नयाँ सरुवा भई आएको हुलाकेझैँ
झोलामा सुर्जेको एउटा पुलिन्दा बोकेर
छानामाथि वैशाख हिँडिरहेछ
भारी अल्छी पाइला सारेर ।
नयाँ वर्षको उमंगमय स्वागतमा भूपी शेरचनरचित 'नयाँ वर्ष' कविताको यो पहिलो फाँकीमा म पोहोर साल नयाँ वर्षताकाको नेपाली राजनीतिको एउटा विम्ब देख्छु । त्यो हुलाके बाह्रबुँदे पुल तरेर दुर्गम रोल्पातिरबाट सुगम काठमाडौंमा सरुवा भई आएको विद्रोही माओवादी थियो । उसले आफ्नो लाल झोलामा बोकेको थियो आकांक्षा, आशा र आश्वासनको एउटा रंगिन पुलिन्दा । फरक यति मात्र थियो, त्यो हुलाके 'भारी अल्छी' होइन, बताससरी वेगवान् पाइला सारेर हिँडिरहेको थियो ।
संविधानसभाको चुनावी बाकसबाट विस्मयकारी नतिजा प्रकट भएपछिको दृश्य हो यो । हुन पनि चुनावको नतिजा उल्कै भयो । नतिजा निस्कनुअघि बातवीरहरूको मनचिन्ते गणितमा माओवादीको हालत पतला थियो । हामी जनभावनाको धड्कन बुझ्ने अन्तर्यामी हौँ भनी लंका हाँक्ने उत्तरआधुनिक जोतिसीहरू भन्दै थिए- माओवादीले जम्मा दुई सिट जित्छ । एक सिट रोल्पाका कृष्णबहादुर महराले, अर्को एक सिट काकतालीको सहाराले । पछि यिनले पाँच, सात गर्दै माओवादीलाई जम्मा नौ सिट टक्रयाए । त्यो माओवादीको पहिलेको बीजरूपी जनमोर्चाको हैसियत बराबर थियो । माओवादीको यो दयनीय चुनावी नियति उभिएको थियो यी ज्ञानवान्हरूका तीनवटा तर्कको लौरो टेकेर । एक- थुप्रो धन र जनलाई सखाप पारेर आएको माओवादी लोकनजरमा हदै अलोकपि्रय छ । दुई- माओवादी फगत कुदुवा जमात हो, सामाजिक मानचित्रमा यसको संगठन-सन्जाल शून्यप्रायः छ । तीन- माओवादी विनयशील भावले भोट माग्न जान्दैन, केवल कुट्न र लुट्न मात्र जान्दछ । अनि कुन मूर्खले हाल्दो हो यसलाई नयाँ संविधानमा आफ्नो भाग्य लेख्ने अमूल्य भोट ?
