|
2009-06-20,Saturday
०५५ सालदेखि निरन्तर शैलजा आचार्यका सवारी-चालक शम्भु महर्जनको स्मृति
पहिलो भेट नमस्तेका लागि
०५५ सालतिरको कुरा हो । म एकजना साथीसँग मित्रपार्कतिर जाँदै थिएँ । मित्रपार्कबाट एउटा झन्डावाल गाडी निस्कँदै थियो । गाडीभित्रकी महिलालाई हेरेर मैले साथीलाई सोधेँ, 'उहाँ शैलजा आचार्य होइन ?' उसले 'हो' भनेपछि मैले सोधेँ, 'म नमस्ते गर्छु, गर्न हुन्छ नि ?' उसले टाउको हल्लाएपछि सुरक्षाकर्मीहरूलाई पन्छाउँदै नजिकै गएर 'मन्त्रीज्यू, नमस्कार' भनेँ । उहाँले पनि 'नमस्कार' भन्नुभयो । त्यसबेला उहाँ उपप्रधानमन्त्री हुनुहुन्थ्यो । पार्टीका नेता र मन्त्रीहरूले साधारण मान्छेसँग कुरै गर्दैनन्, नमस्ते नै फर्काउँदैनन् भन्ने सुनेको थिएँ, तर शैलजालाई मैले सुनेभन्दा बेग्लै पाएँ । उहाँको नाम मैले रेडियो र टिभीमा धेरै पहिलेदेखि सुन्दै आएको हुँ । उहाँ कस्ती मान्छे हुनुहोला भन्ने खुल्दुली पनि थियो । तर, त्यस दिनपछि म उहाँको प्रशंसक बनेँ ।
दाइको सिफारिशमा दिदीको ड्राइभर
उपप्रधानमन्त्रीबाट हटेपछि उहाँको ड्राइभर मेरो काकाका छोरा लक्ष्मण हुनुहुन्थ्यो । उहाँलाई दिदीले अन्तै जागिर लगाइदिनुभएछ, तर मलाई थाहा थिएन । त्यति बेला म आफ्नै ट्याक्सी चलाउँथेँ । ०५५ साल मंसिर-पुसतिर एक दिन लक्ष्मणदाइले मलाई बिहानै आफ्नो घर बोलाउनुभयो । म गएपछि उहाँले 'दिदीको घरमा जाऊँ' भन्नुभयो । दिदीलाई ड्राइभर चाहिएको रहेछ भन्ने त मलाई दिदीको घर गएपछि मात्र थाहा भयो । दाइले मलाई चिनाउँदै 'यो मेरो भाइ हो, अब यसले गाडी चलाउँछ' भन्नुभयो दिदीलाई । मन्त्री भइसकेको यति ठूलो मान्छेको ड्राइभर बन्ने कुराले नै म चकित थिएँ । मनमा कुरा खेलाए पनि बोल्नचाहिँ केही बोलिनँ । दिदीले भन्नुभयो, 'अब हामी २०/२२ दिन बाहिर जानुपर्छ ।' मलाई के भनौँ-भनौँ भयो । उपत्यकाबाहिरको मेसो नभएकाले 'म एकैपटक बाहिर जान सक्दिनँ दिदी' भनेँ । उहाँले केही भन्नुभएन । पछि थाहा भयो, उहाँहरू जिल्ला-भ्रमणमा जानुभएछ । २०/२५ दिनपछि दिदीले आफैँ फोन गरेर बोलाउनुभयो र 'तिमी बाहिर जानुपर्दैन, यहीँ बसेर काम गरे हुन्छ' भन्नुभयो । त्यसपछि आफ्नो ट्याक्सीमा महिनाको २५ सय दिने गरी एकजना ड्राइभर खोजेर म दिदीको गाडी चलाउन गएँ ।
