Sunday, July 5, 2009

अन्तिम ओभरमा लगालग पाँच विकेट

अन्तिम ओभरमा लगालग पाँच विकेट


विनोद पाण्डे, काठमाडौं, असार २१- व्यवहारिक रुपमा नेपालको पराजय निश्चित भएको स्थिति। अन्तिम ओभरमा सिंगापुरलाई जितका निम्ति मात्र दुई रन चाहिन्थ्यो र सुरक्षित थियो सिंगो पाँच विकेट। पासा पल्टने आश सायदै रहेको बेला रुविना क्षेत्री अपजसी ओभर सम्हाल्न आइपुगिन्। त्यसपछि देखियो एउटा ऐतिहासिक चमत्कार।


रुविनाले लगालग पाँच विकेट लिइन्। त्यसले नेपाललाई खेलको बराबरीमा पुर् यायो। बल आउटका आधारमा नेपाल विजयी भयो।

यो दुर्लभ क्रिकेट 'घटना' सँगै रुविना नेपाली क्रिकेट इतिहासमा ह्याट्रिक लिने पहिलो नेपाली खेलाडी भएकी छिन्। मलेशियामा भइरहेको एसिसी महिला ट्वान्टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार सिंगापुरविरुद्धको खेलमा उनले लगातार तीन विकेट लिँदै ह्याट्रिक गरेकी थिइन्। उनले ह्याट्रिकका क्रममा लगातार ५ विकेट लिइन्।

१९९६ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेले पनि नेपाली खेलाडीले ह्याट्रिक गरेको यो पहिलो अवसर हो। नेपाली महिला क्रिकेटले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न लागेको मात्र दुई वर्ष भयो। महिला खेलाडीले पाँच विकेट लिएको यो पहिलो अवसर हो।

रुविनाको प्रर्दशनमा प्रशिक्षक मनोज कटुवाललाई खासै आश्चर्य लागेन। लगातार ५ विकेटलाई चाहिँ उनले असाधारण माने। 'नेपालले गत वर्ष खेलेको एसिसी यु-१९ मै उनी टोलीमा पर्नुपर्ने हो तर राष्ट्रिय प्रतियोगितामा विराटनगरको खेल वर्षाले प्रभावित पार्दा आफनो प्रर्दशन देखाउन पाइनन्' पूर्व राष्ट्रिय खेलाडी कटुवालले भने 'उनले एक दिन नेपालका लागि खेलेर राम्रो प्रर्दशन गर्नेमा म विश्वस्त थिए।'

कटुवालले खोलेको मेची क्रिकेट एकेडेमीमा उनी गत वर्ष क्रिकेट सिक्न आएकी थिइन्। थोरै समयमै उनले कटुवालको मन जितिन्। कटुवालको विश्वास प्रमाणित हुन धैरै समय लागेन। चैत अन्तिम साता काठमाडौंमा भएको पाँचौ राष्ट्रिय खेलकुदमा उनले पहिलो खेलमै ६ विकेट लिएर आश्चर्यजनक प्रर्दशनको सुरुवात गरिन्। रुविनाले ३.४ ओभरमा १ मेडन राख्दै ३ रन खर्चेर ६ विकेट लिएपछि उपाधिको प्रवल दाबेदार नेपालगन्ज पहिलो खेलमै चकित भयो। विराटनगरलाई उपविजेता बनाउने क्रममा विराटनगर क्षेत्र नं १ की दाहिने हाते मध्यम गतिका बलर रुविनाले ५ विकेट लिदै सनसनी मच्चाइन्। अन्तिम ओभरको पहिलो बलमा कुनै रन नदिएकी रुविनाले त्यसपछि लगातार तीन विकेट लिएर ह्याट्रिक गरिन्। त्यसपछि उनी वाइड फयाँक्न पुगिन्। तर अन्तिम दुवै बलमा उनले विकेट लिदै नेपाललाई बराबरीमा ल्याएकी थिइन्। रुविना नै खेलको उत्कृष्ट खेलाडीमा चुनिइन्।

