Sunday, July 5, 2009

दलाई लामा र ६ सभासद भेट


Exiled Tibetan spiritual leader Dalai Lama (Centre) poses for a photograph with Nepali lawmakers at Dharamshala, India recently. China has expressed deep concerns over the meeting between the Madhesi lawmakers and Lama.

चीनद्वारा गम्भीर चासो
दलाई लामा र ६ सभासद भेट

देवेन्द्र भट्टराई/सरोजराज अधिकारी

काठमाडौं, चार दलका छ सभासदले हालै तिब्बती धार्मिक नेता दलाई लामालाई भेटेको घटनाप्रति चीनले गम्भीर चासो व्यक्त गरेको छ । 'एक चीन नीति' को पक्षधर रहेको सरकारमा सामेल दलसहितका सभासदले असार ७ गते लामालाई भारतको धर्मशालामै गएर भेटेका थिए ।

मधेसी फोरमका सभासद बीपी यादवको नेतृत्वमा गएको सभासद टोलीमा फोरमकै राजकिशोर यादव, आशाकुमारी सरदार, तराई मधेस लोकतान्त्रिक पार्टीका ईश्वरदयाल मिश्र, दलित जनजाति पार्टीका विश्वेन्द्र पासवान र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी रुक्मिणी चौधरी थिए । भ्रमणको व्यवस्थापन लुम्बिनी फाउन्डेसनले गरेको थियो ।

काठमाडौंस्थित चिनियाँ दूतावासकी उपप्रमुख सी ह्वीले शुक्रबार परराष्ट्र मन्त्रालयका उच्च अधिकारीलाई भेटी सभासद भ्रमणबारे गम्भीर चासो राखेकी थिइन् । उनले चीन महाशाखा हेर्ने सहसचिव मोहनकृष्ण श्रेष्ठसँग आफ्नो सरकारको धारणा राखेकी थिइन् । परराष्ट्रले गृह मन्त्रालय र संसद सचिवालयसँग समन्वय राख्दै 'एक चीन नीति' बारे अवगत गराउन सम्बद्ध दलहरूलाई पत्र लेख्ने भएको छ ।

लामालाई भेटेको सूचना पाएर बुधबार एकाएक काठमाडौं आएका पूर्वचिनियाँ राजदूत झाङ जियुहानले पनि सरकारको ध्यानाकर्षण गराएका थिए । उनले प्रधानमन्त्री माधवकुमार नेपाल, परराष्ट्रमन्त्री सुजाता कोइराला र परराष्ट्रसचिव ज्ञानचन्द्र आचार्यलाई भेटेर 'नेपालबाट भइरहेको चीनविरोधी गतिविधि' बारे चासो राखेका थिए ।

दलाई लामासँग सत्तारूढ सांसदहरूसमेतको भेटसम्बन्धी खबर सुनेपछि प्रधानमन्त्री नेपाल र सम्बन्धित दलका शीर्ष नेता 'आश्चर्यचकित' भएको स्रोतहरूले बताएका छन् । प्रधानमन्त्रीले केही सभासदलाई निवासमै बोलाएर आपत्ति जनाएको र त्यसक्रममा चिनियाँ राजदूत क्यु गोहाङ बालुवाटारमै रहेको मञ्चका अर्का सभासद राजकुमार लिम्बूले कान्तिपुरलाई बताए ।

'हामीले नागाल्यान्डमा विद्रोहरत पक्षसँग हात मिलाउँदा भारतलाई कति चित्त दुख्छ, दलाई लामालाई भेट्दा चीनलाई त्यस्तै हुन्छ । हाम्रा लागि दुवै छिमेकी बराबर हुन् । तपाईंहरूले ख्याती श्रेष्ठका अभियुक्त वीरेन श्रेष्ठसँग हात मिलाएजस्तै अपराध गनर्ुभएको छ, सच्याउनुहोस्,' लिम्बूले प्रधानमन्त्रीको भनाइ उद्धृत गरे ।

फोरम अध्यक्ष उपेन्द्र यादवले भेटबारे पार्टीलाई कुनै जानकारी नभएको र पुष्टि भएमा सभासदहरूसँग स्पष्टीकरण सोधिने बताए । 'हामी तिब्बतलाई चीनकै अंग मान्छांै । एक चीन नीतिको पक्षमा छौं । चीनविरोधी त्यस्ता क्रियाकलाप हामीलाई सह्य छैन,' उनले भने । तमलोपाका उपाध्यक्ष हृदयेश त्रिपाठीले पनि आफ्नो पार्टी एक चीन नीतिको पक्षमा अडिग रहेको बताए ।

'दयालजीको भेटले पार्टीलाई प्रतिनिधित्व गर्दैन,' त्रिपाठीले भने । मञ्चका लिम्बूले आफ्नो पार्टीकी सभासद चौधरीलाई दिल्लीसम्म जाने भनेर झुक्याएर धर्मशाला लगिएको बताए । फोरम सभासद सरदारले पनि बीपी यादवले दिल्लीसम्म भनेर धर्मशाला पुर्‍याएको बताइन् ।