सुरु-सुरुमा म दिदीको घरमा खाना खान्नथेँ, घरमै आउँथेँ । पछि दिदीले किन खाँदैनौ भनेर खाना खाऊ कि खाऊ भनेर हत्ते हाल्न थाल्नुभो, अनि नखाई सुखै पाइनँ । दिदीले सबै कुरा सोध्नुहुन्थ्यो, विवाह गरेको छ कि छैन ? मैले उहाँलाई नढाँटी 'विवाह भइसक्यो, दुईवटा बच्चा पनि छन्' भनेँ । फेरि उहाँले 'के-के खान्छौ ?' भन्नुभयो । 'कहिलेकाहीँ बियर खान्छु, नेवारको छोरो, हाम्रो त छ्याङ नभई हुँदैन, छ्याङबाहेक अरू रक्सी खान्नँ' भनेँ । 'नखाऊ' भन्नुहोला भन्ने डर थियो, तर 'ल ठीक छ' भन्नुभयो । म चुरोट खान्थेँ । दिदीकी आमा इन्दिरा आचार्य यसमा रिसाउनुहुन्थ्यो, तर दिदी 'खाने भए खाऊ, तर पछाडि ढोका लगाएर खाऊ' भन्नुहुन्थ्यो । आमा यस कुरामा दिदीलाई पनि गाली गर्नुहुन्थ्यो । मेरा कारणले दिदीले थुप्रैपटक आमाको गाली खानुभएको छ ।
कार्यक्रम र मिटिङमा जाँदा दिदी मेरो असाध्यै ख्याल गर्नुहुन्थ्यो । आफैँ दुई भाग खानेकुरा ल्याएर मलाई नखुवाईकन आफू कहिल्यै खानुहुन्नथ्यो । घरमा पनि आफू नखाईकन पहिले मलाई पस्केर खाना दिनुहुन्थ्यो ।
दिदीको गीत : आज मैं उपर, आसमान ...
उहाँसँग गाडीमा म निकैपटक निकै लामो बाटो हिँडेको छु । दिदी लामो होस् वा छोटो, सधैँ अगाडिको सिटमा बस्नुहुन्थ्यो । 'निदाउने मान्छे अगाडिको सिटमा बस्यो भने तिमीलाई समेत असर गर्छ' भन्नुहुन्थ्यो । जति लामो बाटो हिँडे पनि वा थकाइ लागे पनि उहाँ गाडीमा निदाएको कहिल्यै थाहा पाइनँ । 'तिमीलाई जहाँ थकाइ लाग्छ, त्यहाँ रोक, चिया खाएर मुख धोएर बिस्तारै जानुपर्छ' भन्नुहुन्थ्यो । गाडीमा हिँड्दा उहाँ सधैँ मेरो मुखमा हेरिरहनुहुन्थ्यो । अरू पनि भए 'हल्ला नगर, शम्भुलाई डिस्टर्ब हुन्छ' भन्नुहुन्थ्यो, आफू पनि बोल्नुहुन्नथ्यो ।
दिदी गानाचाहिँ खुब गाउनुहुन्थ्यो । उहाँले सबैभन्दा बढी गुन्गुनाउने गीत 'आज मैं उपर, आसमान निचे ...... ' थियो । |
दिदीले मेरो छोरालाई इन्जिनियरिङ पढाइदिन्छु भन्नुभएको थियो । मैले उहाँसँग कहिल्यै केही भनिनँ, तर दिदी 'मैले कत्तिका काम गरिदिएकी छु, तिमीले त मेरो सेवा गरेका छौ, म तिम्रो छोरालाई इन्जिनियर पढाइदिन्छु भन्नुभएको थियो । मेरो छोरा पनि अति नै खुसी भएर पढिरहेको थियो । कहिल्यै ट्युसन नै नपढी एसएलसीमा उसले डिस्टिङ्सन ल्यायो । अहिले १२ कक्षाको जाँच दिएर बसेको छ । मेरो छोराले डिस्टिङ्सन ल्याएपछि दिदी यति खुसी हुनुभयो कि
कुरै नगरौँ ।
