Monday, June 15, 2009

वाम जनगायक भनेर चनिएका टुहुरे माओवादीमा

वाम जनगायक भनेर चनिएका टुहुरे माओवादीमा

३१-जेठ-२०६६,आइतवार

काठमाडौ। नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोगका सदस्य एवम् जनगायक जेबी टुहुरे सो पार्टी छाडी आजदेखि एकीकृत नेकपा (माओवादी) मा प्रवेश गर्नुभएको छ।
आज राजधानीमा आयोजित सार्वजनिक कार्यक्रममा उहाँले आफू एमाले त्यागी आजैका मितिदेखि एकीकृत नेकपा (माओवादी) मा आबद्ध भएको घोषणा गर्नुभयो।
कार्यक्रममा कलाकार टुहुरेले एमालेले मालेमावादको सार्वभौम सिद्धान्तबाट विचलित भई वर्ग समन्वय र घोर दक्षिणपन्थी दिशा अवलम्वन गरेको भन्दै आफू सो पार्टीमा रहन नसकेको बताउनुभयो।
उहाँ विसं २०२४ मा पूर्व–कोसी प्रान्तीय कमिटीमा आबद्ध भई निरन्तर कम्युनिस्ट आन्दोलनमा लाग्दै आउनुभएको छ।
उहाँसँगै एकीकृत नेकपा(माओवादी)मा प्रवेश गर्नेमा कवयित्री चन्द्रा थानी, विष्णु ज्ञवाली, हरि सिवाकोटी, सागर उप्रेती, कृष्णप्रसाद भण्डारीलगायत हुनुहुन्छ।
उहाँहरुलाई एकीकृत नेकपा(माओवादी)अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत माओवादी सङ्गठन विभाग प्रमुख मोहन वैद्यलगायतले फूलमाला र अबिरले स्वागत गर्नुभएको थियो।
सोही कार्यक्रममा एकीकृत नेकपा (माओवादी) का अध्यक्ष दाहालले एक/दुई हप्ताभित्रै क्रान्तिकारी कम्युनिस्टको ठूलो हिस्सा र आफ्नो पार्टीबीच ध्रुवीकरण हुन लागेको जानकारी दिनुभयो।
उहाँले भन्नुभयो – 'एमालेभित्रका क्रान्तिकारीको एकपछि अर्को प्रवेशले सो पार्टीको केन्द्रीय कमिटीदेखि तल्लो कमिटीसम्म नयाँ बहस सुरु भएको छ, त्यहाँका इमान्दार छिट्टै एकजुट हुँदैछन्।'
उहाँले सेनापतिको पछि लागेर प्रतिक्रियावादी र प्रतिक्रान्तिकारीले अर्को विनाशको खाल्डो खनिरहेको बताउँदै विस्तारै सिङ्गो देशका जनता नागरिक सर्वोच्चताको झण्डामुनि गोलबद्ध हुने दावी गर्नुभयो


source:
http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=24513&Itemid=39

No comments:

Search and Buy from amazon.com