Sunday, June 21, 2009

६० वर्षमा ६० पटक फुटे कम्युनिस्ट

Sunday, June 21st, 2009 1:02:54 PM

कभरस्टोरी

६० वर्षमा ६० पटक फुटे कम्युनिस्ट
अन्य समाचार
पुरानो अंक

पर्शुराम काफ्ले/नयाँ पत्रिका
काठमाडौं, ६ असार
2009-06-21,Sunday


स्थापनायताका ६० वर्षमा नेपालमा कम्युनिस्ट पार्टीहरू ६० पटक विभाजित भएका छन् । रणनीति र कार्यनीतिमा मात्र होइन, ह्रस्व-दीर्घका कारण पनि फुट्ने कम्युनिस्ट पार्टीमा स्थापनाको मिति र संस्थापक को-को थिए भन्नेमा पनि विवाद छ ।

कम्युनिस्ट पार्टीहरूबीच पछिल्ला घटनाक्रमबारे मात्र होइन, पार्टी 'गर्भमै रहेको' वेलाका विवाद अहिलेसम्म कायम छन् । एकथरी नेपाली कम्युनिस्ट १५ सेप्टेम्बर १९४९ लाई स्थापना दिवस मान्छन् भने अर्काथरी २२ अप्रिललाई । त्यस्तै, कम्युनिस्ट पार्टीका संस्थापकको विषयमा पनि विवाद छ । पुष्पलालले उनीसहित नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठलाई संस्थापक भनेका छन् । तर, एमालेबाहेकका कम्युनिस्टहरू मोतीदेवीलाई संस्थापक मान्न तयार भएका छैनन् ।

संस्थापकहरूलाई पनि आ-आफ्नो समूह नजिक जोडेर प्रचार गर्ने गरिएको छ । एकता केन्द्र मसालले संस्थापकहरूमध्ये निरञ्जनगोविन्द वैद्य र नरबहादुर कर्माचार्यलाई संस्थापक मान्दै आएको थियो भने एमालेले मोतीदेवीलाई । 'जनमोर्चाले वैद्य र कर्माचार्यलाई संस्थापकका रूपमा प्रयोग गर्‍यो,' नेपालको कम्युनिस्ट आन्दोलनमा विद्यावारिधि गरेका डा. सुरेन्द्र केसी भन्छन् । एकताकेन्द्र मसाल र माओवादीबीच एकीकरणपछि कर्माचार्य माओवादीमा छन् । वैद्यको मृत्यु भइसकेको छ ।

नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको एक दशक नबित्दै फुटको बिउ रोपिएको हो । पार्टीको दस्ताबेज सरकारलाई बेचेको आरोपमा संस्थापक नारायणविलास जोशीलाई नै पार्टीले निष्कासन गर्‍यो । तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यलाई कम्युनिस्ट पार्टीको आन्तरिक दस्ताबेज बेचेको आरोप लागेपछि जोशी राजनीति छाडेर सरकारी कर्मचारी भए । त्यस्तै, अर्का संस्थापक वैद्यमाथि भियतनामबाट सहयोगस्वरूप आएको प्रेस बेचेर घर बनाएको आरोप लागेको थियो । डा. केसी भन्छन्, 'नेकपाका लागि भियतनाम कम्युनिस्ट पार्टीले प्रेस दिएको रहेछ, त्यो बेचेर पुतलीसडकमा घर बनाए भन्ने अरोप वैद्यमाथि लागेको थियो ।'

अर्की संस्थापक मोतीदेवीमाथि कुमारीपाटीमा रहेको सार्वजनिक जग्गा हडपेको आरोप कम्युनिस्टहरू नै लगाउँछन् । आठआना सार्वजनिक जग्गामा बनाएको घर जोगाउन उनी एमालेमा लागेको आरोप पनि छ । 'घर हडप्नकै लागि उनी एमालेमा लागेको पनि गाइँगुइँ चल्छ,' केसी भन्छन् ।