आठ वर्षजति अघि आमा इन्दिरा बिरामी हुनुभयो । दिदीले 'आमाको हेरविचार गर्न तिम्री श्रीमतीलाई यहाँ ल्याऊ' भन्नुभयो । त्यसपछि मैले बिहान जाने बेलुका आउने गरी घरमै पठाइदिएँ । पछिल्लो समयमा सबै कुरा हामीले हेर्दै आएका छौँ ।
बालुवाटार छिर्न नपाएको त्यो दिन
शैलजादिदी खाना साह्रै थोरै खानुहुन्थ्यो । उहाँलाई लप्सी र आँपको अचार असाध्यै मन पथ्र्यो । बिहान थोरै दालभात र तरकारी खानुहुन्थ्यो । कहिलेकाहीँ मासु खान मन लाग्यो भने 'आज मासुको झोलसँग भात खाऊँ है' भन्नुहुन्थ्यो । बेलुका एउटा रोटी र आलुको झोल खानुहुन्थ्यो । दिउँसोको खाजामा कहिले दहीचिउरा त कहिले कर्नफ्लेक्स खाने गर्नुहुन्थ्यो ।
दिदी अत्यन्त आँटिली र आत्मविश्वासी हुनुहुन्थ्यो । हामीकहाँ महिला भनेपछि हेप्ने चलन छ, तर दिदी पुरुषभन्दा कुनै कुरामा कम हुनुहुन्नथ्यो । सुरक्षागार्डविना पनि राति हिँड्न डराउनुहुन्नथ्यो । 'मैले के बिगारेकी छु र म डराउनुपर्ने ?' भन्नुहुन्थ्यो । तर, शान्ति-सम्झौता हुने बेलातिर भने एकपटक उहाँको अपमान भयो ।
त्यसबेला गिरिजाबाबु प्रधानमन्त्री हुनुहुन्थ्यो । बालुवाटारमा सातदलको बैठक चलिरहेको थियो । दिदीले 'बालुवाटार जाऊँ' भन्नुभयो । मैले 'भो नजाऊँ, हामीलाई त्यहाँ जान नदिन सक्छन्' भनेँ, तर दिदी मान्नुभएन । 'मलाई केही पनि गर्दैनन्, जाऊँ गिरिजाबाबुलाई भेटेर आऊँ' भन्नुभयो । तर, बालुवाटारमा दिदीलाई छिर्न दिएनन् । बाटामा पुलिसले पनि नजानू भनेका थिए । बालुवाटारको गेटमा पुगेपछि गाडी घेरेर दिदीका विरुद्धमा नाराबाजी भयो । मैले गाडीलाई बल्लतल्ल राष्ट्र बैंकमा लगेर राखेँ । हामी बालुवाटार नछिरी घर फर्कियौँ । दिदीले बाटामा केही बोल्नुभएन ।
मलाई त्यस दिन सबैभन्दा नरमाइलो लाग्यो । घरमा गएर दिदीले आमालाई 'बालुवाटारमा मविरुद्ध नाराबाजी भयो' भन्नुभयो । उहाँले पनि 'उनीहरूको मिटिङ भएको थाहा हुँदाहुँदै किन गइस् त' भन्नुभयो, तर दिदी केही बोल्नुभएन ।
उहाँलाई पहिले त कांग्रेसका नेता कार्यकर्ताहरू भेट्न आउने ताँती नै हुन्थ्यो । सानुबुबा, नोनाआमा, भीमबहादुर (तामाङ) दाइ, पुष्कर (ओझा) दाइ, महेश्वर दाइचाहिँ बेला-बेलामा आउने गर्नुहुन्थ्यो । दिदी नोनाआमालाई साह्रै माया गर्नुहुन्थ्यो । पछि पनि नोनाआमाको साह्रै कुरा गर्नुहुन्थ्यो ।