'गाउँमै थिएँ, बीपीजीले अचानक दिल्ली जानुपर्छ भनेर बोलाउनुभयो । धर्मशाला जाने जानकारी नै थिएन,' उनले भनिन् । सरदारका अनुसार लामाले 'चीनले तिब्बतमा दमन गरेको' बेलिबिस्तार लगाएर 'स्वतन्त्र तिब्बत' अभियानमा सघाउन आग्रह गरेका थिए ।

सभासद बीपी यादवका अनुसार भेटमा लामाले आफ्नो आन्दोलनलाई समर्थन गर्न, तिब्बती शरणार्थीलाई पनि भुटानीलाई जस्तै सम्मान तथा उचित व्यवस्थाका लागि नेपाल सरकारलाई घच्घच्याइदिन आग्रह गरेका थिए । साथै लामाले नेपालस्थित आफ्नो कार्यालय निर्बाध सञ्चालनको वातावरण तयार पार्न आग्रह गरेको र आफूले प्रधानमन्त्री र राष्ट्रपतिलाई भेटेर पहल गरिदिने आश्वासन दिएको यादवले बताए ।

'यसै साताभित्र निर्वासित तिब्बती संसदको टोली सम्भवतः सभामुखकै नेतृत्वमा नेपाल आउँदैछ । उहाँहरूलाई प्रधानमन्त्री र राष्ट्रपतिसँग भेट गराउँछु,' फोरम नेता यादवले भने । आफूले लामा र कर्मापालाई पनि नेपाल भ्रमणको निम्तो दिएको उनले बताए ।

दुई साता लामो भारत भ्रमणका क्रममा आफूहरूले जसवन्त सिंह, शरद यादवलगायतका नेतालाई भेटेको र भारतका पूर्वरक्षामन्त्री जर्ज फर्नान्डिज त दलाई लामासँगको 'डिनर' मा आफूहरूसँगै रहेको यादवले बताए ।

धर्मशालामा जाने टोलीमा कांग्रेस सभासद किरण यादव पनि जाने टुंगो भएकामा बीचमा संसदीय दलको चुनाव परेकाले नगएको बीपी यादवले बताए ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले भौगोलिक बनावटको संवेदनशीलतालाई बुझेर सभासदजस्ता जिम्मेवार व्यक्तिहरूले दलाई लामालाई त्यसरी भेट्नु गलत भएको बताए ।

'नेपालको भूमि चीनविरुद्ध प्रयोग गर्ने विषय प्रधानमन्त्री, सरकार र मुलुककै लागि गलत छ,' उनले भने । लामाको जन्मोत्सवका अवसर पारेर यहाँ हुनसक्ने तिब्बती प्रदर्शनप्रति सचेत रहन सुरक्षा निकायलाई प्रधानमन्त्रीले निर्देशन दिइसकेको समेत भट्टराईले स्पष्ट पारे ।

'उहाँ -लामा) को जन्मोत्सवमा मलाई हरेक वर्ष निमन्त्रणा आउँछ । यसपाला बौद्धिक र धार्मिक नेताको आशीर्वाद लिने समूहमा माननीय सांसदहरू पनि पनर्ुभएको हो । यसरी संसदीय डेलिगेसन टिम लिएर धर्मशाला गएको यो पहिलोपटक हो,' कार्यक्रमका संयोजक लुम्बिनी फाउन्डेसनका सिद्धार्थ गौतमले कान्तिपुरसँग भने ।

नेता लामालाई भगवान बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणको मौखिक आमन्त्रण पनि गरेको उनले जानकारी दिए । लामा यसअघि सन् १९८३ मा लुम्बिनी आएका थिए । लामालाई मात्रै नभएर चिनियाँ राष्ट्रपति हु जिन्ताओलाई पनि लुम्बिनी भ्रमणमा आमन्त्रण गरेकाले यसलाई 'अन्यथा' रूपमा नलिन गौतमले आग्रह गरे ।

सभासद बीपी यादवले थपे, 'हाम्रो काठमाडौं केन्दि्रत राजनीति होइन, यसकारण स्वतन्त्रता र अधिकारबारे बोल्दैमा डराउनु पर्दैन ।' नेता दलाई लामाले जसरी चीनभित्र स्वायत्त तिब्बतको कुरा उठाएका छन्, त्यसैगरी मधेसवादी दल र नेताले नेपालभित्र 'स्वायत्त मधेस' को मुद्दा उठाएकाले यही चासो सुन्ने/सुनाउने अवसर आफूहरूले पाएको दाबी यादवले गरे ।

Posted on: 2009-07-04 20:29:50

source:http://www.ekantipur.com/kolnepalinews.php?&nid=202522

No comments:

Search and Buy from amazon.com