Tuesday, May 19, 2009

पशुपतिमा फेरि विवाद

पशुपतिमा फेरि विवाद


- रघुनाथ लामिछाने/सुन्दर खनाल, 
काठमाडौं, जेठ ५- नयाँ नियमावली कार्यान्वयनको पहिलो दिन नै पशुपति मन्दिरमा भेटी र दानको विषयमा विवाद उठ्यो ।आफ्नो सहमतिबिना नियमावली ल्याइएको आरोप लगाइरहेका भण्डारीहरुले सोमबार पशुपति विकास कोषलाई मन्दिरभित्र भेटीपात्र राख्न दिएनन् । भण्डारीहरुको अवरोधपछि मन्दिरबाहिर चार ढोकामा भेटीपात्र राखिएका छन् । साथै भक्तजनले चढाएको दानमा पनि भण्डारी र कोषको खोसाखोस चल्यो ।
गत वैशाख २२ मा संस्कृति तथा राज्य पुनस्रंरचना मन्त्रालयद्वारा स्वीकृत पशुपति क्षेत्र विकाष कोष कार्यव्यवस्था नियमावलीले दान भेटी दक्षिणा र अन्य आम्दानी रसिद काटेर कोष दाखिला गर्ने व्यवस्था गरेको छ । तर भण्डारीहरुले मन्दिरभित्रको दान-दक्षिणामा 'हस्तक्षेप' हुन नदिने भन्दै बुझबुझारथ हुन दिएनन् । कोषका सदस्य-सचिव परमानन्द शाक्यले भण्डारीहरुबाट मन्दिर भित्रको व्यवस्थापनमा अवरोध भइरहेको बताए । उनले भक्तजनले थाहा नपाइसकेका कारण सोमबार रसिद काटेर दाखिला गर्ने काम हुननसकेको जानकारी दिए ।
अहिलेसम्म विशेष पूजावापत आउने आम्दानी भट्टले लिन्थे भने अन्य भेटी दक्षिणा आदिचाहिँ भट्ट र भण्डारीले बाँडेर लिन्थे ।
मन्दिरको ढोकामा राखेको भेटिपात्रमा सोमबार ४५ हजार ३ सय ३६ रुपैयाँ संकलन भएको शाक्यले बताए । मन्दिरभित्रै लगभग त्यत्तिकै परिमाणमा भेटी चढाइएको उनको अनुमान छ ।
नयाँ नियमअनुसार भक्तजनले भेटीपात्रमा मात्र चढाउनुपर्ने हुन्छ । त्यहाँ संकलित रकम प्रत्येक दिन ३ बजे कोषका आर्थिक प्रशासन प्रमुखले मूल भण्डारी बिसेट पशुपतिनाथको सम्पत्ति संरक्षणलगायत्का परम्परागत कार्यमा संलग्न कोषका प्रतिनिधि र प्रहरीसमेतको रोहबरमा एकिन गरी सोही दिन कोष दाखिला हुनेछ ।
नियमावलीअनुसार मन्दिर व्यवस्थापन सुरु गर्न कोष सोमबार निकै सकि्रय भएको थियो । उता 'नियमावली लाद्न खोजिएको' भनिरहेका भण्डारीहरुले सहयोग गरेनन् । भट्टहरुले पनि विवाद हुन्जेल जिन्सी सामानको जिम्मा लिन नसक्ने भन्दै दानदातव्यका सामान भक्तजनलाई फिर्ता गरे । सदस्य-सचिव शाक्य अन्योलका कारण उनीहरुले सामान फिर्ता गरेको बताए । 'तर हाम्रो निर्णयमा उहाँहरुले सहयोग चाहिँ गर्नु भएको छ', उनले भने ।
भण्डारीहरुले गत वर्षको नियुक्ति प्रकरणमा जस्तै कोष पेलेर अघि बढ्न खोजेको आरोप लगाएका छन् । पशुपति सेवक संघका सह-सचिव हरिहरमान भण्डारीले भने 'उहाँहरुले आजै भक्तजनले चढाएको सामान जर्बजस्ती लानुभयो । यो परम्पराविरोधी कुरा हो ।'
भण्डारीहरुले सर्वोच्च अदालतले ०५९ चैत्रमा दिएको परमादेशअनुसार 'आफूहरुसँग सल्लाह गरेर' नियमावली बनाए मात्र मान्य हुने बताउँदै आएका छन् । सोमबार दिउसो कोष र भण्डारी पक्षबीच वार्ता भए पनि कुनै टुङ्गो लागेन ।