गिरिजा गए र पुष्पकमल दाहालका नाउँमा माओवादी प्रथम पुरुष प्रचण्ड प्रधानमन्त्री भए । नाउँको यो परिवर्तनसँगै प्रचण्डको व्यक्तित्वको आधाजसो तेजोबध भएको थियो । दाहाल सरकारका जुनियर खेलाडी बने एमाले र फोरम । चुनावपछि आलटाल र जालझेलका चार महिना यसै बितिसकेका थिए । यसबीच जनमत र माओवादी स्वयंको आवेग र ऊर्जा निकै नै शिथिल भएको थियो । त्यसैले विद्रोहीको सरकार बन्दा सडकमा खासै उमंग र हर्षोल्लासका लहर देखिएनन् ।यी जानिफकार जोतिसीहरूको ग्रह-दशा हेराइमा एमालेका तालुमा सोलुको सुस्वादु आलुको झुप्पो फलिरहेको थियो । यी उदारमना जीवहरू छाती पिट्दै भन्थे- यसपालाको चुनावमा एमालेको बहुमत कतै नजा । आफ्नो उँभौलीको सानदार कथा सुनेर एमाले मक्ख त पर्ने नै भयो । उसलाई मक्ख पार्ने कल्पनाशील जोतिसीहरू आइएनजिओ-एनजिओ महलका मृदुभाषी विकासेहरू त थिए नै, बडेबडे मिडिया महलका धुरन्धर पण्डितहरू पनि थिए । उनै पण्डितहरू जो अलि दिनअघिसम्म जनमत सर्वेक्षणको छलकारी घन्ट बजाउँदै राजाका पाउमा किस्ता-किस्ता गरी बहुमतको कोसेली अर्पण गरिरहेका थिए । पहिले राजा रहनुमा यिनले आफ्नो वर्गस्वार्थको सुरक्षा देखेका थिए, पछि राजाका ठाउँमा यिनले एमालेलाई बोकेर थपक्क राखिदिए ।
हो, जब चुनावको नतिजा आयो, यी भविष्यवक्ताहरूको कपोल कल्पनाले हावा खायो । एकल माओवादीले कांग्रेस-एमालेका जम्माजम्मी सिट भन्दा झन्डै दोब्बर सिट कुम्ल्यायो । अरे ! राजनीतिको कुरुक्षेत्रमा यो के अनर्थ भयो ? हिजो जो 'आतंककारी' भनिएको थियो, जसका टाउकाको मोल तोकिएको थियो र जो रेड कर्नरमा दर्ता भएको थियो सत्तामा खाई-पाई आएको हाम्रो भाग खोस्न कहाँबाट कसरी आयो यो अपहरणकारी ? यसरी तारेभीरको थाप्लोबाट छवाङ्गै फेदीमा खसेझैँ सनातनी एमाले-कांग्रेस रन्थनिए । सजातीय माओवादी र एमाले जुध्लान् र बसीबसी खेलको जितौरी आफूलाई हात लाग्ला भनेर सनातनी कांग्रेसले दुई हात थापेको थियो । 'उडायो सपना सबै हुरीले' भनेझैँ त्यो आशा पनि धुलिसात् भयो ।
त्यो ननिको नतिजाको कारण आफूले अतीतमा हिँडेको फोहोर बाटोमा खेज्नुपथ्र्यो, इतिहासको ऐनामा देखिने आफ्नो अनाकर्षक अनुहारमा खोज्नुपथ्र्यो । मुखले जनसेवा, कामले आफूलाई मात्र मेवाको स्वार्थी कृत्यमा खोज्नुपथ्र्यो । पद, पैसा र स्वाँगे प्रतिष्ठाका लागि शक्तिको भक्ति गर्ने र देश दुनियाँलाई चटक्कै बिर्सने आफ्नो लालची प्रवृत्तिमा खोज्नुपथ्र्यो । उसो त जनमानसमा मोहभङ्गको मसीले लेखिएको आफ्नो कुरूप र विद्रूप छविमा पनि खोज्नुपथ्र्यो । तर, सनातनी एमाले-कांग्रेसले कारण वाइसिएलमा खोजे । म भनेको सधैँको 'राम्रो म' हुँ । तर, वाइसिएलले हाम्रालाई कुटेर, हाम्रा भोट लुटेर, जनमानसमा आतंक मच्चाएर मलाई बिगार्यो । असभ्य जंगलीले म सभ्य बस्तीवासीमाथि गर्नु न गर्नु ज्यादती गर्यो । भगवान् आऊ, मलाई बचाऊ !
आपत्कालमा राहतको आशा जिम्मी कार्टरमाथि थियो, तर ती वृद्ध उद्धारक पनि यसपाला दाहिना भइदिएनन् । मतदान सकिनु के थियो, चुनाव शान्तिपूर्ण र गजप भयो भनेर तिनले प्वाक्क बोले । विश्वशक्तिको डबलीमा ती परे इन्द्रे होइन, इन्द्रेका बाउ चन्द्रे । चन्द्रे बुढाले चुनावलाई वैधता दिएर म दुःखीको मुखमा बुजो नै लगाइदिए । अब नतिजा अस्वीकार गरूँ, कार्टरबाबु हातमा फैसलाको कोर्रा लिएर उभिएका छन्, नगरूँ जोगीको चाल हुने खतरा भो । हे हरि ! म अब के गरूँ ?