राजाले शासन लिएपछि कांग्रेसका नेताहरू पनि दिदीकहाँ खासै आएनन् । दिदीले आमालाई पनि भन्नुभएको थियो कि थिएन मलाई थाहा छैन, तर एक दिन मलाई कोठाभित्र राखेर 'अब म गिरिजाबाबुलाई भनेर भारतको राजदूत भएर जान्छु, तिमी पनि जानुपर्छ' भन्नुभयो । मैले 'म त जान्नँ दिदी, बरु मेरी दुलहीलाई लैजानू न' भनेँ । तर, दिदीले मान्नुभएको थिएन ।
उहाँले तिमीहरू दुवैजना मसँगै जानुपर्छ भन्नुभएको थियो, तर बीचमै बिरामी पर्नुभयो । दिदी त्यसबीचमा अलिअलि बिरामी हुनुभएको थियो । आमा पनि बिरामी हुनुभयो । आमाको उपचार गराउने क्रममै दिदी झन् बिरामी हुनुभयो ।
अचानक खान मान्नुभएन दिदीले
दिल्लीमा आमाको उपचार गरेर आएपछि नै उहाँ कम बोल्न थाल्नुभएको थियो । खान्नँ भनेपछि कुनै पनि कुरा खानुहुन्नथ्यो । ०६४ पुसतिर पनि एक दिन उहाँले मरे खान मान्नुभएन । त्यसपछि हामीले गरिमा बहिनी (शैलजाकी बहिनीकी छोरी) लाई बोलायौँ । उनले निकै प्रयत्न गरिन्, तर दिदीले खानुभएन । आमाले पनि निकै कर गर्नुभयो । कसैको केही लागेन । पछि दिदी आफैँले कोसिस गर्दा पनि खान सक्नुभएन । त्यसपछि सानुबुबा (गिरिजाप्रसाद कोइराला) कहाँ फोन गरेर दिदीलाई अस्पताल लग्यौँ । गरिमाबहिनीलाई पनि फोन गरेर अस्पतालमै बोलायौँ । त्यस दिन उहाँ कोठाबाट तलसम्म आफैँ हिँडेर आउनुभयो र एम्बुलेन्समा पनि आफैँ चढ्नुभयो ।
उहाँलाई सीधै आइसियूमा लगियो । डाक्टरहरूले 'अलिकति ढिला भएको भए जे पनि हुनसक्थ्यो' भनेपछि रुवाबासी चल्न थाल्यो । आइसियूमा उहाँको मुखमा भेन्टिलेटर राखिएको थियो । तीन/चार दिनपछि घाँटीमा प्वाल पारेर राखियो । त्यसपछि कहिल्यै उहाँको आवाज सुन्न पाइएन । टिचिङमा पारेको घाँटीको प्वाल बैंककमा टालिएको हो । मैले सुनेको उहाँको अन्तिम वाक्य 'मलाई हस्पिटल लैजानुस्, अहिले म खाना खान्नँ' हो । अहिले पनि उहाँको त्यस बोलीले मलाई जतिखेर
पनि पछ्याइरहन्छ ।
हेर्दा हेर्दै रसाए दिदीका आँखा
पछि दिदीलाई बैंकक लैजाने बेलामा भने म आमासँगै घरमा बसेँ, उहाँलाई एक्लै नछाड्ने भनेर । नौ महिनापछि (२३ फागुन, ०६५ मा) दिदीलाई काठमाडौं ल्याइयो । विमानस्थलबाट उहाँलाई सीधै अस्पताल लगियो । म पनि अस्पताल पुगेँ । मैले 'दिदी' भनेर बोलाएँ । उहाँले मेरो मुखमा एकोहोरो हेरिरहनुभयो र आँखाभरि आँसु बनाउनुभयो । उहाँको शरीर सुकेर सानो भएको रहेछ । मन भक्कानियो, तर मैले के नै गर्न सक्थेँ र ?
