्ष जडीबुटीसम्बन्धी । हात धोएर खाना खानुपर्छ भन्न एनजिओ-आइएनजिओ किन चाहिने ? रूख रोप्ने, हरेक घरमा चर्पी बनाउने अभियान पार्टीहरूले किन गर्न नसक्ने ?

६.कार्यकर्ताको सीप र
क्षमता विकास गर
पार्टी कार्यकर्तालाई केवल झोला र झन्डा थमाएर पुग्दैन, तिनलाई आत्मनिर्भर पनि बनाउनुपर्छ । हरेक पार्टी कार्यकर्तालाई उपयोगी केही न केही सीप सिकाउनुपर्छ । उदाहरणका लागि कृषक कार्यकर्तालाई पशुचिकित्साको ६ महिने तालिम, फलफूल वा तरकारीखेती सम्बन्धित तालिम दिन सकिन्छ, प्रांगारिक मल बनाउने तरिका सिकाउन सकिन्छ । पार्टीले अस्थायी प्राविधिक स्कुल बनाउन सक्छ । पार्टीका साथीहरूले खोलेका अस्पतालमा निःशुल्क तालिम दिन सकिन्छ । तर, पार्टीहरू चन्दाको धन्दाबाट मुक्त हुन
सकेका छैनन् ।

७ .अध्ययन र प्रशिक्षणको
शैली परिवर्तन गर

नेता र कार्यकर्ताले चर्का भाषण गरेर मात्र पुग्दैन, जनतालाई सिकाउनुपर्छ । पार्टीहरूमा स्कुल विभाग खोल्ने चलन त छ, तर त्यो प्रभावकारी हुन सकेको छैन । पहिले पुष्पलालले पार्टी सिद्धान्त, माक्र्सवाद, अन्तर्राष्ट्रिय घटनाक्रम र वैचारिक धारणाबारे नियमित प्रशिक्षण चलाइरहनुहुन्थ्यो । स्कुल विभागले केवल पार्टीका तात्कालिक कार्यक्रम घोटाइरहने होइन, बरु अर्थशास्त्र, इतिहास, राजनीतिशास्त्र, दर्शन र प्रविधिबारे पनि पढाउनुपर्छ । अहिले त परै प्रशिक्षण कति चन्दा, कति जुलुस भन्नेमा मात्र सीमित छ । ०५७/०५८ सालतिर म विभागमा हुँदा यी विषयमा पाठ्यक्रम नै बनाइएको थियो ।

तर, त्यो छोटो समय मात्रै रह्यो । विविध विषयका विज्ञहरूको सहयोग लिएर देशको इतिहास, संस्कृति, योजनाबारे छुट्टै पाठ्यक्रम तयार गर्न आवश्यक छ । अहिले पार्टीहरूले केवल अनुयायी तयार गरिरहेका छन्, कार्यकर्ता होइन । योग्यतम र स्वाभिमानी कार्यकर्ता तब मात्र जन्मन्छन्, जब पार्टीहरूले योजनावद्ध तरिकाले अध्ययनको संस्कृति बसाउँछन् । हरेक कार्यकर्ताले नेपाल र विश्वको इतिहास, नेपाल र विश्वको राजनीति, द्वन्द्वात्मक भौतिकवाद र व्यवस्थापनबारे पढ्नै पर्छ भन्ने मेरो प्रस्ताव छ ।


८. विकास-निर्माणको
प्रतिस्पर्धा गर
पार्टीहरू जुलुस निकाल्न, तोडफोड गर्न, बन्द-हडताल गर्न प्रतिस्पर्धा गर्छन् । तर, कहिल्यै कुनै सिर्जनात्मक काममा प्रतिस्पर्धा गर्दैनन् । दलहरूबीच विद्युत् निकाल्ने, सडक बनाउने, विद्यालय भवननिर्माण गर्ने, धारा र चौतारा बनाउने प्रतिस्पर्धा भएको कसैले देखेको छैन । एउटै ठूलो पार्टीले चाह्यो भने चार-चार दिन श्रमदान गरे माध्यमिक विद्यालयको भवन बन्छ । सबै पार्टीहरूले प्रयास गर्ने हो भने एक वर्षमै निरक्षरता उन्मूलन गर्न सकिन्छ । पार्टीहरूले भौतिक संरचनाहरूको निर्माण र पूर्वाधार विकासमा प्रतिस्पर्धा गर्ने हो भने चामत्कारिक प्रगति हुन सक्छ ।


९ .हाकिम नहोऊ, सरल
र जनमैत्री होऊ
साथीहरूले मलाई जिल्लामा बढी बोलाउँथे । फुर्सद नभएका वेला म भन्थेँ- अरूलाई बोलाउनुस् न । उनीहरूको जवाफ हुन्थ्यो- अरू नेतालाई सबैभन्दा पहिले प्लेनको टिकट चाहिन्छ, महँगो होटलको बन्दोबस्त गर्नुपर्छ । तर, हामीसँग पैसा छैन ।