समयका पाइलासँगै चुनावको अन्तर्कथाका पन्नाहरू खुल्दै गए । चुनावमा साम, दाम, दण्ड भेदका अस्त्र त सबै खेलाडीले प्रयोग गरेथे नै । सक्नेले ज्यास्ती, नसक्नेले कम्ती । भूमिगत शैलीमा यीबाहेक अरू अस्त्र पनि प्रयोग भएछन् । माअेवादी जनयुद्धको आँधीको गति बोकेर आएको थियो । यसबाट उत्पन्न मनोवैज्ञानिक भयले अरूलाई तर्साउने नै भयो । छापामार शैलीमा अभ्यस्त माओवादी भोक र प्यास, अनिद्रा र थकान केही नभनी सुलसुले शैलीमा मतदाताका घरदैला धाएछ । र, भनेछ- म नयाँ हुँ, अरू पुराना । अरू खाओवादी हुन्, म जनवादी । यसरी वाचाल माओवादीले जनमानसमा घर गर्यो । र, मतदाताले ठान्यो- परिवर्तनको संवाहक यही हो । जो द्वन्द्वका चहर्याइरहेका घाउ मुसार्दै थिए, शान्तिको आशाले तिनले माओवादीलाई माफी दिए । जो आशंका र भयका नजरले माओवादीलाई हेरिरहेका थिए, तिनले तै-तै यसको पनि जाँच किन नगरूँ भनेर माओवादीलाई पत्याए । नतिजा जे भयो, इतिहासका भित्तामा त्यो लेखिएकै छ ।
कीर्तिमानको कथा रच्ने दिन जेठ १५ आयो । जेठ १५ सँगै गोपालप्रसाद रिमालको एक जुगमा एक दिन एकचोटि आउने क्षण आयो । नयाँ बानेश्वरको सभाभवनमा संविधानसभाको पहिलो बैठक जुट्यो । बैठकमा समाजको सतहमा, मिडियामा र भलाद्मी विद्वान्हरूका शास्त्रार्थमा कहिल्यै, कहीँ, कतै नदेखिएका अनाम, पहिचानविहीन थुप्रै नरनारीको उदय भयो । ती विद्रोहले मुख खोलिदिएका हिजोका निमुखा थिए । र, ती थिए सत्तामा र समाजमा आफ्नो स्थान, गरिमा र अंशभाग दाबी गर्न गाढा निद्राबाट जुर्मुराउँदै उठेका नरनारीहरू । बाहिर सडकमा नागरिक आन्दोलनका जोदाहाहरू आशा र आशंका बोकेर जुटेका थिए । तिनका निधार र गालामा 'गणतन्त्र'का छाप ठोकिएका थिए । तिनले भित्र सभातिर औँला ठड्याएर भनिरहेका थिए- कि गणतन्त्रको घोषण गर, कि त्यहाँ भित्रै वास बसिराख । नभन्दै राजतन्त्रको मृत्यु र गणतन्त्रको जन्मको विधिवत् घोषणा भयो । र, कीर्तिमानी जयजयकारको तुमुल ध्वनिले राजधानीको आकाश गुन्जियो । पछि त्यही घोषणाको अकाट्य आदेश शिरोपर गर्दै ज्ञानेन्द्र शाह श्रीपेच बुझाएर नागार्जुन वनतिर लुखुर-लुखुर उकालो लागे ।
