Tuesday, April 7, 2009

प्रधानमन्त्री खुलामञ्चमा रोए

प्रधानमन्त्री खुलामञ्चमा रोए
नयाँ पत्रिका
काठमाडौं, २४ चैत
2009-04-07,Tuesday


एकीकृत माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल खुलामञ्चमा सोमबार अपराह्न धुरु-धुरु रोए । जनआन्दोलन दिवसको उपलक्ष्यमा माओवादीद्वारा आयोजित सभालाई सम्बोधन गर्न पुगेका प्रचण्ड जनयुद्ध तयारी पूर्व आफ्ना कार्यकर्ता महिलामाथि भएको बलात्कारको घटना सम्झेर रोएका हुन् । पुनः सम्हालिएर उनले सरकार अब चमत्कार गर्ने तयारीमा लागेको बताए ।

०४६ सालको जनआन्दोलनपछि राजा वीरेन्द्र र दलहरूबीच भएको सम्झौताको विरोधमा उत्रेका वेला आफ्ना कार्यकर्तालाई अन्धाधुन्द गोली हानिएको र दुई दर्जन निर्दोष मान्छे मारिएको संस्मरण सुनाएलगत्तै प्रधानमन्त्री प्रचण्डको गला अबरुद्ध भयो । 'शान्तिपूर्ण आन्दोलनमा हामी थियौँ, अन्धाधुन्द गोली हानियो र सबै हत्यारा सरकारमा बसिरहे' गला अडि्कएपछि प्रचण्डले मसिनो स्वरमा भने, 'हामी संसद्भित्रै थियौँ । शान्तिपूर्ण संघर्षमै थियौँ । बडो शान्तिपूर्ण र सालीन किसिमको आन्दोलन थियो, त्यो । तर, आन्दोलन दबाउनका निम्ति काठमाडौंको मुटुमा गोली चल्यो । दुई दर्जन बढी मानिस मारिए ।'

त्यतिवेला संसद्मा रहेको तत्कालीन एकताकेन्द्रको खुला संगठन संयुक्त जनमोर्चाले संसद्भित्र र बाहिर हत्याको विरोध गरेको र हत्यारालाई कारबाही गर्न आवाज उठाएको सुनाउँदा प्रचण्ड थप भावुक भएका थिए । 'हामी पूरै शान्तिपूर्ण थियौँ, त्यतिवेला,' प्रचण्डले थपे, 'सबै हत्यारा सरकारमा बसिरहे, सरकारको नेतृत्व गरिरहे । जनताका छोराछोरी मारिएको मारियै भए ।'

शान्तिपूर्ण ढंगले रोल्पा, रुकुम धनुषा, सिराहा, सिन्धुली, गोरखा, चितवन तथा देशका विभिन्न भागमा जनआन्दोलन गरिरहेको उल्लेख गर्दै उनले भने, 'त्यतिवेलाको सरकार आफूलाई लोकतान्त्रिक भन्थ्यो, लोकतन्त्र आएको प्रचारबाजी गथ्र्यो । मलाई त अनौठो लाग्छ ।' त्यसपछि प्रचण्ड बोल्न सकेनन् । 'महिलामाथि सामूहिक हत्या भएको प्रसंग टुंग्याउन नपाउँदै प्रधानमन्त्री प्रचण्ड घुँक्क-घुँक्क गर्दै रोएका थिए र उनी केहीबेर बोल्नै सकेनन् ।

चमत्कार अब ...
सरकारको आलोचना बढिरहेका वेला प्रधानमन्त्री प्रच्ाण्डले अब चमत्कार हुने दाबी गरे । 'हामी विस्तारै-विस्तारै चमत्कारतिरै अघि बढ्दै छौँ,' प्रधानमन्त्रीले खुलामञ्चमा भने, 'अहिले भइ त सक्या छैन, तर म के देख्छु भने हामीले योजनाबद्ध ढंगले कदम चाल्दै जाँदा यहाँ चमत्कार हुनेवाला छ ।'

परिवर्तनलाई सम्बोधन गर्न खोज्दा प्रतिक्रान्तिकारी अखाडाहरूमा ठूलो खैलाबैला हुने गरेको उल्लेख गर्दै उनले भने, 'सरकारले जनतालाई राहत दिन खोज्यो, विभिन्न क्षेत्रमा मद्दत गर्न खोज्यो । एक अर्ब अनुदान दिएर एक लाख परिवारलाई सौर्य ऊर्जा प्रदान गर्ने निर्णय गर्‍यो । युवालाई स्वरोजगारका निम्ति भनेर दुई लाख रुपैयाँ दिने निधो गर्‍यो । गाउँ-घरमा २० देखि ३० लाख रुपैयाँ बाटो-घाटो, पुल-पुलेसा बनाउनका निम्ति दिने निर्णय गर्‍यो । दलित महिला र उत्पीडित क्षेत्रको निम्ति केही विशेष प्याकेज ल्यायो । तपाईंहरूले हेर्नुभयो भने यो सरकारले केही गरेन भन्ने होइन, केही गर्‍यो भन्ने चिन्ता छ प्रतिक्रान्तिकारीहरूलाई ।'

