Sunday, April 26, 2009

बेडबाटै किसुनजीले भन्नुभयो

बेडबाटै किसुनजीले भन्नुभयो
१३-वैशाख-२०६६,आइतवार
Image
गलत समाचार लेख्नेलाई धन्यवाद 
काठमाडौं। दूरदर्शी राजनीतिज्ञ सन्तनेता कृष्णप्रसाद भट्टराईका बारेमा गत शुक्रबार र शनिबार विभिन्न मिडियाद्वारा प्रवाहित समाचारले बहुचर्चित सेना प्रकरणलाई समेत ओझेलमा पार्यो। 

उहाँलाई कोमामा राखिएको, चिकित्सकहरूले आशा मारिसकेको जस्ता समाचारहरू स्रोत उल्लेखै नगरी प्रवाहित भइरहेको तथा केही केही सञ्चारमाध्यमहरूले त उहाँको क्लिनिकल्ली डेथ भइसकेको समाचारसमेत दिए।यस्ता अप्रिय समाचारका कारण बिहीबार विहानैदेखि उहाँलाई उपचारार्थ भर्ना गरिएको नर्भिक अस्पतालमा हजारौं नरनारीहरू आँखामा आँसु लिएर अन्तिम दर्शनका लागि ओइरिन थाले। चिकित्सकहरूले यस्तो अवस्था होइन भन्दा पनि धेरैले पत्याएनन्। अस्पताल परिसरमा थामिनसक्नुको भीड बढ्न थाल्यो। उहाँले नियमित गीता पाठ गर्ने पाँच दशक लामो सिलसिला कायमै राख्नुभएको, सधैंको जस्तो खानपिन र भेटघाट गर्न आउनेसँग हाँसीमजाक गरिरहनुभएको जानकारी नेता पीएल सिंहले दिँदादिँदै पनि उपस्थित जनसागरले विश्वासै गरेन।  
शुक्रबार बिहानै पुग्नुभएका राष्ट्रपति डा. रामवरण यादवसँग ठट्टा गर्दै किसुनजीले भन्नुभयो, म बिरामी भएको कसरी थाहा पाउनुभयो? अखबार पढेर चिन्ता लागेर आएको किसुनजी, राष्ट्रपति डा. यादवले भन्नुभयो। 'तपाईं आउनु'भो खुसी लाग्यो, तपाईंलाई भन्दा पनि अखबारलाई धन्यवाद दिन्छु,' सधैंझै हाँसीमजाक गर्दै किसुनजीले भन्नुभयो। वामदेव गौतमको गलत सूचनाका आधारमा बैठक छाडेर भेट्न गएका झलनाथ खनाललाई एमाले पार्टीको अध्यक्ष बनेकोमा बधाई दिँदै भट्टराईले भन्नुभयो, 'ए बाबु, तपाईं त अहिले ठूलो पोस्टमा हुनुहुन्छ, दलभन्दा माथि उठेर काम गर्नोस्, देशलाई सम्झेर काम गर्नोस्, देश ज्यादै अप्ठ्यारोमा छ।
प्रधानसेनापति रुक्मांगद कटवाल उहाँलाई भेट्न औपचारिक पोसाकमै जानुभएको थियो। भेट्नेबित्तिकै स्यालुट गर्दै कटवालले अंगे्रजी भाषामा सोध्नुभयो, स्वास्थ्य स्थिति कस्तो छ? किसुनजीले पनि अंगे्रजीमै जवाफ दिनुभयो, म कुनै बेला पनि जान सक्छु, तपाईंहरूले मुलुक सम्झेर काम गर्नुहोला, त्यही मेरा लागि शुभकामना हुनेछ। कटवालले भन्नुभयो, किसुनजी मुलुक र हाम्रा लागि पनि तपाईं मर्न पाउनुहुन्न, मुलुकलाई तपाईंको खाँचो छ। 'तपाईंको काम र योगदान पनि मैले हेरिरहेको छु, सबै कामको मूल्यांकन भगवानले गर्छन्, हामीजस्ता  
भगवान जनताले मूल्यांकन गर्दछन्,' किसुनजीले भन्नुभयो। दुई हात जोडेर किसुनजी म सीपी भन्दै सुकिलो डे्रसमा पुग्नुभएका माओवादी नेता सीपी गजुरेललाई देख्नासाथ किसुनजीले भन्नुभयो, ए! कम्युनिस्ट नेता सीपी? 'अँ, हो म माओवादी कम्युनिस्ट, गजुरेलले हतपत गर्दै भन्नुभयो– 'मैले तपाईंलाई ३० वर्षअघि भेटेको, म असाध्यै श्रद्धा गर्छु किसुनजी।' मलाई श्रद्धा गर्नुहुन्छ, मेरो स्वास्थ्यलाभको कामना गर्नुहुन्छ र सच्चा कम्युनिस्ट हुनुहुन्छ भने मेरा लागि प्रार्थना गरिदिनोस् भन्दै किसुनजीले सोध्नुभयो, बाबु कति वर्ष हुनुभयो? अन्ठाउन्न? होइन, किसुनजी साठी भएँ गजुरेलले जवाफ दिनुभयो। छोराछोरी कति छन् नि? प्रश्नको उत्तर दिँदै गजुरेलले भन्नुभयो, चारजना किसुनजी। छोराछोरी र घरायसी जानकारी लिएपछि किसुनजीले ठट्टा गर्दै भन्नुभयो, बाबु तपाईं त ठूलो गाडीमा आउनुभएको होला? गजुरेलले अँ किसुनजी, भनेपछि किसुनजीले भन्नुभयो, 'मेरो त गाडी पनि छैन, सम्पत्ति पनि छैन, राज्यले दिएको घरमा बसेको छु। गजुरेलसँगै सामान्य पहिरनमा पुगेका नारायण दाहाललाई देखाउँदै किसुनजीले सोध्नुभयो– 'उहाँ को नि? उहाँ सभासद्, नाताले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भाइ पर्नुहुन्छ।' गजुरेलले परिचय गराइदिएपछि किसुनजीले भन्नुभयो– 'उहाँलाई कांगे्रसमा पठाइदिनोस्।' किसुनजीको यो भनाइलाई त्यहाँ उपस्थित सबैले धेरै ठूलो व्यंग्यका रूपमा लिए। कसैले अर्थ लगाए– 'कांगे्रसजनहरू जस्तै साधारण पहिरनमा नारायण दाहाल उपस्थित भएकाले किसुनजीले यसो भनेको हुनसक्छ।' कसैको अडकल थियो– माओवादीमा समेत हाबी हुँदै गएको परिवारवादतर्फ किसुनजीले इंगित गर्नुभएको हो। 
उहाँलाई भेट गर्न जाने अधिकांशका दिमागमा बिहान अखबारमा आएका समाचारको धङधङी बाँकी नै थियो। पहिले ढोकाको सिसाबाट चियाएरमात्र कोठाभित्र प्रवेश गर्दथे। यसै शृंखलामा एक चिटिक्क परेका वृद्ध ढोकाबाट चियाएको किसुनजीले देख्नुभयो र भन्नुभयो को हो? यता बोलाउनु। तुल्सी गिरीभित्र गए। 'ए तुल्सी बाबु पो हुनुहुँदो रहेछ, उहाँका पिताजीको त नेपालको प्रजातान्त्रिक आन्दोलनमा धेरै ठूलो योगदान छ, हामीलाई ठूलो मद्दत गर्नुभएको छ, म काका भन्थंे, मलाई धेरै माया गर्नुहुन्थ्यो,' किसुनजीले भन्नुभयो। 
डा.भेषबहादुर थापा र श्रीमती डा.रीता थापाले लिएर गएको खानेकुराको किसुनजीले निकै तारिफ गर्नुभयो। अघिल्लो दिन स्वाद मानिमानी ममः खाएका कारण त्यसदिन डा.थापा दम्पतीले माछाको परिकार लिएर गएका थिए। खाना खाँदै किसुनजीले भन्नुभयो– एकदम मीठो बनाउनुभएछ, तपाईंहरू पनि यहीँ आएर खानोस्। हामीले खाएर आइसक्यौं, बरु भोलि के ल्याउँ? डा.रीताले सोधेपछि किसुनजीले भन्नुभयो– 'नानी, धेरै धेरै धन्यवाद, दुःख नगर्नोस्, केही दिनपछि तपाईंहरूको घरमै आएर खानेछु।' 
भेटघाट गर्न आउनेहरूको भीड बढ्दै गए पनि सीमित मान्छेहरूसँग धेरैबेर कुराकानी हुन थालेपछि उपस्थित एक व्यक्तिले भने, 'बाहिर पनि यति धेरै मान्छेहरू, सबैलाई भेट्न सम्भव हुँदैन, स्वास्थ्यलाभको शुभकामना दिन आउनेहरू सबैलाई धन्यवाद, एउटा वक्तव्य ड्राफ्ट गर्नुपर्यो्।' 
डाक्टरहरूले पनि यो सल्लाह ठीकै माने। यसका लागि किसुनजीसँग कुरा राख्न डाक्टरहरूले वरिष्ठ पत्रकार युवराज घिमिरेसँग आग्रह गरे। घिमिरेले भन्नुभयो– 'मैले भनेको किसुनजी नमान्न पनि सक्नुहुन्छ, त्यसैले तपाईंहरूले नै संस्थागत रूपमा भनिदिनुपर्यो , धेरै मान्छेहरूसँग भेटघाट नगर्नोस्, कम्तीमा दुई दिन पूरा आरामको जरुरी छ भनेर।' डाक्टरहरूले दिएको सल्लाह किसुनजीले सहर्ष स्वीकार गर्नुभयो। नजिकै रहनुभएका वरिष्ठ पत्रकार घिमिरेलाई भन्नुभयो, 'ए बाबु, तपाईं व्यावसायिक पत्रकार हुनुहुन्छ, धन्यवाद दिनोस्,' घिमिरेले हुन्छ भनेपछि किसुनजीले थप्नुभयो– 'राजनीतिमा के हुन्छ भने बाबु यस्तो जिम्मेवारी अरुलाई दिँदा पाउनेलाई के के नै पाएजस्तो हुन्छ, दिनेको केही पनि जाँदैन।' 
हरेक दिनको डायरी राति १२ बजे मेन्टेन गर्ने क्रम किसुनजीले अस्पतालको शैयामा बस्दा पनि छाड्नुभएको छैन। क–कससँग भेट भयो, के के कुराकानी भयो? कुन कुन डाक्टर जाँच्न आए? उनीहरूले के भने, औषधि के दिए? सबै घटना विवरण किसुनजीले आफ्नो डायरीमा मेन्टेन गरिरहनुभएको जानकारी अस्पतालका सहयोगीहरूले दिए। गीता पाठ गर्ने बेलामा कहिलेकाहीँ नाकमा लगाइएको अक्सिजन नुडलले बाधा पार्ने गरेको गुनासो किसुनजीको छ। तर अखबार भने अझै पढ्ने गर्नुभएको छैन। अखबार पढेर सुनाउने जिम्मा पीएल सिंहलाई दिनुभएको छ भने अन्य व्यवस्थापन सधैंझैं अमिता कपालीले गर्दै आउनुभएको छ। भेटघाट तथा स्वास्थ्यलाभको कामना गर्नेहरूमा राजनीतिकर्मीभन्दा सामाजिक तथा आध्यामिक सेवामा लागेका व्यक्तिहरूको भीड लामो छ। साधुसन्तमात्र नभएर भिक्षु तथा लामा गुरुहरू, मौलानाहरूसमेत पुग्ने गरेका छन्। बौद्धस्थित सेतो गुम्बाका चोकेनिमा रिम्पोछेले शुक्रबार भेट गरी स्वास्थ्यलाभको प्रार्थना गर्नुभएको थियो।  
यसैगरी, भारतबाट अवेदशान्त बाबालगायत केही महात्माहरूले टेलिफोन गरी स्वास्थ्यस्थिति सोधेका थिए। विशेषगरी सञ्चारमाध्यमहरूले थप चिन्ता उत्पन्न गराइदिएको गुनासो उनीहरूको थियो। नेपाली कांगे्रसका वरिष्ठ नेता शेरबहादुर देउवा भने उहाँलाई भर्ना गरेकै दिन पुगी स्थिति जानकारी लिनुभएको थियो। उहाँ निस्किएपछि किसुनजीले भन्नुभयो, देउवा असाध्यै सीधा मान्छे हो, मलाई मनपर्ने मान्छे हो। यता, अखबारमा आएका समाचारप्रति डाक्टरहरूले पनि किसुनजीसँग माफी मागेका थिए। समयमै आधिकारिक रूपमा सही सूचना प्रवाह हुन नसक्दा अखबारहरूबाट 'मिसकोट' भएकोमा डाक्टरहरूले गल्ती महसुस गरे पनि किसुनजीले भन्नुभयो, 'ठीकै छ नि, म बिर्सिएको थिएँ, अहिले सम्झिए। प्राप्त जानकारीअनुसार सोमबार या मंगलबारसम्म किसुनजी डिस्चार्ज भइसक्नुहुनेछ।

-- Tarun

source: http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=22456


No comments:

Search and Buy from amazon.com