यता मुलुक गणतन्त्र भयो, उता सरकारको आसनमा भने बासी पात्रहरू बसिनै रहे । चुनावी नतिजामा माओवादी रोलनम्बर एक त भयो तर उसले सरकारको बागडोर पाउने छाँट भने देखिएन । प्रधानमन्त्री गिरिजाबाबु थिए । सत्ताको नसामा लटि्ठँदै तिलने जिरह गरे- संक्रमणकालीन वैध प्रधानमन्त्री आखिर मै त हुँ । सनातनी कांग्रेस-एमालेले हात उचालेर तिनको बोलीमा लोली मिलाए । वाइसिएलको अस्तित्व र सम्पत्ति कब्जा दुईवटा निहुँ बने । त्यसमा माओवादी सच्चिएको छैन भन्ने पाद टिप्पणी थपियो । जितुवा र हरूवाको भयंकर जुहारी चल्यो । तर शनैःशनैः सत्ताधारी जिद्दीवालमाथि घरेलु र बाहिरिया जनमतको दबाब थेग्नै नसक्ने गरी बढ्यो । र, सुरु भयो नेपाली राजनीतिमा क्रमभंगको नयाँ क्रम । पहिलो क्रमभंग थियो, राष्ट्रपतिको चुनाव । यो साउनको कुरा हो । माओवादी-एमालेको लगनगाँठो कस्सिने भयो । सधैँ अग्लो कुर्सी ताक्ने र सधैँ थचारिने बरा माधव नेपाल राष्ट्रपति बनाइने भए । गुप्त कथा भन्छ- एमालेले मौकामा चौका हान्ने दाउ रच्यो । र, दुई हात पसार्दै भन्यो- गृहमन्त्री पनि मलाई । माओवादीले लोप्पा ख्वायो । र, माओवादीकै जोडबलले रामराजाप्रसाद सिंह राष्ट्रपति बनाइने भए । जब त्यो कुरा बुझे, सनातनी कांग्रेस-एमाले अताल्लिए । हुनेवाला प्रधानमन्त्री माओवादीको, अनि राष्ट्रपति पनि माओवादीकै ? माओवादीको एकदलीय हुकुमशाही, सर्वसत्तावाद, अनि बर्बाद ! तर्सिएका सनातनी कांग्रेस-एमालले रातारात गला मिलाए । र, बडो नाटकीय ढंगले रामवरण यादवलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बन्ने बिरलाकोटी सौभाग्य प्राप्त भयो । गजप भयो !
जब मधेसी माटोमा उमि्रएका यादव इतिहासमा पहिलोपटक नेपाल राज्यको सर्वोच्च आसनमा विराजमान भए, महेन्द्रीय राष्ट्रवादबाट दीक्षित खस पहाडी मानसमा बज्र प्रहार भयो । काठमाडौंको तुवाँलो लागेको आकाशमा रोदन-क्रन्दनको ज्वार उठ्यो- राष्ट्रपति पनि फोरम, उपराष्ट्रपति पनि फोरम ! देश डुब्यो ! अब हाम्रा दिन गए, फोरमका दिन आए ! तर जे भएको त्यो राम्रो भएको थियो । राष्ट्रपतिमा यावदको विजयसँगै मधेस-पहाडको भावनात्मक एकीकरणको एउटा झनिो सूत्र रचिएको थियो । सूत्र
सुन्दर थियो ।
