Friday, June 12, 2009

प्रम नेपाललाई काध थाप्नेहरु नै निराश


प्रम नेपाललाई काध थाप्नेहरु नै निराश



२९-जेठ-२०६६,शुक्रवार


काठमाडौं। एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री बनेको महिना दिन नपुग्दै वहाँले नेतृत्व गरेको वर्तमान सरकार संकटमा परेको छ। खासगरी एकीकृत नेकपा माआवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई प्रधानमन्त्री पदबाट हटाएर माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने भारत, अमेरिका र नेपाली कांग्रेस नै पछिल्लो समयमा माधवकुमार नेपालसँग रिसाएपछि नेपाल नेतृत्वको सरकार संकटमा परेको हो।

अहिलेकै अवस्थाबाट अगाडि बढ्ने हो भने वर्तमान सरकार आफ्नो हनिमुन पिरियडमै गिर्योह भने पनि अब आश्चर्य नहुने स्थिति सिर्जना भएको छ। जानिफकारहरु भन्छन्, माधव नेपाललाई माओवादीलाई एक्ल्याएर उसलाई सिध्याउने रणनीति रहेको थियो। प्रधानमन्त्री बन्नु अघिसम्म सो अभियानमा सहमत माधव नेपाल प्रधानमन्त्री बनेपछि अभियान पूरा गर्नुभन्दा माओवादी खोज्न लागे पछि अन्यशक्ति वहाँसँग सशंकित बनेका छन्। उनीहरु चाहन्थे एउटा कम्युनिष्टलाई अगाडि सारेर अर्को कम्युनिष्टलाई सिध्याउने अर्थात् फलामले फलाम काट्ने। तर, एमाले भित्रकै बलियो हिस्सा माओवादीप्रति नरम तथा संसद र सडकमा माओवादीको बलियो स्थितिले नचाहेर पनि माधव नेपाल माओवादीप्रति आक्रमक नभइ नरम हुनुपर्ने अवस्था आइलागेको छ।
माओवादीलाई सहमतिमा नल्याउनु न सडक खुल्ने न सदन चल्ने अवस्था आउनेछ। माओवादीलाई सहमतिमा ल्याउनु रुक्माङगतलाई कारवाही गर्नुपर्ने, राष्ट्रपतिलाई गाली गर्नुपर्ने यस्तो अवस्थामा माधव नेपाल प्रधानमन्त्रीको पद नखाउँ त दिनभरीको शिकार, खाउँ त कान्छा बाको अनुहारजस्तै भएको छ। यता सरकार चलाउनेलाई यस्तो भएको छ भने अर्कोतर्फ सेना समायोजन गर्न नदिने रुक्माङगतलाई बचाई माओवादीलाई तह लगाउने उद्देश्यसहित माधव नेपाललाई ल्याए पनि यो सरकारले त्यसो गर्न नसक्ने भएपछि विदेशीलाई पनि माधव नेपालको सरकार बाँदरको पुच्छर लौरो न हतियार भनेजस्तै भएको छ। त्यसैले सैद्धान्तिक आधारमा जे उद्देश्यले वर्तमान सरकार बनेको थियो त्यो पूरा नहुने भएपछि सरकार छिट्टै गिर्ने भएको हो भन्ने गणितीय आधारमा पनि वर्तमान सरकार अत्ति नै कमजोर अवस्थामा पुगेको छ।
यतिबेला ६ सय १ जनाको संसदमा एकीकृत नेकपा माओवादीका २३८, नेकपा एकीकृतको २, जनता दलको १, फोरमको उपेन्द्र यादव पक्षको २६ गरी २६७ जना सभासद प्रष्टरुपमा विपक्षमा छन्। त्यस्तै राप्रपा नेपालका ४, नेमकिपाका ५ राष्ट्रिय जनमोर्चाका ४ गरी १३ जनाले सरकार बनाउन समर्थन गरेपछि संसदमा विपक्षी वेन्चमा बस्ने भएका छन् यसरी हेर्दा संसदमा दुई सय ८० जना विपक्षी बेन्चमा हुनेछन्। अझ २१ जना सभासद वर्तमान सरकारको विपक्षमा हुँदासाथ सरकार गणितीय हिसाबले पनि सहजै गिर्न सक्छ। माओवादीले साँच्चै आफूले सरकार बनाउने र वर्तमान सरकार गिराउने चाहाना राख्यो भने पद र पैसामा बिक्ने वर्तमान संसदका थप २० जना सभासद आफ्नो पक्षमा पार्न माओवादीलाई त्यति कठिनाइ हुनेछैन। यो कोणबाट हेर्दा पनि सरकार कुनै पनि बेला सजिलै गिर्नसक्ने देखिन्छ। त्यसैले वर्तमान सरकार जुन उद्देश्यले र जुन समिकरणका आधारमा बन्यो, त्यो आधार र समिकरण नै कमजोर भएपछि सरकार ३ महिना पनि नटिक्ने सम्भावना बढ्दै गएको राजनीतिक विश्लेषकहरुको ठहर रहेको छ।