रुसी क्रान्ति कि चिनियाँ भन्ने विषयमा मात्र होइन, पाकिस्तानबाट बंगलादेश अलग्गिएको ठीक कि बेठीक भन्ने विषयमा पनि फुटे नेपाली कम्युनिस्ट । कमा राख्ने कि पूर्णविराम राख्ने भन्ने विवाद चर्कंदा पनि फुटेपछि नेपाली राजनीतिमा रंगविरंगका देखिए कम्युनिस्ट ।
त्यस्तै, दलहरूमाथि चरम दमन भइरहेको वेला पनि नरबहादुर कर्माचार्य नख्नु जेलमा चामल सप्लाई गर्थे । जेलभित्रै पसल पनि थियो उनको । मोतीदेवी र कर्माचार्यले पछि राजनीतिपीडितका नाममा तराईमा तीन-तीन बिघा जमिन पाएका पनि थिए । संस्थापकमध्ये मोतीदेवी र कर्माचार्य अविवाहित रहे । बाँकी संस्थापकका छोराछोरी राजनीतिमा लागेनन् ।

सहाना र साधना दुई बहिनीका श्रीमान् पुष्पलाल र मनमोहन अधिकारीबीच पनि विवाद भइरह्यो । पुष्पलालको शिक्षा कम हुनुका कारण उनलाई धेरै समयसम्म हीनताबोध भइरह्यो । पुष्पलालका समकालीनहरू सबैले धेरै पढेका थिए जसको कारण उनलाई हीनताबोध पनि थियो । बनारसमा आइएको भर्ना गरेको तर पढ्न नसकेको उनी स्वयंले कम्युनिस्ट पार्टीको इतिहासमा उल्लेख गरेका छन् ।

२००८ सालमा पुष्पलाललाई महासचिवबाट निकालेर पोलिटब्युरो बैठकले मनमोहन अधिकारीलाई कार्यवाहक महासचिव बनाएको थियो । त्यस्तै, ०१० साल माघ १७ गते ललितपुरको गावहालमा भएको पहिलो महाधिवेशनमा मनमोहन अधिकारी महासचिवमा निर्वाचित भए । तर, उनी विवादमै रहिरहे । उनको कार्यकाल पनि झगडैझगडामा बित्यो ।

तत्कालीन महासचिव अधिकारीले ०१३ साल वैशाख ३ गते प्रेस विज्ञप्ति जारी गरी 'समाजवादको शान्तिपूर्ण प्रचार र संवैधानिक राजतन्त्रलाई मान्ने' घोषणा गरेपछि पार्टीमा सैद्धान्तिक विवाद सुरु भयो । त्यसवेला मनमोहनलाई अर्का नेता शम्भुराम श्रेष्ठको सहयोग थियो । महेन्द्रको डिजाइनमा मनमोहनको विज्ञप्ति आएको र त्यसैका कारण कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध फुकुवा भएको विज्ञहरूको भनाइ छ । २००८ साल माघ ९ गते जनता दलका नेता डा. केआई सिंहले सैन्य विद्रोह गरेर सत्ता कब्जा गरेको घटनालाई समर्थन गरेपछि माघ १० गते नै कम्युनिस्ट पार्टीमाथि सरकारी प्रतिबन्ध लागेको थियो ।

०१३ सालमै चिनियाँ कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशनमा भाग लिन महासचिव मनमोहन अधिकारीको नेतृत्वमा एउटा टोली चीन गयो, तर पुष्पलाल भ्रमण दलमा परेनन् । कुष्ठरोगले थलिएर मनमोहन चीनमै बस्नुपरेपछि पार्टीको कार्यवाहक महासचिव नेता पुष्पलाललाई बनाउने प्रस्ताव आयो । तर, अर्काको जुठो खान्नँ भनेर पुष्पलालले अस्वीकार गरेपछि केशरजंग रायमाझी कार्यवाहक महासचिव भए । ०१४ साल जेठ १५ देखि २५ सम्म काठमाडौंको फोहोरा दरबारमा भएका दोस्रो महाधिवेशनमा रायमाझी पार्टीको महासचिव भए । 'नेकपामा कार्यवाहक महासचिव रायमाझी आउनु ठूलो मिस्टेक थियो,' डा. केसी भन्छन्, 'दरबारका मान्छे थिए उनी ।'

