Tuesday, April 21, 2009

असफल भयो सरकार गिराउने भित्री खेल

असफल भयो सरकार गिराउने भित्री खेल
४-वैशाख-२०६६,शुक्रवार
Image
एकीकृत नेकपा (माओवादी) को नेतृत्वमा बनेको वर्तमान सरकारमाथि आइपरेको संकट तत्कालको लागि टरेको छ। सरकारमै सामेल एमालेको एउटा लवि र प्रतिपक्षि दल नेपाली कांग्रेस तथा तराई मधेस लोकतान्त्रिक पार्टीसहितले सरकार गिराउने अभ्यासमा लागेपछि सरकार केही संकटमा परेको थियो।

तर, एमालेभित्र सरकार गिराउन चाहने केपी ओली समूह अल्पमतमा परेपछि सरकार गिराउने खेल बीचमै तुहिएको छ। प्रचण्ड सरकार गिराई आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउने गिरिजाप्रसाद कोइरालाको अप्रत्यक्ष प्रयास थियो। त्यो प्रयास पनि तत्काललाई असफल भएको छ। आफ्नो योजनाको असफलतापछि अहिले कोइराला पनि वर्तमान सरकारमै पुत्री सुजाता कोइरालाको नेतृत्वमा कांग्रेसलाई सामेल गराउने नयाँ नयाँ रणनीतिमा लागेका छन्। 
केपी ओली कसरी असफल भए 
एमालेको आठौं महाधिवेशनका बेला पार्टी अध्यक्षमा उठ्दा नै आफूले जिते वर्तमान सत्ता समिकरण बदल्ने नारा दिएका केपी शर्मा ओलीले महाधिवेशनमा हारेपछि पनि भित्रभित्रै सके वर्तमान सरकार नै गिराउने त्यसो गर्न नसके अहिलेकै मन्त्रिपरिषद्मा नयाँ व्यक्ति पठाउने रणनीतिमा लागेका थिए। जसलाई कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको पनि गोप्य समर्थन थियो। सरकार गिराउने खेल अन्तर्गत केपी ओलीले आफ्नै पार्टीभित्र केन्द्रीय कमिटीमा आफ्नो बहुमत पुराउने प्रयास गरे। अहिलेको ११६ मध्ये मत दिन पाउने ८६ केन्द्रीय सदस्यमा ओलीको पक्षमा २९ जनामात्र छन्। त्यसैले ओलीले केन्द्रीय कमिटीको निर्णय आफ्नो पक्षमा पार्न थप १४ जना केन्द्रीय सदस्य आफ्नो पक्षमा पार्नुपर्ने हुन्छ। यसका निम्ति ओलीले महाधिवेशनको समयमा झलनाथ पक्षबाट महामन्त्री बनेका ईश्वर पोखरेलसँग वर्तमान सरकार गिराई कांग्रेस र मधेसवादी दलको सहयोगमा एमालेको नेतृत्वमा सरकार बनाउनुपर्ने प्रस्ताव राख्दै भने, 'सके त्यो सरकारको नेतृत्व हामीले नै गरौंला, नसके तपाईं उपप्रधानमन्त्री बन्नुहोला।' ईश्वर पोखरेलले ओलीको प्रस्तावलाई विचार गर्ने बताए। तर, ईश्वर पोखरेलले ओलीलाई सहयोग गर्दा पनि अरु आठ–दश जनाभन्दा बढी केन्द्रीय सदस्य ओली पक्षमा नपर्ने देखियो। त्यसपछि ओलीले उपाध्यक्ष अशोक राईसँग पनि यस्तै प्रस्ताव राखेको स्रोतको दावी छ।
