Saturday, July 4, 2009

'नेपालमा वर्षेनी २० हजारलाई विषालु सर्पले टोक्छ'

'नेपालमा वर्षेनी २० हजारलाई विषालु सर्पले टोक्छ'


हङकङ, असार २० (एजेन्सी)- नेपालमा वर्षेनी २० हजार जनालाई विषालु सर्पले टोक्ने गरेको छ । अमेरिकामा मुख्यालय रहेको पब्लिक लाइब्रेरी अफ साइन्स मेडिसिनले गरेको अनुसन्धानले यस्तो तथ्यांक निकालेको हो । नेपाल विश्वमा विषालु सर्पले धेरै टोक्ने पाँचौ देश भएको पनि अध्ययनमा उल्लेख छ ।
सो संस्थाले भारतमा ८१ हजार मानिसलाई विषालु सर्पले टोक्ने गरेको र तीमध्ये ११ हजारको मृत्यु हुने गरेको पनि बताएको छ । त्यसपछि श्रीलंकामा ३३ हजार भियतनाममा ३० हजार ब्राजिलमा ३० हजार र मेक्सिकोमा २८ हजारलाई यस्ता सर्पले टोक्ने गरेको छ ।
सो संस्थाले विश्वभर प्रत्येक वर्ष ४ लाख मानिसलाई विषालु सर्पले डस्ने गरेको र तीमध्ये २० हजारको मृत्यु हुने गरेको पनि जनाएको छ । यस्ता घटनामध्ये अधिकांश गरीब देशमा हुने गरेको छ ।
अध्ययनमा दक्षिण तथा दक्षिण-पूर्वी एशिया र अपि्रुकाको सहारा उप-क्षेत्रमा सर्पले टोक्ने घटना बढी हुने गरेको उल्लेख छ ।
अधिकांश घटना कमजोर स्वास्थ्य सेवा भएका र लिखितरुपमा कमै जानकारी राखिने वा त्यस प्रकारको जानकारी राख्दै नराखिने स्थानमा हुने भएकाले यो तथ्यांक अझै बढ्न सक्ने संस्थाले जनाएको छ ।
यसका अनुसन्धानकर्ताले ३ हजार २ सय ५६ वटा समाचार तथा लेख र ६८ वटा देशको अध्यावधिक तथ्यांक अध्ययन गरेका थिए । तर पनि सही तथ्यांक धेरै गुणा बढी हुने सक्ने देखिएको छ ।
अनुसन्धानकर्ताले धेरै देशमा सर्प टोकाइलाई वास्ता नगर्ने र अधिकांश घटनाको जानकारी नआउने बताएका छन् ।
अध्ययन प्रतिवेदनअनुसार टोक्ने प्रत्येक चार सर्पमध्ये एउटा विषालु हुने गरेको छ । धेरैजसो पीडितले अस्पताल जानेभन्दा परम्परागत उपचार गराउने गरेका र केहीको मृत्यु घरमै हुने गरेकाले यस्तो जानकारी पाउन नसकिएको पनि संस्थाले जनाएको छ ।
'नाइजेरिया र केन्याको दुर्गम क्षेत्रमा गरिएको अध्ययनले ती देशमा क्रमशः ८.५ प्रतिशत तथा २७ प्रतिशतले व्यक्तिले मात्रै अस्पतालमा उपचार गराएको देखिन्छ'- एक उदाहरणमा उसले भनेको छ ।
source:
http://www.nagariknews.com/society/nation/2585-2009-07-04-11-24-55.html

No comments:

Search and Buy from amazon.com