Monday, June 29, 2009

नेपालमा स्वाइन फ्लु भेटियो

नेपालमा स्वाइन फ्लु भेटियो


दीपक दाहाल,काठमाडौं, असार १६- दुई सय ५० भन्दा धेरैको ज्यान लिएको स्वाइन फ्लु नेपालमा पहिलोपटक भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अमेरिका बसाईबाट फर्केका नेपाली बाबु - आमा र तिनका सन्तानमा स्वाइन फ्लु भेटिएको हो।

स्वाइन फ्लु भेटिएका नेपाली महिलाको उमेर ३८ र पुरुषको उमेर ४० वर्ष छ। लामो समयदेखि अमेरिकाको भर्जिनियामा कामदार भिसामा रहँदै आएका उनीहरु असार असार ७ गते दोहा हुँदै नेपाल प्रवेश गरेका थिए। विमानस्थलमा रहेको हेल्थ डेस्कमा तत्काल जाँच गर्दा रोग नदेखिएको र कुनै लक्षण देखापरेमा सम्पर्क राख्न दिइएको जानकारीका आधारमा बालकमा ज्वरो र घाँटी दुख्ने समस्यापछि उनीहरु ९ गते टेकु अस्पताल पुगेका थिए। गत अप्रिल २९ देखि नै सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थडेस्क राखेर स्वाइन फ्लु देखा परेका देशबाट आएका मानिसको स्वास्थ्य परीक्षण सुरु गरेको थियो।

आठ वर्षे ती बालकमा असार १० गते गरिएको प्रथम परीक्षणबाट एचवानएनवान पोजेटिभ भेटिएको थियो। बालकमा पोजेटिभ देखिएपछि सँगै आएका बाबुआमा र भाइलाई बोलाएर उपचार र परीक्षण गरिएको हो। १२ गते नमुना लिइएका बाबुआमामा समेत स्वाइन फ्लु भएको १४ असारमा प्रमाणित भएको हो। टेकुस्थित राष्ट्रिय प्रयोगशालाले प्रतिवेदन गोप्य राख्दै थप दुईपटक परीक्षण गरेको थियो। विभाग उच्चस्रोतका अनुसार एउटै परिवारका सदस्य भएको र घरैमा बस्न चाहेकाले उनीहरुलाई विशेष निगरानीमा राखिएको छ। उनीहरु हालै काठमाडौंमा किनेको अपार्टमेन्टमा बसिरहेका छन्।


बालकका हजुरबुबा चिकित्सक भएको र पूर्ण सुरक्षाका उपाय अपनाउने भनेकाले घरैमा क्लोज मेडिकल सुपरभिजनमा राखिएको स्रोतले बतायो। 'अस्पतालमा राखिएमा झनै बढी त्रास फैलिएला भनेर र उनीहरुले पनि गोपनीयता चाहेकाले चिकित्सककै निगरानीमा उपचार भइरहेको छ।'

विभागले औपचारिक रुपमा उनीहरुको व्यक्तिगत विवरण र राखिएको स्थानबारे बताएको छैन। महाशाखाका प्रमुख डा सेनेन्द्रराज उप्रेतीले ती व्यक्ति कहाँ कस्तो अवस्थामा राखिएको छ भन्ने उनीहरुकै चाहनाका आधारमा सार्वजनिक नगरिएको बताए।

उप्रेतीले यो रोग ९९ प्रतिशतमा मन्द प्रकृतिको र १ प्रतिशतमा मात्रै गम्भीर प्रकृतिको हुने भन्दै मन्द प्रकृतिका रोगीलाई एक जनाको हेरचाहमा घरैमा राखेर लक्षणात्मक उपचार गर्न सकिने बताए। उनले विरामीलाई उनीहरुको इच्छाविपरीत कुनै स्थानमा राख्नसक्ने अधिकार विश्व स्वास्थ्य संगठनले नदिएको बताए। नेपालमा रोग देखिए पनि डब्लुएचओले भ्रमण र व्यापारमा कुनै प्रतिबन्ध नलगाएको उनले बताए।

उनीहरुलाई एन्टिभाइरस औषधी दिइएको छ भने फिजिसियनको सल्लाहअनुसार उपचार भइरहेको छ। बच्चामा अन्य समस्या पनि छन्। महिला र पुरुषको स्वास्थ्य सुधारोन्मुख छ। उनीहरुलाई १७ गतेसम्मका लागि औषधी दिइएको छ। यो पूरा भएपछि थप परीक्षण गरिने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ। नेपालमा यो रोगको परीक्षण दुई साताअघि मात्रै सुरु भएको थियो।

उनीहरुसँगै जहाजमा रहेका झन्डै १ सय ८० यात्रुको विवरण संकलन एवं कुनै लक्षण पाएमा तत्कालै परीक्षण गर्न तदारुकता देखाइएको छ। उप्रेतीले खोजीका क्रममा रोग कुन रुपमा देखा पर्छ त्यही आधारमा रणनीति तय गरिने बताए। 'ठूलो मासमा देखियो भने विद्यालय जमघट हुने क्षेत्र पनि केही दिनका लागि बन्द गर्नुपर्ने हुन्छु उनले भने।

विभाग स्रोतका अनुसार विमानस्थलबाट नेपाल भित्रिने विदेशीको झैं नेपालीको विवरण नराखिएकाले समस्या भएको छ। विदेशी कहाँ बस्छन् के काम गर्छन् भन्ने थाहा हुन्छ नेपालीलाई खुट्टयाउन गार् हो हुन्छु स्रोतले भन्यो।

