सम्मेलनपछि विदेशी जासुसरुको बिगबिगी मुस्ताङ। दक्षिण र पश्चिमको प्रतिनिधित्व गर्ने भारतीय राजदूत राकेश सुद र युरोपेली युनियन, अमेरिकालगायत देशका कूटनीतिक प्रतिनिधिहरूको सम्मेलन सकिएपछि मुस्ताङ नयाँ सामरिक महत्वको केन्द्र बनेको आभाष हुन थालेको छ।
नेपाली सुरक्षा प्रशासनले प्रतिजासुसी इकाई सक्रिय तुल्याउन नसके पनि विभिन्न वैदेशिक जासुसी संस्था र संयन्त्रहरूले आफ्ना गतिविधि तीव्र पार्न थालेका छन्। यसै सिलसिलामा उत्तरी सीमानाको छिमेकी राष्ट्र चीनले नेपालको उपल्लो मुस्ताङ सीमावर्ती छोसेर र लोमान्थाङ क्षेत्रमा गुप्तचर निगरानी बलियो तुल्याएको छ। स्वतन्त्र तिब्बतको पक्षमा प्रदर्शन र आत्मसमर्पण गरिसकेका खम्पाहरू पुनःसक्रिय हुनसक्ने आशङ्कामा निगरानी केन्द्रित छ। सादा पोसाकका चिनीयाँ प्रहरीले लोमान्थाङ, छोन्हुप र छोसेर लगायतका सीमावर्ती क्षेत्रमा उपस्थिती तीव्र पारेका छन्। त्यहाँ उनीहरूको दैनिक गस्ती हुन्छ। 'गत फागुनदेखि नेचुङ नाका बन्द गरि चिनीयाँ सैनिकले गस्ती बढाएका छन्' छोसेरका टासी गुरुङले भने –'प्रत्येक हप्ता दुई/तीन जना सैनिक गुप्तचर आउने गरेका छन्।' चिनीयाँ गुप्तचरहरूले तिब्बती लुकेको आशङ्कामा सोधपुछ पनि गर्ने गरेका छन्। 'तिब्बती छन् कि छैन भनेर सोध्न आउँछन्' गुरुङले भने –'विशेषगरि दलाई लामाका अनुयायी भएको पाए उनीहरूले छाड्दैनन्।' तिब्बतका व्यापारी र भेडाच्याङ्ग्रा व्यवसायी पनि गुप्तचरका रुपमा लोमान्थाङ आउने गरेका छन्। पूर्व तिब्बतीहरूलाई पनि गुप्तचरको रुपमा प्रयोग गरिएको पाइएको छ। उपल्लो मुस्ताङस्थित सात गाविसको प्रशिद्ध पर्व तेन्चीको बेला चीनले लोमान्थाङमा गुप्तचर सक्रियता बाक्लो तुल्याएको थियो। चिनीयाँ सीमा प्रशासनका कर्मचारीहरू पनि निर्वाध उपल्लो मुस्ताङको भ्रमणमा आउने गरेका छन्। 'धेरै प्रहरी र कर्मचारीहरू चिनीयाँ गाडीहरू लिएर घुम्न आउँछन्' गुरुङले भने –'अधिकांशलाई मैले चिनेको छु।' यतिबेला लोमान्थाङ क्षेत्रमा चिनीयाँ कार, मोटरसाइकल, ट्रयाक्टरहरू गुडेको देख्न पाइन्छ। 'कतिपय चिनीयाँ व्यापारीहरू खाद्यान्न लिएर आउँछन्' स्थानीय झेवाङ विष्टले भने –'महिनाको एकपटक लोमान्थाङ दरबारमा भए राजारानी नभए त्यहाँका कर्मचारीसँग भेट भइरहन्छ। उनीहरूले नेपाली भूमिमा रातचाहिं बिताउँदैनन्।' तर, चिनीयाँ सेनाले गत हिउँदमा तिब्बतको धोङवासेनमा भएको मुस्ताङ र तिब्बत प्रशासनबीचको आठबुँदे सहमतिको उल्लंघन गर्दै नेपालीलाई सीमा प्रवेशमा रोक लगाएको छ। परिचयपत्रका आधारमा दुबै क्षेत्रका बासिन्दालाई निर्बाध सीमा प्रवेश गर्न दिइने सहमति भएको थियो। चीनको उक्त कदमको स्थानीय बासिन्दाले विरोध जनाएका छन्। 'खाद्यान्नदेखि सबै सामाग्रीकालागि हामी तिब्बतमा निर्भर हुनुपर्छ' विष्टले भने –'यसबाट हामीलाई अन्याय भएको छ।' 