Sunday, April 26, 2009

'हो, मैले सगरमाथामा हेलिकोप्टर टेकाएकै हुँ'

'हो, मैले सगरमाथामा हेलिकोप्टर टेकाएकै हुँ' 

पेरिसबाट ददिराम सापकोटा, काठमाडौंमा उमेश चौहान
काठमाडौं, १३ वैशाख
2009-04-27,Monday


'युरोकोप्टरले दाबी गरे पनि हेलिकोप्टर शिखरमा बसेको असत्य हो, उनीहरूसँग त्यस्तो प्रमाण पनि छैन,' नागरिक उड्डयन प्राधिकरणका कामु महानिर्देशक रामप्रसाद न्यौपानेले भने, 'अदालती भाषा ठ्याक्कै त याद भएन, तर अदालतले समेत उनको (देल्सालको) दाबी खारेज गरिदिएको छ ।’
नयाँ पत्रिका अन्तर्राष्ट्रिय एक्सक्लुसिभ
फ्रेन्च पाइलट डिडिए देल्सालले सगरमाथा शिखरमा हेलिकोप्टर टेकाएको दाबी गरेका छन् । उनले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउने होडमा सगरमाथामा हेलिकोप्टर बसाएको चार वर्षपछि सार्वजनिक दाबी गरेका छन् । 

फ्रान्सको हेलिकोप्टर निर्माता युरोकोप्टरका पाइलट देल्सालले तत्कालीन श्री ५ को सरकारको अनुमति लिएर सगरमाथा क्षेत्रमा उडान भरेका थिए । र्फकनासाथ उनले सगरमाथामा हेलिकोप्टर बसाएर विश्वरेकर्ड बनाएको दाबी गरेका थिए । सरकारले भने 'लक्ष्मणरेखा' नाघेर उडान गरेको भन्दै कारबाहीको चेतावनी दिएको थियो । 

युरोकोप्टरले 'आफ्ना हेलिकोप्टरको स्तर विकास गर्ने उद्देश्यसहित भेरी हाइ एल्टिच्युडमा परीक्षण उडान गर्ने' प्रस्ताव पेस गरेको थियो । कम्पनीको प्रस्तावअनुसार नागरिक उड्डयन प्राधिकरणले युरोकोप्टरका चालक देल्साललाई सगरमाथा क्षेत्रमा उडान भर्न अनुमति दिएको थियो । 

आफूबाहेक आठजनालाई सगरमाथामाथि पुर्‍याएर आएका पाइटल देल्सालले शिखरमा हेलिकोप्टर टेकाएको दाबी गरेका थिए । उनी फर्किएपछि युरोकोप्टरले तत्कालीन राजा ज्ञानेन्द्रलाई पत्र लेखेर आफ्ना पाइलटले सगरमाथामा विश्वरेकर्ड बनाएको जानकारी गराएको थियो । 

युरोकोप्टरले आफ्नो हेलिकोप्टरको क्षमता र चालकको योग्यतालाई मान्यता दिलाउने उद्देश्यले राजालाई पत्र लेखेको थियो । तर शासनसत्ता हातमा लिएर बसेको वेला पनि सर्वोच्च शिखरमा हेलिकोप्टर बसेको जानकारी विदेशीहरूबाट मात्र पाएपछि ज्ञानेन्द्र आक्रोशित भएका थिए । 

ज्ञानेन्द्रले तत्कालीन नागरिक उड्डयनमन्त्री बुद्धिराज बज्राचार्यसँग स्पष्टीकरणसमेत मागेका थिए । 

'राजालाई हामीले त केही पनि भनेका थिएनौँ, उनीहरूले आफैं भनेछन्,' बज्राचार्यले नयाँ पत्रिकासित भने । 

नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक राजेशराज दलीले भने युरोकोप्टरको हेलिकोप्टरले सगरमाथा क्षेत्रमा उडान गर्दा आफू नेपालबाहिर भएको जानकारी दिए । 'म त्यतिवेला बाहिर गएको थिएँ,' उनले भने, 'तर युरोकोप्टरका चालकले शिखरमा हेलिकोप्टर बसाएको असत्य हो, हेलिकोप्टर घुमाउँदा झुक्किएर स्केटले छोयो होला, त्यसलाई रेकर्ड मान्न मिल्दैन' उनले भने । 

नेपाल र फ्रान्सको झन्डा देखाउँदै डिडिए देल्साल (बायाँ), सगरमाथा शिखरमा अवतरण गर्दै उनको हेलिकप्टर
हेलिकोप्टर बस्न दिएर सरकारले सर्वोच्च शिखरको गरिमा घटाएको तथा वातावरण बिगार्न थालेको भन्दै त्यतिवेलै चर्को विरोध भएको थियो । यही विषयमा सर्वोच्च अदालतमा मुद्दासमेत परेको थियो । 

'युरोकोप्टरले दाबी गरे पनि हेलिकोप्टर शिखरमा बसेको असत्य हो, उनीहरूसँग त्यस्तो प्रमाण पनि छैन,' नागरिक उड्डयन प्राधिकरणका कामु महानिर्देशक रामप्रसाद न्यौपानेले नयाँ पत्रिकासित भने, 'अदालती भाषा ठ्याक्कै त याद भएन, तर अदालतले समेत उनको (देल्सालको) दाबी खारेज गरिदिएको छ ।'

उता देल्सालले भने नेपाल (तत्कालीन श्री ५ को) सरकारको असहयोगका कारण विश्वरेकर्ड दर्ज गराउने आफ्नो उद्देश्य असफल भएको गुनासो गरेका छन् । उनले भनेका छन्, 'सगरमाथामा हेलिकोप्टर बसाउन त सम्भवै छैन, हेलिकोप्टरको स्केटले शिखर छोएको हो,' उनले भनेका छन्, 'मैले रेकर्ड बनाएकै हुँ । तर, नेपाली प्रशासनको असहयोगले मेरो साहस निरर्थक भयो ।' देल्सालको बयानसहित ददिराम सापकोटाको पुस्तक प्रकाशनको तयारीमा छ । 

देल्सालले रेकर्ड बनाउने उद्देश्यसहित फ्रान्सबाट हेलिकोप्टर नेपालसम्म ल्याएका थिए । 'त्यतिवेला हाम्रो कम्पनीका सबै हेलिकोप्टर बिक्री भएका थिए,' बयानमा उनले भनेका छन्, 'त्यसैले हाम्रै एकजना ग्राहकसँग भाडामा ल्याएका थियौँ ।'

उनले दिल्लीसम्म बोइङ विमानबाट विमान ल्याएपछि काठमाडौंसम्म उडाएरै ल्याएका थिए । दिल्ली-काठमाडौंको करिब पाँच घन्टाको उडानमा उनीहरू इन्धन हाल्न बीचमा एकपटक रोकिएर काठमाडौं आइपुगेका थिए । 

देल्सालले प्राधिकरणबाट फटाफट अनुमति पाएका थिए । तर, उडानपछि भने उनले नेपालमा निक्कै झमेला भएको बताएका छन् । सर्वोच्च शिखरमा हेलिकोप्टर बस्न दिएको भनेर प्रचारप्रसार भएपछि सरकार उनीप्रति कठोर भएको थियो ।

source:

No comments:

Search and Buy from amazon.com