त्यतिखेर सिसियूमा भएकी दिदीलाई भेट्न आमा अस्पताल नै पुग्नुभएको थियो । आमालाई देख्नेबित्तिकै दिदी जुरुक्कै उठ्नुभयो । आमा र दिदी दुवै रुनुभयो । हामीलाई पनि थाहा भएन, त्यसरी उठ्दा दिदीलाई गाह्रो हुन्छ । नर्सहरूले हामीलाई पछि गाली गरे । त्यतिखेर उहाँलाई स्लाइन पानी दिइराखिएको थियो । आमाले बाहिर आएर 'शैलजा त होसमै रहिछिन् है' भन्नुभयो ।
त्यहाँ राख्दा म दिनभरि बस्थेँ । राति सानुबुबाकहाँबाट वासुदेव भन्ने एकजना पुलिस जाने गरेका थिए । डाक्टरहरूले दिदीलाई 'घर लैजानू' भनेपछि मैले 'घरमा लैजाँदा समस्या हुन सक्छ, तपाईंहरू पनि जानुहुन्न ?' भनेको थिएँ । उहाँहरूले 'हामी आउँछौँ, पालोपालो गरेर' भन्नुभयो । तर, पछिल्लो दिनसम्म कोही पनि जानुभएन । यसमा मलाई असाध्यै चित्त दुखेको छ । वैशाख २० गते दिदीलाई घर लगिएको हो । यदि दिदीलाई अस्पतालमै राखेको भए यस्तो हुन्नथ्यो होला ।
अस्पतालबाट बाहिरिएपछि
दिदीलाई चेकअप नगराएको धेरै दिन भएपछि मैले सानुबुबाकहाँ पनि खबर गरेँ । बालकृष्ण दाहालले पनि भनिदिनुभयो । म आफैँले पनि जगदीश अग्रवाल डाक्टरसापलाई फोन गरेँ । उहाँले 'म अहिले अलि व्यस्त छु पछि फोन गर्छु' भन्नुभयो । पछि फोन गरेर 'म आउँदै छु' भन्नुभयो । त्यसअघि मैले योगी डाक्टरसापलाई पनि फोन गरेको थिएँ । उहाँ उपत्यकाबाहिर जानुभएको रहेछ ।
अग्रवाल डाक्टरसापले आएर जाँच्नुभयो । केही दिनदेखि उहाँको मुखबाट र्याल अलि बढी आउन थालेको थियो । उहाँले 'सबै ठीक छ, अस्पतालमा राखेको भन्दा राम्रो भएको छ, एउटा एक्सरे गर्नू र रगत पनि जचाउनू, अनि म एउटा औषधी थपिदिन्छु' भन्नुभयो । टिचिङमा टाढा हुन्छ भने ओममा लगेर मलाई देखाउनू भन्नुभएको थियो । उहाँले हिँड्ने बेलामा 'नमस्कार शैलजादिदी' भन्नुभएको थियो, तर दिदीले नमस्कार गर्न मान्नुभएन । बरु हात तानेर मिलाउनुभयो ।
घरमा दिदीको अन्तिम रात
१० बजेतिर दिदीलाई दाल दिने गरेका थियौँ । त्यसपछि उहाँले आफैँ दाल खानुभयो, त्यो पनि ठूलो स्टिल गिलासको सबै । एकछिन टिभी पनि हेर्नुभयो । १२ बजेपछि खानासँगै औषधी पनि खानुपर्ने । त्यसभन्दा अघि हामीले उहाँलाई मास्क लगाइदिने गरेका थियौँ । माक्स लगाएर एकछिन आराम गर्नुभयो । १२ बजेको जाउलो लगेपछि आफैँले समाउनुभयो, तर खान सुरु गर्नुभएन बरु केहीबेर टोलाएर बस्नुभयो । एकछिनपछि चियाचम्चाको एक चम्चाजति मात्र के खानुभएको थियो, निल्न नसकेर र्यालसँगै बाहिर झार्नुभयो ।
