Tuesday, April 28, 2009

म सेरेमोनियल हुँ भन्ने संविधानमा कहाँ लेख्या छ ?

म सेरेमोनियल हुँ भन्ने संविधानमा कहाँ लेख्या छ ? 

उमेश चौहान/नयाँ पत्रिका
2009-04-29,Wednesday


नयाँ पत्रिका एक्सक्लुसिभ 

काठमाडौं, १५ वैशाख 
राष्ट्रपति डा. रामवरण यादवले आफू सेरेमोनियल -आलङ्कारिक) नभएको दाबी गरेका छन् । राष्ट्रप्रति आफ्नो दायित्व भएको भन्दै उनले 'संविधानमा म -राष्ट्रपति) सेरोमोनियल -हो) भनेर कहाँ लेखेको छ ?' भन्ने प्रश्नसमेत गरेका छन् । नेपालको राष्ट्रपति सेरेमोनियल हो, शासकीय महत्त्वांकाक्षा नराख्नुहोला भन्ने सुझाव दिन नागरिक अगुवाहरू सोमबार शीतलनिवास पुगेका थिए । तर, डा. यादवले आफू सेरेमोनियल नभएको दाबी गर्दै आफ्ना वकिलहरूको सल्लाहअनुसार आवश्यक भूमिका खेल्ने बताएपछि अगुवाहरू झस्किएका छन् । 

डा. देवेन्द्रराज पाण्डे, कृष्ण पहाडी, डा. सुन्दरमणि दीक्षित, श्याम श्रेष्ठ, खगेन्द्र संग्रौला, डा. भरत प्रधान, हेमबहादुर बिष्टलगायत १६ जनाको टोली सोमबार ११ः३० मा राष्ट्रपति-भवन पुगेको थियो । नागरिक अगुवाहरूले राष्ट्रपतिलाई लिखित पत्र मात्र दिएनन्, मौखिक सुझाव पनि दिएका थिए । अगुवाहरूले मुख्यतः चारवटा विषयमा राष्ट्रपतिको ध्यानाकर्षण गराएका थिए । 'पहिलो ः तपाईं सेरेमोनियल हो, दोस्रो ः सर्वोच्च निकाय जननिर्वाचित संसद् र त्यसले बनाएको सरकार हो, सरकारले लेखेर दिएका कुरामा तपाईंले छाप मात्र लगाउने हो, काट्न, छाँट्न पाउनुहुन्न,' आफूहरूले दिएको सुझाव उद्धृत गर्दैर् नागरिक अगुवा श्याम श्रेष्ठले भने, 'तेस्रो ः दलीय स्वार्थका लागि कसैले उत्प्रेरित गरे पनि तपाईंले शासकीय महत्त्वांकाक्षा राखेर सम्मानित पदलाई विवादमा ल्याउनु हुन्न । चौथो ः तपाईंको भूमिका दलहरूलाई जोड्ने हो, एकता गराउने हो ।' 

नागरिकका तर्फबाट डा. पाण्डे, पहाडी, डा. दीक्षित, श्रेष्ठ र संग्रौलाले बोलेका थिए । पाँचजना नागरिक अगुवाले जम्मा १५ मिनेट दिएको सुझावको प्रतिक्रियामा राष्ट्रपति डा. यादव एक्लै ४५ मिनेट बोलेका थिए । प्रतिक्रिया दिँदा उनको मुद्रा आक्रामक भएको एक सहभागीले बताए । स्रोतका अनुसार राष्ट्रपतिले 'सुझाव दिन आएकामा धन्यवाद' भने पनि नागरिक अगुवाका सबै सुझावलाई एक-एक गरी खारेज गरेका थिए । 'तपाईंहरू त पहिले नै आउनुपथ्र्यो, बीचमा त सेलाएजस्तो लाग्यो । तर, अब तपाईंहरूले झकझकाइरहनुपर्छ भनेर हामीलाई धन्यवाद दिनुभयो,' टोलीका सदस्य श्रेष्ठले भने । तर, धन्यवादको औपचारिकता पछि राष्ट्रपतिले नागरिकका तर्फबाट दिइएका सुझावलाई खण्डन गर्दै गए । तपाईं सेरेमोनियल हो भन्ने सुझावको प्रतिक्रियास्वरूप राष्ट्रपतिले के भने ? नयाँ पत्रिकाको जिज्ञासामा नागरिक अगुवा संग्रौलाले भने, 'गम्भीर भएर अकमकाउँदै, तर मुसुक्क हाँसेर उहाँले भन्नुभयो— म आलङ्कारिक होइन, संवैधानिक राष्ट्रपति हुँ ।' 