कमरेडको पछाडि कटवालको जासुस
काठमाडौं। एकीकृत माओवादी सत्ताच्यूतका प्रमुख कारक बनेका नेपाली सेनाका प्रधानसेनापति रुक्माङगत कटवाल आफू सदैव अपराजेय हुनेमा ढुक्क छन्। किनकि, उनले प्रधानमन्त्री माधवकुमार नेपालको अंगरक्षकको रुपमा आफ्नो भरपर्दो जासुस खटाएका छन्।
रुक्माङगत कटवाललाई हटाउने निर्णय गर्दा सत्ताबाट आफै हट्नुपर्ने परिस्थितिको आँकलन नगरेका एकीकृत माओवादीकाहरुको निमित्त संसदमा सोही विषयलाई दर्ता गरिएको संकल्प प्रस्ताव छलफलमा नजाने भएपछि उनीहरु रिसले तिलमिलाएका छन्। जसलाई नामले फरक भए पनि कामले एकै भएका उपेन्द्र यादवजस्ता मधेसवादी दलकाहरुले खुलेरै समर्थन गरेका छन् भने एमालेको खोल ओढेका वामदेव गौतम पक्षधरहरुले अप्रत्यक्षरुपमा यसलाई हौसला दिइरहेका छन्।
यो सबै राष्ट्रिय परिवेश राम्ररी बुझेका कटवाल आफैमा धुर्त राजनीतिज्ञ र कुटनीतिज्ञ हुन् भन्ने उनलाई प्रधानसेनापति बनाउने गिरिजादेखि हटाउने प्रचण्डसम्मकाले राम्ररी बुझेका छन्। तैपनि वर्तमान अवस्थामा एमाओवादीले सेनाप्रमुख बनाएका कुलबहादुर खड्कालाई कारवाही गर्नु र कटवाललाई यथावत राखिरहनुको राष्ट्रिय र अन्तर्राष्ट्रिय दबाब विकल्पहिन अवस्था बन्न पुगेको छ।
यस्तो अवस्थामा प्रमको निगरानी गर्नु कटवालको निमित्त प्रमुख विषय बन्न पुगेको हुनुपर्छ। तसर्थ, उनले प्रम नेपालको अंगरक्षकको रुपमा आफ्नो भरपर्दो व्यक्ति खटाएका छन्, जो अंगरक्षकभन्दा बढी जासुस हुनेछन्।
को हुन् ती जासुस?
राजा महेन्द्र शाहले गाउँ भ्रमणको क्रममा हक्की स्वभावको एउटा बालक ओखलढुंगाको एक गाउँमा फेला पारे। र, पछि उनलाई दरबार झिकाइयो। २०१३ सालताका यसरी दरबार भित्रिएका हक्की स्वभावका बालक थिए, रुक्माङगत कटवाल। तर, राजारानीले उनलाई सधैं स्याहार सुसार नपाउने हुँदा उनलाई धेरैजसो राजाका अंगरक्षक गोपालबहादुर खत्रीले हेर्ने गर्थे।
गोपालका चार भाई छोराहरुसँगै कटवाल पनि हुर्कदै गए। र, उनी दरबारमा ठूले धने भएर हुर्के। गोपाल पुत्रहरु रमीन्द्र खत्री, रतीन्द्र खत्री र राजेन्द्र खत्री सैनिक मुख्यालयमा हाल कार्यरत छन्। जर्नेल यी तीनैजनामध्ये रमीन्द्र सैनिक प्रवक्ता हुन्। कान्छो भाइ रवि खत्री भरतपुरमा पेट्रोल पम्प चलाएर बसेका छन्, जुन राजा महेन्द्रले दिएको जग्गा हो।
दरबारबाट बाहिर निस्कने ताक पर्खिरहेका कटवाल २०१९ सालमा निस्के राजधानीको लैनचौरस्थित अमृत साइन्स क्याम्पसमा प्रमाणपत्र तह पढ्न। रमीन्द्रलगायत सबैजना लैनचौरकै एक बस्नेतको घरमा डेरा गरी बसे। सोही क्रममा कटवालको मिल्ने साथीहरुमा लमजुङका पूर्णचन्द्र थापा र रामशरण महत थिए। सैनिक सचिव थापा हाल नेसनल डिफेन्स कोर्स (एनडीसी) गर्न भारत गएका छन्। उनी सशस्त्र प्रहरी बलका एआईजी रोहित थापाका भाइ हुन्।
त्यस्तै, नेपाली कांग्रेसका नेता रामशरण महत मोहनसिंह महतका छोरा हुन्। भैरवनाथ गणका गणपति समेत भएका मोहन सिंहमाथि २०१७ सालमा भरतपुरमा कांग्रेसीलाई मारेको आरोप लागेको थियो। र, २०३० सालमा झन्डा काण्ड लागेर उनको जागिर खोसिएको थियो।
आफू बसको घरधनी बस्नेत नेपाली सेनामा हवल्दार थिए। उनका छोरा लेफि्टनेन्ट कर्णेल मन बस्नेत हाल प्रम नेपालका अंगरक्षक बनाइएका छन्। सिंहदरबारमा २ वर्षअघि श्रीजंग गणमा उनी गणपति भएका थिए। सिंहदरबारबाट सो गण रामेछाप गयो, र रामेछापबाट नारायण दल सिंहदरबार आयो। यही क्रममा उनी रामेछाप पुगे तर त्यहाँ ४ महिना मात्र बसे। राजधानी बाहिर बसे झैं औपचारिकता पूरा गरेका उनी कटवालका विश्वस्त पात्र हुन्, जसले प्रम नेपालको जासूसी कटवालको निर्देशनमा गरिरहेका छन्।
मन बस्नेतको कमान्डमा उनी मुनी मेजर झकिन्द्र छन्। उपत्यका पृतनापति अनिलजंग थापाका अंगरक्षक उनलाई एकाएक त्यहाँ खटाइएको छ। यसमा अन्य कारणहरु भए पनि प्रम नेपालको जेठी सासुको छोरा हुनु पनि एक प्रमुख कारण हो।

