Tuesday, June 2, 2009

माओवादी र जनमोर्चाद्वारा भारतीय हस्तक्षेपविरुद्ध विज्ञप्ति

माओवादी र जनमोर्चाद्वारा भारतीय हस्तक्षेपविरुद्ध विज्ञप्ति

  •  
काठमाडौं, जेठ १९ (नागरिक)-  दाङको सीमावर्ती क्षेत्रमा भारतले गरेको सीमा अतिक्रमण र नेपालीमाथि आक्रमणको एकिकृत नेकपा माओवादी  र जनमोर्चा नेपालले भर्त्सना गरेका छन्। माओवादी प्रवक्ता दीनानाथ शर्माले वक्तव्यमार्फत् भारतीय हस्तक्षेपलाई नेपाली राष्ट्रिय सार्वभौमिकतामाथिको अतिक्रमण र हस्तक्षेप भन्दै घोर निन्दा गरेका छन्। दाङको सीमावर्ती क्षेत्र कोइलाबास, पटौली, सिरिया, सुकौली, गुरुङ, भैसाहीसमेतका २० नाका र बाराको सीमावर्ती क्षेत्र झिटकैया, बड्की, फुवरिया, वसन्तपुरसमेतका क्षेत्रमा भारतीय सीमा सुरक्षा बलले नेपालीको गाउँबस्तीमा आगो लगाउने, कुटपिट गर्ने, बलात्कार गर्ने, सीमास्तम्भ सार्ने गरेको तथ्य प्रकाशमा आएको भन्दै वक्तव्यमा त्यसको विरोध गरिएको छ।

"भारतको छिमेकी, साना र कमजोर राष्ट्रप्रतिको परम्परागत, सामन्ती, हेपाहा, विस्तारवादी नीतिका कारण सबै छिमेकी थिचोमिचोमा पर्दै आएका छन्", प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ"- हाम्रो पार्टी सीमा क्षेत्रमा भएको भारतीय अतिक्रमणद्वारा उत्पन्न स्थितिको अविलम्ब अन्त्य गरी भारतद्वारा अतिक्रमित भूमि नेपाली जनतालाई फिर्ता गराउन र सीमा क्षेत्रमा शान्ति, सुव्यवस्था कायम गरी जनजीवन सामान्य बनाउन जनप्रतिनिधि संस्था सार्वभौम संविधानसभाले आवश्यक पहल लिन अनुरोध गर्दछ।"

विज्ञप्तिमा भनिएको छ- "नेपालमा नागरिक सरकारलाई अपदस्त गरी राष्ट्रिय आत्मसमर्पणवादीहरुको कठपुतली सरकार बनेपछि सीमा क्षेत्रबाट देशभक्त नेपाली जनता लखेटिन थालेका छन्। वर्तमान सरकारको बनोट र चरित्रले नेपाली माटोको रक्षा र नेपाली जनताको सुरक्षा संभव छैन। त्यस्तै, हालै सीमा क्षेत्रमा भारतीय पक्षबाट भएको नाङ्गो अतिक्रमण र हस्तक्षेपको विरोध, सीमावर्ती क्षेत्रका जनताको सुरक्षा र नेपाली माटोको रक्षाका लागि सम्पूर्ण स्वाभिमानी, देशभक्त नेपाली जनता एक हुन हाम्रो पार्टी हार्दिक अपिल गर्दछ।"

जनमोर्चा नेपालका महासचिव साध्यबहादुर भण्डारीले प्रकाशित गरेको विज्ञप्तिमा नेपालमाथिको अतिक्रमणलाई सैनिक हस्तक्षेपको अंगका रुपमा लिनुपर्ने उल्लेख छ।  "यसखालको नाङ्गो हस्तक्षेप र नेपाली सार्वभौमिकताविरुद्धको गम्भीर प्रहारविरुद्ध प्रतिरोधमा उत्रन सम्पूर्ण राजनीतिक पार्टी देशभक्त-राष्ट्रप्रेमी शक्ति बौद्धिक व्यक्ति-व्यक्तित्व, सीमा क्षेत्रका संघर्षरत् जनसमुदाय, जनवर्गीय संगठन, सामाजिक संघ-संस्था, उद्योगी-व्यवसायीह, युवा, विद्यार्थी, मजदुर, किसान र आम जनसमुदायमा हार्दिक अपिल गर्दछ"- विज्ञप्तिमा भनिएको छ।

source:

http://www.nagariknews.com/politics/party-politics/1558-2009-06-02-11-33-08.html


No comments:

Search and Buy from amazon.com