त्यसपछि भदौमा अर्को क्रमभंग भयो । जनमतले गिज्याउँदा गिरिजाबाबु गले । आखिरमा तिनले प्रधानमन्त्रीको कुर्सी छाड्ने भए । चुनावको नतिजा आएको भोलिपल्टै छाडेका भए कुरो अर्कै हुन्थ्यो । बाह्रबुँदेदेखि चुनावको घडीसम्म ती राजनीतिक संरक्षकको भूमिकामा थिए । तिनको नाम थियो, तिनको मान थियो । प्रधानमन्त्रीको कुर्सीमा त्यसरी लिसो नलागेका भए तिनलाई राष्ट्रपति बनाउन सके दह्रो नागरिक दबाब पर्ने थियो । तर, तिनले आफ्नै हातले आफ्नो राजनीतिक भविष्यमा आगो लगाए । प्रधानमन्त्रीको कुर्सीबाट जब ती पाखा लागे, त्यसवेला तिनको उचाइ आधा घटेको थियो । र, तिनको छविमा लागेको थियो खग्रास ग्रहण । त्यो तिनको आफ्नै रचना थियो ।
गिरिजा गए र पुष्पकमल दाहालका नाउँमा माओवादी प्रथम पुरुष प्रचण्ड प्रधानमन्त्री भए । नाउँको यो परिवर्तनसँगै प्रचण्डको व्यक्तित्वको आधाजसो तेजोबध भएको थियो । दाहाल सरकारका जुनियर खेलाडी बने एमाले र फोरम । चुनावपछि आलटाल र जालझेलका चार महिना यसै बितिसकेका थिए । यसबीच जनमत र माओवादी स्वयंको आवेग र ऊर्जा निकै नै शिथिल भएको थियो । त्यसैले विद्रोहीको सरकार बन्दा सडकमा खासै उमंग र हर्षोल्लासका लहर देखिएनन् । मानौँ त्यो एक सनातन क्रम हो । मानौँ सरकार परिवर्तनको त्यो एक कर्मकाण्डीय क्रिया मात्र हो । लाग्छ, आवेग र ऊर्जाको त्यो शिथिलता परिवर्तनको प्रक्रियामा एउटा अनिष्टकारी धक्का थियो ।
गणतन्त्र नेपालका राष्ट्रपति बने मधेसी यादव, प्रधानमन्त्री खस पहाडी दाहाल, सभाध्यक्ष जनजाति नेम्वाङ- क्रमभंगको अर्को सुन्दर दृश्य थियो यो । र, यो थियो सामेलीको एउटा सन्तुलित उदाहरण पनि ।
विद्रोही हुलाकेले बोकी ल्याएको पुलिन्दा खोल्ने जिम्मा अर्थमन्त्री बाबुराम भट्टराईले पाएका थिए । तिनले बजेटको ढड्डा पल्टाउँदै पुलिन्दा खोले । बजेट साँच्ची नै जनमुखी थियो, गाउँमुखी थियो । त्यसले विपन्न, अशक्त, वञ्चित र परित्यक्त जनहरूलाई दृष्टिकेन्द्रमा राखेको थियो । तर, बजेटको पुलिन्दा खुल्नु के थियो, विरोधका स्वरहरूको पर्रा छुटिहाल्यो । पर्राकारीहरूले भने- बजेट अति महत्त्वाकांक्षी भयो । दस वर्षमा दस हजार मेगावाट बिजुली रे ! यो हावादारी कुरा हो । स्वरोजगार योजना भन्यौ रे ? यो फगत आफ्ना कार्यकर्तालाई पोस्ने दाउ हो । अनि अकूत राजस्व वृद्धि ? यो असम्भव कल्पना हो । अनुदान र ऋणको त्यत्रो अपेक्षा ? को तयार छ दिन मुठ्ठी फुकाएर ? त्यो पनि माओवादी नेतृत्वको सरकारलाई ?
