Friday, May 29, 2009

पहिलो दिन नै प्रधानमन्त्रीको अपमान

पहिलो दिन नै प्रधानमन्त्रीको अपमान
१५-जेठ-२०६६,शुक्रवार
Image
संविधानसभामा तेस्रो दल भए पनि नेपाली कांग्रेसले दावी छाडिदिएर समर्थन गरेका कारण प्रधानमन्त्री बन्न पाउनुभएका एमालेका वरिष्ठ नेता माधव नेपालले पहिलो दिन नै अपमान सहनुपर्यो।

विषवृक्ष भनी तीखो आलोचना गर्ने माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नै सत्ता छाड्नुपरेको आवेगमा फेरि प्रधानमन्त्री नेपालको अपमान गर्नुभएको भने होइन। उच्चपदस्थ सरकारी अधिकारीहरूले देख्नेगरी नयाँ प्रधानमन्त्रीको अपमान उहाँकै दलका नेताबाट भएको हो।
शनिबार संसदबाट निर्वाचित भए पनि साइत खोज्ने क्रममा सोमबार बिहान ११ बजे सपथ ग्रहण गर्नुभएका प्रधानमन्त्री नेपालले आफ्नो तीन सदस्यीय मन्त्रिमण्डलको बैठक सकेर सरकारका सचिवहरूलाई निर्देशन दिने क्रममा आफ्नै मन्त्रीबाट अपमानित हुनुपर्योा। सबै मन्त्रालयका सचिवहरू सहभागी भएको बैठकमा एमाले अध्यक्ष झलनाथ खनाल गुटका हस्ती मानिनेमात्र होइन आन्तरिक शक्ति सन्तुलनका क्रममा सो गुटबाटै मन्त्रीमा पठाइएका नाताले खनालका साढुभाइ नवनियुक्त अर्थमन्त्री सुरेन्द्र पाण्डेको
क्रियाकलापले प्रमको अपमान भएको हो। संसदीय व्यवस्थामा प्रधानमन्त्रीको इज्जत निकै गरिन्छ। उनी नै कार्यपालिकाका सर्वेसर्वा हुने हुनाले मन्त्रीहरूमा पनि उनकै पकड बलियो हुन्छ अर्थात् प्रमलाई क्रस गरेर वा बेवास्ता गरेर कुनै पनि व्यक्ति यस्तो व्यवस्थामा मन्त्री पदमा टिकिरहन सक्दैन। तर, सोमबार सिंहदरबारमा गजबको दृश्य देखियो। प्रधानमन्त्री सचिवहरूलाई सम्बोधन गर्न थालेपछि सँगै बसेका अर्थमन्त्री पाण्डे भने एकपछि अर्को गर्दै मोबाइलमा व्यस्त देखिनुभयो। प्रम नेपाल बोल्दै जानुभयो, मन्त्री पाण्डे कुर्सीबाट उठेर त्यही कोठाको एउटा साइडमा वरपर गर्दै मोबाइलमा गफमा मस्त हुनुभयो। यो कुराको ख्याल प्रमले गर्नुभयो कि भएन सचिवहरूले थाहा पाएनन्। तर, अधिकांश सचिवहरूको ध्यान भने मन्त्री पाण्डेतिर तानिएको थियो। उनीहरू छक्कसमेत परे। प्रधानमन्त्री बोलिरहँदा मन्त्रीले समेत ध्यानपूर्वक सुन्नु स्वभाविक हुनुपर्ने थियो तर उनले प्रमको वास्तै गरेनन्। र, प्रमले निर्देशन दिइरहँदा फोनमा फनफनी घुम्दै गफ मारेर प्रमको मर्यादा नराख्ने मन्त्री तत्कालै कारबाहीमा पर्ने भएकाले नयाँ सरकार तत्कालै अनिष्टमा परेको अड्कल काट्ने सचिवहरू पनि कम थिएनन्। तर, हालसम्म त्यस्तो कुनै कारवाही भने भएको