Sunday, May 31, 2009

वासुकी नागको अझै पूजा भएन

वासुकी नागको अझै पूजा भएन

कान्तिपुर संवाददाता

काठमाडौं, मूल पुजारी भारत फर्किएपछि वासुकी नागको पूजा १३ औं दिन बित्दा पनि भएको छैन । पशुपति विकास कोषले पूजा सञ्चालनका लागि पशुपतिनाथका मूल भट्ट महाबलेश्वरलाई भट्ट पठाउन तीनपटक पत्र लेख्दा पनि उनले चासो नदेखाएकाले पूजा अवरुद्ध भएको विकास कोषले जनाएको छ ।

नयाँ पुजारी नियुक्ति र पशुपति विकास कोषअन्तर्गतका अन्य काम गर्न सर्वोच्चले रोक लगाएका कारण कोषले केही गर्न नसकेको विकास कोषका निर्देशक रमेश उप्रेतीले कान्तिपुरलाई बताए । 'पूजा गर्ने भट्ट बिरामी हुँदा वा अन्य केही अवस्थामा मूल भट्टले पूजाको व्यवस्था गर्ने परम्परा छ,' उनले भने, 'हामीलाई नियुक्ति प्रक्रिया अघि बढाउन अदालतले रोकेको छ ।' पशुपति विकास कोषले कार्यान्वयनमा ल्याउन लागेको नियमावली अवैध भएको भन्देै बानेश्वरका भरत जंगमले सर्वोच्चमा दायर गरेको रिटउपर अदालतले असार १ गते अन्तिम फैसला नभएसम्म कुनै काम नगर्न नगराउन सर्वोच्चले आदेश दिएको थियो ।

पशुपतिमा बसेका पुजारी र दर्शनार्थीले वासुकी नागको पूजा नहुँदा हिन्दु धर्ममा आस्था राख्नेको सम्मानमा चोट पुगेको बताए । 'पूजा नहुनु दुखदायी हो,' पशुपतिनाथको पश्चिम ढोकाछेउमा बसेका पुजारी नन्दप्रसाद खतिवडाले भने, 'पुसदेखि पशुपतिमा दसा लागेको छ ।' वासुकी नाग रहेको मन्दिरको ढोका बिहान आठ बजेदेखि १२ बजेसम्म खुला राखे पनि पुजारी नहुँदा दर्शन गर्न आउने निराश छन् । 'भगवान्को सरसफाइ र पूजा नहुनु दुःखदायी हो,' आइतबार बिहान हात जोडेर वासुकी नागको मन्दिर परिक्रमा गरिरहेका बानेश्वरका विनोद मैनालीले भने ।

भित्र चढाएका फूलप्रसाद सफा नगरिँदा नमीठो गन्ध आउन थालेको छ । पशुपति क्षेत्र विकास कोष र वासुकी नागका मूल भट्टबीच दानभेटी र प्रसादका विषयमा दुई साताअघि विवाद हुँदा भट्ट केपी रामप्रसाद स्वदेश फर्किएका थिए । विवादपछि ३० वर्षदेखि वासुकी नागको पूजा गर्दै आएका भट्टले मन्दिरमा साँचो लगाएर त्यसको भोलिपल्ट विकास कोषमा साँचो बुझाएर आफू पूजा नगर्ने जानकारी गराएर त्यसको भोलिपल्ट स्वदेश फर्किएका थिए ।

Posted on: 2009-05-31 21:26:57

source:

http://www.ekantipur.com/kolnepalinews.php?&nid=197053

No comments:

Search and Buy from amazon.com