माओवादीले केही नगरेको भए प्रतिक्रान्तिकारीले 'हावा तौवा' मच्चाउनु नपर्ने उल्लेख गर्दै सरकारविरुद्ध लागेका आरोपका विषयमा उनले भने, 'केही गर्न नदिने, केही हुन नदिनेमा प्रतिक्रान्तिकारी छन् । तर, म नाम लिन्नँ । किनभने भोलि यही कुरा गर्नुछ व्यवस्थापिका संसद्मा ।'
'मैले परिवर्तनलाई सम्बोधन गर्ने, नयाँ चिजलाई महत्त्व दिने कुनै कदम अलिकति पनि के चाल्न थाल्छु, पूरै हाहाकारजस्तो गर्छन् साथीहरू,' प्रधानमन्त्रीले भने, 'मलाई त बडो अनौठो लाग्छ ।' अहिले प्रतिक्रान्तिकारी, प्रतिक्रियावादी र यथास्थितिवादीको दौडधूप चलेको आरोपसमेत लगाए । 'केही मान्छेको भित्री तयारी अर्कै छ,' प्रधानमन्त्रीले भने । तर, त्यसबारे उनले प्रस्ट्याएनन् ।

माओवादीको नेतृत्वमा सामन्त, जमिनदार र पुँजीपतिको पक्षमा संविधान नबन्ने र श्रमजीवी गरिब किसानको पक्षमा बन्ने उद्घोष गर्दै प्रधानमन्त्रीले भने, 'यो कुरा प्रतिक्रियावादीले बुझेका छन् ।'
पूर्वराजा ज्ञानेन्द्रलाई भेट्न चार वर्षअघि प्रस्ताव पठाएको समेत प्रचण्डले खुलासा गरे । 'तर उनले भेट्न मानेनन्, जब कि मैले नर्वेका राजासँग भेटेँ केही दिनअघि मात्रै,' उनले भने ।

नर्वेका राजाले नेपालको शान्ति प्रक्रियालाई शुभकामना दिएको सुनाउँदै प्रचण्डले भने, 'उनले त दोस्रो विश्वयुद्धमा जर्मनीविरुद्ध लडेका रहेछन् । के गर्नु यहाँको त कुलंघार पर्‍यो ।'
नेपालमा सेना, प्रहरी र कर्मचारीतन्त्र शान्तिको पक्षमा रहेकाले शान्ति प्रक्रिया बिथोल्न कसैले नसक्ने दाबी प्रधानमन्त्रीले गरे । शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रिया बिथोल्न खोज्नेहरू समाप्त हुने उनले चेतावनी दिए । 'उनीहरूको हालत ज्ञानेन्द्रको भन्दा फरक हुनेछैन, बरु उसभन्दा नराम्रो हुने पक्का छ,' प्रधानमन्त्रीले भने ।

जनयुद्धको भूमिकालाई अस्वीकार गर्नेहरू या त प्रतिक्रियावादी अथवा अवसरवादी हुने प्रचण्डको आरोप थियो । जनयुद्धलाई अवमूल्यन गरिएको गुनासो गर्दै उनले सत्तारुढ एमाले र विपक्षी कांग्रेसतिर लक्षित गरेर भने, 'जनयुद्ध नभएको भए संसद्भित्र रहेका हाम्रा साथीहरू ज्ञानेन्द्रको जेलमै हुनुहुन्थ्यो । सायद उहाँहरूमध्ये धेरै मारिनु पनि हुन्थ्यो ।'

माओवादीलाई सरकारमा ल्याएर गल्ती गरिएको भन्ने एमाले नेता माधव नेपालले एक साताअघि दिएको प्रतिक्रिया कोट्याउँदै प्रधानमन्त्रीले त्यसको कडा जवाफ दिए । उनले भने, 'संसद्भित्रका केही साथीले माओवादीलाई सरकारमा ल्याएर गल्ती भयो भन्नुभएछ । त्यतिवेला म नर्वे र फिनल्यान्डमा थिएँ । बडो अनौठो लाग्यो । के तिनले ल्याएको हो ? आमनेपाली जनताले ल्याएको हो ।' माओवादीप्रतिको आरोप नेपाली जनतामाथिको अपमान भएको प्रचण्डले दाबी गरे । 'नेपाली जनताको योभन्दा अपमान र बेइमानी अरू के हुन्छ ?' प्रधानमन्त्रीले भने, 'तिनका बाउको बिर्ता हो नेपाल राज्य ? सरकार बनाउने ठेकेदार उनीहरू हुन् ?'

सेना समायोजनको विरोधमा राजनीतिक दलका नेता लागिरहेको प्रसंग निकाल्दै प्रधानमन्त्रीले प्रश्न गरे, 'सेना समायोजन हुन सक्दैन भन्ने अधिकार उनीहरूलाई कसले दियो ?' सेना समायोजनको विरोधमा बोल्नेहरूले संविधान, विगतमा भएका सम्झौत्ाा तथा शान्ति प्रक्रियाको समेत खिल्ली उडाइरहेको आरोप लगाए । 'सेना समायोजनको विरोधी अपराधी र हत्यारा मात्रै हुन सक्छन्,' उनले भने, 'त्यसको विरोध भनेको लोकतन्त्रको खिल्ली उडाउनु हो, संविधानको ठाडो उल्लंघन हो ।'

http://www.nayapatrika.com/newsdetail.php?id=904071237224018%20&n_id=24

No comments:

Search and Buy from amazon.com