नेताको घरघरमा लिस्ट हेर्दै आईजीपी
काठमाडौं। कालो शीसा चढेको निजी नम्बर भएको सानो जीप हरेक साँझ बिहान विभिन्न नेताहरुको घरघरमा पुग्नु वर्तमान अस्थीर राजनीतिक परिवेशमा अनौठो नमानिए पनि त्यसमा सवार व्यक्ति भने थप शंकास्पद र कौतुहलमय बनेका छन्। यसरी लुकीछिपी नेताको घरघरमा धाउने व्यक्ति नेपाल प्रहरीको सर्वोच्च पद धारण गरेका रमेश चन्द ठकुरी हुन् भन्दा जसले उनको आगमनबारे बुझेका छन् तिनीहरुका निमित्त अनौठो नहोला, तर सिंगो प्रहरीकै मान प्रतिष्ठा हेर्नेहरुका निमित्त भने निश्चय नै लाजमर्दो हो।
नेपाल प्रहरीको महानिरीक्षक हुँ भन्ने आफूले राम्ररी बुझेको र बुझाइएका रमेश चन्दले यो कमाउ धन्दा गर्ने सहज र वैधानिक मार्ग हो भन्ने अझ राम्ररी बुझेका छन्। त्यसैले एकीकृत माओवादीको कार्यकालमा प्रधानमन्त्री पुष्पकमल दाहाल, तत्कालीन गृहमन्त्री वामदेव गौतम र धुर्त व्यापारीहरुसँग अपवित्र एवं असंवैधानिक गठबन्धन गरेर करोडौं रुपैयाँ कुम्ल्याउन सके। करोडौं कमाइ भए पनि चन्दलाई आइजीपी बनाउने सरकार नै ढलेपछि आफु पनि प्रचण्ड र
गौतमजस्तै निवर्तमान होइने हो कि भन्ने चिन्ताले सताउन थालेको छ। त्यसैले उनी हरेक साँझ बिहान नेताहरुको घरघरमा लुसुक्क धाइरहेका छन्।
पेशाले शान्ति सुरक्षाको गहन जिम्मेवारीता सम्हालेको नेपाल प्रहरीको सर्वोच्च व्यक्ति तर अपराधी झैं कालो शिसा चढाएर निजी गाडीमा साँझ बिहान नेताहरुको चाकरी गर्न घरघरमा धाउन जाने तौरतरिकाले उनको कर्तव्यपरायणतामाथि नै प्रश्नचिह्न उठेको छ। प्रहरी प्रमुख तर बिनावर्दी नेताहरुकोमा आखिर उनी किन धाउँछन्?
उनले वर्तमान सरकारका पर्दापछाडि र अगाडिका प्रमुख नेताहरु गरी कुल ७० जनाको नामावली तयार गरेको दावी छ। नेपाली कांग्रेसका गिरिजाप्रसाद कोइरालादेखि एमालेका झलनाथ खनाल, केपी ओली र ईश्वर पोखरेलहुँदै भीम रावलसम्मको नामावली छ उनीसँग। पछिल्लो समय उनले भेटेका नेताहरुसँग प्रमुख एउटै आग्रह र अनुनय विनय छ कि, 'प्रभू मलाई टिकाइ दिनुपर्यो।'

source:
http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=24432


No comments:

Search and Buy from amazon.com