तत्कालीन राजा महेन्द्रले १ पुस ०१७ मा सुरु गरेको पञ्चायती शासन नै नेकपा फुटको प्रमुख आधार बन्यो । त्यतिवेला रुसको राजधानी मस्कोमा रहेका तत्कालीन महासचिव केशरजंग रायमाझीले शाहीकदमलाई समर्थन गरेपछि पार्टीभित्र तीव्र विवाद भयो । विवाद मिलाउन ०१८ सालमा भारतको दरभंगामा पार्टीको विस्तारित बैठक (प्लेनम) मा संसदीय प्रणालीको पुनस्र्थापना हुनुपर्ने प्रस्ताव गरेका रायमाझीको पक्षमा १७ मत परेको थियो । त्यसबाहेक पुष्पलालले विघटित संसद्को पुनस्र्थापना र मोहनविक्रम सिंहले संविधानसभाको चुनावको प्रस्ताव पेस गरे । अन्तिममा मोहनविक्रमको लाइन पारित भयो ।

प्लेनमले नेतृत्व विघटन गरेर केशरजंग रायमाझी, शम्भुराम श्रेष्ठ र डिपी अधिकारी रहेको केन्द्रीय सचिवालय गठन गरेको थियो । त्यतिवेला उनीहरूलाई ९ महिनामा महाधिवेशन गर्ने म्यान्डेट दिइयो । 'तर बैठक भएको भोलिपल्टै तीनजना गायव भए, बुझ्दै जाँदा त दामोदरशमशेरले आफ्नै गाडीमा हालेर दरबारमा पो पुर्‍याएछन्,' डा. केसी भन्छन् ।

नौ महिनामा महाधिवेशन नभएपछि पुष्पलाल समूहले तेस्रो महाधिवेशन गर्‍यो ०१९ सालमा । महाधिवेशन (०१९ वैशाख ४१५) ले तुल्सीलाल अमात्यलाई महासचिव बनाएर रायमाझीसहित तीन नेतालाई निष्कासन गरेपछि विधिवत रूपमा कम्युनिस्ट पार्टी फुट्यो ।
तर, पछि अमात्य र पुष्पलालबीच पनि मतभेद भएपछि पुष्पलालले निर्वाचित ६ जना केन्द्रीय सदस्य लिएर पार्टीको सम्मेलन आयोजना गरे । सम्मेलनले नयाँ केन्द्रीय समिति बनायो, पार्टी फेरि फुट्यो ।

त्यतिवेला रायमाझी र अमात्य समूह रुसी क्रान्तिका पक्ष्ाधर थिए भने पुष्पलाल र कोशी प्रान्तीय कमिटी चिनियाँ क्रान्तिको पक्षधर । 'त्यो फुट राजनीतिक थियो,' वाम विश्लेषक भरत दाहाल भन्छन्, 'त्यतिवेला पुष्पलाल सशस्त्र संघर्षको पक्षमा थिए ।'
रायमाझीले ०२५ सालमा आफ्नो समूहको तेस्रो महाधिवेशन गरे । तर, कमर साह, कृष्णराज बर्मा
, कृष्णप्रसाद श्रेष्ठ र विष्णुबहादुर मानन्धरलगायतका नेताहरू पञ्चायत मान्दैनौँ भन्दै रायमाझीबाट अलग्गिए । यो समूहले रायमाझीलाई निष्कासन गर्‍यो । त्यतिवेला रायमाझीले मानन्धरलाई सिआइएको एजेन्टको आरोप लगाए, मानन्धरले रायमाझीलाई दरबारको एजेन्ट ।
०४० सालतिर कृष्णराज बर्मालाई पार्टी महासचिव बनाएर हटाएपछि फेरि फुट्यो रायमाझी समूह । अन्ततः वाम आन्दोलनमा रायमाझीको अवसान भयो । ०४१ सालमा रायमाझीले अर्को पार्टी गठन गरे । तर, सो समूहले पनि प्रतिक्रान्तिकारीको आरोप लगाउँदै रायमाझीलाई हटायो । ०४६ सालको आन्दोलनपछि जनता दल गठन गरेका रायमाझीको राजनीतिक सक्रियता दरबारसँग बढ्दो निकटतासँगै समाप्त भयो ।

बर्मा समूहले भने अमात्य समूह र मानन्धर समूहसँग मिलेर नेकपा संयुक्त गठन गर्‍यो । तर, उनीहरू पनि मिल्न नसकेर कोही एमालेमा गए, कोही सेलाए । मानन्धरले लामो समयसम्म संयुक्तको नेतृत्व गरिरहे । अमात्य सक्रिय हुन नसकेपछि उनको पार्टी क्रमशः सानो हुँदै गयो र पछि एमालेमा समाहित भयो ।