बालक बामे सर्नु गतिको आकांक्षा हो । बालक उभिनु र टुकुटुकु हिँड्नु अग्र्रगतिको आकांक्षा हो । यो आकांक्षामा जोखिम त छ नै । तर, आकांक्षा लिएर जोखिम नउठाईकन यो संसारमा को उभिएको छ ? सुतीसुती को हिँडेको छ ? बाबुरामले बनाएको बजेटमा सीमा र खोटहरू होलान् रे लौ ! तर, विरोधकर्मीको भित्री अभिप्राय ती सीमा र खोटहरू औँल्याउनु थिएन । माओवादीको लोकपि्रयतामा तिनले आफ्नो मृत्यु देखेका थिए । र नै आजका मितिसम्म बजेट लागू गर्ने स्थानीय निकायहरू रित्तारित्तै छन् ।
हिउँदे जाडो आयो । र, क्रमभंगको अर्को कथा कथियो । बजेट टेकेर प्रधानमन्त्री प्रचण्डले भावुक मुद्रा र रंगिन शैलीमा सार्वजनिक सम्बोधन गरे । सम्बोधनमा चौतर्फी परिवर्तन र सुधारका अनेक वाचा गरिए । तर, नतिजा हेर्दा म वाचा गर्छु, भगवान्ले पूरा गरिदिऊन् भनेजस्तो बुझियो । बोलेका मीठा कुरा गरिपुर्याउन न प्रभावकारी संयन्त्र बनाइयो, न कर्मचारीतन्त्र र पार्टीपंक्तिको परिचालन गर्न सचेत चेष्टा गरियो, न त गरियो अनुगमनको लेठो नै । हुँदाहुँदा अब त प्रचण्डलाई 'गर्छुबहादुर', 'हुन्छबहादुर' र 'तथास्तुबहादुर' भनी यत्रतत्र गिज्याउन थालिएको छ । सक्ने कुरा मात्र गर्छु भन्नु, भनेको कुरा गरिछाड्नु, तब न दुनियाँले पत्याउँछ । हावा टेकेर क्षितिजपारि पुग्छु भन्नेलाई दुनियाँले किन पत्याउँछ ?
माओवादी नेतृत्वको सरकारले क्रमभंगको क्रम त जारी नै राख्यो, तर विधि मिलाएर ढंग भने पुर्याएन । र, विषयको मर्मको पर्वाह नगर्ने र रकमी सूत्रहरूको अराधना मात्र गर्नेहरूले यही बेढंगलाई समातेर घरी-घरी विषयलाई पराजित गरे । पशुपतिका भट्टमा नेपाली नागरिकको नियुक्तिमा नेपालीत्वको रंग थियो । र, थियो पशुपतिको आम्दानी लुटिखाने सनातन धन्दा अन्त्य गर्ने चाहना पनि । तर, कथित विधिवादीहरूले चलिआएको परम्पराको झुत्रे झन्डा उचालेर भारतीय भट्टलाई शिरमाथि बोके । यो उही सराद्देमा बिरालो बाँध्ने विधिकै उपासना थियो । नेपाली सेनाको भर्ती प्रकरण र अहिले खेलकुदमा जनसेनाका युवाको सामेलीको विवादको चुरो कुरो पनि आखिर यही त हो । एकातिर निर्णय र आदेशमा अनि भाषणबाजीका उत्तेजक गर्जनहरूमा माओवादी नेताहरू ढंग नपुर्याउने रोगबाट आक्रान्त छन्, अर्कातिर सराद्देहरूमा घन्टी बाँध्ने संस्कारबाट डोरिनेहरूचाहिँ पुरानै विधिको रट लगाउनमा मग्न छन् । यो बेढंग र रट लगाइबीचको द्वन्द्व अब राजनीतिक संवादको नेटो काटेर सैनिक घम्साघम्सीतिर लम्किरहेको अपि्रय यथार्थ प्रकट भइरहेछ ।
