Sunday, June 7, 2009

रथी खड्कासहित तीन जर्नेलको कर्णेल कमान्डेट पद खोसुवा

रथी खड्कासहित तीन जर्नेलको कर्णेल कमान्डेट पद खोसुवा


भोजराज भाट, काठमाडौं जेठ २४
नेपाली सेनाको जंगी अड्डाले सेकेन्डम्यान बलाध्यक्ष रथी कुलबहादुर खड्कासहित तीन जना जर्नेलको कर्णेल कमान्डेट पद खोसेको छ। गत बुधबार बसेको सेनाको प्रिन्सपल स्टाफ अफिसर जनरल (पीएसओज)को बैठकले सैनिक अनुशासन उलंग्घन गरेको अभियोग लगाउँदै त्यस्तो निर्णय गरेको हो। रथी खड्काबाहेक कर्णेल कमान्डेट पद खोसिएकामा सैनिक शिक्षा निर्देशनालयका निर्देशक एवं सहायकरथी दीपक गुरुङ र पूर्व उपरथी राजेन्द्रबहादुर थापा छन्। पीएसओज बैठकको निर्णयलाई उद्धत गर्दै उनीहरुलाई आइतबार जंगी अड्डाले कर्णेल कमान्डेट पद मुक्त गरेको पत्र दिएको छ। 
सेनामा गणपति भएपछि सम्बन्धित गणले बहालवाला वा अवकासप्राप्त जर्नेललाई मानार्थ कर्णेल कमान्डेट पद दिने चलन छ। सामान्यतया १० वर्षका लागि दिइने यस्तो पद ग्रहणवाला जर्नेललाई गणको पस्जा वार्षिकोत्सवलगायत विभिन्न कार्यक्रममा सम्मानस्वरुप बोलाइने गरिन्छ।
कर्णेल कमान्डेटबाट मुक्त गरिएका रथी खड्का र सहायक रथी गुरुङ दुवैको मातृ गण कालीप्रसाद गण हो। यो सेनाको इन्जिनियरिङ गण हो। अवकासप्राप्त थापा भने देवीदल गणका हुन्।
एकीकृत नेकपा माओवादी नेतृत्वको सरकारले रुक्मांगत कटवाललाई हटाई रथी खड्कालाई कायममुकायम प्रधानसेनापति बनाएको थियो। राष्ट्रपति रामवरण यादवले सरकारको निर्णय उल्ट्याई कटवाललाई पुनर्बहाली गरेका थिए।
यादवको निर्देशनबाट पुरानै जिम्मेवारी सम्हाल्दै आइरहेका सेनापति कटवालको अनुमतिबिना विभिन्न साचार माध्यमलाई अन्तर्वार्ता दिएको आरोप खड्कामाथि लगाइएको छ। 
सहायक रथी गुरुङ र पूर्व उपरथी थापालाई पनि रथी खड्का निकट भई सेनाभित्रको गोप्य सूचना चुहावट गरेको अभियोग लगाइएको छ। यसबारे आइतबार बेलुका टेलिफोन सम्पर्क गर्दा सैनिक प्रवक्ता एवं सहायकरथी रमिन्द्र क्षेत्रीले नागरिकसित भने 'मेरो जानकारीमा छैन। भोलि सोमबार कार्यालय समयमा सम्पर्क गर्नुभयो भने केही जानकारी दिउँला।'

पूर्व उपरथी थापाले भने आइतबार जंगी अड्डाबाट कर्णेल कमान्डेटबाट मुक्त गरिएको पत्र बुझेको स्वीकारे। 'मैले सेनामा परिवर्तन हुनुपर्छ भनेर आवाज उठाइरहेकाले यस्तो कारबाही हुनुलाई स्वभाविकरुपमा लिएको छ' थापाले भने 'सेनामा तजविज अधिकारको दुरुपयोग छ भनेर मैले उठाउने गरेको आवाज भनेकै सम्भवत यस्तै हो। होइन भने रिटायर्ड भएको १० महिनापछि कारबाही गर्नुको कुनै अर्थ छैन। यो व्यक्तिवादी निर्णय भयो।'

उनले संकटकालपछि आफूलाई लगातार ३२ महिना लडाइँको मोर्चामा खटाइएको र त्यसपछि प्रधानमन्त्री मातहतको सुरक्षा परिषद्मा बसेकाले पनि जंगी अड्डाका 'गोप्य सूचना' लिक गराएको भनी आफूलाई लगाइएको आरोप निराधार भएको पुष्टि हुने बताए। थापाले भने 'मैले सेनाको तल्लो अफिसर र दर्जाको हितमा साचार माध्यममा लेख लेखेको थिएँ त्यसैमा कसैको चित्त नबुझेको हुन सक्छ। मैले व्यक्तिभन्दा संस्था ठूलो हुन्छ भन्दा कसैले मन नपरेको हुन सक्छ।'