कम्युनिस्टहरूबीच एकीकरणका लागि ०२८ साल मंसिर २० गते गठन भएको केन्द्रीय न्युक्लियसमा पनि नेताहरूबीच झगडा सुरु भयो । न्युक्लियसमा मोहनविक्रम सिंह संविधानसभा पक्षधर थिए भने मनमोहन विपक्षी । मनमुटावकै बीचमा मोहनविक्रम समूहले ३० भदौ ०३१ मा भारतमा चौथो महाधिवेशन गर्‍यो र महामन्त्री भए मोहनविक्रम । निर्मल लामा, जयगोविन्द शाह, भक्तबहादुर श्रेष्ठ, चित्रबहादुर केसी, मोहन वैद्य, काजी, ऋषि देवकोटा 'आजाद' र खुबिराम आचार्यले मोहनविक्रमको नेतृत्व स्विकारे । उक्त समूहले पार्टीको नाम नै नेकपा चौथो महाधिवेशन राख्यो ।

तर चौम समूहमा पनि मोहनविक्रम सिंहलाई प्रेमकाण्डका कारण कारबाही गरेपछि निर्मल लामा महामन्त्री बनाइए । त्यसअघि मोहनविक्रमले पुष्पलाललाई गद्दारको आरोप लगाएका थ्ािए । यहीबीचमा मोहनविक्रम समूह र निर्मल लामा समूहबीच फुट भयो । मोहनविक्रम र लामाबीच्ा पञ्चायती चुनावमा सहभागिता वा बहिस्कारको प्रश्नमा झगडा भएको थियो । लामा चुनावको पक्षधर थिए, मोहनविक्रम विरोधी ।

०४१ साल मंसिरमा भारतको अयोध्यामा भएको पाँचौँ महाधिवेशनबाट मोहन वैद्य महामन्त्री भए र पार्टीको नाम नेकपा मशाल राखियो । तर, लामा समूहले भने चौमलाई निरन्तरता दियो । मशालबाट मोहनविक्रममाथि कारबाही भयो र उनले नेकपा मसाल स्थापना गरेपछि मशाल टुक्रियो । मोटो मशालमा सेक्टर काण्डपछि प्रचण्ड महामन्त्री भए ।

०४८ सालमा नेकपा मशाल, नेकपा चौम (निर्मल लामा), सर्वहारावादी श्रमिक संगठन -रूपलाल विक) र क्रान्तिकारी मशालबीच एकता भएर गठन भएको नेकपा एकताकेन्द्र पनि जनयुद्धको विषयलाई लिएर फुट्यो । प्रचण्डको नेतृत्वको समूह माओवादी गठन गरेर जनयुद्धमा गयो भने लामाको नेतृत्वको समूहले एकताकेन्द्रलाई नै निरन्तरता दियो ।

एकताकेन्द्र र मोहनविक्रम सिंहको नेतृत्वमा रहेको नेकपा मसालबीच एकीकरण भएर ०५९ सालमा स्थापना भएको नेकपा एकताकेन्द्र मसाल अन्ततः चार टुक्रामा विभाजन भयो । एकताकेन्द्र मसालको प्रकाश समूहले माओवादीसँग एकीकरण गर्‍यो २८ पुस ०६५ मा । मोहनविक्रम सिंह समूहले पुरानै मसालमा र्फकने निर्णय गर्‍यो । तर, एकीकृत माओवादीको मातृका यादवको समूहले नेकपा माओवादी पुनर्गठन गर्ने घोषणा गरेको छ भने जनमोर्चाका दानसिं विश्वकर्मा, भरत दाहाल, साध्यबहादुर भण्डारीले त्यसैलाई पुनर्गठन गर्ने घोषणा गरिसकेका छन् ।

