Monday, May 18, 2009

भारतीय बुद्धिजीवी भन्छन् सुदले मर्यादा नाघे

भारतीय बुद्धिजीवी भन्छन् सुदले मर्यादा नाघे 

नयाँ पत्रिका
काठमाडौं, ४ जेठ

2009-05-19,Tuesday



भारतीय वाम बुद्धिजीवी आनन्दस्वरूप बर्माले नेपालका प्रधानसेनापति रुक्मांगद कटवालमाथिको कारबाही रोक्न दबाब दिएर भारतीय राजदूत राकेश सुदले कूटनीतिक मर्यादाविपरीत भूमिका निर्वाह गरेको आरोप लगाएका छन् । सेनापति प्रकरणमा भारतले खेलेको भूमिकाको नयाँ भारतीय सरकारले समीक्षा गर्नुपर्ने उनले बताए । 

'१२ बुँदे सहमति हुने वेलामा भारतका हार्डलाइनरहरूको भूमिका सकारात्मक थिएन,' नेपाल भ्रमणमा आएका बुद्धिजीवी बर्माले सोमबार नयाँ पत्रिकासँग कुरा गर्दै भने, 'कटवाल प्रकरणमा भारतीय राजदूत राकेश सुदले खेलेको भूमिका कूटनीतिक मर्यादाविपरीत छ । 

कांग्रेस आईको नेतृत्वमा बन्ने नयाँ सरकारले यो भूमिका सच्याउनुपर्छ ।' सेनापतिको पक्षमा राजदूतलाई लबिङ गराएर भारतले नेपाली जनतालाई दुस्मन बनाएको बर्माले बताए । उनले यस विषयमा भारतको विदेशनीति असफल भएको समेत उल्लेख गरे ।

नेपालको राजनीतिमा अमेरिकीको हैकम पनि उत्तिकै बढेको उनको विश्लेषण छ । 'अमेरिकाले अहिले राजनीतिक दल र रुक्मांगद कटवाल मिलेर माओवादीविरुद्ध लडाउन खोजिरहेको छ,' उनको भनाइ थियो । 

भारत र अमेरिकी शासकले माओवादी सत्तामा आएको कुरालाई नपचाएको पनि उनको विश्लेषण छ । भारतीय निर्वाचनमा जितेको संयुक्त प्रगतिशील गठबन्धनबाट भारतको नेपाल-नीति परिवर्तन हुन नसक्ने सम्भावना बर्माले व्यक्त गरे । नेपालमा हैकम चलाउने विषयमा भारत र अमेरिकाको अन्तरविरोध रहेको समेत उनको टिप्पणी छ । 

नेपालमा शान्तिप्रक्रिया टुंगोमा पुर्‍याउन माओवादी र कांग्रेसबीच सहकार्य हुनुपर्नेमा बर्माले जोड दिए । प्रतिक्रान्तिको झन्डा एमाले नेता माधव नेपालको नेतृत्वमा बोकाइएको भन्दै उनले त्यसप्रति चिन्ता प्रकट गरे । बर्माले नेपालको भारतनिर्भरता समाप्त हुनुपर्नेमा जोड दिए ।

नेपाल बसाइका क्रममा बर्माले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस नेताहरू कृष्णप्रसाद सिटौला र सुजाता कोइरालासँग छलफल गरेका थिए ।

source:

http://www.nayapatrika.com/newsdetail.php?id=905181145429753%20&n_id=24


No comments:

Search and Buy from amazon.com