नियमावलीले भट्ट र भण्डारीहरुलाई चाहिँ मासिक तलब र भत्ता तोकको छ । त्यसअनुसार मूलभट्टले मासिक तलव २१ हजार रुपैयाँ पाउनेछन् भने दैनिक १ हजार भत्ता पाउनेछन् । त्यसैगरी भट्टले मासिक १९ हजार पाउनेछन् भने दैनिक भत्ता ७ सय पाउनेछन् । यसअघि मूलभट्टले दैनिक एक मुरी धान पाउने व्यवस्था थियो ।
भण्डारीले भने मासिक १ लाख र उनका दुई सहयोगीले २५ २५ हजार रुपैयाँ पाउने व्यवस्था छ । यी भण्डारीको पालो घुम्ती प्रणालीअनुसार पर्छ र हरेकको पालो एक महिनापछि परिवर्तन हुने गर्छ । भनिभो दथु कोफ्ले र मतमण्डिल गरी ४ कवलमा बाँडिएका भण्डारीमा १ सय ७ जना छन् । भण्डारीहरुले आफ्नो पालोमा करिब ८-९ लाख रुपैयाँ लैजाने गरेको कोषका एक पदाधिकारीले बताए ।
तर भण्डारीहरु भने यसलाई स्वीकार गर्दैनन् । भण्डारीहरु सम्मिलित श्री पशुपतिनाथ सेवक संघका अध्यक्ष शिवनारायण राजभण्डारीले एउटा भण्डारीको पालो चाँडोमा १० वर्ष र ढिलोमा १६ वर्षमा आउने बताए । उनका अनुसार पालोमा एउटा भण्डारीले २ देखि साँढे २ लाख रुपैयाँसम्म पाउने गर्छ ।
राजभण्डारीले कोषको यो कदम एकपक्षीय भएको भन्दै यसविरुद्ध अदालत जाने पनि बताए । विशेष पूजाको रकम कोषमा दाखिला नगरी कर्मचारीले हिनामिना गर्ने गरेको आरोप लगाउँदै उनले भने- नियमावली संशोधन नगरी हामी मान्ने छैनौं ।
नियमावलीले दुई सय ६१ वर्षदेखि दक्षिण भारतीय भट्ट रहँदै आएका पशुपतिनाथमा अब नेपाली भट्टका लागि बाटो खुलाएको छ । भट्टको योग्यतामा 'नेपाली नागरिक वा परम्पराअनुसार नियुक्ति पाउन सक्ने व्यक्ति' उल्लेख छ । यसअघि भारतका 'दक्षिणात्य कृष्णयजुर्वेदी ब्राम्हण' मगाई भट्ट राख्ने चलन थियो । 'परम्पराअनुसार नियुक्ति पाउन सक्ने व्यक्ति' भनेको अहिलेसम्म कार्यरत् भट्ट वा इच्छुक दक्षिण भारतीय भट्ट भनिएको कोषका निर्देशक रमेश उप्रेतीले बताए ।
भट्ट छनौट गरी नियुक्तिका लागि सिफारिस गर्न विद्वत् समिति गठन गर्ने र त्यसैको सिफारिसका आधारमा मूल भट्ट तथा अन्य तीन भट्ट नियुक्त गरिने व्यवस्था पनि नियमावलीले गरेको छ । यो नियमावली संस्कृति तथा राज्य पुनस्रंरचना मन्त्रालयले वैशाख २२ गते स्वीकृत गरेको थियो ।
पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले गठन गर्ने यस्तो समितिमा ५ सदस्य हुनेछन् भने उनीहरुको कार्यकाल २ वर्षको हुनेछ । धर्मशास्त्र, दर्शन, ज्योतिष र कर्मकाण्ड वेद तन्त्रशास्त्र धर्म संस्कृति क्षेत्रमा ख्यातिप्राप्तमध्येबाट ४ तथा त्रिविमा नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रीय शिक्षण विभागअन्तर्गत कार्यरत् प्राध्यापकमध्ये १ जना यो समितिमा रहने छन् ।
अहिले पशुपतिनाथमा रहेका मूलसहित चार भट्टमध्ये ३ जनाले राजिनामा दिए पनि प्रधानमन्त्रीको आग्रहमा 'काम चलाउ' गरिरहेका छन् । माओवादी सरकारले उनीहरुलाई हटाएर नेपाली भट्ट राखेपछि अदालतले प्रक्रिया नपुगेको भन्दै पुरानैबाट काम गराउन परमादेश जारी गरेको थियो । नयाँ व्यवस्था नियमित हुनेबित्तिकै नयाँ भट्ट राख्ने प्रक्रिया पनि सुरु हुने कोषले जनाएको छ ।

source:
http://www.nagariknews.com/society/nation/1134-2009-05-19-06-58-22.html

No comments:

Search and Buy from amazon.com