रथी खड्काले भने कमान्डेट पद खोसिएकोबारे विस्तृत प्रतिक्रिया दिन चाहेनन्। उनले यति मात्रै भने 'मैले आइतबार अफिसमा त्यस्तो पत्र आएको सुनेको छु अरु मलाई थाहा छैन।'

गत बिहीबार बसेको पीएसओज बैठकले रथी खड्कालाई कोटमार्शल गर्न सिफारिस गरेको थियो। खड्कालाई कोर्टमार्शल गर्नेबारेमा सेनापति कटवालले रक्षामन्त्री विद्यादेवी भण्डारीसँग छलफल गरेका थिए। प्रधानमन्त्री माधवकुमार नेपाल भने खड्कालाई तत्काल कारबाही गर्ने पक्षमा नभएकाले कारबाहीको प्रक्रिया हालका लागि थाँती रहेको छ। 
प्रधानमन्त्री निकट स्रोतका अनुसार नेपालले खड्कालाई सुरक्षा सल्लाहकारमा पनि ल्याउन नचाहेको र नियमित प्रक्रियाअन्तर्गत उनको अवकास होस् भन्ने चाहेका छन्। खड्काको असार ५ मा अवकास हुँदैछ। जंगीअड्डास्थित एक उपरथीका विश्लेषणमा 'खड्कालाई कारबाही गर्दा परिस्थिति प्रतिकूल देखिने भएकाले उनीमाथि मानसिक दबाब दिन नैतिक कारबाही गरिएको हो। यद्यपि यसले अरुहरुलाई त्यस्तो विभागीय कारबाही भने हुँदैन।'
खड्कामाथि कारबाहीको दबाब आइरहेको छ ः रक्षा मन्त्री
रक्षामन्त्री विद्यादेवी भण्डारीले नेपाली सेनाका 'सेकेन्डम्यान' बलाध्यक्ष रथी कुलबहादुर खड्कामाथि अनुशासनको कारबाही गर्न दबाब आइरहेको खुलासा गरेकी छिन्। तर त्यही आधारमा तत्काल रथी खड्कालाई कारबाही गर्ने पक्षमा सरकार नरहेको उनले बताइन्। 
सुनुवार समाजको २० औं वार्षिक सभालाई सम्बोधन गरेर फर्कने क्रममा साचारकर्मीसँग भण्डारीले भनिन् 'मैले बाहिर पनि यस्तै कुरा सुनेँ' खड्कामाथि जोडदार ढंगले फौजको अनुशासनको कुरा उठिरहेको छ। अनुशासनको कुरालाई कसरी हल गर्ने भन्ने छलफलमा छौं। सकभर राजनीतिक तवरबाटै सुल्झाउने सोचेका छौं।'
माओवादी 'नेतृत्वको सरकारले उक्साएर नेपाली सेनालाई विभाजन ल्याउने कोसिस गरेको' उनको आरोप थियो। 'तत्कालिन प्रधानमन्त्रीले सेनापतिलाई हटाउने आफ्नो निर्णय लागू गराउन नसक्दा राजिनामा गर्नुभयो। त्यसले पनि पुरानो निर्णय स्वतः बदर भएको ठहर्छ' भण्डारीले भनिन् 'अहिलेको हकमा कामु भनेको निष्क्रिय भइसकेको छ। उहाँ खड्का चाँडै रिटायर्ड हुनेछ।'

रथी खड्कालाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउन खाजेको हो भन्ने प्रश्नमा उनको जवाफ थियो 'यसबारे कुनै छलफल भएको छैन त्यो हल्ला मात्र हो।' राष्ट्रपतिको निर्णयबारे दल र सहयात्री गठबन्धनबीच छलफल गरेर मात्रै मन्त्रिपरिषद्बाट निर्णय गर्ने भण्डारीले जानकरी दिइन् ।

रथी खड्काले भेट्न खोज्दा पनि आफूले इन्कार गरेको मन्त्री भण्डारीले बताइन् । उनले भनिन् 'चेनअफ कमान्डको कुरा हुन्छ तर प्रधानसेनापतिसंग मेरो कुरा भइरहेकोले गर्दा त्यही हैसियतले मैले अरुलाई भेट्न सक्दिन र भेट्न मिल्दैन पनि ।'

source:

http://www.nagariknews.com/politics/defence/1743-2009-06-07-16-26-18.html


No comments:

Search and Buy from amazon.com