Friday, May 29, 2009

नौ महिनामा विकास खर्च १९ अर्बमात्र

नौ महिनामा विकास खर्च १९ अर्बमात्र

सरकारको खातामा २८ अर्ब बचत

काठमाडौं,१५ जेठ (दैनिकी)

चालू आर्थिक वर्षको चैत मसान्तसम्म खर्च १९ अर्ब रुपैयाँबराबरको मात्र विकास खर्च भएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले प्रकासित गरेको नौ महिनाको तथ्यांकअनुसार 
यो अवधिमा स रकारको पूँजीगत खर्च २ दशमलव ५ प्रतिशतले घटी रु. १९ अर्व २२ करोडमा झरेको छ। अघिल्लो वर्ष पूँजीगत खर्चमा ६९ प्रतिशतले वृद्धि भएको थियो। 
आर्थिक वर्ष २०६५। ६६ का लागि सरकारको नीति तथा कार्यक्रम आउनमा केही ढिलाई भएको, स्थानीय निकायमा जनप्रतिनिधिहरुको अभाव रहेका कारणले पूँजीगत खर्च हुन नसकेको राष्ट्र बैंकको भनाई छ।
यस्तै, तत्कालीन सरकारको प्रमुख विकासे कार्यक्रमका रुपमा ल्याइएको नयाँ नेपाल निर्माण अभियानका लागि तोकिएका आयोजनाहरुका लागि अत्यावश्यक कार्यक्रम, निर्देशिका तयार हुन समय लागेको र ठेक्कापट्टालगायत खरीद प्रक्रियामा ढिलाई भएको साथै विद्युत आपूर्तिमा अनिश्चितता र द्वन्द्वका कारण पूँजीगत खर्चमा कमी आएको जनाइएको छ।
यसको विपरित चालू खर्च भने २२ प्रतिशतले बढेर रु. ७० अर्व ७५ करोड पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा चालू खर्च २१ दशमलव ४ प्रतिशतले बढेको थियो। सरकारी कर्मचारीहरुको तलव वृद्धि तथा गैरबजेटरी खर्चमा वृद्धि भएकोले समीक्षा अवधिमा चालू खर्च बढेको जनाइएको छ।
आर्थिक वर्ष २०६५/६६ को पहिलो नौ महिनासम्ममा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च १८ दशमलव ५ प्रतिशतले वृद्धि भई १ खर्ब ७ अर्व ६ करोड रुपैयाँ पुगेकोे छ। अघिल्लो वर्षको यसै अवधिमा सरकारी खर्च ३१ दशमलव ५ प्रतिशतले बढेको थियो। पँूजीगत खर्च तथा साँवा भुक्तानी खर्चको वृद्धिदरमा कमी आएको कारण समीक्षा अवधिमा कुल सरकारी खर्चको वृद्धिदरमा अघिल्लो वर्षको तुलनामा कमी आएकोे हो।
सरकारको साधन परिचालनको तुलनामा खर्च कम भएकाले पहिलो नौ महिनासम्ममा सरकारी बजेट रु १२ अर्व ७२ करोडले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा सरकारी बजेट रु. ५ अर्व २९ करोडले घाटामा रहेको थियो। 
सरकारी खर्चको तुलनामा साधन परिचालनको वृद्धि उल्लेख्य रुपमा बढी भएको कारण समीक्षा अवधिमा सरकारको बजेट बचतमा रहेको जनाइएको छ। 
समीक्षा अवधिमा नेपाल सरकारको नेपाल राष्ट्र बंैकसँग रु २७ अर्व ९९ करोडको उल्लेख्य नगद बचत कायम रहेको छ।
राजस्व
आर्थिक वर्ष २०६५/६६ को पहिलो नौ महिनासम्ममासरकारको राजस्व परिचालन ३९ दशमलव ३ प्रतिशतले वृद्धि भई रु.९८ अर्व ६७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा राजस्व २५ दशमलव १ प्रतिशतले बढेको थियो। 
राजस्व चुहावटमा नियन्त्रण, राजस्व प्रशासनमा सुधारलगायत स्वयंकर घोषणा जस्ता कार्यक्रमहरुमा सरकारको दृढ प्रतिवद्धताका कारण उत्साहजनक दरले राजस्वको परिचालनमा वृद्धि भएको हो।
यो अवधिमा मूल्य अभिवृद्धि कर २३ दशमलव २ प्रतिशतले वृद्धि भई २७ अर्ब ३९ करोड पुगेको छ। अघिल्लो वर्षको यसै अवधिमा सो वृद्धिदर २३ दशमलव २ प्रतिशत नै रहेको थियो। 
विप्रेषण आयमा भएको वृद्धिसँगै बढ्दो आयात तथा उपभोगमा भएको वृद्धि र मूल्य अभिवृद्धि कर प्रशासनमा भएका सुधारहरुको कारण समीक्षा अवधिमा मूल्य अभिवृद्धि कर राजस्वमा वृद्धि भएको हो।
आर्थिक वर्ष २०६५/६६ को पहिलो नौ महिनासम्ममा नेपाल सरकारको भन्सार महसूलबाट प्राप्त हुने राजस्व २५.७ प्रतिशतले वृद्धि भई रू. १८ अर्ब ४५ करोड पुगेको छ। अघिल्ल् वर्ष सो राजस्व २३ दशमलव ६ प्रतिशतले वृद्धि भएको थियो। भन्सार प्रशासनमा गरिएका सुधारहरु र उच्च भन्सार दर लाग्ने सवारी साधनहरू तथा पार्टपुर्जाको आयातमा भएको वृद्धिका कारण भन्सार राजस्वमा वृृद्धि भएको हो।
समीक्षा अवधिमा अन्तःशुल्क राजस्व ४५.१ प्रतिशतले वृद्धि भई रू. १० अर्ब ५७ करोड पुगेको छ। अघिल्लो वर्ष सो राजस्व २३ प्रतिशतले वृद्धि भएको थियो। अन्तःशुल्क प्रशासनमा गरिएका सुधारहरु र नयाँ अन्तःशुल्क लाग्ने वस्तुहरुको पहिचानका कारण यो अवधिमा अन्तःशुल्क राजस्व बढेको हो। 
समीक्षा अवधिमा सरकारको आयकर राजस्व ४९ दशमलव ६ प्रतिशतले वृद्धि भई रू.१९ अर्ब २१ करोड पुगेको छ। अघिल्लो वर्ष सो राजस्व ३३ दशलमलव ८ प्रतिशतले मात्र वृद्धि भएको थियो। 
सरकारको प्रशासनिक एबं राजनैतिक प्रतिवद्धताका कारण स्वयंकर घोषणा कार्यक्रममार्फत उल्लेख्य रकम थप आयकर राजस्व प्राप्त भएकोलेे समीक्षा अवधिमा आयकर राजस्वमा विस्तार आएको जनाइएको छ। 
आर्थिक वर्ष २०६५/६६ को पहिलो नौ महिनासम्ममा सरकारको गैरकर राजस्व ६८ दशमलव ७ प्रतिशतले वृद्धि भई रु. १७ अर्व ५८ करोड पुगेको छ। अघिल्लो वर्ष गैरकर राजस्व २० प्रतिशतले बढेको थियो। विभिन्न सरकारी संस्थानहरुबाट सरकारलाई ऋणको सँावा तथा व्याज र लाभांश भुक्तानी भएकोले समीक्षा अवधिमा गैरकर राजस्वको वृद्धिदर उच्च रहेको हो। 
वैदेशिक नगद ऋण र अनुदान
आर्थिक वर्ष २०६५/६६ को पहिलेा नौ महिनासम्ममा नेपाल सरकारलाई वैदेशिक नगद ऋणवापत् रु २ अर्व ९८ करोड र वैदेशिक नगद अनुदानवापत् रु.१७ अर्व ६९ करोड प्राप्त भएको छ। अघिल्लो वर्ष ती शीर्षकहरुमा क्रमशः रु.२ अर्व ७७ करोड र रु. ११ अर्व ६१ करोड प्राप्त भएको थियो।
समीक्षा अवधिमा नेपाल सरकारले रु ८ अर्व ७० करोड बराबरको आन्तरिक ऋण परिचालन गरेको छ। अघिल्लो वर्षको यसै अवधिमा सरकारले रु १३ अर्व ३३ करोड आन्तरिक ऋण परिचालन गरेको थियो


source:

http://www.dainikee.com/newsdetail-7196.html#


No comments:

Search and Buy from amazon.com