नेता भड्किलो हुन हुँदैन । आर्थिक सोच संस्कृतिमा परिवर्तन आवश्यक छ । हाकिमीशैलीमा प्लेनमा जाने र भाषण दिएर फर्किने, जनतासँग संवाद नगर्ने सामन्ती तरिका हो । सिक्किममा पवन चाम्लिङ १५ दिन गाउँतिर बस्छन्, १५ दिन राजधानीमा । धेरैैजसो समय गाउँमै बिताउँथे । हामीकहाँ राजधानी छाड्ने भनेपछि नेताहरूको ज्वरो आउँछ । अलि थोत्रो गाडी चढ्न परे अपमानित महसुस गर्छन्, नेताहरू । टेम्पो चढ्ने र सार्वजनिक यातायात चढ्ने त निकै परेको कुरा भयो । लवाइ-खबाइ र बसाइमा पनि सामन्ती पारा
छ । भड्किलो पोसाकले पनि जनताबाट अलग्याउँछ । ठूलो होटलमा बस्ने, महँगो गाडी चढ्ने प्रवृत्तिले नेतालाई जनताबाट अलग्याउँदै लगेको छ ।

१०. विशेषज्ञलाई
सँगै लैजाऊ
हाम्रा पार्टीहरूले विशेषज्ञहरूलाई कहिल्यै सदुपयोग गर्न
सकेनन् । बुद्धि पुर्‍याउने हो भने उनीहरूले सबैभन्दा पहिले विशेषज्ञहरूको भेला गर्नुपर्छ र तिनका कुरा सुन्नुपर्छ । तपाईंहरू दुईमहिने तालिम दिन गाउँमा जानुपर्‍यो भन्न सकिन्छ । तरकारी र फलफूलको प्रविधि, पशुपालन र कुखुरापालनका प्रविधिको सामान्य ज्ञान दिन सकिन्छ । स्वास्थ्यसम्बन्धी शिविर चलाउन सकिन्छ । योग्यतम मान्छेलाई भविष्यका सम्भावना हेरेर अहिल्यै तालिममा पठाउनुपर्छ । जस्तो, कस्तुरी फार्मिङबारे, लघु प्रविधिबारे आवश्यक विज्ञ सरकारमा नपुग्दै तयार गर्नुपर्छ । पार्टीहरूले भविष्यको सरकारका रूपमा दीर्घकालीन सोच राख्नुपर्छ ।

११ .जनतासँग
घुलमिल होऊ
आमजनताको संस्कृति के ? र, पार्टीभित्रको संस्कृति के ? यो विषयमा अहिलेसम्म कुनै छलफल भएको छैन । लोकतान्त्रिक संस्कृति भनेको चाकरीको संस्कृति होइन, स्वाभिमानको संस्कृति हो । पदमा तलमाथि भए पनि राजनीतिक योग्यताका आधारमा नेता-कार्यकर्ता सबैको सम्मान हुनुपर्छ । पार्टीहरू गुटबन्दीको धमिराले खिइँदै गएका छन् । जनताका बीचमा जाँदा हाकिमजस्ता भएर जान्छन् । प्लेनबाट ओर्लन्छन्, माला लगाउँछन्, गजक्क परेर मन्तव्य दिन्छन्, महँगा होटलमा बस्छन् र जनतासँगै संवाद नै नगरी र्फकन्छन् । नेताले किसानसँग बसेर रुखोसुखो खानुपर्छ । उद्योगपतिसँग अफिसमा बोलाएर वार्ता गर्ने होइन, उनीहरूका उद्योगमा गएर हेर्नुपर्छ । पुँजी-संकलनदेखि व्यवस्थापनसम्म र त्यसका समस्यासम्मको जानकारी लिनुपर्छ । दलितलाई भाषण सुनाएर हुन्न, तिनका घरमा बसेर खानुपर्छ । अरू पार्टीको पनि सटिक समीक्षा गर्नुपर्छ । एउटाले अर्कालाई चोर, आतंकवादी, डाँका र देशद्रोही भनेर आरोप लगाउनुको सट्टा अर्काको राम्रा पक्षको प्रशंसा पनि गर्न सक्नुपर्छ । पुष्पलालले बिपीलाई भेट्दा बिपी अलि गजक्क पर्थे, तर पुष्पलाल सधैं विनम्र हुन्थे । हाम्रो राजनीतिमा विनम्रता र शालीनता भन्ने छैन, केवल बढी गाली गर्ने
प्रतिस्पर्धा छ ।

१२. सांस्कृतिक र सामाजिक
रुपान्तरणमा जोड देऊ

पार्टीको काम जनतालाई झन्डा बोकाउने मात्र होइन, शिक्षित र सांस्कारिक बनाउने पनि हो । तर, यस क्षेत्रमा उनीहरूको भूमिका शून्यप्रायः छ । दलहरूले अब चाडबाडहरूलाई नयाँ रूप दिई लोकतान्त्रीकरणको अभियान सुरु गर्नुपर्छ । सांस्कृतिक रुढीबूढी, छुवाछूत, भूतप्रेत र बोक्सीका भ्रमविरुद्ध राष्ट्रिय अभियानहरू गर्नुपर्छ । उदाहरणका लागि मछिन्द्रनाथको लिंगो ठडाउन कहाँ कताबाट नै लिंगो ल्याउनुपर्नेजस्ता मान्यतामा सुधार हुनुपर्छ । पार्टीहरूले चाहने हो भने बोक्सी र भूतप्रेतका अन्धविश्वास एक वर्षमा हट्छन् ।

प्रस्तुति : कृष्ण

source:

No comments:

Search and Buy from amazon.com