छैन। पटकपटक कम्युनिष्ट सरकार देख्ने र भोग्ने गरिसकेका यी सचिवहरूले यसअघि प्रमलाई त्यसरी अपमान गरेको देखेका पनि थिएनन्। एकजना सचिवले नेपालीपत्रसँग भने, 'त्यो उहाँको चरम लापरवाही थियो, प्रम हामीलाई चाकडी नगर अनुशासित होऊ भनेर सिकाउने उहाँकै पार्टीको मन्त्री त्यहीँ फनफनी घुम्दै फोनमा कुरा गरिहने स्थिति पनि भोगियो।' प्रधानमन्त्री नेपाललाई आफ्नो पार्टीभित्रको आन्तरिक समीकरण मिलाउन धौ–धौ परेको र यसो गर्दा आफ्नो मर्यादासँग पनि सम्झौता गर्नु परेको दुःखद् घटनाका रुपमा त्यसदिनको यो प्रकरणलाई लिइएको छ। प्रम नेपाल यतिबेला ओलीसमूहमा हुनुहुन्छ भने पाण्डे खनालतिर। यस्तो अवस्थामा प्रमसँग समान हैसियत देखाउन खोजेको आरोप पनि मन्त्री पाण्डेमाथि लागेको छ।
त्यसो त सोही दिन बिहानैदेखि प्रम नेपाल समस्यामा पर्नुभएको थियो। एमाले नेतृ विद्या भण्डारीले शपथ ग्रहण गर्न जान मानिनन्। उनलाई गृहमन्त्री बनाउने तय भएर पनि अन्तिम समयमा आएर नेपालले रक्षामन्त्री बनाउने कुरा गरेपछि उनी नमानेकी हुन्। पछि नेपालले नेता केपी ओलीसँग कुराकानी गरेर सम्झाइदिन भन्नुभएको थियो। एमाले स्रोतका अनुसार, सेनापति रुक्मांगत कटवालको अवकाश प्रकरण जटिल भएको र त्यसलाई टुंगोमा नपुर्याकई कांग्रेस सरकारमा सामेल नहुने भएकाले तत्काललाई रक्षामन्त्री बनाएर प्रक्रिया अगाडि बढाउनुपर्ने बाध्यता आइलागेको प्रम नेपालको तर्क थियो। विद्यालाई छाडेर पाण्डेलाई रक्षामा ल्याउँदा उल्टो पर्ने खतरा भएको पनि नेता नेपालले ओलीलाई बताएको स्रोतले जनाएको छ। खनाल समूह कटवाललाई कारवाही गर्ने पक्षमा नै रहेकोले पाण्डेले आनाकानी गरिदिए कटवाल प्रकरणले अर्कोरुप लिने खतरा प्रमले महसुस गरेको बुझिएको छ।
यसैबीच, मन्त्रिमण्डल गठनमा एमालेभित्र तीव्र अन्तरविरोधहरू देखा परेका छन्। खनाल र ओली समूह आआफ्ना समर्थक पार्टी नेताहरूलाई मन्त्रीमा सिफारिस गरिरहेका छन् भने प्रम नेपाल यी दुबैलाई छाडेर आफूलाई मात्र समर्थन गर्नेहरूलाई ल्याउने सुरमा हुनुहुन्छ। प्रम निर्वाचित भएपछि बधाई दिन कोटेश्वरस्थित निवासमा पुग्नुभएका एमाले नेता तथा पूर्व जलस्रोतमन्त्री विष्णु पौडेललाई उहाँले अब मन्त्री बन्न नलाग्नुस् भनेर सुझाव दिनुभएको बताइएको छ। पौडेल पनि ओली समूहकै हुन् तर प्रम उनीसँग किन रिसाउनुभएको हो त्यो भने खुल्न सकेको छैन।

-- NEPALIPATRA

source:

http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=23750


No comments:

Search and Buy from amazon.com