म पछाडि बसेर खाना खाँदै थिएँ । मेरो छोरो दिदीसँगै थियो । उसले आएर 'बाबा, दिदीलाई गाह्रो भयो जस्तो छ, र्याल निकाल्नुभएको छ' भनेपछि खाना नै छोडेर गएँ र र्याल पुछिदिएँ । 'दिदी खाना ल्याउनू' भनेको, दिनुभयो । मास्क लगाएर एकछिन आराम गरेपछि खुवाउनुपर्ला भनेर खाना टेबुलमा राखेँ । दिदीले मुखमा राखेको औषधी पनि चलाउनुभएन । साह्रै गाह्रो भएजस्तो छ भनेर औषधी निकाल्न खोजेँ, तर दाँतले मुख बन्द गर्नुभयो । अनि त, मलाई के गर्नु-गर्नु भयो । बल्ल-बल्ल औषधी निकालिदिएँ र मास्क लगाइदिएँ ।
पहिले त दिदी मास्क राखेपछि आफैँ समाउनुहुन्थ्यो, अनि हामीले पछाडि बाँधिदिन्थ्यौँ । तर, त्यस दिन त दिदीले समाउँदै समाउनुभएन । त्यतिखेरसम्म आफैँ बसिरहनुभएको थियो । त्यसपछि बिस्तारै ढल्कनुभयो र 'हँ-हँ' गर्दै तीनपटकसम्म कराउनुभयो । त्यसपछि त उहाँको शरीर सबै नीलो हुन थाल्यो । हात-खुट्टा पनि नीला र चिसा भए । त्यसपछि सानुबुबाकहाँ फोन गर्यौँ । त्यहाँबाट गाडी आयो ।
तर, त्यसमा कसरी लैजाने भन्ने समस्या भयो । त्यतिखेरै माइती नेपालबाट एम्बुलेन्स र डाक्टर पनि आउनुभयो र डाक्टरले 'छिटो लिएर जाऊँ' भन्नुभयो । तर, लैजान अक्सिजनको समस्या आयो । लक्ष्मणदाइको आमाका लागि ल्याइएको सानो सिलिन्डर जोडेर अस्पताल लगियो । मैले बाटोबाटै 'दिदीलाई गाह्रो भयो, एम्बुलेन्समा राखेर लैजाँदै छु' भनेर दाइ र भाउजूलाई फोन गरेँ, एम्बुलेन्समा दौडाउँदा-दौडाउँदै । हामी पुग्दा उहाँहरू पनि अस्पताल आइसक्नुभएको रहेछ । हतार गरेर अस्पताल पुर्याउँदा पनि डाक्टरहरूले गाह्रो होला जस्तो कुरा गर्नुभयो ।
बोल्नु त हुन्नथ्यो नै हेर्न पनि छोड्नुभयो
दिदीलाई के होला, कस्तो होला भन्ने लागिरहेको थियो । त्यस रात वासुदेवजी दिदीलाई कुर्न बस्नुभएको थियो । बिहान सवा चार बजेतिर उहाँले फोन गरेर दिदी स्वर्गे हुनुभयो भनेपछि म छाँगाबाट खसेको जस्तै भएँ । मैले छोरालाई भनेँ, उसले पत्याउँदै पत्याएन । पछि रेडियोमा सुनेछ, त्यसपछि रोएकोरोयै छ । अस्पताल पुगेर दिदीलाई राखेको ठाउँमा गएर मैले 'दिदी' भनेर बोलाएँ । जवाफ त पहिला पनि दिन सक्नुहुन्थ्यो, तर यसपटक त हेर्दा पनि हेर्नुभएन ।
No comments:
Post a Comment