Sunday, June 21, 2009

माओवादी सरकारमा आउँछ: केपी शर्मा ओली

माओवादी सरकारमा आउँछ:



कास

काठमाडौं, एमाले नेता केपी शर्मा ओलीले नयाँ लोकतान्त्रिक संविधान निर्माण गर्न माओवादी दुई महिनाभित्र यही सरकारमा सहभागी हुने दाबी गरेका छन् ।

माओवादीका कडा आलोचक ओलीले भारतीय नेताहरूसँगको भेटमा 'माओवादी सरकारमा सामेल नभए पनि फरक नपर्ने' अडान राखेका थिए ।

तर साताव्यापी नयाँदिल्ली भ्रमण सकी आइतबार काठमाडौं फर्केका ओलीले आफ्नो अडान बदल्दै विमानस्थलमै पत्रकारहरूसँग भने, 'अब माओवादी पनि सरकारमा आउनेछ ।' 'नयाँ संविधान नबनाएसम्म यो सरकार टिक्छ, माओवादीसमेत यही सरकारमा दुई महिनाभित्रमा सहभागी हुनेछ,' उनले भने ।

दिल्लीदौडपछि माओवादीप्रति तुलनात्मक नरम रूपमा प्रस्तुत भएका ओलीले उनीहरूबिना शान्ति प्रक्रिया सफल नहुने बताए । उपचारका लागि गएका ओलीले नयाँदिल्लीमा सत्तारूढ र विपक्षी नेताहरूलाई भेटी नेपालको पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए भने भारतीय धारणासमेत बुझेका थिए । उनी दिल्लीमै रहँदा विदेश सचिव शिवशंकर मेनन काठमाडौं भ्रमण सकी आइतबार फर्के । 'गिरिजाप्रसाद र माधव नेपाल वा झलनाथले मात्र छलफल गरेर शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुग्दैन,' उनले भने, 'माओवादीको सहभागिताबिना शान्ति प्रक्रिया सफल हुँदैन ।' काठमाडौंमा रहँदा मेननले राष्ट्रिय सहमतिको पक्षमा जोड दिएका थिए भने दिल्लीबाट र्फकंदा ओली पनि माओवादीसहितको सहमतिमा सकारात्मक भएको देखिएको छ । नेपालमा भारतविरोधी गतिबिधि बढेकामा नयाँदिल्लीले चिन्ता व्यक्त गरेको ओलीले बताए । 'नेपाली भूमि एक इन्च पनि मिचिन हुँदैन, सीमास्तम्भ सारिनु हँुदैन भन्नेमा स्पष्ट छौं,' उनले भने ।

नेपाली सेना वृद्धाश्रम होइन

ओलीले प्रधानसेनापति रुक्मांगद कटवालको म्याद नथपिने पनि स्पष्ट संकेत गरे । म्याद थपको लबिङ गर्न गएको भन्छन् त ? भन्ने जिज्ञासामा उनको जवाफ थियो, 'नेपाली सेना वृद्धाश्रम हो र ? सेवावधि पुगेका सबैले अवकाश पाउँछन् ।' नियमित स्वास्थ्य परीक्षणका क्रममा जाँदा त्यहाँका महत्त्वपूर्ण राजनीतिक नेता, बुद्धिजीवी, पत्रकारलगायतसँग भेटेको र नेपालको राजनीतिक विषयमा उनीहरूबाट नैतिक समर्थन पाएको उनले बताएका छन् ।

Posted on: 2009-06-21 21:00:14

source:

http://www.ekantipur.com/kolnepalinews.php?&nid=200367


No comments:

Search and Buy from amazon.com