दुई वर्षअघि एकताकेन्द्र मसालका अर्का नेता रामसिं श्रीस समूह, नेकपा मालेको ऋषि कट्टेल समूह, मसालका परी थापा र मालेमा केन्द्रका सीताराम तामाङ समूह मिलेर नेकपा एकीकृत गठन भयो । तर, एकीकृतमा रहेको जीतवीर लामाको समूह भने माओवादीमा प्रवेश गरिसकेको छ ।
उता, तेस्रो महाधिवेशनपछि छुट्टै पार्टी गठन गरेको पुष्पलाल समूहमा पाकिस्तानबाट बंगलादेश छुट्टिएको विषयमा फुट सुरु भयो । बंगलादेश फुटेको विरोधमा रहेका नारायणमान बिजुक्छेले नेपाल मजदुर किसान संगठन गठन गरे । उनको नेतृत्वमा रहेको नेपाल मजदुर किसान पार्टी अहिले पनि अस्तित्वमा छ ।

पुष्पलाल समूहबाटै मुक्ति मोर्चा नामक अर्को समूह पनि गठन भयो जहाँ मदन भण्डारी, जीवराज आश्रित, मोदनाथ प्रश्रतिलगायतका नेता थिए । उनीहरू नै कोअर्डिनेसन केन्द्र हुँदै नेकपा मालेमा पुगे ।
रूपलाल विश्वकर्मा पनि पुष्पलाल समूहबाट फुटेका हुन्, सर्वहारावादी श्रमिक संगठनको नाममा । पुष्पलालको निधनपछि बलराम उपाध्यायको नेतृत्वमा रहेको समूह र मनमोहन समूहबीच एकीकरण भएर नेकपा माक्र्सवादी बन्यो, त्यस्तै रातो झन्डा, सन्देश समूह, कोअर्डिनेसन केन्द्रलगायतको एकीकरणपछि नेकपा माले हुँदै नेकपा एमाले बनेको हो । तर, ०४७ सालमा माक्र्सवादी र माले मिलेर बनेको एमाले पनि ०५४ सालमा महाकाली सन्धिसम्बन्धी विवादलाई लिएर फुट्यो र पछि जुट्यो । फुटको वेला एमालेमा माधव नेपाल र वामदेव गौतमबीचको गालीगलौज राजनीतिकभन्दा तल ओर्लिसकेको थियो ।

वामदेवहरू एमालेमा फर्किए, तर नफर्किएका सिपी मैनालीले माले पुनर्गठन गरे । तर, मालेबाट ऋषि कट्टेलको एउटा समूह र नवराज शर्मा, केशव नेपालहरूको अर्को समूह छुट्टिइसकेको छ । कट्टेल हाल एकीकृतका अध्यक्ष छन्, अर्को समूह माओवादीमा प्रवेश गरेको छ ।
यता कृष्णराज बर्मा समूहले गठन गरेको नेकपा साम्यवादी र नेकपा मालेमाबीच एकीकरण भएर नेकपा मालेमा केन्द्र पनि गठन भयो । ०६२/६३ को जनआन्दोलनलगत्तै मालेमा केन्द्र विभाजित भयो । जसमध्ये कृष्णदास श्रेष्ठ समूह माओवादीमा विलय भयो भने सीताराम तामाङ समूह भने नेकपा एकीकृतमा । मालेमा केन्द्र अहिले अस्तित्वमा छैन ।

माओवादीबाट अलग्गिएकाहरूले गठन गरेको रिभोल्युसनरी लेफ्ट विङ्स पनि चर्चा कमाउने प्रयास गरिरहेको छ । भरत दाहाल र साध्यबहादुर भण्डारीले नेतृत्व गरेको जनमोर्चा नेपाल पुनर्गठित भएको दुई महिना नपुग्दै फुटेको छ । एउटा समूहको नेतृत्व भरत दाहाल र अर्को समूहको नेतृत्व दानबहादुर विश्वकर्माले गरिरहेका छन् ।

६० पटक फुटे पनि धेरै समूह हराएर गए । तर, अहिले पनि एकीकृत माओवादी, एमाले, माले, नेकपा मसाल (राष्ट्रिय जनमोर्चा), नेकपा संयुक्त, नेकपा माक्र्सवादी, नेकपा संयुक्त माक्र्सवादी, नेपाल मजदुर किसान पार्टी, नेकपा एकीकृत, नेकपा माओवादी (मातृका यादव) र जनमोर्चा नेपाललगायतका करिब एक दर्जन पार्टी क्रियाशील छन् ।


Total Comments= 0

No comments:

Search and Buy from amazon.com