Monday, June 1, 2009

बन्दको निशानामा प्रेस

बन्दको निशानामा प्रेस


काठमाडौं, जेठ १८ (नागरिक)- 
स्वायत्त नेवाः प्रदेशको माग गर्दै राजधानी उपत्यका र यस वरपरको ८ जिल्ला बन्दको आव्हान गरेका प्रदर्शनकारीले सोमबार बिहान कालीमाटीमा २१ वटा टाटा मोबाइल, ४ वटा ट्रक र ४ वटा मोटरसाइकलमा आगजनी गरेका छन्। प्रदर्शनकारीले नागरिकन्यूजडटकमका फोटो पत्रकार विकास कार्कीमाथि पनि लाजिम्पाटमा दुर्व्यवहार गरेका छन्। उनको मोटरसाइकलो चाबी खोस्दै कार्कीलाई "तँ कांग्रेसको पत्रकार हो कि एमालेको पत्रकार ?" भन्दै प्रदर्शनकारीले दुर्व्यवहार गरेका थिए। बन्दको फोटो संकलन गर्न राजधानीका विभिन्न क्षेत्रमा घुम्ने क्रममा कार्कीमाथि दुर्व्यवहार भएको हो।

कान्तिपुर एफएमका कार्यक्रम संचालक हेम सुवेदीको मोटरसाइकल पाटन गाबाहलमा प्रदर्शनकारीले जलाइदिएका छन्। कान्तिपुर एफएम कै कृष्णा पौडेलको स्कुटरमा पनि प्रदर्शनकारीले तोडफोड गरेका छन् भने उनीमाथि पनि दुर्यवहार गरेका छन्।
इमेज च्यानलको सवारी भ्यानमाथि कुपन्डोलमा तोडफोड भएको छ भने क्यामेरामेन नविन स्थापितमाथि पनि हमला गरेका छन्।

पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको कर्यालय जाने क्रममा रहेको सवारी साधनलाई प्रदर्शनकारीले पुल्चोकमा नै रोकिदिएका छन्।

जनजीवन प्रभावित

प्रमुख दलका भातृ संगठनहरु मिलेर बनेको नेवाः स्वायत्त राज्य संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्दका कारण सोमबार काठमाडौं उपत्यकासहित आसपासका आठ जिल्लाको जनजीवन प्रभावित छ।

बन्दका कारण काठमाडौं, ललितपुर, भक्तपुरमा यातायात तथा बजार, पसल ठप्प छन्। बन्द उल्लंघन गरेको भन्दै आन्दोलनकारीले राजधानीका विभिन्न स्थानमा आठ वटा सवारी साधनमा तोडफोड गरेका प्रहरीले जनाएको छ।

सोमबार साँझ मसाल जुलुस निकालेका बन्द आह्वानकर्ताहरुले बिहानदेखि नै चोक चोकमा बसेर सवारी आवागमन ठप्प पारेका थिए। साना साना जुलुसले शहर परिक्रमा गरिरहेको छ भने राजधानीमा साँझ सम्म नै जुलुस निस्किरहेन आयोजकहरुले जनाएका छन्।  काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर तथा दोलखाका केही स्थानमासमेत बन्दको प्रभाव परेको छ ।

समिति आवद्ध एकीकृत माओवादीको नेवाः मुक्ति मोर्चा, एमालेको नेवा लोकतान्त्रिक मंच तथा नेपा पार्टीको भातृ संगठनले नेपाल मण्डल नेवाः स्वायक्त राज्य अन्तर्गतको ११ जिल्लालाई नेवाः राज्य घोषणा गर्न माग गर्दै बन्द आह्वान गरेका हुन् ।

उनीहरुले नेवारी भाषालाई सरकारी कामकाजको भाषा बनाउन तथा शहरी बिधेयक फिर्ता गर्न समेत माग गरेका छन्।

source:

http://www.nagariknews.com/news-highlights/139-highlights/1518-2009-06-01-05-27-04.html



No comments:

Search and Buy from amazon.com