२९ वर्षको नेपाली घरेलु क्रिकेटमा केवल दुई ह्याट्रिक सम्भव भएको छ। वर्तमान नेपाली क्रिकेट कप्तान विनोद दास ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन्। बाराबाट खेल्दै उनले २०५४ सालमा भैरहवामा बाँकेविरुद्ध ह्याट्रिक गरेका थिए। गत चैतमा सन्जम रेग्मीले विराटनगर क्षेत्र नं।१ विरुद्ध लगातार तीन विकेट लिएका थिए।

विभिन्न वेबसाइट, टेलिभिजन र रेडियोबाट खेलको विवरण सुनिरहेका राष्ट्रिय टोलीका कप्तान विनोदले रुविनाको प्रर्दशनलाई अदभुत भएको उल्लेख गर्दै भने 'अन्तिम ओभरमा ५ विकेट लिँदै खेल जिताएको मैले अझसम्म सुनेको छैन यस्तो प्रर्दशन विरलै सम्भव हुन्छ।'


झन्डै एउटा कीर्तिमान गुमेको
राजु अधिकारी, झापा, असार २०-
'झापाका खेलसम्वद्ध संघ संस्थाको दबाव नपुगेको भए एउटा कीर्तिमान गुम्ने रहेछ,' मलेसियामा जारी एसिसी महिला ट्वान्टी-२० च्याम्पियनसिप अन्र्तगत शनिबार सिंगापुर विरुद्धको खेलमा रुविना क्षेत्रीले एकै ओभरमा ५ विकेट लिएरको समाचार सुनेपछि मेची क्रिकेट एकेडेमीका अध्यक्ष दीपक कार्कीले भने 'उनलाई मलेसिया उडाउन गरेको अथक प्रयास सार्थक भएछ।'
टिम हारका लागि तयार भइसकेको अवस्थामा सिंगापुरका पाँच खेलाडीलाई पेभेलियन फर्काएकी रुविनाको यो कीर्तिमानी प्रर्दशनले उनको गृहनगरमा खुसियाली छाएको छ। मेचीनगर-१० काँकरभिट्टा निवासी रुविनाले खेलमा बलिङको जादु चलाई टिमलाई विजयी बनाएपछि यहाँ खुसियाली छाएको हो।
काँकरभिट्टास्थित नर्थप्वाइन्ट बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत रुविना आमा र दाजुसहित मेचीनगर-१० मा बस्दै आएकी छिन्। स्थानीय मेची क्रिकेट एकेडेमीकी उत्पादन रुविनाको प्रर्दशनले नेपाल विजयी बनेपछि उनका साथी खेलाडी पनि खुसी छन्। 'छोरीले टिमलाई जिताई भन्ने सुन्दा अत्यन्त खुशी लागेको छु घरभरि थुपि्रएका छिमेकीमाझ रुविनाकी आमा मुनाले भनिन् 'जाने बेला पाएको हैरानी अहिले बिसाईदिई।'
जानेबेला राहदानी बन्न नसक्दा रुविनाको मलेसिया यात्रा झण्डै रोकिएको थियो। भारतीय बैंकमा कार्यरत उनका पिताको एक दशकअघि नै देहान्त भएको र आमाको नागरिकता पनि जन्मका आधारमा वनेकाले रुविनालाई राहदानी पाउन गार् हो भएको थियो। पछि जिल्ला खेलकुद विकास समिति झापा लगायतका संघसंस्थाको आग्रहमा मात्र उनलाई परराष्ट्र मन्त्रालयले मलेसिया जानु ५ दिनअघि राहदानी उपलब्ध गराएको थियो। पूर्व राष्ट्रिय खेलाडी एवं रुविनाका प्रशिक्षक मनोज कटुवालका अनुसार अलराउण्डरका रुपमा चिनिइएकी रुविना प्रतिभाशाली खेलाडी हुन्। 'उनको प्रदर्शन उत्कृष्ट हुन्थ्यो भन्ने थाहा थियो' कटुवालले भने।

No comments:

Search and Buy from amazon.com