देख्दा आश्चर्य लाग्छ, आफूलाई लोकतन्त्रवादी भन्नेहरू काँधमा हाकाहाकी सैनिक जर्नेलहरूलाई बोकेर हिँडिरहेछन् । यस महलमा विधिको शासनको रट लगाउनेहरू पनि छन्, स्वतन्त्र प्रेसको भजन गाउनेहरू पनि छन् । मानौँ सैनिक जर्नेलहरू नै यिनको लोकतन्त्र, विधिको शासन र स्वतन्त्र प्रेसका नेता, रक्षक र अभिभावक हु्न् । नेपाली सेनाको एउटा ड्याङका जर्नेलहरू जनसेनालाई आफू बराबर नमान्न लिट्टी कसेर लागिपरेका छन् । खेल मैदानमा त्यो प्रत्यक्ष देखियो । उता नेपाली सेनालाई छुनुहुन्न भन्नेहरू मानौँ पर्दापछाडि यी तामसी जर्नेलहरूलाई उक्साइरहेका छन् । यो शान्तिको अभ्यास होइन । यो त युद्धको आमन्त्रण पो हो ।
जनसेनाका युवाहरू म सामन्तवादको जुवामुनि नारिएर दास बन्दिनँ र म्यान पावर कम्पनीमा बेचिएर विदेशीको गुलाम बन्न जान्न भनेर विद्रोहको बाटोमा लागेका थिए । गणतन्त्र नेपाल सामेली संघीयताको बाटोमा छ । यो बाटो खोल्नमा यिनको रगत र आँसु, सौर्य र त्यागको योगदान छ । अनि नेपाल सेनाका जर्नेलहरूका नजरमा यी युवा किन अछूत ? म एउटा धृष्ट प्रश्न गरूँ- यो बाटो खोल्नमा नेपाली सेनाको योगदान के छ ? सत्र सालमा यसले जननिर्वाचित सरकारलाई कुल्चेर महेन्द्रलाई बोकेथ्यो । नागरिक नजरमा त्यो धनात्मक योगदान होइन । वीरेन्द्र परिवारको वंशविनाश गरिँदा यो तमासेको मुद्रामा थियो । नागरिक नजरमा त्यो पनि धनात्मक योगदान होइन । ज्ञानेन्द्रको तानाशाहीको मौलो गाड्न यो नेतागृह, सञ्चारगृह र सडकमा बन्दुक बोकेर हाजिर भएको थियो । नागरिक नजरमा त्यो पनि धनात्मक योगदान होइन । भैरव गणमा मानव बधशालाको रचना गरिएको थियो । नागरिक नजरमा त्यो पनि धनात्मक योगदान होइन । रुक्मांगद कटवाल ज्ञानेन्द्र शाहको तरबारका पक्षमा अजय पी नाथका नाउँमा भक्तिभजन लेख्थे । नागरिक नजरमा त्यो पनि धनात्मक योगदान होइन । उसोभए छुनै नहुने र जनसेनाका युवाहरूलाई आफू बराबर मान्न इन्कार गर्ने योग्यता यो सेनामा केमा छ ? अनि यही सेनाका कतिपय जर्नेलको अहंकारलाई मलजल गर्दै हिँड्नेहरूको कृत्यमा लोकतन्त्रको कथ्य कहाँनिर छ ?
राजनीतिमा व्याप्त यो अन्योल, यो फाटो र यही द्वन्द्वको बीचमा अलि दिनअघि डा. देवेन्द्रराज पाण्डेसँग मैले सभाध्यक्ष सुवास नेम्वाङका विचार सुन्न पाएको थिएँ । ती शान्त, शालीन र तर्कशील मानव द्वन्द्वहरूको बीचमा मेलका बिन्दुहरू खोज्दै संविधान लेखिने कुरामा ढुक्क थिए । भन्दै थिए- नागरिक खबर्दारी जोडदार हुनुपर्छ । तोकिएको समयभित्र संविधान लेखिन्छ । तिनको आशावादमा क्रियाशील समर्थनको हात उठाउँदै भूपीकै कवितांशबाट म कुरो टुंग्याउँछु ।
भयानक बमहरू बोकेर उडिरहेका हवाइजहाज
र रकेटहरूमुनि बसेर
लेख्नु छ पि्रयजनहरूको नाममा
सफलता, शान्ति र दीर्घायुको शुभकामनापत्र ।|
हो, स्वार्थहरूको भयानक द्वन्द्वका बीच यथास्थितिका पहरेदार र पश्चगमनका भरियाहरूलाई पछार्दै आगे साल नयाँ संविधान लेख्नु छ । समृद्धि र शान्तिको, बन्धुत्व र सहअस्तित्वको संविधान । ल
http://www.nayapatrika.com/newsdetail.php?id=904111228291481%20&n_id=80
Saturday, April 11, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment