Sunday, May 31, 2009

बढ्दै छ चिनियाँ लगानी


बढ्दै छ चिनियाँ लगानी


काठमाडौं, १७ जेठ
औद्योगिक वातावरण बिगि्रएको भन्दै नेपाली लगानीकर्ताहरू निराश भए पनि चिनियाँ लगानीकर्ता नेपालतर्फ आकषिर्त भइरहेका छन् । चिनियाँ लगानीकर्ताले गत वर्ष ४४ करोड ८७ लाखबराबरको लगानी ल्याएका थिए भने यस वर्षको वैशाख मसान्तसम्ममा नै झन्डै एक अर्ब भित्र्याइसकेका छन् । केही वर्षदेखि चिनियाँ लगानीकर्ता बढेका छन्, तर गत वर्षभन्दा यो वर्ष दोब्बरभन्दा बढी हुने भएको छ । संविधानसभा चुनावपछि स्थिरता आउने आशामा लगानीकर्ताको संख्या र लगानी बढेको उद्योग विभागका अधिकारीहरूको अनुमान छ ।

यो आर्थिक वर्षको वैशाख मसान्तसम्ममा ५२ वटा चिनियाँ लगानीका परियोजनाले वैदेशिक लगानी शाखाबाट अनुमति पाएका छन् । उनीहरूले एक अर्ब लगानी गर्दै छन् । यसअघि कुनै पनि वर्ष यति धेरै चिनियाँ परियोजनाले स्वीकृति लिएका थिएनन् । गत वर्ष ३९ वटा चिनियाँ लगानीका परियोजना स्वीकृत भएका थिए । उद्योग विभागको वैदेशिक लगानी शाखाका प्रमुख प्रदीप कोइरालाका अनुसार प्रायः सबै चिनियाँ परियोजनाले नेपाली साझेदारसँग मिलेर लगानी गर्ने प्रस्ताव गरेका छन् ।

कोइरालाका अनुसार यस वर्ष स्वीकृति पाएका परियोजनामा बढी खनिजजन्य उद्योग रहेका छन् । यसअघि चिनियाँहरूले ठूला परियोजनामा खासै चासो देखाएका थिएनन् । उनीहरूले विशेषगरी पर्यटनमूलक उद्योगमा लगानी गर्दै आएका छन् । 'बढी होटल, रेस्टुरेन्टतर्फ आकषिर्त छन्,' कोइरालाले भने । उद्योग विभागका महानिर्देशक विनोद केसीका अनुसार, चिनियाँहरू नेपालमा लगानीको सम्भावना खोजी गर्दै छन् । 'अहिले ठूलामा भन्दा पनि साना-साना परियोजनामा लगानी गर्ने चिनियाँहरूको संख्या बढ्दै गएको छ,' उनले भने, 'दीर्घकालीन रूपमा नेपालमा लगानी गर्न सकिन्छ भनेर उनीहरूले चासो देखाएका हुन सक्छन् ।'

विभागका अनुसार, ०६१ चैत मसान्तसम्म चिनियाँ लगानीमा सयवटा परियोजनाबाट करिब दुई अर्ब ८२ करोड लगानी भित्रिएको थियो । त्यसपछिका वर्षहरूमा नेपालमा परियोजना सञ्चालन गर्ने चिनियाँको संख्या र लगानी वृद्धि हुँदै आएको छ । आर्थिक वर्ष ०६१/६२ मा १७ करोड ६५ लाख लगानी गर्नेगरी १२ वटा चिनियाँ परियोजनाले स्वीकृति पाएका थिए । यसैगरी, आर्थिक वर्ष ०६२/६३ मा १८ करोड चार लाख लगानी गर्नेगरी २१ र ०६३/६४ मा ४९ करोड ४९ लाख लगानी गर्नेगरी ३७ वटा परियोजनाले विभागबाट स्वीकृति लिएका थिए । चालू आर्थिक वर्षको १० महिनामा विभागबाट लगानीको स्वीकृति लिएका विदेशी -चिनियाँसहित) परियोजनामध्ये अधिकांश खनिजमा केन्दि्रत छन् । विभागबाट यस वर्ष करिब ७५ करोड लगानी गर्नेगरी ३० वटा खनिज उद्योगले स्वीकृति पाएका छन् । बाँकी उद्योग भने पर्यटन र सेवामूलक क्षेत्रका छन् । प्राकृतिक सुनखानी खोज्ने, प्रशोधन गर्ने र निर्यात गर्ने, खनिजजन्य तेल निकाल्नेजस्ता उद्देश्य राखेर उद्योग दर्ता हुने क्रम बढेको विभागका अधिकारीहरू बताउँछन् ।


source:

http://www.nayapatrika.com/newsdetail.php?id=905310114239423&n_id=23



No comments:

Search and Buy from amazon.com