Monday, April 6, 2009

गायक उदीत नारायण झा भन्छन्- 'म नेपाली होइन'

गायक उदीत नारायण झा भन्छन्- 'म नेपाली होइन'

काठमाडौं/ 'जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी' अर्थात् आफू जन्मेको भूमि स्वर्गभन्दा पनि प्यारो हुन्छ भन्ने मर्मलाई भारतमा रहेका नेपाली गायक उदीतनारायण झाले फेरि एकपटक खिल्ली उडाएका छन् ।
एउटा भारतीय पुरस्कार प्राप्तिका लागि गायक झाले 'आफू नेपाली नभएको' बताउँदै 'आफ्ना विषयमा गलत प्रचारबाजी भएको' जिकिर गरेका छन् । झाले आफू नेपालमा नभएर भारतको बिहारमा जन्मेको बताएका छन् ।

भारतीय नागरिक नभए भारतको प्रतिष्ठित पद्मश्री पुरस्कार नपाउने भएपछि उदीतले आफू बिहारमा जन्मेको बताएका हुन् । इन्डो-एसियन न्युज सर्भिस (आइएएनएस) सँगको कुराकानीमा झाले आफूलाई सरकारले पुरस्कारका लागि उपयुक्त ठाने पनि केही व्यक्तिहरूले आफ्ना विषयमा गलत पहिचान तयार गरिरहेको आरोप लगाए ।

'उनीहरू म नेपालमा जन्मेको भन्छन्, तर यो कुरा एकदमै असत्य हो, म बिहारको सुपल जिल्ला बैसी गाविसमा १९५५ मा जन्मेको हुँ, त्यहाँ मेरो मावली हजुरबुबाको घर थियो,' उदीतले आइएएनएससँग भनेका छन् ।
गायक झा भारतीय नागरिक नभएकाले त्यहाँका नागरिकलाई दिइने उच्च सम्मान पद्मश्री पाउन लायक नरहेको चर्चा चलिरहेको वेला उनले आइएएनएससँग त्यस्तो कुरा बताएका हुन् ।

भारतमा जन्मेकाले आफू पद्मश्री पाउन लायक रहेको उनको दाबी छ । 'म चालीस वर्षदेखि गाइरहेको छु, म हुन सक्ने जति भारतीय भइसकेको छु । म कहिल्यै कुनै विवादमा फसेको छैन, मेरा बिहारी दाजुभाइले गरेको षड्यन्त्रका कारण एकपटकमात्र विवादमा परेको हुँ । तर पनि विवादमा नपरेको म एकमात्र व्यक्ति हुँ,' झाले भने ।

केही वर्षअघि उनकी जेठी श्रीमती रञ्जना झाले न्यायका लागि भारतीय सञ्चारमाध्यम गुहारेकी थिइन् । झा कान्छी श्रीमती दीपासँग लामो समयदेखि मुम्बईमा सँगै बसिरहेका छन् । 'मैले बिहारका लागि केही गरिनँ भनेर उनीहरू मसँग रिसाएका छन् । गत वर्ष बाढीले क्षति पुर्‍याएपछि मैले पाँच लाख रुपैयाँ दिए पनि उनीहरूको रिस शान्त भएको छैन ।

मलाई थाहा छैन, किन मानिसहरू मेरो रिस गर्छन् ? हुन सक्छ, उनीहरू मेरो डाह गर्छन्,' आफूलाई भारतीय सावित गर्दै झाले भनेका छन्, 'पछिल्लो समय म त्यति धेरै गीत गाउन सकिरहेको छैन, ३० वर्ष गाइसकेपछि गति अवरुद्ध हुनु स्वाभाविक हो, अब म छोरा आदित्यको क्यारियर हेर्न चाहन्छु ।'

पछिल्लो समय बुबाका निम्ति आदित्य केही गीतमा संगीत भर्दै छन् । 'आफ्नै छोराको गीतमा गाउन पाउनुमा म गौरवान्वित छु, कुनै पनि पिताका लागि यो सर्वाधिक गौरवको क्षण हो । हाम्रो सानो परिवार छ, कसैले यसमा हस्तक्षेप गरेको सहन सकिन्न,' उदीतको कथन छ ।

http://74.125.95.132/search?q=cache:qUsONriV-IsJ:www.nayapatrika.com/newsdetail.php%3Fid%3D901171048424419%26n_id%3D23+site:nayapatrika.com+naya+patrika+jhan&cd=1&hl=en&ct=clnk&gl=us

No comments:

Search and Buy from amazon.com