'हामीलाई परिचय पत्र खोजेर पस्न दिइँदैन तर चिनीयाँहरू बिना परिचयपत्र निर्वाध आवतजावत गर्छन्' गुरुङले भने –'समस्या समाधानका लागि तत्काल प्रशासनको ध्यान जानु जरुरी छ।' यसअघि बेइजिङ ओलम्पिकताका चिनीयाँ सेनाले सीमा क्षेत्रमा तारबार गरेपछि उपल्लो मुस्ताङमा खाद्यान्न सङ्कट सिर्जिएको थियो। तर, यसले बन्यजन्तुको आवतजावत र जैविक मार्ग सङ्कटमा पर्ने भन्दै अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप)ले चर्को विरोध गरेपछि सो तारबार हटाइएको थियो। दलाई लामा भारत निर्वासनको ५० वर्षगाँठको बेलादेखि नै चीनले नाका कडाइ गरेको तथा उपल्लो मुस्ताङमा गुप्तचर निगरानी बलियो तुल्याएको हो। त्यसबेला देखि नै चिनीयाँ सुरक्षाकर्मीेले नेपाली भूमिमा पसेर गुप्तचर निगरानी र सम्बन्ध बढाएका हुन्। सीमा प्रहरी चौकी लोमान्थाङ र चिनीयाँ प्रहरीबीच त तिब्बती लुकेको थाहा भए खबर गर्ने र मित्रता प्रगाढ बनाउने सहमति भएको छ। गतवर्ष चिनीयाँ प्रहरीको निम्तोमा तिब्बतमा भएको बैठकमा भाग लिन सीमा प्रहरी चौकी लोमान्थाङबाट प्रहरी अधिकारीहरू त्यहाँ गएका थिए। चीनको सीमा प्रशासन र सीमा प्रहरी लोमान्थाङबीच वार्ता भएको थियो। चिनीयाँ गाडीमै चढेर लोमान्थाङका प्रहरीहरू त्यहाँ गएका थिए। 'तिब्बती लुकेको, प्रदर्शन भएको थाहा पाए वा पक्राउ गरे हामीलाई फोन गर्नुस' चिनीयाँ प्रहरीको भनाइ उद्धृत गर्दै सीमा प्रहरी चौकी छोसेरका प्रहरी प्रमुख देब गुरुङले भने –'फोन गरेको बिल पनि राख्नुुस, पैसा दिउँला भनेका छन्।' प्रहरीले पनि चिनीयाँ आग्रहमा गुप्तचर सक्रियता कडा तुल्याएको छ। 'कहिलेकाहीं आफनै देशका गाडीहरू लिएर आउँछन्' गुरुङलेे भने –'कुराकानी हुन्छ र उनीहरूले शताव्दीयौंदेखिको मित्रता अझै कसिलो बनाउनुपर्ने बताउँछन्।' स्रोतका अनुसार चिनीयाँ प्रहरीले लोमान्थाङको नेपाली प्रहरीलाई डिजीटल र साधारण प्रविधिका क्यामेराहरू तथा निश्चित रकम पनि उपलब्ध गराएको छ। 'नेपाली प्रहरीको कुनै भूमिका छैन' एक स्थानीय बासिन्दाले भने –'अपराध नियन्त्रण गर्ने काम हो भने गाउँकै मुखियाले गरिहाल्छन्, खासै भूमिका छैन।' चिनीयाँ सक्रियता ह्वात्तै बढेपछि छोसेरमा रहेको सीमा प्रहरी अहिले लोमान्थाङ सारिएको छ। सीमामा रहेको सीमा प्रशासन पनि अहिले बन्द छ। लोमान्थाङमा प्रशासनको साइनबोर्ड झुन्डाइएपनि कर्मचारी अहिले सदरमुकाम जोमसोममा छन्। सीमाक्षेत्रमा चीनले बढाएको सक्रियताप्रति नेपाली गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागले कुनै चासो देखाएको छैन। जोमसोम स्थित अनुसन्धानको जिल्ला शाखा चिनीयाँ सक्रियताप्रति उदासिन छ। जिल्लामा प्रमुख अनुसन्धान अधिकृत भीमबहादुर कार्कीसहितको तीनजनाको दरबन्दी छ। सीमा प्रशासन नहुँदा चिनीयाँ सक्रियता बढेको स्थानीय बासिन्दाको भनाई छ। 'सीमा प्रशासन नहुँदा यसको मार यहाँका बासिन्दाले खेप्नुपरेको छ' छोसेरका प्रहरी प्रमुख गुरुङले भने। चिनीयाँ सुरक्षाकर्मीका सामुन्ने प्रहरीको भूमिका नदेखिएको प्रति स्थानीय बासिन्दा असन्तुष्ट छन्। तिब्बतको धोङ्बासेन जिल्ला र मुस्ताङबीच यही हिउँदमा जोमसोममा हुने भनिएको पूर्वनिर्धारित बैठकमा ढिलाइ भएको छ। यसले सीमावर्ती क्षेत्रका बासिन्दा सर्वाधिक मारमा छन्। चीनबाट खाद्यान्न आयात र पशुपालन गर्न उनीहरूलाई कठिनाइ भएको छ। प्रमुख जिल्ला अधिकारी सुन्दरराज अर्यालले आर्थिक अभावले वार्तामा ढिलाई भएको बताए। 'उनीहरूलाई हेलिकोप्टरमा यहाँसम्म ल्याउने बजेटको अभावले बार्तामा ढिलाई भएको हो' उनले भने –'हामी छिट्टै गर्ने प्रयासमा छौं।' -- Sambodhan S source: http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=24058
|
No comments:
Post a Comment