स्रोत भन्छ, अशोक राईले आफू पार्टीको उपाध्यक्ष भएको र पहिला पनि ईश्वर पोखरेलभन्दा सिनियर मन्त्री भएकोले ओलीको प्रस्ताव उचित नहुने बताउँदै यस विषयमा केन्द्रीय समितिमै छलफल गरौंला भन्नेजवाफ दिए। ओलीको अनुमान थियो, अशोक राई र ईश्वर पोखरेले आफ्नो प्रस्तावमा सहमति जनाएमा केन्द्रीय कमिटीको बहुमतबाट पार्टी सरकारबाट हट्ने निर्णय गराउन सकिन्छ। किनकि अहिले नै २९ सदस्य आफ्नो पक्षमा छन्। राई र पोखरेल साथ दिएमा अरु १५ जना भन्दा बढी आफ्नो प्रस्तावको पक्षमा हुन्छन्। राई र पोखरेलबाट सोचेजस्तो सहयोग नभएपछि ओलीको योजना बीचमै अलपत्र परेको एमाले स्रोतको दावी छ। त्यसो त अशोक राईले असहयोग गरी केपीलाई साथ देलान् कि भनी डराएका झलनाथ खनालले भोलि शनिबारबाट गर्न लागेको चीन भ्रमणमा राईलाई पनि साथै लैजाँदै छन्। यति हुँदाहुँदै पनि खनाल पक्ष भने कथंकदाचित केन्द्रीय कमिटीमा आफूहरु बहुमतमा नभए पनि संसदीय दलमा आफूहरु अत्यधिक बहुमतमा आउनेमा ढुक्क छन्। खनाल पक्षीय एक नेताले नेपालीपत्रलाई भने– समानुपातिक चुनावमा सभासद् चयन गर्ने बेलामा माधव नेपाल महासचिवबाट हटिसकेका थिए। कार्यवाहक महासचिव झलनाथ खनाल थिए। समानुपातिकमा नाम सिफारिस गर्नेमा खनाल पक्षकै अमृत बोहोरा थिए। त्यसैले उनले ८० प्रतिशत सभासद् खनाल पक्षकै सिफारिस गरेको पनि दावी पनि उनले गरे।  
कोइरालाको नया147 रणनीति 
एमालेका केपी ओलीलाई उचालेर वर्तमान सत्ता समिकरण बदल्ने योजना असफल भएपछि नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला नयाँ रणनीतिमा लागेका छन्। त्यो रणनीति हो– माओवादी सरकार गिराउन नसक्ने भएपछि आफ्नी छोरी सुजाता कोइरालाको नेतृत्वमा सरकारमा सामेल हुने। यद्यपी, यो पनि त्यति सहज भने छैन। किनकि एमालेले धेरै घुर्की लगाएपछि एकीकृत नेकपा (माओवादी)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले कांग्रेसले साथ दिएमा एमालेसँगको सम्बन्ध तोडी कांग्रेसलाई एमालेले लिएको उपप्रधानमन्त्रीसहितका मन्त्रालय दिएर सरकारमा सामेल गराउने संकेत दिएका थिए। जसरी पनि सरकार गिराउन नसक्ने भएपछि सरकारमै सामेल हुने कि भन्ने कोइरालाको सोचाइ रहेको कांग्रेसकै नेताहरु बताउँछन्। यद्यपि एमालेले नै साथ दिइरहने भएपछि अब कांग्रेसले धेरै भाउ पाउने सम्भावना छैन। 
त्यसो त कांग्रेसले पछिल्लो पटक माओवादीसँग गरेको सहमति पनि सुरुङमार्गबाट सरकारमा जाने उद्देश्यसहित गरिएको टिप्पणी कांग्रेसकै नेता अर्जुन नरसिंह केसीले दिएका छन्। उनले भने, 'सुरुङमार्गबाट सरकारमा जान खोजे त्यो कांग्रेसकै निम्ति आत्मघाती कदम हुनेछ।' त्यसेले एकातर्फ पार्टीभित्रको असन्तुष्टि अर्कोतर्फ एमाले मिलेपछि प्रधानमन्त्रीले कांग्रेसलाई गर्नसक्ने उपेक्षाका कारण सभापति कोइरालाको दोस्रो रणनीति पनि त्यति सहजै सफल हुने देखिँदैन। बरु यसो–उसो गरेर प्रधानमन्त्री प्रचण्ड नै आफ्नो सरकारलाई अझ मजबुत बनाउन पुनः सफल भएका छन् र सरकारमाथि आएको संकट तत्काललाई टरेको छ।

-- Nepali Patara


source: http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=22050

No comments:

Search and Buy from amazon.com