नेपालीको पासपोर्ट नम्बरका आधारमा घर ठेगाना खोज्न सम्बन्धित क्षेत्रीय स्वास्थ्य निर्देशनालयलाई अर् हाइएको छ। यो रोगलाई गत जुन ११ मा विश्व स्वास्थ्य संगठनले महामारीको रुप लिनसक्ने घोषणा गरेको छ। एकैपटक धेरै महादेशमा फैलिने सजिलै सर्ने र हजारौ मानिसलाई प्रभावित गर्ने भएमा यस्तो घोषणा गरिन्छ।

उच्च सतर्कता

सरकारले रोग भित्रिएको पुष्टि भएपछि अर्ली वार्निङ रिपोर्टिङ सिस्टमअन्र्तगत अस्पतालमा रोगी खोजी र देशभर र् यापिड रेस्पोन्स टिम तयारी अवस्थामा राखेको छ। गत १६ गतेदेखि विमानस्थलमा नेपाल भित्रिने यात्रुको परीक्षण सुरु भएको छ। भारत र चीनसँग सिमाना जोडिएका नाकामा समेत हेल्थ डेस्क राखेर उच्च सर्तकता अपनाइने उप्रेतीले बताए। गम्भीर प्रकृतिका विरामीलाई छुट्टयाएर उपचार गर्न शिक्षण अस्पतालमा १४ शैया र टेकु अपतालमा ६ शैया छुट्याइएको छ। उपचारमा प्रयोग गरिने टाँमी फ्लु नामक औषधी ३६ हजारलाई उपचार गर्न पुग्नेगरी जगेडामा राखिएको आयोजनाका प्रमुख डा।मानकुमार बनर्जीले बताए। उनका अनुसार काठमाडौंबाहिर विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लुम्बिनी अन्चल अस्पताल भैरहवा पश्चिमान्चल अस्पताल पोखरा र भेरी अन्चल अस्पतालमा छुट्टै कक्ष छन्।


तीन महिनायता यो रोग १ सय ३३ मुलुकमा देखिएको छ। विश्वमा ६० हजारभन्दा बढीमा यो रोग लागेको पुष्टि भएको छ। यसबाट २ सय ६४ को मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले पुष्टि गरेको छ।


नेपालमा एकडेढसय जना सम्ममा देखिएमा अस्पतालमा उपचार गरिने र बढीमा देखिएमा घरैमा बसेर उपचार गर्न सहयोग गरिने उप्रेतीले बताए।


रोग देखिएको क्षेत्रमा भ्रमण गरेको वा संक्रमित मानिस भेटेको २४ घन्टादेखि एक साताभित्र लक्षण देखा पर्छन्। १ सय ४ डिग्री फरेनहाइटभन्दा माथि ज्वरो आउने जिउ दुख्ने खोकी लाग्ने घाँटी दुख्ने सास लिन गाह्रो हुने र झाडाबान्ता लाग्ने यसका लक्षण हुन्। लक्षण देखिएकाले तत्काल मास्क लगाई चाँडो अस्पताल जानुपर्छ। नेपालमा ४८ घन्टाभित्र सबै परीक्षण आउने व्यवस्था छ। बनर्जीका अनुसार व्यक्तिगत सुरक्षाका उपाय अपनाए ९० प्रतिशत जोखिमबाट बच्न सकिन्छ।


चिकित्सकका अनुसार समयमै उपचार भए स्वाइन फ्लुले ज्यान लिँदैन। 'सेकेन्डरी इन्फेक्सनले मृत्यु गराउने हो' चिकित्सकले भने। श्वास-प्रश्वासका रोगीमा यो रोग घातक हुन्छ। मानिसबाट मानिसमा श्वासप्रश्वास िसंगान र खकारबाट यो रोग सर्छ।


रोकथामको प्रमुख उपाय- हात धुनु


रुघाखोकी भएको मानिसभन्दा एक मिटर पर बस्ने र भिडभाडमा सकेसम्म नजाने संक्रमणबाट जोगिने उपाय हुन्। फलफुल पानी प्रशस्त पिउने पर्याप्त सुत्ने रुघाखोकी लागेपछि हात नमिलाउने गला नजोड्ने सार्वजनिक स्थलमा हाच्छिउँ नगर्ने र घरबाट बाहिर निस्कँदा मास्क लगाउने संक्रमणबाट जोगिने उपाय भएको चिकित्सक बताउँछन्। सामान्य रुघाखोकीले गराउने मृत्युदरभन्दा कम भएपनि नेपालजस्तो मुलुकमा व्यक्तिगत सुरक्षामा कम ध्यान दिनसक्ने भएकाले अन्य प्रकारका संक्रमणले मृत्यदर बढाउन सक्ने आशंका चिकित्सकहरुको छ।


नेपालमा स्वाइन फ्लु भेटिएपछि थप सचेत हुन महाशाखाले अनुरोध गरेको छ।

सय डिग्री फरेनहाइट भन्दा बढी ज्वरो आएमा, रुघाखोकी लागेमा र घाँटी दुखेमा तुरुन्त इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा सम्पर्क राख्न सबैलाई आग्रह गरेको छ।

मन्त्रालयले त्यसका लागि महाशाखाको टेलिफोन नम्बर ४२५५७९६ मा सम्पर्क गर्न सूचित गरेको छ। महाशाखाले बढी भीड हुने स्थानमा नजान र रोगा खोकी लागेमा आराम गरेर घरै बस्न अनुरोध गरेको छ। हाच्छ्यु गर्दा थप सचेत हुन अनुरोध पनि गरेको छ।

source:

No comments:

Search and Buy from amazon.com