डा. यादवले 'संविधानमा म -राष्ट्रपति) सेरेमोनियल हो भनेर कहाँ लेखेको छ ?' भन्ने प्रश्न गरेपछि नागरिक अगुवा स्तब्ध भएका थिए । उनले आफ्नो भनाइ प्रेसमा नभनिदिन पनि आग्रह गरेका थिए । 'महामहिम राष्ट्रपतिले नभन्नू भन्नुभएको थियो,' संग्रौलाले भने । त्यसो भए यस विषयमा केही बोल्न मिल्दैन त भन्ने नयाँ पत्रिकाको जिज्ञासामा उनले जवाफ दिए, 'अफ द रेकर्ड नै हो, तर उहाँले आलङ्कारिक राष्ट्रपतिको सीमाभन्दा बाहिर निस्केर असंवैधानिक आकांक्षा राखेेको मैले महसुस गरेँ । मेरा राष्ट्रपतिको असंवैधानिक आकांक्षा ढाकछोप गर्न नागरिक आन्दोलनको सदस्यका हैसियतले म अभिशप्त छैनँ ।' राष्ट्रपति डा. यादवले विभिन्न दल, विद्यार्थी, पत्रकार, सैनिक, व्यवसायी र संघ-संस्थाका प्रतिनिधि आएर सरकारले अधिकार कुण्ठित गर्‍यो भनेर गुनासो गरेको पनि बताएका थिए । 'जनता गुनासो गर्छन्, राष्ट्रप्रति मेरो पनि दायित्व छ । मैलै पूरा गर्नुपर्छ,' उनले आफ्नो मनस्थिति यसरी सुनाएका थिए । 

प्रधानसेनापतिका विषयमा पनि राष्ट्रपतिले आफ्नो विवेक प्रयोग गर्ने स्पष्ट सन्देश दिए । नागरिक अगुवाहरूले भनेका थिए, 'प्रधानसेनापति हटाउन सरकार स्वतन्त्र छ । सरकारले लेखेर दिएको कागजमा तपाईंले छाप लगाउने मात्र हो ।' तर, जवाफमा डा. यादवले भने, 'सरकारले सिफारिस गर्ने र मैले इन्डोर्स -अनुमोदन) गर्ने हो । नियुक्ति मैले दिने भएपछि अवकाश दिँदा पनि स्वतः मेरो भूमिका हुन्छ ।' राष्ट्रपतिले 'आफ्नो संवैधानिक अधिकार' का बारेमा कानुन व्यवसायीहरूले आफूलाई स्पष्ट पारेको पनि जनाए । 'मेरा पनि वकिल छन्, मैले उनीहरूलाई विश्वास गर्ने हो,' राष्ट्रपतिले भने, 'उनीहरू भन्छन्, संविधानले मलाई पनि भूमिका दिएको छ ।' 

संविधानले कार्यकारी अधिकार स्पष्ट रूपले प्रधानमन्त्रीलाई दिएको छ, शासकीय अभ्यासमा लागेर राष्ट्रपतिपदको गरिमा नघटाउनुहोला भन्दै सतर्क गराउने उद्देश्यले भेट्न गएका नागरिक अगुवा राष्ट्रपतिको मनस्थिति थाहा पाएपछि स्तब्ध भएका छन् । 'कृष्ण पहाडीले राष्ट्रपतिलाई भेटेपछि निराश भएँ भनेर मिडियालाई प्रतिक्रिया दिनुभएको छ । मेरो पनि भावना त्यही हो,' नागरिक अगुवा डा. पाण्डेले नयाँ पत्रिकासँग भने, 'हामीले उहाँलाई संविधान अनुसार आलङ्कारिक र सम्मानित भूमिकामा बस्नुहुन्छ भन्ने ठान्यौँ । उहाँले राष्ट्रिय दायित्व छ, म आलाङ्कारिक होइनँ भन्नुभयो, यसले कताकता अर्कै छनक दिएको छ ।' डा. पाण्डेले आफूहरू उज्यालो अनुहार लिएर राष्ट्रपति-भवन गएको र अँध्यारो अनुहार लिएर फर्किएको पनि बताए । 

अर्का अगुवा श्रेष्ठले राष्ट्रपतिको मनस्थितिले आफूहरूलाई झस्काएको प्रतिक्रिया दिए । 'राष्ट्रपतिले प्रधानसेनापतिलाई नियुक्ति र अवकाश दिँदासमेत मेरो भूमिका हुन्छ भन्नुभयो, तर संविधानमा त मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्नेछ भनिएको छ । गर्न सक्नेछ भनेको भए उहाँले विवेक प्रयोग गर्न पाउनुहुन्थ्यो । गर्नेछ भनेकाले सरकारको निर्णय मान्न उहाँ बाध्य हुनुहुन्छ,' श्रेष्ठले भने, 'तर उहाँले मेरो अधिकार छ भनेपछि हामी झस्किएका छौँ । तर, द्वैध शासन लागु हुन दिँदैनौँ भन्ने हाम्रो विचारले उहाँ पनि केही सोच्न बाध्य हुनुभयो होला ।' 

नागरिक अगुवा र राष्ट्रपतिका मत स्पष्ट बाझिए पनि दोहोरो छलफल भने भएन । राष्ट्रपतिले धाराप्रवाह ४५ मिनेट बोलेपछि नागरिक अगुवाहरू राष्ट्रपति-भवनबाट बाहिरिएका थिए । 'राष्ट्रपति र प्रधानमन्त्रीलाई औपचारिक रूपमा भेट्दा पालैपालो आ-आफ्ना कुरा राख्ने परम्परा छ, दोहोरो संवाद हुँदैन,' श्रेष्ठले भने ।

source: http://www.nayapatrika.com/newsdetail.php?id=904280146202190&n_id=23


No comments:

Search and Buy from amazon.com